विकासन्युज

लुम्बिनी लायन्स एनपिएलको दोस्रो संस्करणको च्याम्पियन, सुदूरपश्चिमलाई ६ विकेटले हरायो

काठमाडौं । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि  जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।  सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्यो । उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा चित्त बुझायो ।  सुदूरपश्चिमले जितका लागि दिएको ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले नौ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिए । उनले १३ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४२ रनको योगदान गरेका हुन् ।  यस्तै, डार्शी शर्टले १४ रन बनाए । उनले १३ बलमा तीन चौका प्रहार गर्दै १४ रन बनाए । कप्तान रोहित पौडेलले १६ रन बनाए । उनले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै १६ रन बनाएका हुन् । निरोशन डिक्वेलले ११ रनमा अविजित रहे । यस्तै, सन्दिप जोरा शून्यमा आउट भए । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने अविनाश बोहोरा र दिपेन्द्रसिंह ऐरीले समान एकरएक विकेट लिए । यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् ।  यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०-१० रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र  कप्तान रोहित पौडेलले समान तीनरतीन विकेट हात पारे । यस्तै, टीका भन्डारीले एक विकेट लिए ।  

कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस

तानसेन । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पाल्पा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सन्दीप राना र समानुपातिकतर्फ कृष्णप्रसाद अधिकारीलाई सिफारिस गरिएको क्षेत्रीय सभापति झमनबहादुर मगरले जानकारी दिए । क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि वीरबहादुर राना, हिमालदत्त श्रेष्ठ, मीना पन्थी, कृष्णप्रसाद बस्याल र महेश्वरी कुँवर सिफारिस भएका हुन् । यसैगरी, समानुपातिकतर्फ राजनप्रसाद पन्त, सुनिता अधिकारी, वसन्ती घिमिरे र जमिला मियाँ सिफारिस भएका छन् । राष्ट्रियसभाका लागि १० जनाको नाम सिफारिस भएको छ । पार्टीले हरिप्रसाद नेपाल, महेन्द्र पाण्डे, विधान श्रेष्ठ, यमलाल तिमिल्सिना, माधव नेपाल, देवराज ढकाल, दानबहादुर पछाई, शोभा शाक्य, शुक्रराज भण्डारी र अम्बिका पौडेललाई सिफारिस गरेको सभापति मगरले बताए ।

अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो

काठमाडौं । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार मौसमी इन्फ्लुएन्जा देशका अधिकांश भागमा बढ्दो क्रममा छ र यस सिजनमा इन्फ्लुएन्जा ए ९एच३एन२० प्रमुख भाइरसको रूपमा फैलिरहेको छ । छ डिसेम्बरसम्मको हप्तामा अमेरिकी सार्वजनिक स्वास्थ्य प्रयोगशालाहरूले राष्ट्रव्यापी रूपमा पाँच सय सत्तालिस इन्फ्लुएन्जा भाइरस पत्ता लगाएका छन् । यसै हप्तामा यस सिजनको पहिलो बालबालिका मृत्युसँग सम्बन्धित फ्लुको रिपोर्ट पनि आएको छ । केन्द्रले विशेष गरी छ महिना भन्दा माथिका व्यक्तिलाई, वार्षिक फ्लु खोप लगाउन सिफारिस गरेको छ । त्यसैगरी, केन्द्रका अनुसार फ्लु उपचारका लागि केही औषधिहरू उपलब्ध छन् । यी औषधिहरू समयमै सुरु गर्दा सबैभन्दा प्रभावकारी हुन्छन् र विशेषगरी ती व्यक्तिहरूका लागि महत्वपूर्ण छन्, जसलाई गम्भीर फ्लु–सम्बन्धित जटिलता हुने जोखिम बढी हुन्छ । रासस

एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताएका छन् । शनिबार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।  डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट नभाग्ने अध्यक्ष ओलीको भनाई थियो । उनले मुलुकमा निर्वाचन गराउने दिशामा सरकार नरहेको जिकिर समेत गरे ।  अध्यक्ष ओलीले भने,‘हाम्रो स्पष्ट माग छ–प्रतिनिधिसभा तुरुन्त पुनस्थापना होस् । देश संविधान र लोकतन्त्रको बाटोमा फर्कियोस । सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ । तर के तयारी केही भईरहेको छ ? देखिँदैन । चुनाव चाहने सरकारले गर्थ्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता हुन्थ्यो । सभा, जुलुश गर्न खुला वातावरण बनाउथ्यो । दललाई चुनावमा सहभागी हुन प्रोत्साहित गर्दथ्यो ।’ अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने दिशामा कुनै काम नगरेको जिकिर समेत गरे ।   

एमाले कमजोर छैन, झनै शक्तिशाली बनेको छ : महासचिव पोखरेल

काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले झनै शक्तिशाली भएर उठेको दाबी गरेका छन् । ११औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले खरानीबाट उठेर एमाले अझै शक्तिशाली बनिरहेको बताए ।   महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रुपमा प्रहार भइरहेको बताए । उनले नेकपा एमाले सकियो भन्ने कतिपयलाई लागिरहेको भएपनि महाधिवेशनमा उपस्थित संख्याले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट हुने बताए ।  एमाले सरकारबाट मात्रै बाहिरिएको भन्दै नेपाली जनताको हृदयमा गहिरोसँग बसेको पाेखरेलले बताए। भदौ २३ र २४ पछि अध्यक्ष ओलीमाथि आक्रमण भइरहेको उनले बताए । नेपालको इतिहासमा भदौ २३ र २४ गतेको घटना नवयुवाहरूको भावनामाथि खेल्ने देशविरोधी तत्वहरूको काम भएको पाेखरेलले बताए । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूला आन्दोलनको नेतृत्व आफूहरूले गरेको बताए ।   

'मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि निर्माणमा खबरदारी गरिरहन्छु'

रौतहट । मधेश प्रदेशका रौतहट र सर्लाहीका विभिन्न स्थानमा पुल समयमै निर्माण नहुँदा स्थानीय बासिन्दा सास्ती बेहोर्न बाध्य भएका छन् । पुल निर्माणका लागि ठेक्का लगाए पनि काम हुन नसक्दा अधिकांश पुल निर्माण अलपत्र अवस्थामा छन् । रौतहट र सर्लाही जिल्ला जोड्न बागमती नदीमा निर्माणाधीन दुईवटा पुल समयमै सम्पन्न नहुँदा यात्रुहरू वर्षौंदेखि जोखिमपूर्ण तथा कष्टकर यात्रा गर्न बाध्य छन् । यसले जनजीवन प्रभावित भएको छ । यी पुलले सर्लाही र रौतहट मात्र होइन, पर्सा र बारा हुँदै मधेश प्रदेशको राजधानी जनकपुरसँग पनि जोड्नेछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार साँझ पुलहरूको निरीक्षण गर्दै निर्माण प्रगतिबारे जानकारी लिए । पुल नहुँदा स्थानीयले बेहोर्नु परेको समस्याबारे उनले सरोकारवालासँग छलफल पनि गरे । पुल नबन्दा आम जनताले दैनिक रूपमा भोगिरहेको समस्या देख्दा आफू दुःखी भएको उल्लेख गर्दै मन्त्री घिसिङले आफू मन्त्री पदमा रहे वा नरहे पनि निर्माणमा निरन्तर खबरदारी गरिरहने बताए । स्थानीय बासिन्दाले पुल निर्माण तत्काल सम्पन्न गर्न आग्रह गरेका थिए । रौतहटको दुर्गाभगती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिका जोड्ने बागमती नदी (गंगापिपरा) मा निर्माणाधीन करिब ७ सय मिटर लामो पुल अलपत्र अवस्थामा छ । उक्त पुल निर्माणका लागि असार २०७३ मा टुन्डी–रसुवा–पप्पु संयुक्त उपक्रम (जेभी) सँग ८६ करोड ३७ लाख रुपैयाँ (कर सहित) मा ठेक्का सम्झौता भएको थियो । पछिल्लो पटक थपिएको ठेक्का सम्झौताअनुसार पुल निर्माण २०८३ कात्तिक १३ भित्र सम्पन्न गर्नुपर्ने छ । गत वर्ष असोजमा बागमती नदीमा आएको बाढीले पुलको एक स्पान र एक जग (फाउन्डेसन) बगाएको थियो । हाल पुलको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको छ । हुलाकी राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती (बडरवा) मा ६३४ मिटर लामो पुल निर्माणका लागि सुरुमा जेठ २०६७ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर साढे १२ वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीले काम गर्न नसकेपछि पुरानो ठेक्का तोडी वैशाख २०७९ मा ६५ करोड १६ लाख रुपैयाँमा नयाँ ठेक्का लगाइएको थियो । साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि हाल निर्माण प्रगति २० प्रतिशत मात्र रहेको छ । ठेक्काको म्याद चैत २०८३ सम्म थपिएको भए पनि निर्माण व्यवसायी हालसम्म निर्माणस्थलमा परिचालित भएको छैन । यसैगरी, रौतहटको चपुरबाट उत्तरतर्फ अवस्थित गैंडाटार–चाँदी पुल पनि करिब १० वर्षदेखि निर्माण अलपत्र अवस्थामा छ । मकवानपुरको बकैया गाउँपालिका जोड्दै धरान–चतरा–हेटौँडा सडक खण्डसँगसमेत जोडिने यो पुल पटक–पटक म्याद थपिए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । पुल निर्माण तत्काल सम्पन्न गर्न माग गर्दै स्थानीयले अनशनसहित विभिन्न विरोध कार्यक्रमसमेत गरेका थिए । उक्त पुल निर्माणको ठेक्का पप्पु–शिवशंकर संयुक्त उपक्रम (जेभी) ले पाएको थियो ।

नेपाल र भियतनामबीच लगानी र व्यापार सहकार्यबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागबीच द्विपक्षीय लगानी र व्यापारका विषयमा छलफल भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामसँग भियतनामको हनोईमा शुक्रबार भेटवार्ता गरेको हो । भेटवार्तामा महासंघले नेपालमा लगानीमैत्री वातावरण रहेको र लगानीका सम्भाव्य क्षेत्रमा भियतनामी लगानीकर्ताका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो । सो अवसरमा अध्यक्ष ढकालले आफूहरू भियतनामी लगानीकर्तालाई लगानीका लागि नीतिगत सहजीकरण गर्न तयार रहेको बताए । 'नेपालमा लगानीका कैयौँ क्षेत्र छन्, ती क्षेत्रमा ठूलो सम्भावना पनि छ । म भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दछु । यसका लागि महासंघले सरकारसँगको समन्वय तथा सहकार्यका लागि आवश्यक सहजीकरण गर्नेछ,' अध्यक्ष ढकालले भने । उनले नेपालमा विशेष गरी पर्यटनअन्तर्गत होटल, रिसोर्ट, केबलकार, आरोग्य (वेलनेस) पर्यटन, जलविद्युत्, सूचना प्रविधि तथा चिया, कफी र हस्तकलाको व्यापारमा ठूलो सम्भावना रहेको उल्लेख गरे । नेपालले हाल भियतनामबाट धेरै आयात गर्ने र कम निर्यात गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले दुई देशबीचको व्यापार तथा औद्योगिक सहकार्यलाई अझ बलियो बनाउन दुवै पक्षको गहिरो चासो रहेको पनि बताए । भियतनामको लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामले भियतनामको आर्थिक अवस्था, प्रत्यक्ष वैदेशिक लगानी तथा लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी दिँदै आफूहरू नेपालसँग आर्थिक कूटनीतिमार्फत सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताए । 'नेपालले विभिन्न क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि गरिरहेको प्रयास सराहनीय छ । हामीले निर्यातजन्य उद्योग, पर्यटन र जलविद्युत् क्षेत्रमा काम गर्न सक्छौँ,' उनले भने, 'यसका लागि नेपालमा लगानी गर्न चाहने भियतनामी लगानीकर्ताको सहजीकरणका लागि हामी तयार छौँ ।' साथै, उनले सन् २०२५ को अगस्टमा भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण भएको तथा चीनमा भियतनामका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीच भेट भएको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध अझ बलियो बनाउनुपर्नेमा जोड दिए । सोही अवसरमा अध्यक्ष ढकालले महासंघको आगामी चैतमा हुने अधिवेशनमा सहभागिताका लागि विभागका प्रतिनिधि तथा भियतनामी लगानीकर्तालाई निम्तो पनि दिएका थिए । भेटवार्ताका क्रममा महासंघका उपाध्यक्ष हेमराज ढकालले निर्यातजन्य उद्योगमा लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको जानकारी गराउँदै लगानी र व्यापारका क्षेत्रमा रहेको ठूलो सम्भावनाको उपयोग गर्न सके दुवै देशले लाभ लिन सक्ने बताए । महासंघकी अर्की उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाल र भियतनामले अटोमोबाइल तथा पर्यटन क्षेत्रमा सहकार्य गरी लाभ लिन सक्ने बताइन् । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्तालाई नेपालमा विद्युतीय सवारीसाधनको एसेम्बली उद्योगमा लगानीको सम्भावना रहेको बताउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । महासंघका कोषाध्यक्ष भरतराज आचार्यले दुई देशबीच लगानी, व्यापार तथा आर्थिक गतिविधि विस्तारका लागि कनेक्टिभिटी महत्वपूर्ण रहेको उल्लेख गरे । उनले नेपालमा ऊर्जा क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेकाले सो क्षेत्रमा लगानी बढाएर भियतनामी लगानीकर्ताले लाभ लिन सक्ने बताए । महासंघअन्तर्गतको स्टार्टअप एण्ड इनोभेसन फोरमकी सभापति जुना माथेमाले नवप्रवर्तनको क्षेत्रमा सीप, पुँजी र प्रविधिमा दुई देशबीच सहकार्य गर्न सकिने धारणा राखिन् । यसअघि महासंघको टोलीले बिहीबार भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका उपकार्यकारी अध्यक्ष न्युगेन क्याङ भिनसँग भेट गरी नेपाल र भियतनामबीच लगानीका सम्भावना तथा अवसरबारे छलफल गरेको थियो ।

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

अष्ट्रेलिया । अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागू भएको हो । उमेर समूहअनुसार समर्थन फरक देखियो । १८/२४ वर्षका युवाहरूमा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०/६४ वर्षका बीच ८० प्रतिशत र ६५ वर्षमाथिका समूहमा ८७ प्रतिशत पुगेको छ । मोनाश विश्वविद्यालयका प्रोफेसर मार्क आन्द्रेभिकका अनुसार, 'यो प्रतिबन्ध मुख्यतया केही शक्तिशाली विदेशी प्लेटफर्मलाई लक्षित गरेको हो, जसले युवा प्रयोगकर्तालाई ट्र्याक गरेर विज्ञापनमार्फत लाभ उठाउँछन् ।' उनका अनुसार यी एपहरूले युवा प्रयोगकर्तालाई अनियमित विज्ञापन, गलत सूचना र मनोवैज्ञानिक रूपमा प्रभावित गर्ने एल्गोरिदममार्फत शोषण गर्ने आरोपमा छन् । समर्थकहरूले यस प्रतिबन्धले युवाको मानसिक स्वास्थ्य, धम्की, चरमपन्थी सामग्री, गलत सूचना र यौन अपराधीबाट हुने जोखिम घटाउने बताएका छन् । विरोधकहरूले भने यसले अभिभावक अधिकारमा हस्तक्षेप गर्ने र सामाजिक जडानमा बाधा पुर्याउने आरोप लगाएका छन् । यो कदमले दुईपक्षीय समर्थन पाएको छ र विश्वव्यापी ध्यान आकर्षित गरेको छ, किनभने अन्य देशहरू पनि समान कानुन विचार गरिरहेका छन् । तर, रेडिटले उच्च अदालतमा चुनौती दायर गरेको छ । यसले आफ्नो प्रौढ प्रयोगकर्ता केन्द्रित फोरमहरूमा प्रतिबन्ध लागू नहुने तर्क गरेको छ । गत महिना, दुई जना १५ वर्षीय अष्ट्रेलियाली किशोरहरूले पनि उच्च अदालतमा संवैधानिक चुनौती दायर गरेका थिए । नयाँ कानुनअनुसार प्रभावित प्लेटफर्महरूले १६ वर्षमुनिका प्रयोगकर्ताले खाता सिर्जना गर्न वा पहुँच गर्न नदिने उचित कदम चाल्नुपर्नेछ । गम्भीर उल्लङ्घन पाएमा प्लेटफर्महरूले ४९.५ करोड अष्ट्रेलियाली डलर (३३ लाख अमेरिकी डलर) जरिवाना तिर्नुपर्नेछ । रासस