स्ट्रबेरीखेती बिक्री गरेर एकवर्षमा २१ लाख आम्दानी
दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् । स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैँले हेर्छन । चार वर्षअघिदेखि स्ट्रबेरीखेतीमा होमिएका २७ वर्षीय उनले गत वर्षमात्र रु २१ लाखबराबरको स्ट्रबेरीको कारोबार भएको बताए। गत वर्ष आधाभन्दा बढी रकम त बचत नै भयो, यो वर्ष पनि दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ । यस वर्ष झन् क्षेत्रफल बढेकाले कारोबार बढ्ने उनले भने। उनका अनुसार यो वर्ष मङ्सिरबाट बेच्न सुरु गरेको र आम्दानी पनि राम्रो भइरहेको छ । एक किलोलाई रु सात सयका दरले बिक्री भइरहेको छ । उनले दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गरेका छन । किसान साउदले भने, 'कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।' परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उनले बताए । उनले घोराहीमामात्र होइन, कपिलवस्तुमा १० कट्ठामा र कैलालीमा दुई बिघामा व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आएका छन । त्यसैगरी, घोराहीकै अर्का किसान वीरेन्द्र खड्काले पनि व्यावसायिक रूपमा स्ट्रबेरीको खेती गर्दै आएका छन । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनले केही वर्षदेखि स्ट्रबेरीखेती गर्दै आएका हुन् । उमेरले २८ वर्ष पुगेका उनले यही व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्रबेरीखेती सोचेभन्दा पनि राम्रो हुँदै गएको उनको भनाइ छ । किसान खड्काले भने, 'कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आठ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, विगत दुई/तीन वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।' उनले घोराहीस्थित झिँगौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर व्यावसायिक स्ट्रबेरीखेती गर्दै आएका छन । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत उनले चाडपर्वको समयमा सयपत्री फूलको पनि खेती गर्छन् भने गर्मी मौसममा खरबुजाको पनि व्यावसायिक खेती गर्दै आएका छन । स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने भन्दै खड्काले भने्, 'बिरुवा ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि अपनाउँदा सुरुमा रु आठ लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको र फल बिक्री भइरहेको छ । यसले अझै राम्रो आम्दानी दिने आशा छ ।' कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले उत्पादन भएको स्ट्रबेरी दैनिक बिक्री गर्न सकियो भने राम्रो हुने बताए । जिल्लामा बजार सानो भएको हँदा विशेष गरेर प्याकिङ र ढुवानीमा सावधानी अपनाउन आवश्यक रहेको उनको भनाइ छ । टिपेर धेरै दिनसम्म प्याकिङमा राख्दा बिगे्रर खेर जाने सम्भावना हुने हुँदा किसानले ख्याल गर्नुपर्ने बताए । जिल्लाको हावा, पानी, माटो सबै राम्रो रहेको बताउँदै उनले भने, 'स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येको फलफूलको बिरुवा हो, आजभोलिको समय राम्रो हुन्छ ।' जिल्लामा व्यावसायिक रूपमा धेरै खेती नगरेको भए पनि कहीँकतै घरका गमलामा थोरैथोरै लगाउने गरेको उनको भनाइ छ । रासस
किमाथाङ्का अरुण जलविद्युत स्वदेशी पुँजीमै निर्माण हुने, ९८ अर्बको वित्तीय मोडालिटी तयार
काठमाडौं । संखुवासभाको भोटकोला गाउँपालिका-२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा -मोडालिटी तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनील आफैंले गर्नेछ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात ६८ करोड ५५ लाख ऋणबाट र ३० प्रतिशत अर्थात २९ अर्ब ३८ स्वःपुँजी (इक्विटी)बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरु र बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ऋण लिने प्रस्ताव गरिएको छ । इक्विटीबाट प्राप्त हुने रकम कम्पनीका संस्थापक र गैह्रआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा,अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणलाई सेयर निष्कासन गरी संकलन गरिनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिंदै आयोजनाको अनुमानित लागतलाई अद्यावधिक गरी सोही बमोजिम तत्काल वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । विद्युत उत्पादन कम्पनीसँग विद्युत आयोजनाहरुको अनुमतिपत्र (लाइसेन्स) रहेको तर कुनै पनि आयोजना निर्माणमा जान नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले कम्पनीको दीर्घकालिन आम्दानी तथा दिगोपनका लागि पनि किमाथाङ्का आयोजना आफैंले बनाउनु पर्ने बताए । घिसिङले आयोजनाको प्रस्तावित लगानी ढाँचा र त्यस बमोजिम कम्पनीको संस्थागत इक्विटी योजनालाई तत्काल कम्पनी सञ्चालक समितिबाट पारित गरी पेश गर्न निर्देशन दिए । किमाथाङ्का अरुणको अध्ययन तथा पूर्वनिर्माण खर्च ७३ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । बाँध, जलाशय, विद्युतगृहलगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ । यसका लागि करिब ४५ करोड रुपैयाँ लाग्नेछ । आयोजनाबाट वार्षिक रुपमा २ अर्ब ६९ करोड युनिट (२६९०.९७ गिगावाट आवर) विद्युत उत्पादन हुनेछ । यसमध्ये हिउँदयामको पिक तथा अफ पिक ऊर्जा क्रमश : ४७ करोड ३१ लाख तथा ३५ करोड ३३ लाख र वर्षायामको १ अर्ब ८६ करोड ४६ लाख युनिट रहेको छ । उक्त विद्युत बिक्रीबाट वार्षिक रुपमा १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुनेछ । विद्युत उत्पादन कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको १०-१०, नागरिक लगानी कोषको ५, एचआइडिसिएल ४, राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि २९ प्रतिशत सेयर छुट्याइएको छ ।
तीन सातादेखि बन्द रहेको सानिमा मिडल तमोर हाइड्रोको विद्युत् उत्पादन पुनः सुरु
ताप्लेजुङ । गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस (विद्युतगृह) लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए । केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्यसमेत एकैसाथ सम्पन्न गरी उत्पादन सुरु गरिएको उनले बताए । करिब दुई वर्षअघि उत्पादन सुरु गरिएको यस आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । यो आयोजना जिल्लामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी क्षमताको हो ।
वीरगञ्जमा कर्फ्यू आदेश मंगलबार दिउसो १ बजेसम्म थप
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मंगलबार बिहानसम्म कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए । 'स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमनाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको छ', उनले भने । स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ । प्रजिअ दाहालले कफ्र्युका बेलामा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनका लागि अनुरोध गरे । कफ्र्यु आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयको भनाइ छ । चिसो बढेसँगै यहाँका पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गराएका हुन् । यहाँको बेल्डाडी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय सोमबारदेखि तीन दिनका लागि बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी, अत्यधिक जाडोका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरी आगामी पुस २५ गतेसम्म जाडो बिदा गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिए । यस्तै, लालझाडी गाउँपालिकाले पनि सोमबार सूचना जारी गरी विद्यालयको सञ्चित हिउँदे बिदाबाट कट्टा हुनेगरी मङ्गलबार र बुधबार गरी दुई दिन बिदा दिएको छ । लगातारको चिसोका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र यहाँका सबै पालिकाको जनजीवन प्रभावित बनेको छ भने बजारक्षेत्रमा चहलपहल पनि घटेको छ ।
नेपाल-कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग सोमबार कतारमा भएको भेटमा अध्यक्ष ढकालले दुवै संस्थाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति आभार व्यक्त गर्दै नेपाल–कतार आर्थिक सहकार्यलाई नयाँ चरणमा प्रवेश गराउने समय आएको उल्लेख गरे । ‘नेपाल र कतारबीचको सम्बन्ध केवल कूटनीतिक होइन, जनस्तरको विश्वास र सहकार्यमा आधारित छ । कतारमा कार्यरत नेपाली श्रमिकहरूको योगदानले दुवै देशको अर्थतन्त्रबीच विश्वास र आत्मीयता निर्माण गरेको छ,’ अध्यक्ष ढकालले भने । अध्यक्ष ढकालले ऊर्जा, पूर्वाधार, वित्त, लगानी, पर्यटन, सेवा र लजिस्टिक्स क्षेत्रमा कतारको विश्वव्यापी क्षमता उल्लेख गर्दै यिनै क्षेत्रमा नेपालले निजी क्षेत्रस्तरको साझेदारीलाई प्राथमिकता दिएको स्पष्ट पारे । उनले सन् २०२३ अक्टोबरमा कतारका अमिर महामहिमको नेपाल भ्रमणका क्रममा भएको सहमति स्मरण गराउँदै नेपाल–कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) शीघ्र सञ्चालन गर्न महासंघ पूर्ण रूपमा तयार रहेको जानकारी दिँदै यसलाई छिट्टै अन्तिम रुप दिनुपर्ने बताए । ‘नेपाली पक्षबाट निजी क्षेत्रका प्रतिनिधिहरूको नामावली अन्तिम भइसकेको छ । अब हामी यो संयन्त्रलाई व्यवहारमा उतार्न चाहन्छौँ,’ उनले भने । अध्यक्ष ढकालले संयुक्त व्यवसाय परिषद् बिटुबी सहकार्य, क्षेत्रगत लगानीका अवसर पहिचान, व्यावसायिक अवरोध समाधान तथा संयुक्त लगानी र परियोजना अघि बढाउका लागि प्रभावकारी मञ्च हुने धारणा राखे । उनले नेपालमा जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षामा आकर्षक अवसरहरू उपलब्ध रहेको जानकारी दिँदै नेपाल लगानीका लागि खुला रहेको बताए । अध्यक्ष ढकालले विशेषगरी उत्पादनदेखि प्रसारण र ऊर्जा–आधारित उद्योगसम्म फैलिएको जलविद्युत क्षेत्र दीर्घकालीन साझेदारीको लागि उपयुक्त रहेकोमा जोड दिए । यस्तै पर्यटन क्षेत्रमा होटल, रिसोर्ट, साहसिक तथा स्वास्थ्य पर्यटन, साथै विमानसम्बन्धी सेवामा कतारी लगानीकर्ताको उल्लेखनीय भूमिका हुन सक्ने अध्यक्ष ढकालले बताए । सो अवसरमा कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले यो भेटवार्ताले नेपाल–कतार आर्थिक साझेदारीलाई थप मजवुत बनाउने बताए । साथै उनले आउने दिनमा महासंघसँगको सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए । साथै उनले नेपाल-कतार संयुक्त वाणिज्य परिषदलाई छिट्टै अन्तिम रुप दिने विषयमा आफू सकारात्मक रहेको बताए । अध्यक्ष ढकालले पछिल्लो महासंघको पहल र पैरवीमा नेपाल सरकारले लगानी वातावरण सुधारका लागि गरेका नीतिगत र कानुनी सुधारहरूको पनि उल्लेख गरे । नीतिगत स्थायित्व, डिजिटल प्रणाली, सार्वजनिक–निजी साझेदारी र प्रक्रियाको सरलीकरणमार्फत सरकारले सुधारहरु गर्दै लगिरहेको जानकारी दिए । हालै नेपालमा भएको युवा (जेनजी) आन्दोलन सुशासन, पारदर्शिता र देशमै अवसरको चाहना व्यक्त गर्ने सकारात्मक चेतनाको संकेतका रूपमा रहेको उल्लेख गर्दै यी आवाजलाई सही ढंगले सम्बोधन गर्न सके दीर्घकालमा संस्थागत सुदृढीकरण र स्थिर व्यावसायिक वातावरण निर्माणमा सहयोग पुग्ने बताए । अध्यक्ष ढकालले नेपालमा कतारी लगानीलाई स्वागत गर्दै नेपाली व्यवसायीलाई पनि सेवा, पर्यटन, सीप विकास र साना तथा मझौला उद्यम क्षेत्रमा कतारमा अवसर खोज्न आग्रह गरे । नियमित व्यावसायिक प्रतिनिधिमण्डल आदान–प्रदान, संयुक्त फोरम र संयुक्त व्यवसाय परिषदको शीघ्र सक्रियताले साझा रूचिलाई ठोस परियोजनामा बदल्न सकिने उनको धारणा छ । भेटका क्रममा अध्यक्ष ढकालले कतार चेम्बरका अध्यक्ष तथा प्रतिनिधिमण्डललाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन औपचारिक निमन्त्रणा समेत दिए । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले उनले महासंघको साधारण सभामा सहभागिता जनाउने प्रतिवद्धता समेत जनाएको अध्यक्ष ढकालले जानकारी दिए ।
सुपर खुदी हाइड्रोको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । सुपर खुदी हाइड्रोपावरले आज पुस २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री गर्नेछ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता लमजुङको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका-२ र ३ का बासिन्दा र ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका-१, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बिक्री गरिने कम्पनीले जनाएको छ । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा माघ २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
टिकट काउन्टरमा लागूपदार्थ सेवन, ७ जना कर्मचारी पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत ७ जना कर्मचारी लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगन्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागूपदार्थ खाएको प्रमाणित गरेपछि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए । उनका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्त कुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुरको सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका छन् । त्यस्तै, झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी र धादिङको गल्छी घर भई काठमाडौं चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछानेलाई पक्राउ गरिएको उनले जानकारी दिए । लागूपदार्थ सेवन गरी यात्रु तथा पैदलयात्रीलाई दुःख, हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्न सो क्षेत्रमा प्रहरीको टोली खटिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा सोमबार अदालतले लागूपदार्थ सेवन कसुरमा अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए । उनका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।