विकासन्युज

शहीद दिवसमा चन्द्रागिरि केबलकारमा विशेष छुट, प्रतिटिकट मूल्य ३ सय पचास रुपैयाँ मात्र

काठमाडौं, १४ माघ । चन्द्रागिरि केबलकारले शहीद दिवसको अवसरमा टिकट खरिदमा ५० प्रतिशत छुटको व्यवस्था मिलाएको हो । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारले यही माघ १६ र १७ गते शहीद परिवारको परिचय प्राप्त सदस्यहरुलाई ५० प्रतिशत छुटमा टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाएको हो । शहीदको त्याग, तपस्या र बलिदानको कदर स्वरूप शहीद परिवारका सदस्यहरुलाई यस्तो व्यवस्था गरिएको चन्द्रागिरी हिल्सले बताएको छ । चन्द्रागिरी हिल्सका अनुसार छुट व्यवस्था अनुसार ७ सय रुपैयाँ पर्ने केबलकार टिकट ३ सय पचास रुपैयाँमा प्राप्त गर्न सकिनेछ । टिकट खरिद गर्दा नेपाल सरकारबाट वितरण गरिएको शहीद परिवार सदस्य परिचय पत्र अनिवार्य रुपमा साथ मै लिई आउनुपर्ने छ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन नपाउने कम्पनीले जनाएको छ । यो सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोट स्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ ।

२० करोड खर्चेर हेटौँडा कपडा उद्योग सञ्चालन हुदैँ, बार्षिक २१लाख मिटर कपडा उत्पादन हुने

काठमाडौं, १४ माघ । सरकारले बर्षाैदेखि बन्द रहेको हेटौडा कपडा उद्योग २० करोड खर्चेर सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग मन्त्रालयको प्रस्तावमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाली प्रहरीको समेत लगानीमा सरकारले हेटौडा कपडा उद्योग सञ्चालन प्रक्रिया अघि बढाएको हो । प्रा.डा. पुष्कर बज्राचार्य नेतृत्वको अध्ययन समितिले २० करोड खर्च गरेर उद्योग सञ्चालन गर्न सकिने प्रतिवेदन पेश गरेपछि मन्त्रालयले त्यसको प्रक्रिया अघि बढाएको छ । ‘२० करोड लगानी गर्दा सञ्चालन गर्न सकिने रहेछ, हामीले अर्थमन्त्रालयलाई रकम निकासाका लागि पत्राचार गरिसकेका छौं, अर्थ मन्त्रालय सकारात्मक छ’, उद्योग मन्त्री नविन्द्रराज जोशीले भने । उनका अनुसार उद्योग सञ्चालनको तेश्रो बर्षसम्म घाटामै रहनेछ । चौथो बर्षमा उद्योगले नाफा घाटा बराबरको अवस्थामा पुग्ने र पाँचौं बर्षदेखि लगातार नाफामा जाने प्रक्षेपण गरिएको छ । उद्योगले सुरुकै बर्षमा २१ लाख मिटर कपडा उत्पादन गर्न सक्ने रिपोर्टमा उल्लेख छ । प्रा.डा बज्राचार्य नेतृत्वमा गठन भएको अध्ययन टोलीमा उद्योग मन्त्रालयका तत्कालिन सहसचिव यमलाल भुषाल, नेपाल प्रहरीका डिआइजी राजेन्द्र सिंह देउजा, शसस्त्रका डिआइजी पुष्पराम केसी, नेपाली सेनाका प्रमुख सेनानी मुकेश बटाजु, विज्ञ राम एकवाल यादव, निजी क्षेत्रका प्रतिनिधी अजय मुडभरी र बिणा गौतमको सहभागीता रहेको थियो । सो अध्ययन समितिले उद्योग मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले पाँच पाँच करोड लगानी गरेर तत्कालै उद्योग सञ्चालनमा ल्याउन सकिने प्रतिवेदन मंसिर ३ गते नै बुझाएको हो । उद्योेगमा रहेका २०० वटा लुमहरुलाई साधारण मर्मत गरेर ६० प्रतिशतको क्षमतामा मात्रै सञ्चालन गर्दा पनि बार्षिक २१ लाख मिटर कपडा उत्पादन हुन सक्ने रिपोर्टमा उल्लेख छ । सो रिपोर्टका अनुसार त्यसरी उत्पादन गरिएका कपडाको मुल्य प्रतिमिटर ५० रुपैंयाँ मात्रै लागत पर्छ । उत्पादित कपडा बेचेर संकलन भएको रकमको १० प्रतिशत हिस्सा उद्योगको आधुनिकीकरणमा खर्च गर्न सकिने बताइएको छ । बज्राचार्य नेतृत्वको समितिले उद्योगबाट उत्पादित कपडा नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी तथा निजामति कर्मचारीका लागि उपयोग गर्न सकिने प्रस्ताव पनि अघि सारेको छ । २०६९ माघ १२ गतेको मन्त्रिपरिषद बैठकले हेटौडा कपडा उद्योग लिमिटेडको २५६ रोेपनी जमिनको मुल्य २० करोड १९ लाख १५ हजार ५ सय ३० रुपैंयाँ औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडमा शेयर लगानी गर्ने निर्णय भएको थियो ।

द्वन्द्वकालमा विस्थापित बैंकका शाखा पुनःस्थापना गर्न अर्थमन्त्रालयको निर्देशन

काठमाण्डौ, १४ माघ । द्वन्द्वको समयमा विस्थापन भएका सरकारी बैंकका शाखा तुरुन्त पुनःस्थापना नहुँदा सम्बन्धित क्षेत्रका जनताको गुनासोसमेत बढी रहेकाले यस विषयलाई सम्बोधन गर्न अर्थमन्त्रालयले सरकारी बैंकलाई निर्देशन दिएको छ । हालसम्म पनि अपेक्षितरुपमा शाखा पुनःस्थापना नभएको भन्दै मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बिहीबार मन्त्रालयमै बोलाएर निर्देशन दिइएको हो । अर्थसचिव डा शान्तराज सुवेदीले तीनवटै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई मन्त्रालयमा बोलाएर द्वन्द्वमा विस्थापन भएका बैंक शाखा पुनःस्थापना गर्न निर्देशन दिएका अर्थमन्त्रालयले जनाएको छ । जनतालाई दुर्गम तथा पछाडि परेका क्षेत्रमा वित्तीय सेवा पुर्याउने संस्थाले सुगम र सहर केन्द्रित भएर सेवा प्रदान गर्दा सरकारको सबै जनतालाई बैंक तथा वित्तीय सेवा पुर्याउने र ‘एक व्यक्ति एक बैंक खाता’ नीति कार्यान्वयनसमेत कठिन हुने देखिँदा बैंक शाखा तत्काल पुनःस्थापना गर्न सचिवले सुवेदीले निर्देशन दिएका हुन् । आवश्यकताअनुसार थप शाखा विस्तार गर्न, मोबाइल बैंकका माध्यमबाट सेवा उपलब्ध गराउन एवम् सहरमा विद्युतीय प्रणालीमार्फत अनलाइन भुक्तानी प्रणाली लागू गर्नसमेत निर्देशन दिएकाको मन्त्रालयका सहसचिव आनन्दराज ढकालले जानकारी दिए। सचिव सुवेदीले बैंक शाखाहरु पुनःस्थापना गर्दा तीनैवटा बैंकले समन्वय गरी जनताको माग, व्यावसायिक कारोबार एवम् सेवा विस्तार समेतलाई ध्यानमा राखी दोहोरो नपर्ने गरी स्थापना गर्न निर्देशन दिनुभयो । द्वन्द्वको समयमा नेपाल बैंक लिमिटेडका ९०, राष्ट्रिय वाणिज्य बैंकका एकसय आठ र कृषि विकास बैंकका ७५ गरी दुईसय ७३ बैंक शाखा विस्थापित भएका थिए । हालसम्म नेपाल बैंक ३०, राष्ट्रिय वाणिज्य बैंकका ५१ र कृषि विकास बैंकका ७० गरी एकसय ५१ बैंक शाखा पुनःस्थापना भएको पनि अर्थमन्त्रालयले जनाएको छ । निर्देशनपछि ती बैंकका प्रमुख कार्यकारी अधिकृतले त्यसका लागि बैंकले प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

प्रिमियर इन्स्योरेन्सले ६ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

काठमाडौं, १४ माघ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले ६ लाख ५८ हजार ५६५ कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । इन्स्योरेन्सले सो मात्राको एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले एनएमबी क्यापिटल मार्फत एफपीओ जारी गर्न अनुमति मागेको छ । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो । इन्स्योरेन्सले गत माघ १२ गते नै बोर्डमा निवेदन दिएको हो ।

पानीको प्रेसर मापन नभएसम्म सडक अस्तव्यस्थ, पाइप विछ्याएको ठाउँमा तत्काल सडक नबन्ने

काठमाडौं १४, माघ । मेलम्ची आयोजनाले काठमाडौं उपत्यकाको मुख्य सडक छेउ र भित्री गल्लीमा पाइप विछ्याउँनको लागि सडक खनिरहेको छ । सडक खन्दै धमाधम पाइप पनि विछ्याउँने काम भइरहेको छ । पानीको पाइपका लागि खनिएको सडक तत्काल भने नबन्ने भएको छ । पानीको प्रेसर नाप्नको लागि सडक अस्तव्यस्त नै हुनेभएकोले केही समय धुवाँ, धुलो र असहजता सहनुपर्ने भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बताए । उनका अनुसार मेलम्चीको पानी घरघरमा पुर्याउँन पानीको प्रेसर नाप्नको लागि पनि सडक तत्काल बनाउँन निमिल्ने अवस्था रहेको छ । मेलम्ची खानेपानी आयोजनका अनुसार पाइप विछ्याउँनासाथ सडक निर्माण गरिहाल्ने र पाइप पुरेर मर्मत हुने होइन । पानीको पाइप विछ्याएपनि कम्तिमा ५ सय देखि १००० मिटरसम्ममा पानीको प्रेसर मापन गर्नुपर्छ । मेलम्ची खानेपानी आयोजनाका पुनर्वास विज्ञ गिरिबहादुर सुनारका अनुसार जुन आकारको पाइप हो सोही अनुसार पाइपभरी पानी हाल्नुपर्छ । पाइपको आकार अनुसार डेड देखि २ घण्टासम्म पानी हाल्नुपर्छ र प्रेसर दिएर हेर्नुपर्छ । यसबाट मिटर राम्रोसँग चल्यो भने कहि कतै पानी लिक नभएको थाहा हुन्छ । कहि कतै लिक भए तुरुन्त बाटो भत्काएर बनाउन संभवन नहुने भएकोले पनि पानीको प्रेसर मापन नगरेसम्म पाइप पुर्न नमिल्ने पनि मेलम्ची खानेपानी आयोजनाका पुनर्वास विज्ञ सुनारले बताए । उनका अनुसार पानी लिन नभए र पाइप ठीक भएपनि मात्रै त्यसलाई पुर्नुपर्ने हुन्छ । मेलम्ची नआउँदै पानी टेष्ट गर्नुपर्छ, मेलम्ची आएपनि निरन्तर पानी नै पाइपबाट पठाउनुपर्ने पनि उनको भनाइ छ । उनका अनुसार हाल कम्तिमा ६५ प्रतिशत पाइप विछ्याउने काम सकिएको छ । एउटा ठाँउमा मात्रै पाइप राखेर प्रेसर टेस्ट गर्न पनि मिल्दैन । धेरै ठाँउमा पाइप हालेपछि मात्रै  मिल्छ । पानी टेण्ड गर्न निर्माण व्यवासायीको सहकार्यमा धेरेवटा ट्यांकरबाट पानी ओसार्नुपर्छ । उनका अनुसार कतिपय पाइपम एक ट्यांकर पानी एउटै पाइपमा जान्छ । दुइ घण्टासम्म निरन्तर एकनासले पानी पठाउनुपर्ने भएकोले पनि उपत्यकामा पानी जुटाउन निकै चुनौतिपूर्ण रहेको पनि उल्लेख छ । पानी टेष्ट गर्न हजारौ ट्यांकर पानी लाग्छ । मेलम्चीको पानी आगामी दशैंसम्म राजधानी आइपुग्ने भएको छ । काठमाडौं उपत्यका खानेपानी तथा सरसफाई आयोजनाको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार राजधानी बासीले दैनिक २ देखि ४ घण्टासम्म मेलम्चीको पानी निरन्तर आउने भएको छ । रिङरोड भित्रका ८३ हजार ५ सय ७३ घरधुरीले दैनिक चार घण्टासम्म पानी पाउनेछन् । मेलम्चीको पानी आएपछि भवनका अढाई तल्लासम्म मोटर जडान नगरे पनि पानी चढ्नेछ । त्यसका लागि ६ किलोको प्रेसरमा घर घरमा पानी जाने पनि मेलम्ची आयोजानाले जानकारी दिएको छ । कसैको धारामा पानी गएरनगएको वा कसैले पानी चोरे पनि सहजै पत्ता लगाउन सकिनेछ । अढाइ तल्ला सम्म मोटर जडान नगरि पानी चढ्छ र कसैले पानी चोरेमा पनि तुरुन्तै थाहा पाउने सूचना प्रणाली जडान भएको छ  

शाइन रेसुङ्गाको नाफा ३३ प्रतिशतले बढ्यो, ६ महिनामा बैंकको खुँद नाफा १६ करोड

काठमाडौं १४ माघ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३३ दशमलव ७९ प्रतिशतले बढेको छ । बैंकको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १६ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । बैंकको यो नाफा अघिल्लो वर्ष सोही अवधिको तुलनामा ४ करोड १९ लाख रुपैयाँले बढी हो । गत वर्ष बैकले सोही अवधिमसम्ममा १२ करोड ४० रुपैयाँ कमाएको थियो । चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा यो डेभलमेन्ट बैंकले ९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरे थियो । यो निक्षेप संकलनबाट यसले ८ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकले यस अवधिसम्ममा गरेको लगानी ३९ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ३६ करोड १० लाख रुपैयाँ रहेको छ । यो डेभलपमेन्ट बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७७ दशमलव ७२ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा शून्य दशमलव ३५ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ३० रुपैयाँ १० पैसा छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ७३ पैसा रहेको छ । बैंकको प्रतिसेयर हाल ३ सय २७ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्राथमिक निष्काशनको पैसा राष्ट्र बैंकमा डिपोजिट गर्नु नपर्ने, तरलता व्यवस्थापनमा सहजता थपिने

काठमाडौं, १४ माघ । नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्काशन(आइपिओ र एफपिओ)मा संकलित रकम नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हटाएको छ । धितोपत्र बोर्डले धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २२ को उपदफा (४) मा रहेको व्यवस्था कार्यान्वयन नगर्ने निर्णय गरेको हो । बोर्डको यस्तो निर्णयसँगै तरलता व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ । सो निर्देशीकामा “धितोपत्र निष्काशन गर्दा निष्काशन बैंकमा जम्मा भएको रकम धितोपत्र बिक्री बन्द भएको छ कार्यदिन भित्र नेपाल राष्ट्र बैंकमा खाता खोली कम्तिमा छ कार्यदिनको लागि जम्मा गर्नुपर्नेछ । यसरी नेपाल राष्ट्र बैंकमा खाता खोली जम्मा गरिएको रकम बोर्डको अनुमति लिएर मात्र झिक्नुपर्नेछ ।” भनिएको थियो । सो व्यवस्थाले बजारमा तरलतामा अभाव सृजना भएको भन्दै बोर्डले तत्कालका लागि हटाएको हो । हाल बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिनाको आफ्नो वित्तीय अवस्थाबारे नेपाल राष्ट्र बैंकमा विवरण पेश गर्नुपर्ने व्यवस्था बमोजिम गरिरहेको र सार्वजनिक निष्काशनमा बोर्डले आस्वा प्रणाली लागू गरिसकेकोले पनि सो व्यवस्था हटाएको बोर्डले जनाएको छ । यसबाट निष्काशनकर्ता संगठित संस्था र निष्काशन तथा विक्री प्रबन्धकहरुले झन्झटिलो महशुस गरिएको व्यवस्थामा सहजिकरण हुनुको साथै बेला बेला बजारमा देखीने तरलता सम्बन्धी समस्या कम हुने बोर्डले दावी गरेको छ ।

नेको इन्सुरेन्सको ३२ लाख कित्ता हकप्रद सेयर निष्कासन, फागुन ११ देखि चैत १२ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं १४, माघ । नेको इन्सुरेन्सले ३२ लाख ४० हजार ४६२ दशमलव ३२ कित्ता हकप्रद सेयरका निष्कासन गरेको छ । यो इन्सुरेन्सले १ सय रुपैयाँ अंकित प्रति साधारण सेयरको शतप्रतिशत अर्थात १ दशमलव १ को अनुपातमा हकप्रद सेयरको निष्कासन गरेको छ । यो इन्सुरेन्सको यही पुस १४ गते दर्ता किताव बन्द भएकोले मितिले अघिल्लो दिनसम्म सेयरका कारोबार गरेका सेयरधनिले हकप्रदको लागि आवेदन दिन पाउँने छ । यो इन्सुरेन्सको हकप्रद सेयरका लागि एनएमबी बैंक लिमिटेड र यसका विभिन्न शाखाबाट आवेदन दिन सकिने छ । यो इन्सुरेन्सको हकप्रद सेयरको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।