१६० वटा स्टार्टअप उद्यममा मात्रै १४ सय बढीलाई रोजगारी
काठमाडौं । देशभरका स्टार्टअप उद्यममध्ये १६० वटा स्टार्टअप उद्यममा एकहजार ४ सय भन्दा बढिले रोजगारी पाइरहेको एक सरकारी अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले नेपालको कोशी प्रदेशमा रहेका स्टर्टअप उद्यमहरुमा गरेको अध्ययनमा १६० वटा स्टार्टअप उद्यममा आर्थिक वर्ष २०८०/८१ मा मात्रै कुल १ हजार ४३६ जनाले रोजगारी प्राप्त गरेका गरिरहेको पाइएको हो । अध्ययन प्रतिवेदनअनुसार रोजगारी पाउनेमा ४८.४ प्रतिशत महिला र ५१.६ प्रतिशत पुरुष रहेका छन् । क्षेत्रगत हिसाबमा सेवामूलक उद्यममा सबैभन्दा बढी ५७ प्रतिशत र सूचना प्रविधि क्षेत्रका उद्यममा सबैभन्दा कम २२.७ प्रतिशत महिला रोजगारीको हिस्सा रहेको छ । अध्ययनका क्रममा १६० वटा स्टार्टअप उद्यमको औसत क्षमता उपयोग ७१.४ प्रतिशत रहेको पाइएको छ । क्षेत्रगत रुपमा कृषि तथा वनजन्य क्षेत्रका उद्यमको औसत क्षमता उपयोग सबैभन्दा बढी ८२.१ प्रतिशत रहेको छ भने पर्यटन क्षेत्रका उद्यमको औसत क्षमता उपयोग सबैभन्दा कम ६०.७ प्रतिशत रहेको छ । सूचना प्रविधि, उत्पादनमूलक र सेवामूलक उद्यमको औसत क्षमता उपयोग क्रमशः ७२.० प्रतिशत, ६१.० प्रतिशत र ६४.८ प्रतिशत रहेको छ । अध्ययनका क्रममा स्टार्टअप उद्यममा प्रविधिको प्रयोगबारे पनि हेरिएको थियो । जसमध्ये १६० स्टार्टअप उद्यम मध्ये ४४ वटा उद्यममा उच्च प्रविधि प्रयोग भएको पाइयो भने १०४ वटा उद्यममा सामान्य प्रविधिको प्रयोग भएको छ भने १२ वटा उद्यममा प्रविधिको प्रयोग नभएको पाइएको छ । क्षेत्रगत रुपमा सूचना प्रविधि क्षेत्रका सबैभन्दा बढी ६६.७ प्रतिशत उद्यममा उच्च प्रविधिको प्रयोग भएको देखिन्छ भने कृषि तथा वनजन्य क्षेत्रका सबैभन्दा कम १०.६ प्रतिशत उद्यममा मात्र उच्च प्रविधिको प्रयोग भएको देखिन्छ । अध्ययन प्रतिवेदन अनुसार प्रविधिको प्रयोगले स्टार्टअप उद्यमको विकासमा महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ । प्रविधिको प्रयोग गर्ने उद्यमीमध्ये सबैभन्दा बढी २९.४ प्रतिशतले प्रविधिको प्रयोगले ग्राहकसँगको पहुँचमा वृद्धि, २५.६ प्रतिशतले श्रम लागतमा कमी, १६.१ प्रतिशतले उत्पादकत्वमा वृद्धि, १२.८ प्रतिशतले उत्पादनमा वृद्धि, १०.६ प्रतिशतले उत्पादन लागतमा कमी र ५.५ प्रतिशतले अन्य (खास गरी गुणस्तर वृद्धि) मा सहयोग पुर्याएको बताएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ–‘यस अध्ययनमा समावेश कुल १६० वटा स्टार्टअप उद्यमहरू मध्ये १५५ वटा उद्यमले हाल सञ्चालन गरिरहेको व्यवसाय विस्तार गर्ने योजना बनाएको देखिन्छ भने ५ वटा उद्यमले व्यवसाय विस्तार नगर्ने देखिन्छ । ग्राहकसँगको पहुँचमा वृद्धि श्रम लागतमा कमी उत्पादकत्वमा वृद्धि उत्पादनमा वृद्धि उत्पादन लागतमा कमी अन्य प्रतिशत घड ३ वटा, उत्पादनमूलक र पर्यटन क्षेत्रका १/१ वटा बाहेक सबै उद्यमले आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको देखिन्छ ।’ स्टार्टअप उद्यम/व्यवसाय विस्तारको योजना बनाउने उद्यमीहरु मध्ये सबैभन्दा बढी ३३.३ प्रतिशतले क्षमता विस्तार, २९.६ प्रतिशतले वस्तु तथा सेवा विविधिकरण, १९ प्रतिशतले प्रविधिको प्रयोग र १८.१ प्रतिशतले बजार विस्तार गर्ने योजना बनाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार अध्ययनमा समावेश भएका १६० वटा स्टार्टअप उद्यममध्ये आर्थिक वर्ष २०८०/८१ मा ८०.० प्रतिशत अर्थात १२८ वटा उद्यमहरू नाफामा रहेका छन् भने २०.० प्रतिशत अर्थात ३२ वटा उद्यमहरूले नोक्सान बेहोरेका छन् । अध्ययनमा समावेश गरिएका पाँच व्यावसायिक क्षेत्रका स्टार्टअप उद्यम मध्ये कृषि तथा वनजन्य क्षेत्रका सबैभन्दा बढी ८६.४ प्रतिशत उद्यमहरू नाफामा रहेको देखिन्छ भने सूचना प्रविधि क्षेत्रका सबैभन्दा कम ६० प्रतिशत उद्यमहरू मात्र नाफामा रहेको पाइएको छ । १६० स्टार्टअप उद्यमहरूको आ.व.२०८०/८१ को वित्तीय परिसूचकहरू हेर्दा ती स्टार्टअप उद्यमहरूको कुल बिक्री आम्दानी रु.९२ करोड ६४ लाख रहेको छ भने कुल नाफा १२ करोड ९२ लाख रहेको छ । स्टार्टअप उद्यमको औसत नाफा १३.९ प्रतिशत रहेको छ । त्यसैगरी आ.व.२०८०/८१ मा अध्ययनमा समावेश स्टार्टअप उद्यमहरूमा कुल लगानी २ अर्ब २४ करोड ९० लाख रहेको छ भने औसत लगानीमा प्रतिफल दर ५.७ प्रतिशत रहेको छ । अध्ययनमा समावेश भएका पाँच व्यावसायिक क्षेत्रका स्टार्टअप उद्यममध्ये पर्यटन क्षेत्रको कुल आम्दानीमा नाफा प्रतिशत सबैभन्दा उच्च २०.९ प्रतिशत रहेको छ भने सेवामूलक क्षेत्रको सबैभन्दा कम ९.९ प्रतिशत रहेको छ । कृषि तथा वनजन्य सूचना प्रविधि उत्पादनमूलक सेवामूलक पर्यटन समग्र प्रतिशत नाफा नोक्सान लगानीबाट प्राप्त प्रतिफलको दरसूचना प्रविधि क्षेत्रको सबैभन्दा बढी २०.९ प्रतिशत रहेको छ भने पर्यटन क्षेत्रमा सबैभन्दा कम ३ प्रतिशत रहेको छ । अध्ययनमा समावेश भएका १६० उद्यम मध्ये ९१.९ प्रतिशत उद्यम सफलता उन्मुख रहेको देखिन्छ भने ८.१ प्रतिशत उद्यम संकट उन्मुख रहेको देखिन्छ । क्षेत्रगत आधारमा कृषि तथा वनजन्य क्षेत्रका सबैभन्दा बढी ९८.५ प्रतिशत उद्यम सफलता उन्मुख रहेको देखिन्छ भने पर्यटन क्षेत्रमा सबैभन्दा कम ७७.३ प्रतिशत उद्यम सफलता उन्मुख रहेको पाइएको छ । त्यसैगरी सूचना प्रविधि, उत्पादनमूलक र सेवामूलक क्षेत्रका क्रमशः ८६.७ प्रतिशत, ९३.१ प्रतिशत र ८९.३ प्रतिशत उद्यम सफलता उन्मुख रहेको देखिन्छ । सफलता उन्मुख स्टार्टअप उद्यमले सफलता उन्मुख हुनुको कारणमा ४७.१ प्रतिशतले बजारको उपलब्धता, २६.३ प्रतिशतले प्रविधिको प्रयोग, १३.५ प्रतिशतले व्यवसायको इको सिस्टम निर्माण, ५.८ प्रतिशतले श्रमिकको उपलब्धता, २.७ प्रतिशतले उर्जा तथा पूर्वाधारको उपलब्धता, १.९ प्रतिशतले पुँजीको उपलब्धता र २.७ प्रतिशतले अन्य कारण (वस्तु तथा सेवामा भएको नयाँपन, स्वास्थ्यवर्धक उत्पादन, गुणस्तर, जनचेतनामा वृद्धि आदि) उल्लेख गरेको देखिन्छ । संकट उन्मुख उद्यमहरूले संकट उन्मुख हुनुका कारणमा ३०.८ प्रतिशतले बजारको अभाव, २६.९ प्रतिशतले पुँजीको अभाव, २३.२ प्रतिशतले प्रविधिको अभाव, ७.७ प्रतिशतले श्रमिक/कामदारको अभाव, ३.८ प्रतिशतले व्यवसायले कृषि तथा वनजन्य सूचना प्रविधि उत्पादनमूलक सेवामूलक पर्यटन प्रतिशत सफलता उन्मुख समस्याग्रस्त बजार प्रविधि व्यवसायको इको सिस्टम श्रमिक उर्जा तथा पूर्वाधार पुँजी अन्य प्रतिशत सिस्टम निर्माण गर्न नसक्नु, ३.८ प्रतिशतले उर्जा/पूर्वाधारको कमी र ३.८ प्रतिशले विदेशमा भुक्तानी गर्न र विदेशबाट भुक्तानी प्राप्तिमा कठिनाई, उद्यमको नगद प्रवाह र बैंकको किस्ताको बेमेल, खुल्ला सिमानाका कारण हुने अवैध आयात जस्ताहरु कारण देखाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
काठमाडौं । सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरुमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ । सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिलहरु महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र सम्बन्धित मुद्दाका पक्षहरुसँग उपलब्ध गराउन आग्रह गरेको थियो । सोही अनुसार मुद्दाका मिसिलहरु सङ्कलन गर्ने काम भइरहको छ ।
नेपाल एसबीआई बैंकद्वारा १०७ बालबालिकालाई न्यानो कपडालगायत सामग्री सहयोग
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन (बाल मन्दिर) मा आश्रित १०७ जना बालबालिकालाई न्यानो कपडा, चप्पल, ब्ल्याङ्केट, म्याट्रेस, वाटर प्युरिफायरलगायत अत्यावश्यक सामग्री सहयोग गरेको छ । बैंकका अनुसार उक्त पहलबाट बालबालिकाको तत्काल आवश्यकता पूर्ति हुनुका साथै उनीहरूको समग्र विकासमा सहयोग पुर्याउने लक्ष्य लिइएको छ । सहयोग सामग्री हस्तान्तरण कार्यक्रमअन्तर्गत बैंकका अध्यक्ष वेंकट बंसीधर कुंचाले नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्यलगायत बैंक तथा संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले समुदायस्तरमा यस्ता सामाजिक गतिविधि समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ । विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल एसबीआई बैंक लिमिटेडका हाल देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।
देउवा पक्षका ३० केन्द्रीय सदस्यको शेखरसँग भेट, विवाद समाधानमा अग्रसर हुन आग्रह
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय ३० जना केन्द्रीय सदस्यहरूले वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेट गरी पार्टीभित्र देखिएको विवाद समाधानमा अग्रसर भूमिका खेल्न आग्रह गरेका छन् । नेताहरूले मंगलबार बिहान कोइरालासँग करिब साढे दुई घण्टा लामो छलफल गरेको वार्तामा सहभागी नेता पुष्पा भुसालले जानकारी दिइन् । भेटमा पार्टीभित्र बढ्दै गएको मतभेद, महाधिवेशनको मिति र प्रकृतिसँग सम्बन्धित विवाद तथा त्यसको समाधानका उपायबारे गहन छलफल भएको उनले जानकारी दिइन् । केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेपछि देखिएको विवाद समाधानका लागि अग्रसर हुन आफूहरूले आग्रह गरेको अर्का केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार अहिले देखिएका समस्या समाधानका लागि तीनवटा प्रस्तावमा छलफल भइरहेको छ । पछिल्लो समयमा नेता कोइरालासँग पार्टी बचाउन आग्रह गर्दै पुग्ने नेताहरू बढिरहेका छन् । उनी विशेष महाधिवेशनको पक्षमा पनि खुलेर उभिएका छैनन् । तर, केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरे विशेष महाधिवेशन गर्न सकिने धारणा उनले राख्दै आएका छन् । आजको छलफलमा नेताहरू राजन केसी, उदयशमशेर राणा, योगेन्द्र चौधरी लगायतका नेताहरू सहभागी रहेको नेता शेर्पाले जानकारी दिए । छलफल पछि बोल्दै शेर्पाले भने, ‘पार्टीभित्रका विवाद समाधानका विषयमा हामीले नेता कोइरालासँग विस्तृत छलफल ग‍रेका छौं ।’ उनका अनुसार नेता कोइराला पार्टीभित्रका मतभेद न्यूनीकरण गर्दै अघि बढ्न सकारात्मक देखिएका छन् । बिहान कोइराला निवास पुगेका सहमहामन्त्री बद्री पाण्डेले नेता कोइरालाले अगाडि सारेका प्रस्तावहरूले मात्रै पार्टीको एकता मजबुत पार्ने दावी गरे । उनले भने, ‘सबै पक्षका नेताहरूले कोइरालालाई नेतृत्व लिन र विवाद समाधान गर्न आग्रह गरेका छन् ।’
गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी
गोरखा । यहाँ परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा)मा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी सुजिता बिरामी परेका हुन् । च्याउ खाएलगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएपछि तत्काल सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको र अहिले सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको उनले बताए । बिरामी सबै बोल्न सक्ने अवस्थामा छन् । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
बृजेशकुमार गुप्ताले गरे नेकपा एमाले परित्याग
काठमाडौं । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा कपिलवस्तुबाट चारपटक संघीय सांसद निर्वाचित नेता बृजेशकुमार गुप्ताले पार्टी परित्याग गरेका छन् । लामो समयदेखि संसदीय राजनीतिमा सक्रिय रहेका गुप्ताले एमालेसँगको सम्बन्ध तोडेको घोषणा गरेका हुन् । पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक असहमति, नीति निर्णय प्रक्रियामा बेवास्ता गरेको र क्षेत्रीय तथा राजनीतिक मुद्दामा पार्टी नेतृत्वको भूमिकाप्रति असन्तुष्टि बढ्दै गएपछि पार्टी छाड्ने निर्णयमा पुगेको गुप्ताको निकट स्रोतले जनाएको छ । कपिलवस्तु जिल्लामा प्रभावशाली नेताका रूपमा चिनिएका गुप्ता चारपटक संघीय सांसद निर्वाचित हुँदै संसदीय अभ्यासमा अनुभवी नेताका रूपमा स्थापित छन् । उनी एमालेको केन्द्रीय सदस्य रहेका थिए । गुप्ताले पार्टी परित्यागपछि आगामी राजनीतिक यात्राबारे भने औपचारिक घोषणा गरेका छैनन् । तर, समसामयिक राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नयाँ विकल्पबारे छलफल भइरहेको बताएका छन् ।
सुनको मूल्य तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ पुग्यो
काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेको हो । महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई दिनयता सुनको मूल्य निरन्तर उकालो लागेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १९५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
एमाले सचिवालय बैठक सुरु, राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधि सभा उम्मेदवारबारे छलफल
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा राष्ट्रिय सभाका लागि उम्मेदवारी चयन र आवश्यक गठबन्धनको विषयले पनि प्रवेश पाएको एक नेताले बताए । राष्ट्रिय सभाका १८ सिटका लागि प्रमुख राजनीतिक दलहरूबीच सहकार्य गरेर निर्वाचन लड्ने सहमति भइसकेको सन्दर्भमा कांग्रेस र माओवादीसँग भएको छलफल तथा सिट बाँडफाँडको अवस्थाबारे अध्यक्ष केपी शर्मा ओलीले सचिवालयलाई जानकारी गराएका छन् । पछिल्लो सहमति अनुसार एमालेले ६ सिटमा उम्मेदवारी दिने तयारी गरेको छ । यससँगै प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिसको प्रक्रिया र सो क्रममा विभिन्न स्थानमा देखिएका विवादसम्बन्धी विषय पनि सचिवालय बैठकमा उठ्ने सम्भावना रहेको नेताहरूले बताएका छन् । अध्यक्ष ओलीको ब्रिफिङपछि बैठक एजेन्डामा केन्द्रित हुने सचिवालयका एक नेताले जानकारी दिए ।