विकासन्युज

पूर्वीनाकाबाट भित्रियो पौने ८ अर्बको पेट्रोलियम पदार्थ, ३.८० अर्ब रुपैयाँ राजस्व सङ्कलन

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट ७ अर्ब ८४ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा २३ करोड ५२ लाख ७० हजार रुपैयाँ अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् ९ करोड ४२ लाख ९५ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।  कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । पाँच महिनामा ३ अर्ब ८२ करोड ७० लाख रुपैयाँका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, २ अर्ब ५३ करोड १६ लाख रुपैयाँका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, उक्त पाँच महिनामा १ अर्ब १ करोड ६० लाख रुपैयाँका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, ३२ करोड ८२ लाख रुपैयाँको ३ हजार ५८० किलोलिटर एटीएफ र ६ करोड ३१ लाख रुपैयाँका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।

विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ बिक्री गर्ने, १ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री गर्ने भएको हो । साविकको नयाँ सारथी र विजय लघुवित्तको मर्जर पश्चात् बनेको विजय लघुवित्तको हाल कायम चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनी समूहको ७४.३९ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको २५.६१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।  सोही व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनी समूहको सेयर स्वामित्व न्यूनतम ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारीपश्चात् लघुवित्तको जारी तथा चुक्ता पुँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयरमा पुस २४ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा माघ ५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

भारतको सहयोगमा निर्माण हुने २ परियोजनाको शिलान्यास

काठमाडौं । भारत सरकारको सहयोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ । उक्त भवनको मङ्गलबार काठमाडौं स्थित भारतीय राजदूतावासका काउन्सुलर अविनाश कुमार सिंह र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले संयुक्त रुपमा शिलान्यास गरे ।  सिद्धिचरण नगरपालिका-५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन भारत सरकारको ४ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको भारतीय दूतावासले जनाएको छ । नयाँ भवन साढे ३ तलाको हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ । यस्तै, भारत सरकारको सहयोगमा गुल्मीको धुर्कोट गाउँपालिका-३ मा अवस्थित निन्युखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको पनि शिलान्यास गरिएको छ । उक्त भवनको मङ्गलबार काठमाडौं स्थित भारतीय राजदूतावासका काउन्सुलर गीताञ्जली ब्रैँडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रुपमा शिलान्यास गरे ।  धुर्कोट गाउँपालिका-३ स्थित निन्युखर्क माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग ३ करोड ८० लाख रुपैयाँमा निर्माण गर्न लागिएको दूतावासले जनाएको छ । नयाँ पूर्वाधारमा फर्निचर, कक्षाकोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिका मार्फत कार्यान्वयन गरिने बताएको छ ।

इन्द्रेणी व्याङक्वेट, थकाली भान्सा घरसहित ३ वटा होटललाई नगद जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा होटललाई कूल ४५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौंलाई १५ हजार रुपैयाँ, पाककला प्रालिलाई १० हजार रुपैयाँ र इन्द्रेणी फुड वर्ल्ड एन्ड व्याङक्वेटलाई २० हजार रुपैयाँ जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसार कारबाही गरेको हो । यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुगमन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र ३ वटालाई नगद जरिवाना गरेको हो । 

अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने, ३ लाख ९६ हजार थान छपाइ

काठमाडौं । राहदानी विभागले अब २ कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ।  राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ । गत मङ्सिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइने विभागले जनाएको छ । अन्तरिम अवधिका लागि उपलब्ध भएको राहदानी पुस्तिकाका कारण अब भने सहज रुपमा वितरण हुने विभागले प्रष्ट पारेको छ ।

समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको सम्मानमा हुलाक टिकट लोकार्पण

काठमाडौं । नेपाल सरकार अन्तर्गतको हुलाक सेवा विभागले समाजसेवी तथा उद्योगी स्वर्गीय ओमप्रकाश गोयलको सम्मानमा १० रुपैयाँ अंकित हुलाक टिकटको प्रथम आवरणमा टाँचा प्रदान गरी लोकार्पण गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमबीच गोयलले नेपाली समाजमा पुर्‍याएको योगदानको कदर गर्दै यो टिकट सार्वजनिक गरिएको हो । कार्यक्रममा गोयल फाउन्डेसनका अध्यक्ष तथा स्वर्गीय ओमप्रकाश गोयलका सुपुत्र कैलाशचन्द्र गोयलले आफ्नो पिताको संघर्ष र समाजसेवाप्रतिको समर्पणको स्मरण गरे । उनले भने, ‘मेरा पिता एक साधारण परिवारबाट उठेर भारतको हरियाणादेखि नेपालको भद्रपुर हुँदै काठमाडौंसम्म आफ्नो कर्मक्षेत्र बनाए । आफ्नो कमाइको केही हिस्सा समाजसेवामा लगाउनु भन्ने उहाँको प्रेरणाले हामीलाई सधैं दिशानिर्देश ग‍र्यो ।’ कैलाशचन्द्र गोयलले आफ्नो पिताले खानेपानी, स्वास्थ्य, शिक्षा, गौशाला निर्माण र मठमन्दिर स्थापना जस्ता अनगिन्ती सामाजिक कार्यमा जीवनभर सक्रिय रहेको बताए। उनले भने, ‘बुवाले सुरु गर्नुभएका सामाजिक कार्यलाई निरन्तरता दिन र उहाँको सपनालाई जीवित राख्न हामीले गोयल फाउन्डेसन स्थापना गरेका हौं ।’ कैलाशचन्द्रले आफ्नो पिताको निधनको १८ वर्षपछि सरकारले हुलाक टिकट प्रकाशन गरेर गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै गोयल परिवार सधैं सरकार र हुलाक सेवा विभागप्रति ऋणी रहने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले भौतिक शरीर नष्ट भए पनि असल कर्मले मानिसलाई युगौंसम्म अमर बनाउने बताए ।  उनले भने, ‘आज ओमप्रकाश गोयलजी हुलाक टिकटमा टाँसिनुभएको छ । उहाँ आफ्नो भौतिक शरीरले हामी माझ हुनुहुन्न, तर उहाँले समाजका लागि गर्नुभएको कामले उहाँलाई अमर बनाएको छ। मान्छे साच्चिकै मर्दैन, कर्मले अमर रहन्छ ।’ उनले देशको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाप्रति उद्योगी(व्यवसायीमा रहेको चिन्तालाई स्वीकार गर्दै अब विवेकपूर्ण निर्णय लिने समय आएको पनि बताए ।  उनले भदो २३ र २४ गते आन्दोलनमा सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त देशको सपना देखेर ज्यान दिने युवाहरूको बलिदानले वर्तमान सरकार बनेको स्मरण गराए।  समारोहमा उद्घोषकले गोयलको परोपकारी भावनालाई एक मार्मिक कथामार्फत प्रस्तुत गरेका थिए ।  हुलाक सेवा विभागको आयोजना र गोयल फाउन्डेसनको सह-आयोजनामा सम्पन्न उक्त समारोहमा उपसभामुख इन्दिरा राना मगरलगायत सरकारी अधिकारीहरू, उद्योगी-व्यवसायी तथा समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

मानसिक स्वास्थ्यलाई सहयोग गर्ने यी पाँच जीवनशैली

काठमाडौं । मानसिक स्वास्थ्य सुधार गर्ने उपाय भनेको स्वस्थ जीवनशैलीका छनोटहरू अपनाउनु हो । दैनिक जीवनमा स्वस्थ बानीहरू विकास गर्दा सकारात्मक सम्बन्ध निर्माण गर्न र चुनौतीहरू सामना गर्न सहयोग पुग्छ ।  व्यायामले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि फाइदा गर्छ ।  नियमित व्यायाम वा शारीरिक गतिविधिले डिप्रेसन र एन्जायटीका भावना कम गर्न मद्दत गर्छ । यसले निद्राको गुणस्तर सुधार्नुका साथै समग्र भावनात्मक स्वास्थ्य पनि राम्रो बनाउँछ । मानसिक स्वास्थ्यमा सहयोग पु¥याउने शारीरिक गतिविधिहरू केके हुन्, आउनुहोस् यसबारेमा छलफल गरौं । नियमित व्यायाम दौडिनु, पौडी खेल्नु, साइकल चलाउनु, हिँडडुल गर्नु, बगैंचामा काम गर्नु शरीरका लागि फाइदाजनक काम हुन् । यदि समय मिल्यो भने नृत्य गर्दा अझ राम्रो हुन्छ । विशेषज्ञहरूले यसको लाभ महसुस गर्न हप्तामा १५० मिनेट एरोबिक व्यायाम गर्न सिफारिस गर्छन् स्वस्थ आहार स्वस्थ रहने आहार सन्तुलित आहार हो । कहिलेकाहीँ मिठाइँ वा फुर्सदको परिकार खानेले धेरै हानि गर्दैन । तर चिनी र बोसो बढी भएका खानाहरू धेरै मात्रामा खाने हो भने स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । मेन्टल हेल्थ फाउण्डेशनले विविधतापूर्ण आहार खान सिफारिस गरेको छ । जसमा अन्नका रोटी र दाना, बीज र स–साना दाना (नट्स, सीड) जस्ता खानेकुराहरू खानुपर्छ । गुणस्तरीय निद्रा गुणस्तरीय निद्राले भावनात्मक नियन्त्रण, संज्ञानात्मक क्षमता र मानसिक स्वास्थ्यलाई फाइदा गर्दछ । राम्रो निद्रा लाग्ने बानी विकास गर्दा तपाईंको मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्छ । हरेक दिन एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ । यदि तपाईं हरेक रात ७–८ घण्टा निद्रा पाउन सक्नुहुन्छ भने तपाईंको मन र शरीर दुवैलाई फाइदा हुन्छ । सामाजिक सम्बन्ध मानसिक रूपमा स्वस्थ हुनको लागि सामाजिक सम्बन्ध दृढ हुनुपर्छ । यसबाट धेरै लाभहरू हुन्छन् । परिवार र साथीहरूसँगको सामाजिक सम्बन्धले चिन्ता र डिप्रेसन कम गर्न मद्दत गर्छ । यसले आत्मसम्मान बढाउने र सहानुभूति विकास गर्ने काम गर्छ, सम्बन्धहरूमा विश्वास र सहकार्य बढ्छ  । दृढ र सकारात्मक सम्बन्धहरूले तपाईंलाई खुसी र सन्तुष्ट महसुस गराउन सक्छ ।  माइन्डफुलनेस अभ्यास माइन्डफुलनेस वा ध्यानले चिन्ता र डिप्रेसन कम गर्न मद्दत गर्छ  । साथै स्वस्थ बानीहरू विकास गर्न पनि प्रेरित गर्छ । दिनको १० मिनेट मात्र अभ्यास गर्नाले पनि धेरै फाइदा हुन्छ । माइन्डफुलनेसले भावनाहरू व्यवस्थापन गर्न र सकारात्मक दृष्टिकोण निर्माण गर्न पनि सहयोग पुर्‍याउँछ ।  

हुलास वायरको आम्दानी ७.३५ अर्ब, बैंकमा ऋण पनि ७.२९ अर्ब रुपैयाँ

काठमाडौं । करिब पाँच दशकको औद्योगिक विरासत बोकेको हुलास वायर इन्डस्ट्रिजले एकै वर्ष साढे ७ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । हुलास वायरका अनुसार सन् २०२५ मा ७ अर्ब ३५ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १३.३५ प्रतिशत अर्थात् १ अर्ब १३ करोड ७० लाख रुपैयाँ कम हो । कम्पनीले सन् २०२४ मा ८ अर्ब ५१ करोड २० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।  स्वर्गीय महेन्द्रकुमार गोल्छाले सन् १९७९ मा मोरङको बुढीगंगा गाउँपालिकामा हुलास वायर इन्डस्ट्रिज स्थापना गरेका थिए । नेपालकै अग्रणी औद्योगिक संस्थामध्ये एकका रूपमा परिचित हुलास वायर इन्डस्ट्रिजले हाल मोरङ र सुनसरीमा गरी दुईवटा उत्पादन युनिटबाट आईएसओ ९००१ मान्यता प्राप्त विविध स्टिल तथा तारजन्य उत्पादनहरू उत्पादन गर्दै आएको छ ।  बुढीगंगा गाउँपालिका-३, बाँसबारीमा रहेको युनिट-१ बाट जीआई वायर ५५ हजार मेट्रिक टन, ग्याबिन बक्स १४ हजार ४०० मेट्रिक टन, एचबी वायर २ हजार ३७५ मेट्रिक टन, रिब्ड वायर ३ हजार ३०० मेट्रिक टन, बाब्र्ड वायर ४५० मेट्रिक टन, वायर नेल्स १ हजार २०० मेट्रिक टन उत्पादन हुँदै आएको छ । यसकासाथै, नन-फेरस धातुअन्तर्गत ब्रास ५ हजार ५६० मेट्रिक टन र कपर सिट २ हजार २०० मेट्रिक टन समेत सोही युनिटमा उत्पादन भइरहेको कम्पनीले जनाएको छ । यस्तै, सुनसरीको इटहरी उप-महानगरपालिका-१३, खनारस्थित युनिट-२ बाट टीएमटी तथा न्यारो स्ट्रिप क्वाइल १ लाख ७२ हजार ८०० मेट्रिक टन, एमएस बिलेट ८६ हजार ४०० मेट्रिक टन र एमएस ब्ल्याक पाइप (६ हजार ००० मेट्रिक टन उत्पादन हुँदै आएको छ । हुलास वायर इन्डस्ट्रिज गोल्छा परिवारका सदस्यहरूद्वारा प्रवर्द्धित कम्पनी हो । कम्पनीको सेयर संरचनाअनुसार पारस एम. गोल्छाको करिब ३४ प्रतिशत र राजलक्ष्मी गोल्छाको करिब १७ प्रतिशत सेयर स्वामित्व रहेको छ । हाल कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक युक्ति गोल्छाले सम्हाल्दै आएकी छन् । उद्योग क्षेत्रमा एक दशकको अनुभव बोकेकी उनको नेतृत्वमा हुलास वायर इन्डस्ट्रिजले आफ्नो सञ्चालन क्षमता र व्यवस्थापन दक्षता अभिवृद्धि गर्दै आएको कम्पनीले जनाएको छ । उद्योग सञ्चालनका लागि हुलास वायरले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब २९ करोड २७ लाख रुपैयाँ कर्जा लिएको छ । जसमा कम्पनीले २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ ।  यस्तो छ उद्योगको आम्दानी  उद्योगले सन् २०१७ मा ६ अर्ब ९६ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ७ अर्ब ५१ करोड ९० लाख रुपैयाँ, सन् २०१९ मा ७ अर्ब ९० करोड १० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ७ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  उद्योगले सन् २०२१ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ८३ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ६ अर्ब ५ करोड १० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।