विकासन्युज

बैंक तथा वित्तिय संस्थाले जारी गर्ने भिसा कार्ड इएमभी चिपमा आधारित हुने

काठमाडौ, ६ पुस । अव बैंक तथा वित्तिय संस्थाले जारी गर्ने सम्पुर्ण भिसा कार्ड ‘इएमभी चिप’मा आधारित हुने भएको छ । बैंक तथा वित्तिय संस्थाले जारी गरेको भिसा कार्डको पिन कोड चोरी हुने र अरुले पैसा निकाल्ने समाचारहरु बाहिर आएपछि चोरी रोक्नको लागि नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)ले इएमभी चिपमा आधारित भिसा कार्ड जारी गर्न लागेको हो । इएमभी चिपमा आधारित कार्डमा डाटा नक्कल एवम् चोरी गर्न नमिल्ने भएकाले यस किसिमको कार्डलाई सुरक्षित र भरपर्दो मानिन्छ । नेप्ससँग आवद्ध बैंक तथा वित्तीय संस्थाले कार्ड सेवा प्रदायकसँग समन्वय गरी इएमभी भिसा चिप कार्ड जारी गर्न सक्नेछन् । नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा म्याग्नेटिक स्ट्रिप कार्ड (एमएससी) प्रयोग गरेका कारण विगतका दिनमा भोग्दै आएका चोरी एवम् छलिका घटनालाई निरुत्साहित गर्न तथा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख भएअनुसार एमएसी कार्डलाई विस्थापित गरी इएमभी चिप कार्डको अनिवार्यतालाई दृष्टिगत गरी सो प्रविधि ल्याइएको नेप्सका आर्थिक एवम् प्रशासन व्यवस्थापक मानबहादुर खत्रीले बताए । “कम्पनी पिसीआई पिन सेक्युरिटी तथा पिसीआई डिएसएस भर्जन ३.१ सर्टिफाइड रहेकोले यसबाट सञ्चालन गरिएका कार्ड भरपर्दा तथा अत्यधिक सुरक्षित हुन्छन्,” उनले भने । विश्व बजारमा अत्याधुनिक पेमेन्ट प्रणालीको विकास एवम् विस्तार भइरहेका बेला नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाको संयुक्त प्रयासमा सरल, सुलभ, आधुनिक तथा सुरक्षित रुपले कार्ड सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले नेप्सको स्थापना भएको हो । कम्पनीले आवद्ध संस्थालाई भिसासँगको सहकार्यमा विभिन्न कार्ड जारी गर्न आवश्यक सबै व्यवस्था मिलाउँदै आएको छ । कम्पनीले सनराइज बैंक लिमिटेड, जनता बैंक नेपाल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, एनआइसी एसिया बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र काष्ठमन्डप डेभलपमेन्ट बैंक लिमिटेडलाई भिसा कार्ड सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ । रासस

फागुन ८ र ९ गते पुर्वाधार सम्मेलन, भारतीय रेलमन्त्रीले विशेष सम्बोधन गर्ने

काठमाडौं, ६ पुस । नेपाल उद्योग परिसंघ(सिएनआई)ले आगामी फागुन ९ र १० गते राजधानीमा पुर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ । परिसंघले सरकार र युवा निर्माण व्यवसायी समाजसँग मिलेर पुर्वाधार सम्मेलन आयोजना गर्न लागेको हो । प्रधामन्त्रीले उद्घाटन गर्ने सम्मेलनमा भारतको संघिय रेलमन्त्री सुरेश प्रभुले प्रमुख वक्ताका रुपमा पुर्वाधार विकासबारे धारणा राख्ने कार्यक्रम रहेको छ । ‘नेपालको दिर्घकालिन महत्वका पुर्वाधारहरुमा निजी क्षेत्रको सहभागीता बढाउने र दिगो पुर्वाधार विकासको उदेश्यसहित पुर्वाधर सम्मेलन गर्न लागेका हौं’, परिसंघ अध्यक्ष हरिभक्त शर्माले भने । परिसंघ अध्यक्ष शर्माले निजी क्षेत्रको व्यवस्थापन क्षमताको सदुपयोग गर्दै पुर्वाधार विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सम्मेलनले योगदान दिने अपेक्षा पनि व्यक्त गरे । उनले नेपालको पुर्वाधारका क्षेत्रमा निजी क्षेत्रले नयाँ प्रबिधी भित्र्याउन पनि महत्वपुर्ण भूमिका खेल्न सक्ने धारण पनि राखे । उनले नेपालाई भारतीय तथा चिनियाँ रेल वे सञ्जालमा जोड्न नसक्दासम्म आर्थिक समृद्धि हासिल हुनै नसक्ने धारणा पनि राखे । उनले पुँजीगत खर्च न्युन हुनुमा सरकारको खर्च गर्ने कार्यबिधीमै समस्या रहेको आरोप पनि लगाएका थिए ।‘निजी क्षेत्र अनिवार्य साँझेदार भन्ने नाराका साथ आयोजना गरिने सम्मेलनमा ५ सय भन्दा बढि निर्माण व्यवसायीले सहभागीता जनाउने अपेक्षा गरिएको छ । परिसंघका उपाध्यक्ष बिष्णु अग्रवालले नेपालको पुर्वाधार विकासका समस्या र समाधानका उपाय खोज्न तथा दिर्घकालिन पुर्वाधार विकास रणनीति बनाउन सम्मेलन फलदायी हुने अपेक्षा समेत व्यक्त गरे । सम्मेलनको प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् ।

बुलेट रेलमा मेची-महाकाली ५ घण्टामै पुगिने, बन्दैछ प्रति घण्टा २ सय किलोमिटर दौड्ने रेल

काठमाडौं, ६ पुस । निर्माणाधिन ९४५ किलोमिटर लामो रेलमार्गले मेची- महाकाली यात्रालाई करिब ५ घण्टामै सम्भव बनाउने भएको छ । रेल विभागको नेतृत्वमा निर्माण आरम्भ गरिएको मेची महाकाली विद्युतिय रेल मार्गले प्रति घण्टा २०० किलोमिटरको दुरी पार गर्दै पाँच घण्टामा झापाका नेपालीलाई कञ्चनपुर पुग्न सम्भव बनाउन लागेको हो । ‘मेची महाकाली रेल मार्गमा प्रति घण्टा २०० किलोमिटरको दुरीमा रेल कुद्छन जसले मेचीबाट महाकाली पुग्न करिब ५ घण्टा मात्रै लाग्नेछ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले भने । प्रति किलोमिटर ४५ करोड लागत अनुमान गरिएको मेची महाकाली रेलवेको १०८ किलोमिटर खण्डालई आगामी ५ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर भारतीय नाका बन्दी र भूकम्पले काममा केहि ढिलाई भएको उपाध्याले दावी गरे । उनका अनुसार हाल बर्दिबासबाट पश्चिम खण्डको २५ किलोमिटरमा रेल मार्ग निर्माणको काम अघि बढेको छ । सो मार्ग निर्माणका लागि करिब एक अर्ब रुपैंयाँ बजेट विनियोजन भएको छ । विभागले बर्दिबास–बुटवल खण्डको विस्तृत परियोजना रिपोर्ट(डिपिआर) तयार पारिसकेको छ । पर्सा वन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा भने अझै केहि समस्या रहेको छ । त्यस बाहेक बर्दिबास–इनरुवा–काकडभिट्टाको २४७ किलोमिटर खण्डको डिपिआर निर्माण अन्तिम चरणमा पुगेको छ । उता, बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुख्खड र सुख्खड–गड्डा चौकीको रेल वे लाइनको डिपिआर पनि धमाधम बनिरहेको छ । सिंगल लेनमा निर्माण हुने मेची–महाकाली विद्युतिय रेल मार्गलाई ट्रान्स एसियन रेल वे लाइनको मिसिङ(छुटेको) खण्डका रुपमा हेरिएको छ । यसले नेपालाई एसिया हुँदै युरोप र चीनियाँ रेल वे सञ्जालसम्म जोड्नेछ ।‘यो रेल वे लाइन अन्तराष्ट्रिय स्तरको हुनेछ, जसले नेपालाई युरोप र चिनियाँ रेल वे सञ्जालसम्म पुर्याउनेछ’, विभागका सिनियर डिभिजनल इञ्जिनियर उपाध्याले भने । यस्तो रेल वे लाइन पुर्व पश्चिम राजमार्ग भन्दा दक्षिण अधिकतम ६ किलोमिटरको दुरीमा निर्माण हुनेछ । अब जयनगर–जनकपुर–बर्दिबाससम्म नेपालकै एक मात्र रेल वे सेवाका रुपमा केहि बर्ष अघिसम्म सञ्चालनमा रहेर हाल बन्द अवस्थामा रहेको जनकपुर–जयनगर रेल वे लाइन पनि फेरी निर्माण हुँदैछ । नयाँ बन्ने रेल वे लाइन भारतको जयनगरदेखि बर्दिबासम्मको ७० किलोमिटर लम्बाईको हुनेछ । आगामी दुई बर्षभित्रै सम्पन्न हुनेगरि भारत सरकारको शतप्रतिशत सहयोगमा यो रेल मार्गको निर्माण पनि धमाधम अघि बढेको छ ।

द्वन्दकालमा विस्थापित नेपाल बैंकका चार शाखाको पुनस्थापना

काठमाडौं, ६ पुस । नेपाल बैंक लिमिटेडले विगतमा विस्थापित गरिएका आफ्नो ४ वटा शाखाहरुलाई पुनस्थापना गरेको छ । बैंकले स्याङ्गजा जिल्लाको चापाकोट स्थित सुन्तलेटार शाखा, तनहुँ जिल्लाको खैरनीटार स्थित खैरनीटार शाखा, बाँके जिल्लाको कोहलपुर स्थित कोहलपुर शाखा तथा वाग्लुङ्ग जिल्लाको हरिचौर स्थित गलकोट शाखा सञ्चालन गरेको छ । बैंकले ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गरी व्यवसायलाई विस्तारित गर्ने क्रममा उक्त शाखाहरुको पुनस्थापना गरेको बैंकले बताएको छ । कम्पनीका अनुसार उक्त शाखाहरु ४० को दशकमा स्थापना भै बैंकिङ्ग सेवा सुचारु गरेकोमा विगतको द्वन्दकालमा सुरक्षाको कारणले विस्थापित भएका थिए । हालै पुनस्थापित शाखाहरु सहित हाल बैंकले १३० वटा शाखाहरु मार्फत आधुनिक एवं सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, निकट भविष्यमा व्यावसायिक सम्भाव्यताको आधारमा देशको ग्रामीण एवं शहरी क्षेत्रमा आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं शाखा पुनस्र्थापना गर्दै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

चौधरी फाउण्डेसनद्वारा धादिङ्मा २६६ घर र दुई विद्यालय भवन हस्तान्तरण

काठमाडौं, ६ पुस । चौधरी फाउण्डेसनले धादिङ् जिल्लाका भूकम्प प्रभावितहरुका लागि २६६ ट्रान्जिसनल होम (सिजी आश्रय) तथा दुई विद्यालय भवन (सिजी शिक्षालय) हस्तान्तरण गरेको छ । उक्त आश्रय जिल्लाको विकट उत्तरी गाविस बसेरीको नौवटा वडाका भूकम्प प्रभावितहरुका लागि हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । ‘भूकम्पपछि लामो समय बितिसकेको छ । तर, भूकम्प प्रभावितहरुको समस्या भने उस्तै छ’, चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले भने, ‘भूकम्पमा घर गुमाएकाहरुलाई वैकल्पिक वासस्थानको व्यवस्था गर्नु हाम्रो दायित्व हो । चौधरी फाउण्डेसनले त्यही प्रयासलाई जारी राखेको छ ।’ सोमबार बसेरीमा आयोजित आश्रय हस्तान्तरण समारोहमा धादिङ्गका सहायक प्रमुख जिल्ला अधिकारी राममणि मिश्र तथा फाउन्डेशनका पदाधिकारीहरुले प्रभावितहरुलाई आश्रय हस्तान्तरण गरेका छन् । जिल्लामा भूकम्पपीडितको सहयोगका लागि स्थानीय प्रशासनबाट भएको प्रतिबद्धता स्मरण गर्दै मिश्रले भने- ‘भूकम्पपछि पाल र टहरामुनि बस्नुपर्ने अवस्थाबाट मुक्ति दिन र पीडितका लागि तत्काल बसोबास उपलब्ध गराउनका लागि फाउन्डेसनद्वारा निर्मित यी ट्रान्जिसनल होमहरु बरदान सावित भएका छन् ।’ कम्पनीले सोही दिन धादिङ्गको सल्यानटारमा चौधरी फाउन्डेसनद्वारा निर्मित दुई भूकम्पप्रतिरोधी विद्यालय भवनहरु पनि विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको बताएको छ । सल्यानटार- ४ अवस्थित रानीपौवा उच्च माध्यमिक विद्यालय तथा सल्यानटार- ८ अवस्थित कमलादेवी निम्न माध्यमिक विद्यालयका लागि बनाइएका भवनहरु धादिङ्गका सहायक प्रमुख जिल्ला अधिकारी राममणि मिश्र तथा चौधरी फाउन्डेशनका पदाधिकारीहरुले हस्तान्तरण गरेका हुन् । भूकम्पप्रभावित विद्यालयहरुको पुनस्थापना लागि ल्याइएको सिजी शिक्षालय कार्यक्रम अन्तर्गत बनाइएका यी दुवै विद्यालय भवनमा ४० विद्यार्थी क्षमताका चार–चार कक्षाकोठाहरु रहेका छन् । चौधरी फाउण्डेसनले भूकम्पबाट प्रभावित क्षेत्रमा आश्रय र विद्यालय पुनर्निर्माण योजना कार्यान्वयनमा ल्याएको थियो ।

सेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से २५ अंकले घट्यो, ४६ करोडको सेयर कारोबार

काठमाडौं, ६ पुस । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २५ दशमलब ४८ अंकले घटेर १४७० अंकमा झरेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । मंगलबार ६८ करोडको कारोबार भएको बजारमा बुधबार भने जम्मा ४६ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३१ कम्पनीको ६ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन ट्रेडिङ् र होटल समूहको परिसूचक सामान्य अंकले बढेको छ भने कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १७८ अंकले घटेको छ । त्यस्तै, उत्पादनमूलक र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले झरेका छन् भने बाँकी सामान्य अंकले घटेका छन् । बजारमा एभरेष्ट बैंकको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बुक क्लोज भएको दिन बैंकको प्रतिकित्ता सेयर १८०० रुपैयाँमा कारोबार भएको छ । सो दिन सबैभन्दा बढी करोबार एभरेष्ट बैंकको नै भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । नागबेली लघुवित्त विकास बैंक र एनबी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य क्रमशः ९.९९ र ९.९३ अंकले बढेको छ । रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको करिब ९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

७ लाख रुपैयाँको लागतमा साबुन उद्योग सञ्चालनमा, एक किलोको मूल्य ९० रुपैयाँ

खोटाङ, ६ पुस । यहाँका दुई युवाको सक्रियतामा दिक्तेलमा साबुन उद्योग सञ्चालनमा आएको छ । दिक्तेल नगरपालिका– ९ का सुरेश कार्की र नरेन्द्र कार्कीको संयुक्त पहलमा हलेसी साबुन उद्योग सञ्चालन गरिएको छ । काठमाडौंबाट कच्चा पदार्थ ल्याई सो साबुन उद्योग सञ्चालन गरिएको हो । उद्योगका सञ्चालक सुरेश कार्कीका अनुसार सात लाख रुपैयाँको लागतमा डल्लो र आयतकार साबुन उत्पादन भइरहेको छ । तीनवटा साबुन राखिएको एक किलो बराबरको एउटा प्याकेटको मूल्य ९० रुपैयाँ तोकिएको छ । रासस

एभरेष्ट बैंकको सेयर मूल्य ४५ प्रतिशतले घट्यो, प्रतिकित्ता १८०० रुपैयाँमा कारोबार

काठमाडौं, ६ पुस । एभरेष्ट बैंकको सेयर बुधबार करिव ४५ प्रतिशतले घटेको छ । मंगलबार प्रतिकित्ता ३२६८ रुपैयाँमा कारोबार भएको यस बैंकको सेयर बुधबार प्रतिकित्ता १८०० रुपैयाँमा कारोबार भएको छ । आजदेखि बुक क्लोज भएकोले अब यस बैंकको सेयर किन्नेले गत आर्थिक वर्षको बोनस सेयर पाउँदैन । हिजोसम्म सेयर किन्नेले ७० प्रतिशत बोनस सेयर पाउँथे । नेप्सेले यस बैंककाे बाेनसपछिकाे समायाेजित मूल्य १८३२ ताेकेकाेमा त्याेभन्दा कम मूल्यमा सेयर काराेबार भएकाे छ । बुधबार पनि नेप्सेमा उच्च गिरावट आएको छ ।