विकासन्युज

एमालेको १५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशका ५ पुराना नेतासहित ४ नयाँको डेब्यु तयारी

काठमाडौं । नेकपा एमालेको आगामी ११ औं महाधिवेशनमा १५ सदस्यीय केन्द्रीय पदाधिकारी निर्वाचनमा लुम्बिनी प्रदेशको बाहुल्यता देखिने भएको छ ।  प्रारम्भिक विवरणअनुसार पदाधिकारीका उम्मेदवारमध्ये नौजना लुम्बिनी प्रदेशका नेताहरू हुने जनाइएको छ । यसले प्रदेशको राजनीतिक शक्ति मात्र नभई पार्टीभित्रको भू–राजनीतिक सन्तुलनमा पनि लुम्बिनी प्रदेशको भूमिका बढ्ने संकेत गरेको नेताहरूले बताएका छन् । हालका पदाधिकारीमध्ये उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, सचिव गोकर्ण विष्ट र छविलाल विश्वकर्माले फेरि पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।  तर, उपाध्यक्ष ज्ञवालीले दोहोरिने चाहना नरहेको आफू निकटलाई बताउने गरेको बताइएको छ । त्यस्तै, सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कारण सक्रिय उम्मेदवारी दिन असमर्थ छन् । पार्टी भित्रको वर्तमान १९ सदस्यीय पदाधिकारी संरचनामा लुम्बिनी प्रदेशका सात जना नेता रहेका छन् । तीमध्ये पाँच जना पदाधिकारी एक तह बढुवा भई फेरि उम्मेदवार बन्ने इच्छामा रहेका छन् । महासचिव पोखरेलले महासचिव पदमा दोहोरिने चाहना राखेका छन् ।  तर, पार्टी नेतृत्वले रणनीतिक दृष्टिकोण अपनाउँदै पोखरेललाई उपाध्यक्षमा स्थानान्तरण गर्ने र महासचिव पदमा उपमहासचिव प्रदिप ज्ञवालीलाई प्रस्तुत गर्ने तयारी गरेको बुझिएको छ । हालका सचिव गोकर्ण विष्ट र छविलाल विश्वकर्माले उपमहासचिव बन्ने इच्छा व्यक्त गरेको स्रोतले बतायो । यसले पदाधिकारीहरूको स्थानान्तरण र पद सन्तुलनमा थप बहस र छलफलको सम्भावना सिर्जना गरेको नेताहरूको भनाइ छ। यसैबीच यसपटक केही नयाँ नामहरूले पनि पदाधिकारीमा सक्रियता देखाएका छन् । खिमलाल भट्टराई, ठाकुर गैरे, रामकुमारी झाँक्री र सूर्य थापाले सचिव पदमा डेब्यु गर्ने इच्छा व्यक्त गरेका छन् । भट्टराई, गैरे र झाँक्री अनेरास्ववियुका पूर्व अध्यक्षहरू हुन् । थापा प्युठानका निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।  प्रदेशबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेताहरूको प्रवेशले पार्टीमा नयाँ ऊर्जा थप्ने र प्रतिनिधित्वको दायरा फराकिलो बनाउने अपेक्षा गरेका छन् । राजनीतिक विश्लेषकहरूले नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टीभित्रका अनुभवी नेताहरूको दोहोरिने चाहना र नयाँ नेताहरूको प्रवेशले पुराना र नयाँ नेताबीचको सन्तुलन परीक्षण गर्ने अवसर प्रदान गर्ने सम्भावना रहेको बताएका छन् । यसले पार्टीभित्र नयाँ सोच र नेतृत्व विकासलाई बलियो बनाउने संकेत गरेको एकजना महाधिवेशन प्रतिनिधिले बताए । सचिव पदमा नयाँ उम्मेदवारहरूको प्रवेशले पार्टीभित्रको नेतृत्व संरचनामा विविधता ल्याउनेछ । भट्टराई, गैरे, झाँक्री र थापाको डेब्युको  योजनाले कार्यकर्ताहरूमा उत्साह सिर्जना गरेको एक महाधिवेशन प्रतिनिधिले बताए । उनका अनुसार यो नयाँ नेतृत्व विकासको संकेत हो । नयाँ नेताको प्रवेशले पार्टीको निर्णय प्रक्रिया र रणनीतिमा पनि नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको गुल्मीका एक महाधिवेशन प्रतिनिधिले जानकारी दिए । हालका पदाधिकारीहरूको दोहोरिने चाहना र नयाँ नेताहरूको प्रवेशबीचको सन्तुलनले आगामी महाधिवेशनलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ । पार्टीभित्रका वरिष्ठ नेताहरूले आफ्नो अनुभवका आधारमा उम्मेदवारी दिने तयारी गरेका छन् । नयाँ नेताहरूले पार्टीमा आफ्नो उपस्थिति दर्ज गराउने र भविष्यमा शीर्ष नेतृत्वको दाबीको सोंच बनाएको बताएका छन् । समग्रमा आगामी महाधिवेशनले लुम्बिनी प्रदेशको प्रभुत्व पुष्टि गर्ने मात्र होइन, पार्टीको नेतृत्व संरचनामा नयाँ र पुराना नेताबीचको सन्तुलन परीक्षण गर्ने अवसर पनि प्रदान गर्ने एक नेताले बताए । 

प्रधानमन्त्री कार्की भेट्न सिंहदरबार पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ ।  आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्की र भण्डारीबीच भेटवार्ता भएको हो ।  भण्डारी र कार्कीबीच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको छ ।  प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि भण्डारीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन एवं निरीक्षण समेत गरेकी थिइन् ।  

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई क्यूरा हेल्थका सेवामा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रालिबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी भएको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले क्यूरा हेल्थद्वारा प्रदान गरिने विभिन्न सेवा शुल्कमा छुट प्राप्त गर्नेछन् । ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थले उपलब्ध गराइने प्याथोलोजी ल्याबका विभिन्न सेवामा (निःशुल्क होम–डेलिभरी सुविधा सहित) तथा अन्य स्वास्थ्य प्याकेजहरूमा बिल रकमको १२ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ । सम्झौतापत्रमा मंसिर १९ गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्रालिका तर्फबाट प्रबन्धक शीतल प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यान्वयनसँगै नेपाल बैंकका कर्मचारी तथा ग्राहकले क्यूरा हेल्थ प्रालिद्वारा उपलब्ध गराइने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ लिन सक्ने भएका छन् ।

२०० एमपी जाईस् टेलीफोटो क्यामेरासहित भिभो एक्स३०० प्रो नेपालमा आउँदै

काठमाडौं । भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स३०० प्रो’ नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजरहरू र नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत गरिएको प्रोमोशनसँगै यो मोडेल प्रतिको उत्सुकता देशभर बढ्दै गएको छ । जाईस् सँगको सहकार्यमा तयार पारिएको एक्स३०० प्रोले नेक्स्ट–जेनेरेशन इमेजिङ र नयाँ ओरिजिन ओएस ६ सहित बजारमा प्रवेश गर्नेछ । बजारमा आएको प्रारम्भिक जानकारीअनुसार भिभो एक्स३०० प्रो भिभोको अहिलेसम्मकै सबल मोबाइल इमेजिङ प्रणालीसहित आउने अपेक्षा गरिएको छ । भावनात्मक, प्राकृतिक र जीवन्त दृश्यहरू क्याप्चर गर्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै जाईस् सहकार्यमा टेलिफोटो स्पष्टता तथा लो–लाइट क्षमतामा उल्लेखनीय सुधार गरिएको छ । मोडेलको मुख्य आकर्षण २०० मेगापिक्सेल जाईस् एपियो टेलिफोटो क्यामेरा मानिएको छ, जसले सूक्ष्म विवरणलाई अत्यन्तै उच्च प्रिसिजनसहित प्रस्तुत गर्नेछ । यसलाई साथ दिने जाईस् गिम्बल–ग्रेड मुख्य क्यामेराले लो–लाइट तथा गतिशील दृश्यहरूलाई अझ स्थिर र प्राकृतिक बनाइदिनेछ । डिभाइसमा ५० मेगापिक्सेल जाईस् वाइड–एंगल फ्रन्ट क्यामेरा समावेश गरिनेछ, जसले सेल्फी तथा ग्रुप फोटोहरूलाई अझ स्पष्ट र फराकिलो बनाउन योगदान गर्नेछ । भिभो एक्स३०० प्रो ‘प्रो इमेजिङ चिप भियस् वन’ तथा डाइमेन्सिटी ९५०० चिपसेटमा आधारित रहेर सञ्चालन हुनेछ। भित्र रहेको भी थ्री प्लस इमेजिङ चिप र भिभोले विकास गरेको उच्च–दक्षता एनपीयूले इमेजिङ प्रक्रिया छिटो, सहज र शक्तिशाली बनाउने कम्पनीको दाबी छ । भियस् वनले प्रि–प्रोसेसिङ र भी थ्री प्लसले पोस्ट–प्रोसेसिङ जिम्मा लिनेछ। फोनको मजबूतीका लागि यसमा आर्मर ग्लासको प्रयोग गरिएको प्रारम्भिक जानकारी छ, जसले स्क्र्याच तथा ड्रपबाट उच्च सुरक्षा दिनेछ । साथै, ६५१० क्षमताको ब्लू–वल्ट ब्याट्री र ९० वाट फास्ट चार्जिङले द्रुत चार्जिङसँगै भरपर्दो पावर ब्याकअप प्रदान गर्नेछ । भिभो एक्स३०० प्रोप्रति नेपाली बजारमा चासो बढिरहेका बेला कम्पनीले अत्याधुनिक हार्डवेयर, उन्नत सफ्टवेयर तथा शक्तिशाली चिपसेटको संयोजनमार्फत मोबाइल नवप्रवर्तनमा नयाँ मानक स्थापित गर्ने लक्ष्य लिएको छ । छिट्टै सार्वजनिक हुने यो फ्ल्यागशिप मोडेलले प्रयोगकर्तालाई आफ्ना महत्वपूर्ण क्षणहरू अझ यथार्थ, स्पष्ट र आत्मविश्वासका साथ क्याप्चर तथा साझा गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।

पोखरा विमानस्थल भ्रष्टाचार आरोपमा ५ पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार पूर्व सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मा, पूर्व सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलगातयका विरुद्ध मुद्धा दायर भएको छ ।  रेग्मीका अनुसार अहिले उनीहरुविरुद्ध मुदा दर्ता प्रक्रियामा रहेको छ ।   

३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले घटेर २६०९ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सागर डिस्टिलरीको भएको छ । सागरको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी गुप्रको ३२ करोड, बन्दिपुर केबलकारको १५ करोड, युनाइटेड मोदी हाइड्रोको १३ करोड ४९ लाख र हिमालयन रिइन्स्योरेन्सको १३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्त, श्रीनगर एग्रीटेक र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज बजारका सबै सूचक घटेका छन् । बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ तथा व्यापार १.२१ प्रतिशतले घटेका छन् ।

नेपाल इन्स्योरेन्सद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २० गते सामाखुशीमा आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल बीमा प्राधिकरण, जीवन/ निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरू, सर्भेयरहरू सहित २५ संस्थाहरूबाट २८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नेको इन्स्योरेन्स लिमिटेड प्रथम, नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड द्वितीय र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड तृतीय भएको छ । उक्त टीमका खेलाडीहरूलाई कम्पनीको संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान प्रदान गरेका थिए । प्रतियोगितामा नेपाल माईक्रो इन्स्योरेन्सका रोमन सिंह उत्कृष्ट गोलरक्षक, हिमालयन एभरेष्टका सुनिल थापा उत्कृष्ट डिफेन्डर, हिमालयन एभरेष्टकै दिनेश कुमार सिंह उत्कृष्ट गोलकर्ता भएका छन् भने नेको इन्स्योरेन्सका युकेश तामाङ्ग टुर्नामेन्टका उत्कृष्ट खेलाडी चयन भएका छन् । साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए बापत रेफ्रिहरू र उक्त प्रतियोगिताका लागि मैदान उपलब्ध गराइदिने सामाखुशी फुटसलका राजु महर्जनलाई कम्पनीका अध्यक्षले मायाको चिनो दिएका थिए ।

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ ।   यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलव २५ मेगावाट क्षमता बढाइएको जानकारी दिए ।      'सुरुङको आकार, हेड (विद्युत्गृह र बाँधको उचाइ), टर्वाइनको क्षमता बढाउने र लगानी थप गरेपछि आयोजनाको क्षमता बढाउन विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ', उनले भने, 'थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले क्षमता अभिवृद्धि गरिएको हो ।'      यसअघि ३१४ मिटर अग्लो रहेको हेडलाई बढाएर ३१७ मिटर र खोलाबाट सुरुङमा हालिने पानीको मात्रा १४ दशमलव ४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७ दशमलव २४ घनमिटर प्रतिसेकेण्ड बनाइएको छ ।      अनुमानित लागत आठ अर्ब ४६ करोड ५४ लाख दुई हजार रुपैयाँ रहेको हाइड्रो इम्पायरका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए । धवलागिरि–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी) मा विद्युत्गृह निर्माण सुरु भएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।      विसं २०८१ फागुनदेखि तीन हजार ८३८ मिटर लामो सुरुङ निर्माण सुरु भएको थियो । बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट हालसम्म दुई हजार ४०० मिटर सुरुङ निर्माण भइसकेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भएको छ । आउटलेटबाट विद्युत्गृहसम्म ८४३ मिटर लामो पेनस्टक पाइपलाइन रहनेछ । यो आयोजना रन अफ द रिभर (नदी प्रभाहमा आधारित) हो ।      आयोजनाको सिभिल ठेकेदार आरएससी आरजे जेभी र माछापुछ्रे इञ्जिनियरिङ प्रालि रहेका छन् । साथै इलेक्ट्रोमेकानिकल कार्यका लागि ठेकेदार कम्पनी ट्रोयर इटली रहेको छ । हाइड्रोमेकानिकल कार्यका लागि माछापुछ्रे मेटल एण्ड मेसिनरी वर्कसप प्रालि परिचालित भएको छ । वित्तीय व्यवस्थापनका लागि सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र नवील बैंकले लगानी गरेका छन् । यसमा ७०–३० को अनुपातमा आधारित बैंक र स्वपुँजी रहनेछ ।      यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेशनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ । करिब १० किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणको तयारीमा छ । शिवरात्रि खोलादेखि बाँध निर्माणस्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ ।      आयोजनाले धवलागिरि गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक पुर्याउन सहयोग गरेको छ । विसं २०८३ चैतसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख सुवेदीले बताए ।      क्षमता अभिवृद्धिको प्रक्रियाअनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव सङ्कलन गर्न शनिबार धवलागिरि–४ नाउरामा मस्यौदा परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।      परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सलुसन्स प्रालिका प्रबन्ध निर्देशक शङ्कर बस्यालले आयोजना निर्माणका क्रममा पर्ने वातावरणीय, सामाजिक, आर्थिक असर तथा न्यूनीकरणका उपायका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । आयोजना प्रभावित क्षेत्रमा नीतिगत व्यवस्थाअनुसार समुदाय सहयोगका विभिन्न कार्यक्रमका लागि छ करोड ३४ लाख ९१ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।      सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष यामबहादुर घर्ती, वडा सदस्य हरिप्रसाद तिलिजा, जनसुधार युवा क्लबका अध्यक्ष लीलबहादुर घर्ती, खाम्लाका बासिन्दा केशरमान पुन, चन्द्रज्योति मावि व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पुन र नाउराका बासिन्दा कुलबहादुर घर्तीले सुझाव दिएका थिए ।      पहुँचमार्गको स्तरोन्नति, खिवाङ–मुदी जोड्ने सडकमा मोटरबेल पुल, सडकको धुलो नियन्त्रण, सामाजिक उत्तरदायित्व कार्यक्रमका बजेटको पारदर्शी परिचालन गर्न उनीहरुले सुझाव दिएका थिए । रासस