नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घन्टा बन्द, यात्रुलाई सास्ती
चितवन, ७ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चारघन्टा बन्द हुने भएको छ । विस्तारका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म दैनिक चारघन्टा सडक आवागमन रोकिने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ । सो सडकखण्डको सबैभन्दा संवेदनशील र कठिन ठाउँमा सडक विस्तार गर्न लागिएकाले रोकिएको समय अघिपछि पनि ट्राफिक जामका कारण यात्रुले दुःख पाउने र सडक विस्तारमा अवरोध हुने हुँदा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको हो । सो सडकको मुग्लिनदेखि कालीखोलासम्मको दुई किलोमिटर भागमा सडक चौडा गरिँदैछ । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो क्षेत्रमा ५.५ मिटर मात्रै सडक चौडा छ । जहाँ विस्तार गरेर सडक १० मिटर फराकिलो बनाइँदैछ । त्यसका लागि भित्ता काट्नुको विकल्प नरहेको भन्दै उनले एकसय ५० फिट अग्लो पहाडलाई काटेर सडक चौडा गरिने बताए । यहाँ कडा चट्टान रहेका छन् । खनालका अनुसार एउटा ब्रेकरले दैनिक ५० देखि ६० घनमिटर मात्रै चट्टान काट्न सक्छ । यसैगरी, सडकको १६ किलोमा पाँचसय मिटर र घुमाउनेमा दुईसय मिटर लामो डाँडो नै काट्नुपर्ने हुन्छ । यसका लागि आयोजनाले स्थानीय प्रशासनसँग दैनिक आठ घन्टा सडक रोक्न माग गरेको भएपनि ट्राफिक व्यवस्थापन गर्न कठिन हुने भन्दै आजदेखि बिहान ११ देखि दिउँसो तीन बजेसम्म मात्रै चार घन्टा आवागमन रोक्न अनुमति दिएको छ । सडक विभागको योजना तथा डिजाइन महाशाखाले गरेको सर्वेक्षणअनुसार सो सडक हुँदै दैनिक ६ हजार एकसय ७७ हाराहारीमा सवारी आवागमन हुने गर्दछ । दिउँसो चार घन्टाको समयमा सो सडक हुँदै जाने एकहजार चारसय २६ सवारीसाधन अर्थात् २३।०९ प्रतिशत सवारीसाधन प्रभावित हुने देखिन्छ । यसका अतिरिक्त अन्य समयमा हुने सवारीको चाप त्यत्तिकै रहन्छ जसका लागि वैकल्पिक मार्गको विकल्प नभएको आयोजनाले जनाएको छ । आयोजनाले सार्वजनिक गरेको सवारी रुटअनुसार राजधानी काठमाडौँबाट पूर्वतर्फ जाने तीनवटा वैकल्पिक मार्ग प्रयोग गर्दा छोटो दूरीमा गन्तव्य पुग्न सकिने देखिन्छ । पश्चिमतर्फ भने एउटा मात्रै वैकल्पिक मार्ग भएकाले केही लामो दूरी यात्रा गर्नुपर्ने हुन्छ । इन्जिनियर खनालका अनुसार पूर्व जान बिपी राजमार्ग, त्रिभुवन राजपथ र हेटौँडा–भीमफेदी–बल्खु मार्ग प्रयोग गर्न सकिन्छ भने पश्चिमका लागि पृथ्वीराजमार्ग हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गरेर गन्तव्यसम्म जान सकिन्छ । ती मार्गबाट १२ मिटरभन्दा लामा र बढी भार भएका ट्रकको हकमा भने नारायणगढ–मुग्लिन सडकको विकल्प नभएको खनालले बताए । वैकल्पिक रुपमा बिपी राजमार्ग प्रयोग गरेर बनेपा हुँदै बर्दिबाससम्म पुग्दा एकसय ७७ किलोमिटर, त्रिभुवन राजपथ प्रयोग गरेर नौबिसेबाट हेटौँडा पुग्दा एकसय आठ किलोमिटर, बल्खुबाट भीमफेदी हुँदै हेटौँडासम्म जाँदा एकसय ४६ किलोमिटर दूरी छोटो हुने आयोजनाले जनाएको छ । पश्चिम नेपालतर्फ भने मुग्लिनबाट पोखरा हुँदै बुटवल जाँदा ७१ किलोमिटर दूरी लामो हुने देखिएको छ । सवारी आवागमन बन्द भएपछि हुने सवारी जामलाई व्यवस्थित गर्न सडकखण्डमा चौबिसै घन्टा मोटरसाइकलमा प्रहरी परिचालन गरिँदैछ भने बिग्रेका सवारी हटाउनका लागि क्रेन र डोजर तयारी अवस्थामा राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले यात्रुवाहक सवारी र मालवाहक सवारीलाई फरक फरक लाइन लगाएर यात्रुवाहकलाई प्राथमिकता दिएर सडक पार गराउने व्यवस्था गरिएको बताए । रासस ––––––
नेपालको अन्तर्राष्ट्रिय हवाई रुट २० मिनेट छोट्टियो, भारतको अधिकांश आकास नेपालका लागि खुला
काठमाडौं ७, पुस । नेपाल र भारतबीच हवाई सेवाको पहुँच विस्तारको विषयमा नयाँ सम्झौता भएको छ । भारतको नयाँ दिल्लीमा बुधबार र विहिबार भएको हवाई सेवा तथा हवाई ट्राफिक संचालन गर्ने तथा हवाई मार्ग र प्रवेश विन्दु सम्वन्धमा नयाँ सम्झौता भएको छ । नेपाल र भारतबीच भएको दुईपक्षिय हवाई सेवाको हिमालयन रुट २ (बाग्डोग्रा—गुहाटी— सिलचर —इम्फाल) नामक हवाई रुट निर्धारण गर्न भारतीय पक्षले सहमति जनाएको छ । दुई पक्षिय सम्झौता अनुसार नेपालले मागेको हिमालयन रुटमा सहमति भएको हो । यो सहमति पश्चात काठमाडौं, बागडोरा, गुहाटी, सिलचर, इम्फाल, कुन्मीङ हुँदै हङ्कङ जोड्ने हवाई रुट खुला भएको छ । अहिले नेपालबाट हङ्कङ जान वंगलादेश हुँदै जानुपर्ने लामो दुरीलाई यो हिमालयन रुटको अनुमतिले एक सय नटिकल माइल तथा करीब २० मिनेटको हवाई दुरी छोटो हुने भएको छ । यो सहमति पछि नेपालबाट बाहिरिने र भित्रने हवाई रुट बढाउन नेपालले गरेको प्रस्तावलाई भारतले औपचारिक रूपमै सहमति दिएको उल्लेख छ । यो रुटबाट नेपाल भित्रदा अन्तर्राष्ट्रिय उडानका वायुसेवाले हाल सीमरामाथिको आकाश हुँदै आउनुपर्ने एउटै मात्र रुटलाई भारतले थप गरिदिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । उनले बुधबार र बिहीबारको नेपाल भारत सहमतिको विज्ञप्ती पनि सार्वजनिक गरेका छन । विज्ञप्तीमा थप हवाई रुट दिने सहमति भएको उल्लेख छ । काठमाडौबाट विराटनगर तथा महेन्द्रनगर हुँदै भारतको आकाश भएर उडान गर्ने वायुसेवाले नयाँ र छोटो रुट पाएको हो । हिमालय रुट २ को अनुमतिले युरोप र हङकङ जाने रुटसमेत छोटो हुने भएको छ । यो अनुमतिले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले प्रत्यक्ष लाभ लिन पाउने तथा अन्तर्राष्ट्रिय उडानका अन्य विदेशी वायुसेवाले हिमालयन रुट प्रयोग गर्ने भएकोले नेपालले आर्थिक लाभ समेत पाउने भएको छ । हिमालयन रुटको अनुमतिले टोकियोबाट लण्डन जाने जहाजले पनि छोटो हवाई रुटका कारण नेपालको आकाश प्रयोग गरेर गर्न सक्ने भएकोले हवाई क्षेत्रको राजस्व बढ्ने प्राधिकरणको भनाइ छ । उड्डयन नियम अनुसार कुनै पनि देशमाथिको आकाशमा जहाज उडान हुँदा फ्लाई ओभर शुल्क तिर्नुपर्ने हुन्छ । यस्तो शुल्क देश अनुसार फरक फरक हुन्छ । नेपालले यो रुट खुला भएपछि अब उड्डयन नियमावलीमै यो फ्लाई ओशर शुल्क तोकिने भएको छ । अहिले भने प्राधिकरणले न्युनतम एरोनटिकल चार्स मात्र लिने गरेको जानकारी दिएको छ । हरेक उडानमै कम्तिमा साढे तीन लाख फाइदा हिमालयन रुटलाई अनुमति दिने सहमति पछि नेपाल वायुसेवा निगमलाई एउटा अन्तर्राष्ट्रिय उडानमा कम्तिमा साढे तीन लाख फाइदा हुने भएको छ । काठमाडौंबाट हङ्कङ जाँदा बंगलादेश हुँदै जाने गरिएको अव हिमालय रुट २ प्रयोग गर्दा करीब २० मिनेटको दुरी छोटो पर्ने भएको छ । यो दुरी घटेपछि निगमलाई १३ सय लिटर इन्धन बचत, एकतर्फि उडानमै एक सय डलर, फ्लाई ओभर शुल्क घट्ने भएकोले हरेक उडानमा तीन लाख ६४ हजार रुपैयाँ फाइदा हुने छ । यसबाट समय, जहाजको इन्जिन आवर, इन्धन तथा नगद खर्चमा नै कम हुने उल्लेख छ । उडान दुरी छोटो भएपछि सम्वन्धित देशको आशास प्रयोग गरेवापत निगले तिर्दे आएको फ्लाई ओभर शुल्क उडानको दुरी अनुसार कम हुन्छ । हाल निगमले हरेक अन्तर्राष्ट्रिय उडानमा नेपाली आकाशको प्रयोग गरेवापत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बाहिरिदा र भित्रदा ३४५/३४५ डलर बुझाउने गरेको छ । ओभर फ्लाइ ओभर शुल्कबापत सम्वन्धित मुलुकले लिने यस्तो रकममा भारत जाँदा २७० डलर, फर्कदा ३११ डलर, वंगलादेश जाँदा ४२० डलर, फर्कदा ४२० डलर नै तिर्दै आएको छ । निगमले चीन जाँदा ३०२ र फर्कदा २७० डलर, हङ्कङ जाँदा आउँदा १४२ डलर, म्यान्मार जाँदा÷आउँदा २३८ डलर तिर्दे आएको छ । यसरी विदेशी आकाश प्रयोग गरेवापत बुझाउनुपर्ने शुल्क निगमले काठमाडौबाट हङ्कङसम्म जादा १६ सय १० र फर्कदा १५ सय ४० डलर तिर्ने गरेको निगमले जानकारी दिएको छ ।
युवा स्वरोजगार कोषबाट अब ५ लाख ऋण पाइने, २ लाख विनाधितोको सीमा अब ५ लाखसम्म
काठमाडौं ७, पुस । बेरोजगार युवाले सरकारबाट बिनाधितो ५ लाख रुपैयाँ ऋण पाउने भएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत यसअघि २ लाख रुपैयाँ ऋण पाउने व्यवस्था भएकोमा अब त्यसलाइृ ५ लाख बनाइएको हो । कोष सञ्चालनसम्बन्धि नियमावली मन्त्रिपरिषद्बाट स्वीकत भएपछि बेरोजगारले बिनाधितो ५ लाख ऋण पाउनेछन् । २४ मंसिरको कोष सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्दै आएको विनाधितो ऋणको सीमा पनि ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्याएको छ । कोषले युवालाई दिँदै आएको ऋणको ब्याजदर पनि २ प्रतिशत विन्दुले कटौती गरेको छ । यसअघि १२ प्रतिशत ब्याजदर रहेकोमा त्यही बैठकले १० प्रतिशतमा सीमित गर्ने निर्णय गरेको छ । कोषले चालु आर्थिक वर्षमा थप ५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । नयाँ पत्रिका दैनिकबाट ।
आफैंले बनाएको कार्यविधि नाघेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि
काठमाडौं ७, पुस । नेपाल आयल निगमले आफैंले बनाएको कार्यविधि विपरीत इन्धनको मूल्य बढाएको छ। निगमले तयार पारेको ‘स्वचालित मूल्य प्रणालीसम्बन्धी कार्यविधि २०७१’ अनुसार प्रतिलिटर २ प्रतिशतभन्दा मूल्य घटबढ गर्न पाइँदैन। जसअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९४ पैसा र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ ४६ पैसाभन्दा बढाउन पाइँदैन। तर, दुवैमा निगमले कार्यविधि विपरीत प्रतिलिटर साढे ४ रुपैयाँ बढाएको छ। ‘कार्यविधिअनुसार प्रतिलिटर २ प्रतिशत मात्रै घटाउन/बढाउन पाइन्छ। हाल प्रतिलिटर साढे ४ रुपैयाँ बढाइएको छ,’ निगम सञ्चालक समितिका एक सदस्यले भने, ‘कार्यविधिअनुसार समायोजन मिलेन।’ उनका अनुसार निगमले पेट्रोलमा १२ प्रतिशत र डिजेलमा १ प्रतिशतसम्म नाफा राख्न मिल्छ। तर, मूल्य समायोजनमा भने २ प्रतिशतभन्दा घटबढ गर्न मिल्दैन। व्यवस्थापिका संसदले पनि प्रतिलिटर २ प्रतिशतभन्दा बढी घटबढ गर्न नहुने जनाएको छ। ‘निगम आफैंले बनाएको कार्यविधिमा प्रतिलिटर २ प्रतिशतभन्दा बढी घटबढ गर्न नमिल्ने उल्लेख छ। तर, प्रतिलिटर साढे ४ रुपैयाँ बढाएको छ,’ उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सचिव सुदर्शन खडकाले भने, ‘यो जायज होइन। मूल्यवृद्धि कार्यविधि विपरीत भयो। यसबारे निगमसँग बिहीबार छलफल गर्नेछौं।’ निगमले गत आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको थियो। नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा र मटितेल ७७ रुपैया ५० पैसा पर्छ। यसअघि प्रतिलिटर पेट्रोलको मूल्य ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मटितेल ७३ रुपैयाँ थियो। भारतीय आयल निगम ९आईओसी० ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य बढेकाले सोहीअनुसार यहाँ मूल्य बढाएको दाबी गरेको थियो। तर, निगमले मूल्य घटेको बेला प्रतिलिटर साढे २ रुपैयाँबाहेक घटाउने गरेको छैन। जानकारहरूका अनुसार इन्धनको मूल्य वृद्धिसँगै सबै क्षेत्रमा भाउ बढ्छ। हाल निगम नाफामा रहेकाले सर्वसाधारणलाई मार पर्ने काम उपभोक्ता अधिकारकर्मी बताउँछन्। कान्तिपुर दैनिकबाट ।
लालपुर्जा सिरानीमा, जग्गा अर्कैको नाममा, धोका दिँदै दुई नम्बरीको धन्दाले
काठमाडौं ७, पुस । लालपुर्जा तपाइँको हातमा होाल । तर लापुर्जाको नक्कल लिई कतै दुई नम्बरी धन्दा गर्नेले तपाइँको जग्गा भित्रभित्रै बेचिरहेका त छैनन् । लालपुर्जा हातैमा छ भनेर ढुक्क नहुनुहोस्, किनभने जग्गा कतै मालपोत कार्यालयमा भित्रभित्रै कागज लिाएर तेस्रो पक्षसँग बेचिदिन पनि सक्छन् । बितेको एक सातामा चितवनमा २ वटा यस्ता घटना भएका छन् । मालपोत कार्यालयमा किर्ते काम गरी जग्गा किनबेच गर्नेको चहलपहल बढेको छ । बुधबार मात्रै मालपोत कार्यालयमा माडी कल्याण्डपुरको १ बिघा जमिन किनबेचमा एउटा गिरोह मालपोत पस्यो । तर कर्मचारीले जग्गा किनबेचमा आशंका राखी दुईवटा प्रश्न सोध्ने बित्तिकै ती व्यक्ति फरार भए । फाइल तस्बिर कर्मचारी उनीलाई खोज्न थाले तर मापोतको भीड छिचोल्दै ती व्यक्ति क्षणभरमै मालपोतबाट बाहिरिए । ‘झण्डै साढे दुई करोड पर्ने जग्गा भूमाफियाले बेच्ने तरखर गरेका रहेछन्,’ मालपोत कार्यालय भरतपुरका अधिकृत दिवाकर पौडेलले भने, ‘धन्न बेलैमा कर्मचारीले शंका गरेछन् र ठूलो घटना हुनबाट जोगियो ।’ घटना लगत्तै प्रहरीलाई खबर गरिएको र प्रहरीले ती व्यक्तिलाई खोजी गरिरहेको बताइएको छ ।जग्गा किनबेच गर्दा बेच्ने भन्दा किन्ने पक्ष बढी सचेत हुनुपर्ने देखिएको पौडेल बताउँछन् । यसै गरी चितवनको दारेचोक गाविसको एउटा जग्गा असम्बन्ति व्यक्तिmले आफ्नो नाममा पार्न लागि मालपोत आएकी थिइन् । ‘शंका लागेर गाविस सचिवलाई सोध्यौँ उनले भनेको जग्गा धनी र मालपोत आउने व्यक्ति फरक थिए,’ मापोत कार्यालयका सूचना अधिकृत हरिकृष्ण सुवेदीले बताए । सम्बन्धित जग्गाधनीलाई खबर गरेपछि उनी मालपोत आएर जग्गा आफ्नो नामम भएको किटान गरेर गएका छन् । लालपूर्जाको नक्कल, हस्ताक्षर चोरी, फोटो संकलन आदिबाट गिरोहले जग्गाधनीले थाहा नै नपाई जग्गा बेच्ने गरेका छन् । कारोबार दैनिकबाट।
नेपाल टेलिकमले रणनीतिक साझेदार नियुक्ति प्रक्रिया अगाडि बढायो, परामर्शदातासँग सम्झौता
काठमाडौं, ६ पुस । नेपाल टेलिकममा रणनीतिक साझेदार नियुक्ति कार्यान्वयन लगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि परामर्शदातासँग सम्झौता सम्पन्न भएको छ । बोलपत्रमार्फत छनोट भएको परामर्शदाता एनालाइसिस् मसोन लिमिटेड यूके सँग पुस ५ गते मंगलबार उक्त सम्झौता भएको नेपाल टेलिकमले जनाएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनालाइसिस् मसोन लिमिटेड यूकेको तर्फबाट रोहन धमिजाले हस्ताक्षर गरेका छन् । उक्त संस्थाले नेपाल टेलिकमको ड्यू डेलिजेन्स रिपोर्ट तथा शेयर विनिवेश गर्ने लगायतका रणनीतिक साझेदार भित्र्याउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न परामर्श दिने टेलिकमले जनाएको छ ।
पुस ८, ९ र १० गते सरकारी वकिलको सम्मेलन हुँदै
काठमाडौं, ६ पुस । न्यायमा सहज पहुँच बनाउने र संवैधानिक तथा कानुनी व्यवस्थाका विषयमा अभिमुखीकरण गर्ने उद्देश्यले यही पुस ८, ९ र १० गते सरकारी वकिलको राष्ट्रिय सम्मेलन हुने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले पत्रकार सम्मेलन गरी ‘प्रभावकारी अभियोजन, सुदृढ प्रतिरक्षा, व्यावसायिक सरकारी वकिल हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ पहिलो पटक सो सम्मेलन हुन लागेको जानकारी दिइएको हो । सम्मेलनमा फौज्दारी न्याय प्रशासन र फौजदारी कानुनमा भएको नयाँ व्यवस्था समेतका सन्दर्भमा सरकारी आपसी छलफल गरी साझा दृष्टिकोण बनाइने भएको छ । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारी वकिलको यस सम्मेलनले सरकारी वकिलको कार्यक्षमता वृद्धि गर्ने र उनीहरुको हकअधिकार र सुविधा वृद्धिका विषयमा छलफल हने बताए । एक प्रसङ्गमा उनले द्वन्द्वकालीन घटनाका कुनै पनि मुद्दामा हद–म्यादको व्यवस्था नराख्ने, बेपत्ता र यातनालाई आपराधीकण गर्ने, सबै मुद्दामा आम माफी नहुने गरी ऐन संशोधन गर्न लागेको स्पष्ट पारेका छन् । सम्मेलनमा देशभरबाट ३५२ सरकारी वकिलले भाग लिने भएका छन् । छ । रासस
प्रेस काउन्सिलको सदस्यमा धमला नियुक्त
काठमाडौं, ६ पुस । प्रेस काउन्सिल नेपालको रिक्त सदस्यमा साहित्यिक पत्रकार चेतनाथ धमला नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्रीस्तरको यही पुस ४ गतेको निर्णयअनुसार प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ (१) बमोजिम चार वर्षका लागि उनलाई मनोनयन गरिएको हो । ओखलढुङ्गामा जन्मिएका धमला ‘कौशिकी’ हाल साहित्यिक पत्रिकाका प्रकाशक तथा सम्पादक हुन् । विसं २०५२ देखि पत्रकारितामा आबद्ध धमला हाइकू, ताङ्का, कविता, गीत, गजल, चोका, समीक्षा र सम्पादन विधामा सक्रिय छन् । नेपाल साहित्यिक पत्रकार सङ्घका उपमहासचिव रहेका उनले नेपाल प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता महोत्वस, २०७१ मा द्वितीय पुरस्कार पनि प्राप्त गरेका थिए । रासस