नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटद्धारा सम्पति शुद्धिकरण सम्मेलन सम्पन्न
काठमाडौं, १४ माघ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले नेपालमा दोस्रो पटक सम्पति शुद्धिकरण विषयको सम्मेलन सम्पन्न गरेको छ । सो कार्यक्रमको उद्धघाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले त्यहाँ उपस्थित विभिन्न बैंकका १५० भन्दा बढी प्रतिनिधीहरुलाई सम्बोधन गरेका छन् । उनले एएमएलको महत्व बताउँदै यसको कुनै विकल्प नरहेको र यसबाट बैंक तथा वित्तिय संस्थाहरुले दिर्घकालीन स्थायित्व र लाभ लिन सक्ने कुराको जानकारी गराएका छन् । साथै, बैंकिङ्ग कर्मचारीहरु यस विषयमा सतर्क भई कुनै पनि हिसाबले सम्झौता हुन दिन नहुने बताए । त्यसैगरी नेपाल बैंकर्स संघका प्रमुख अनिल केशरी शाहले अबको बेला भनेको एएमएल सम्बन्धि विषयमा कर्मचारीहरुलाई दक्षता दिलाउने र प्रविधि विकासमा जोड दिने बताएका छन् । त्यसैगरि नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका अध्यक्ष तथा बैंक अफ काठमाडौं लुम्बिनिका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले नेपालको वर्तमान बैंकिङ्ग अवस्थालाई हेर्दा यो सम्मेलन निकै उचित समयमा हुन पुगेको र अहिलेको अवस्थामा वित्तिय क्षेत्रमा निक्षेपको अभाव भएको र निक्षेप लिनुपर्दा पनि एएमएलसम्बन्धि कुरालाई अनुसरण गरि अघि बढ्नुपर्ने बताए । त्यसैगरि उद्धघाटन सत्रमा नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र फिनटिलेक्टी, इन्डियाद्धारा नेपाली बैंकिङ्ग क्षेत्रमा गरिएको सम्पति शुद्धिकरण र आतकंवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि सर्बेक्षणको जानकारी गराएका छन् ।
वीरगन्ज औद्योगिक करिडोर विद्युत्भार कटौतीमुक्त हुने, थप ५० मेगावाट विद्युत् उपलब्ध
काठमाडौं, १४ माघ । सरकारले केहीदिनभित्रै वीरगन्ज औद्योगिक करिडोरलाई विद्युत्भार कटौतीमुक्त बनाउने भएको छ । भारतबाट आयात हुन लागेको थप ५० मेगावाट विद्युत् बारा पर्सा औद्योगिक करिडोरलाई नै उपलब्ध गराउने विषयमा वीरगन्ज उद्योग वाणिज्य सङ्घको टोलीलाई विश्वस्त तुल्याउँदै ऊर्जामन्त्री जनार्दन शर्माले छिट्टै विद्युत्भार कटौतीमुक्त गर्ने विश्वास दिलाएका छन् । वीरगन्जमा कार्यरत उद्योगी एवम् व्यवसायीको प्रतिनिधिमण्डललाई विश्वास दिलाउँदै मन्त्री शर्माले आफू औद्योगिक राजधानीलाई थप सवल बनाउन लागिपरेको र त्यसमा स्थानीयवासीको सकारात्मक पहल जरुरी रहेको बताए । ऊर्जा मन्त्रालयसँग नियमित छलफलमा रहेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले आफूहरु सरकारलाई सकारात्मक सहयोग गर्न तयार रहेको बताएका छन् । रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम आगामी साताभित्र सम्पन्न हुने क्रममा रहेको छ । सो अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात हुन लागेको छ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले रक्सौल परावनीपुर र कुशाहा कटैया अन्तरदेशीय प्रसारण लाइनमार्फत थप ५०/५० मेगावाट विद्युत् आयात गर्ने सहमति भएको छ । वीरगन्ज औद्योगिक करिडोरमा तत्काल नै विद्युत् उपलब्ध गराए एक सय मेगावाट विद्युत् खपत हुन सक्छ । वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले आफूहरुको प्रतिनिधिमण्डललाई मन्त्री शर्माले छिट्टै विद्युत्भार कटौतीमुक्त गरिने र भारतबाट आयात भएको विद्युत्लाई बारा, पर्साका उद्योगलाई नै उपलब्ध गराउने वचन दिएको बताए । वीरगन्ज औद्योगिक करिडोरलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री शर्माले काठमाडौँ उपत्यकापछि वीरगन्जलाई विद्युत्भार कटौतीमुक्त गर्ने प्रयासमा रहेको बताए । भारतीय ठेकेदार कम्पनी मोहन इनर्जीले निर्माण गरिरहेको रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनमध्ये टावर निर्माणको काम सम्पन्न भएको छ भने आठ किलोमिटर क्षेत्रमा तार तान्ने काम जारी रहेको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले जानकारी दिए । विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भारतबाट थप ५० मेगावाट विद्युत् आयात गरिने छ । यसले वीरगन्ज औद्योगिक करिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना नेपाल विद्युत् प्राधिकरणको छ । आयोजनाको सबैभन्दा विवादित बनेको चारवटा टावरको फाउन्डेसन निर्माण सम्पन्न भएको छ । कुल ८ दशमलव ५ किलोमिटर क्षेत्रमा तार तान्न बाँकी रहेको छ । भारतीय ठेकेदार मोहना इनर्जीले दैनिक दुई सत्रमा काम गरेर भए पनि यसै महिनाको अन्त्यसम्ममा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने जानकारी आफूलाई दिएको आयोजना प्रमुख मुखियाले बताए । परवानीपुर क्षेत्रमा केही स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गर्दा आयोजना केही समय ढिला हुन पुगेको हो । गत पुसको २० गते ऊर्जा मन्त्री शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलको निरीक्षण गरी तोकिएको समयभन्दा पहिल्यै आयोजना सम्पन्न गर्न निर्देशन दिएका थिए। आयोजनालाई छिटो सम्पन्न गराउन वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष शर्माले आफूहरुले आयोजना निर्माणका लागि सहजीकरण गरिरहेको र आइपर्ने समस्या समाधानका लागि उद्योगीसमेत लागिपरेको बताए। रासस
स्वावलम्बन लघुवित्त विकास बैंकको १६ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं, १४ माघ । स्वावलम्बन लघुवित्त विकास बैंक लि.को १६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले इलाका कार्यालय विर्तामोड-झापा, इटहरी-सुनसरी, लहान-सिरहा, बर्दिवास-महोत्तरी, बीरगंज-पर्सा, गठ्ठाघर-भक्तपुर र घोराही-दाङ्गमा एक समारोहबीच वार्षिकोत्सव मनाएको हो । भक्तपुरमा आयोजित समारोहमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बैंकले सदस्यहरुको जीबनस्तर उठाएको, गरिबी न्यूनिकरण गर्न सहजीकरण गरेको, बित्तीय पहुँच नपुगेको स्थानमा लघुवित्त बैंकहरु पुगेकोमा खुसी व्यक्त गरेका छन् । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले ग्राहक सदस्यहरुलाई भरपर्दो सेवा पुर्याउन बैंक तत्पर रहेको बताए । समारोहमा बैंकमा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघु व्यवसायी, वचतकर्ता, केन्द्र प्रमुख तथा शाखा कार्यालयहरुलाई सम्मान गरिएको थियो । त्यस्तै, एसएलसी परीक्षामा ग्राहक सदस्यका उत्कृष्ठ छोराहरुबाट २ जना तथा छोरीहरु २ जना गरी जम्मा ४ जना छोराछोरीलाई नगद सहित सम्मान गरिएको थियो । साथै, कर्मचारीका छोरा छोरीहरु मध्ये एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ४ जनालाई नगद सहित सम्मान-पत्र प्रदान गरिएको थियो । बैंकले हाल ४९ जिल्लाका १२३ कार्यालय मार्फत २ लाख ९ हजार ७ सय ४७ ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ । बैंकको हाल लगानीमा रहिरहेको कर्जा ६ अर्व ९९ करोड रुपैयाँ रहेको छ ।
निक्षेपको व्याजदर २० प्रतिशतले बढ्दा सेयर बजार ९० अंकले घट्यो
काठमाडौं, १४ माघ । गत साता बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती खातामा २० देखि ३५ प्रतिशत व्याज बढाए । अघिल्लो सातासम्म बैंकहरुले निक्षेकर्ताले १० प्रतिशत व्याज दिएका थिए । गत साता एनसीसी, एनआईसी, ग्लोवल आईएमई लगायत वाणिज्य बैंकहरुले १२ प्रतिशत व्याजमा निक्षेप आह्वान गरे । वाणिज्य बैंकहरुले व्याज बढाएपछि विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पनि असर पर्यो । ९ प्रतिशत व्याज दिदै आएको कैलाश विकास बैंकले १२ प्रतिशत व्याज प्रस्ताव गर्यो । अधिकांश राष्ट्रिय स्तरका विकास बैंकहरुले १२ प्रतिशत व्याज दिने प्रस्ताव गरे । गुडविल फाइनान्सले निक्षेपकर्तालाई १३.५ प्रतिशत व्याज प्रस्ताव गरेको छ । बैंकहरुले निक्षेपको व्याजदर वृद्धि गर्दा निक्षेपकर्तालाई लाभ भएको छ । तर सेयर बजारमा त्यसको उल्टो प्रभाव पर्यो । यस साता मात्र सेयर बजार ९० अंकले घट्यो । मुद्दती व्याजमा २० देखि ३५ प्रतिशत वृद्धि हुँदा सेयर बजार करिव ६ प्रतिशतले झरेको छ । आईतबार १४६५ मा रहेको नेप्से परिसूचक विहीबार १३७५ अंकमा झरेको छ । यस साता नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । साताभर दुई अर्ब २२ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १९.९४ प्रतिशत बढि हो । गत साता एक अर्ब ८५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस साता १५५ कम्पनीहरुको एक करोड ६६ लाख ६७ हजार सेयरहरु खरिद बिक्री भएका छन् ।
त्रिशूली थ्री ‘बी’ अगाडि बढाउन अन्तर्राष्ट्रिय बोलपत्र, आगामी वैशाख १९ गतेसम्म पेश गर्नुपर्ने
काठमाडौं, १४ माघ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना अगाडि बढाउन शुक्रबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । कुल ३७ मेगावाट क्षमताको सो आयोजना ‘क्यासकेड’ परियोजनाका रुपमा लिइएको छ । आयोजनाको निर्माण अघि बढाउन कम्पनीले सूचनामार्फत सीमित रुपमा विश्वव्यापी बोलपत्र आह्वान गरेको आयोजना प्रमुख मोहन गौतमले जानकारी दिए । आयोजनाले बोलपत्र पेस गर्ने अन्तिम मिति आगामी वैशाख १९ गते मङ्गलबारसम्मका लागि तोकिएको छ । प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो । आयोजना इन्जिनियरिङ प्रोक्युमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा अगाडि बढाउन लागिएको परियोजना हो । बोलपत्रमा भाग लिन आयोजनाले विभिन्न सात अन्तर्राष्ट्रिय कम्पनीलाई छनोट गरेको छ । छनोट भएका कम्पनीले मात्रै बोलपत्रमा भाग लिन पाउनेछन् । पूर्वयोग्यता परीक्षणमा छनोट भएका सात कम्पनीमध्ये छवटा चिनियाँ र एक भारतीय कम्पनी रहेका छन् । बोलपत्रको आवश्यक प्रक्रिया सम्पन्न गरेर आगामी मङ्सिरबाट निर्माण शुरु गर्ने सो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०/३०, आयोजना प्रभावित रसुवा, नुवाकोट जिविस, गाविस तथा रसुवा र नुवाकोटका सामुदायिक संस्थाले पाँच/पाँच, आयोजना प्रभावित १०, सर्वसाधारणलाई १५ र प्राधिकरण र टेलिकमका कर्मचारीलाई पाँच प्रतिशत सेयर दिने गरी लगानी संरचना तय गरिएको छ । नविल बैंकको नेतृत्वमा, नेपाल बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, नागरिक लगानी कोषले लगानी गर्ने विषयमा छलफल अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजना आर्थिक रुपमा आकर्षक भएको गौतमले बताए । उनका अनुसार आयोजनाको प्रतिफल २२ प्रतिशत हुनेछ । आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ । प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाबाट निस्कने पानी ३.७ किलोमिटर लामो सुरुङबाट नुवाकोटको बेत्रावती नजिक सिरुवापानीस्थित विद्युत्गृहमा खसालिने छ । आयोजनाको सामान्य बाँधमात्रै निर्माण गरे हुने भएकाले लागत अन्य आयोजनाको भन्दा कम पर्ने बताइएको छ । रासस
सिद्धार्थ बैंकको पोखराको शाखा स्थानान्तरण
काठमाडौं, १४ माघ । सिद्धार्थ बैंकले पोखराको सभागृहस्थित आफ्नो शाखा कार्यालयलाई पोखराको लेकसाइडमा स्थानान्तरण गरेको छ । शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखे र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले संयुक्त रुपमा गरेका हुन् । बैंकले यस शाखा मार्फत् आफ्ना ग्राहकहरुलाई अझै छिटो, छरितो र सर्वसुलभ ढंगले आधुनिकतम बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । सिद्धार्थ बैंकले हाल ६१ शाखा, २ एक्स्टेन्सन काउन्टर, ६८ शाखारहित बैंकिंग सेवा केन्द्र तथा ८२ ए.टी.एम मार्फत् ग्राहकहरुलाई बैंकिंङ सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको पौष मसान्तको वित्तिय विवरण अनुसार बैंकको निक्षेप ७४ अर्ब ९३ करोड रुपैयाँ र कर्जा ६२ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको खुद मुनाफा ७२ करोड ६० लाख रुपैयाँ रहेको छ ।
शिखर इन्स्योरेन्सले १३ लाख ६२ हजार कित्ता एफपीओ निष्काशन गर्ने, १०० को सेयर १६२० मा बेच्ने प्रस्ताव
काठमाडौं, १४ माघ । शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार ७८१ कित्ता थप साधारण सेयर (एफपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । विहीबार बसेको बैंक सञ्चालक समितिले प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयरमा १५२० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता १६२० रुपैयाँमा निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीको १२ औं साधारणसभाले गरेको निर्णय अनुसार कम्पनीमा सर्बसाधारणको सेयर हिस्सा ४० प्रतिशत बनाउनको लागि सर्वसाधारणको लागि थप सेयर निष्काशन गर्न लागिएको जनाएको छ । कम्पनीको प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेपछि मात्र नयाँ सेयर निष्काशन हुन्छ । धितोपत्र बोर्डबाट निष्काशनको स्वीकृति प्रदान गर्ने क्रममा निष्काशन मूल्य फरक पर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले प्रस्ताव गरेअनुसार धितोपत्र बोर्डले स्वीकृत गरेमा यो अहिलेसम्मको सबैभन्दा बढी प्रिमियम मूल्यको सेयर हुनेछ । पछिल्लो समय यस कम्पनीको सेयर प्रतिकित्ता १९५० रुपैयाँमा कारोबार भईरहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८१ करोड ५८ लाख रुपैयाँ छ । एफपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी ९५ करोड २१ लाख रुपैयाँ हुनेछ । एफपीओबाट कम्पनीले २ अर्ब ७ करोड १४ लाख रुपैयाँ प्रिमियम संकलन गर्छ । शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन तर्फको लिडर कम्पनी हो ।
वाणिज्य बैंक र एनआईडीसी गाम्ने निर्णय स्वीकृत, चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्ने
काठमाडौं, १४ माघ । सरकारले राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास कर्पोरेसन (एनआईडीसी) लाई गाभ्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सरकारी स्वामित्वका यी दुई बैंक गाभ्ने निर्णय गरेको हो । स्तरोन्नति गरी पूर्वाधार बैंक बनाउने यस अघिको घोषणा उल्ट्याउँदै सरकारले राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने तयारी गरेको थियो । यस अघि अर्थ मन्त्री शंकर कोइरालाको कार्यकालमा नेपाल राष्ट्र बैंकका तत्कालिन गर्भनर डा. युवराज खतिवडाले सोही प्रस्ताव गरेका थिए भने २०७०/७१ को बजेटमा एनआईडीसीलाई क्षमता विस्तार गरी पूर्वाधार विकास बैंक बनाउँने घाषणा गरिएको थियो । त्यसपछिका अर्थमन्त्री डा.रामशरण महतले विज्ञ टोलीले पनि यसलाई स्तरोन्नति गर्न सुझाएको थियो । एनआईडीसीले कम्तीमा २० अर्ब रुपैयाँ चुक्ता पूँजीको पूर्वाधार बैंक बनाउन प्रस्ताव गरेको थियो । प्रस्तावअनुसार सरकारको ५१ प्रतिशत, विदेशी वित्तीय संस्था (एसियाली विकास बैंक ) को ३० प्रतिशत र वाणिज्य बैंकको १९ प्रतिशत सेयर रहने गरी पुँजी संरचना हुने भनिएको थियो । यस वर्षको मौद्रिक नीतिमा २० अर्ब चुक्ता पुँजीमा स्वदेशी वा संयुक्त लगानीमा पूर्वाधार विकास बैंकको अनुमति दिन नीतिगत व्यवस्था गर्ने बताइएको थियो । एनआईडीसीलाई पूूर्वाधार बैंक बनाउने तयारी गरिरहँदा राष्ट्रिय वाणिज्य बैंकले भने दुबै बैंकको व्यवस्थापन गाभ्न लविङ गरिरहेको थियो । वित्तीय अवस्था राम्रो रहेको र अत्यधिक मूल्यको सम्पत्ति रहेको एनआईडीसीलाई गाभ्न वाणिज्य बैंक भित्रभित्रै तयारी गरिरहेको थियो । एनआईडीसीको दरबारमार्गमा २९ रोपनी जग्गा रहेको छ । अहिले उक्त स्थानको जग्गाको मूल्यनै प्रतिआना २ करोड रुपैयाँ पर्छ । हाल दरबारमार्गमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक रहेको घर/जग्गा पनि एनआईडीसीकै हो । यहि हुनले एनआईडीसीलाई धेरै पक्षबाट हेरिएको छ । नेपाल औद्योगिक विकास कर्पोरेसन ऐनअनुसार २०१६ सालमै स्थापना भएको हो । नेपालको औद्योगिक विकासमा यसको सबैभन्दा ठूलो भूमिका रहेको छ । स्थापनाका समयमा उक्त कर्पोरेशनको निकै ठूलो चाम थियो । पछि निजी बैंकहरू खुल्न थालेपछि प्रतिस्पर्धा गर्न नसक्दा आर्थिक वर्ष २०६२/६३ मा एनआईडीसीको खराब कर्जा अनुपात ७९.१९ प्रतिशत पुगेको थियो । हाल पनि यसको खरावकर्जाको अनुपात ११.३८ प्रतिशत छ । आर्थिक वर्ष २०७२/७३ मा एनआईडीसीले ४० करोड ४८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले वाणिज्य बैंकको ५२ औं स्थापना दिवसका अवसरमा गत सोमबार दुई सरकारी बैंक गाभ्ने प्रस्तावमा आफूले सही गरिसकेको र आउँदो मन्त्रीपरिषद बैठकमा लैजाने तयारी भइरहेको जानकारी गराएका थिए । शुक्रबार अर्थमन्त्रालयले यो दुई संस्था गाभ्ने प्रस्ताव मन्त्रीपरिषद्मा पेश गरेको थियो ।