विकासन्युज

हकप्रद निष्काशनका लागि एकैदिन तीन कम्पनीले दिए आवेदन, कुन कुनले दिए?

काठमाडौं । राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिमको पूँजी बढाउने क्रममा बुधबार मात्रै तीन कम्पनीले धितोपत्र बोर्डमा हकप्रद निष्काशनको लागि आवेदन दर्ता गराएका छन् । सनराइज बैंक, गरिमा विकास बैंक र गुडविल फाइनान्सले एकैदिन छुट्टाछुट्टै मात्राको हकप्रद निष्काशनको लागि आवेदन दिएका हुन् । सनराइज बैंकले ३० प्रतिशत(अर्थात १० बराबर ३ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।  बैंकले एक अर्ब ६३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड ६३ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम प्रभु क्यापिटल लि. लाई दिएको छ । त्यस्तै, गरिमा विकास बैंकले पनि ७० प्रतिशत(अर्थात १० बराबर ७ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । सो बैंकले ९० करोड ७६ लाख रुपैयाँ बराबरको ९० लाख ७६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम एस क्यापिटल लि. लाई दिएको छ । त्यसैगरि, गुडविल फाइनान्सले पनि ६० प्रतिशत(अर्थात १० बराबर ६ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २७ करोड २२ लाख रुपैयाँ बराबरको २७ लाख २२ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम एनआईबीएल क्यापिटल मार्केट लि. लाई दिएको छ । यी तीन वटै कम्पनीले बोर्डको अनुमति पाए पछि मात्रै हकप्रद सेयर निष्काशन गर्ने छन् ।

नेपाल टेलिकमको प्रति शेयर आम्दानी १०५ रुपैंयाँ बढि, बजार मूल्य ६३५ मात्रै

काठमाडौं । नेपाल टेलिकमको प्रति शेयर आम्दानी १०५ रुपैंयाँ ५८ पैसा पुगेको छ । टेलिकमले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा आफ्नो प्रति सेयर आम्दानी १०५ रुपैंयाँ ५८ पैसा पुर्याएको हो । जबकी गत आवको सोही अवधीमा कम्पनीको यस्तो आम्दानी जम्मा ९६ रुपैंयाँ ७५ पैसा थियो । कम्पनीले पुस मसान्तसम्ममा २२ अर्ब ४७ करोड रुपैंयाँ बराबरको कारोबार गरेर ७ अर्ब ९१ करोड रुपैंयाँ नाफा आर्जन गरेको छ । १५ अर्ब चुक्ता पुँजी रहेको टेलिकमले गत आर्थिक बर्षमा १३ अर्ब २७ करोड नाफा कमाएको थियो । टेलिकमको प्रति सेयर आम्दानी आर्थिक बर्ष २०७२/७३ मा बाहेक निरन्तर वृद्धि हुँदै आएको छ । सो आवमा भने ८०६ जना कर्मचारीलाई भिआरएसमा पठाउँदा तीन अर्ब भन्दा बढि रकम खर्च भएकाले कुल नाफा र प्रति सेयर आम्दानी दुबै घटेको टेलिकमका प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले बताइन् । तैपनि ९१ रुपैंयाँ २१ पैसा प्रति सेयर आम्दानी कायम हुनु राम्रो भएको उनको भनाई छ । आर्थिक बर्ष २०६८/६९ मा टेलिकमको प्रति सेयर आम्दानी ७७.७३ रुपैंयाँ थियो । त्यसको एक बर्षपछि त्यो घटेर ७५.३३ रुपैंयाँमा झरेको थियो । तर २०७०/७१ मा पुग्यो कम्पनीको त्यस्तो आम्दानी ७७.१२ पुग्यो । आव २०७१/७२ मा पुग्दा टेलिकमको प्रति सेयर आम्दानी ९७.०४ पुग्यो तर त्यसको एक बर्ष पछि अर्थात गत आवमा भने ९१.२१ रुपैंयाँमा खुम्चियो । चालु आवमा भने टेलिकमको प्रति सेयर आम्दानी अझै बढ्ने देखिएको छ । ‘यसपाली कुल नाफा पनि वृद्धि हुन्छ र प्रति सेयर आम्दानी पनि बढ्छ’, कम्पनीका प्रमुख वित्तिय अधिकृत सुर्यभक्त पोखरेलले भने । प्रति सेयर आम्दानी एक सय रुपैयाँ नाघेको कम्पनीको सेयर मूल्य भने ६३५ रुपैंयाँ मात्रै रहेको छ ।

सेयर बजार उकालो लाग्ने क्रम जारी, नेप्से १८ अंकले बढ्दा एक अर्ब ३९ करोडको कारोबार

काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रम जारी रहेको छ । लगातार उकालो लागेको परिसूचक बुधबार पनि दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १८ दशमलब ८५ अंकले बढेर १४८१ दशमलब ०८ अंकमा अडेको छ । बजार खुलेको करिब ३ घण्टामै १५१२ अंक नाघेको परिसूचक त्यसपछिको कारोबारमा भने केही गिरावट आएको देखिन्छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । बुधबार १ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । १४६ कम्पनीको २५ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम करिब ४ करोड रुपैयाँ घटी हो । सो दिन बीमा समूहको परिसूचक ८८ दशमलब ६२ अंकले ओरालो लागेको छ भने अन्य बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ४० अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ र हाइड्रोपावर समूहको परिसूचक २५ अंकले बढेका छन् । बुधबार कारोबार गर्ने उत्कृष्ट दश कम्पनी                                                    बुधबार कमाउने उत्कृष्ट दश कम्पनी

नेप्से परिसूचक १५०० नाघ्यो, कारोबार पनि एक अर्ब माथी

काठमाडौं । बुधबार नेप्से परिसूचक १५०० नाघेको छ । दिउँसो २ बजेर ३ मिनेट जाँदाँसम्ममा परिसूचक १५०३ दशमलब ९ पुगेको छ । परिसूचक मात्रै होइन कारोबार रकममा पनि वृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म एक अर्ब ६ करोड मुल्य बराबरको सेयर कारोबार भैसकेको छ । नेप्सेका सात वटै परिसूचक उकालो चढेका छन् । सानिमा बैंकको ५ करोड, नेपाल बैंकको ४ करोड, एनसीसी बैंकको पनि ४ करोड भन्दा बढि मुल्य बराबरको सेयर कारोबार भैसकेको छ ।

देवःविकास बैंकले युनियन फाइनान्स एक्वाएर गर्ने

काठमाडौं । देवः विकास बैक लिमिटेडले युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति(एक्वाएर)गर्ने सम्झौता भएको छ । उक्त एक्वाएर गर्ने सम्बन्धमा मंगलबार दुई संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा देवः विकास बैकको तर्फबाटबाट संचालक समितिका अध्यक्ष सुवर्णलाल बज्राचार्य र युनियन फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष भक्तबहादुर मल्लले हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैकबाट जारी निर्देशन बमोजिम २०७४ आषाढ मसान्तसम्म तोकिए बमोजिम चुक्ता पूँजी पुर्याउनु पर्ने भएकोले सो बमोजिम चुक्ता पूँजी कायम गर्न यो समक्षदारी पत्रमा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ । साथै, बैंकले उक्त फाइनान्स प्राप्ति पछि नपुग चुक्ता पूँजीको लागि थप संस्थाहरु प्राप्त/मर्जर गर्ने योजना सहित कार्य गरिरहेको छ । साथै, उक्त संस्था प्राप्ति पछि संस्थाको नाम देवः विकास बैक लि. नै रहने बैंकले जनाएको छ ।

अब राजनीतिक पार्टीले प्रत्यक्षमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत ल्याउनै पर्ने, साना दललाई संकट

काठमाडौं । अब राजनीतिक पार्टीहरुले प्रत्यक्षमा एक सिट र समानुपातिक तर्फ ३ प्रतिशत मत ल्याउनै पर्ने भएको छ । राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्ष तर्फ एक सिट र समानुपातिक तर्फ ३ प्रतिशत मत ल्याउनै पर्ने प्रावधानसहितको राजनीतिक दल सम्बन्धी विधेयक संसदमा पुगेको हो । सो विधेयकले बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकले बहुमतका आधारमा पास गरे संसदमा पठाउने निर्णय गरेको हो । साना दलहरुको बिरोधका बावजुद एक जना प्रत्यक्ष सांसद र ३ प्रतिशत समानुपातिक मत नल्याए राष्ट्रिय पार्टीको मान्यता नपाउने व्यवस्थासहितको मस्यौदा समितिले पास गरेको हो । निर्वाचन आयोगले भने ३ प्रतिशत थ्रेस होल्डसहितको मस्यौदा अघि बढाएको थियो । राज्य व्यवस्था समितिले एक जना प्रत्यक्ष सांसद पनि जित्नै पर्ने व्यवस्था थप गरेर विधेयक पास गरेको हो । अब साना राजनीतिक दलहरुको अस्थित्व संकटमा पर्नेछ ।

सानिमा बैंकले ३० प्रतिशत हकप्रद निष्कासन गर्ने, चैत १८ गते बुक क्लोज

काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई ३० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । बैंकले सो प्रयोजनको लागि चैत १८ गने कम्पनीको बुक क्लोज रहने बताएको छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको नयाँ पूँजी ६ अर्ब ८९ करोड रुपैयाँ नाघ्ने छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ५१२ रुपैयाँमा कारोबार भइरहेको छ ।

वस्तु विनिमय कम्पनी खोल्न न्यूनतम पुँजी ५० करोड, धितोपत्र बोर्डको स्वीकृत बिना कारोबार गरे ५० लाख जरिवाना

काठमाडौं । वस्तु विनिमय बजार सम्बन्धी विधेयक संसदमा प्रवेश गरेको छ ।  मंगलबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेको विधयेक प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । नेपालमा पहिलो ल्याइएको उक्त विधेयक पास गरेको हो । अब विधेयक पास भएपछि नेपाल धितोपत्र बोर्डबाट अनुमति नलिइ वस्तु विनिमय बजार सञ्चालन गरेमा वा वस्तु विनिमय बजारको नाम प्रयोग गरेमा १० लाखदेखि ५० लाखसम्म जरिवाना तिर्नु पर्ने व्यवस्था गरेको छ । राफसाफ तथा वेयर हाउस सञ्चालन गरेमा दुई ला देखि दशलाखसम्म र वस्तु कारोबार गरेमा एकलाखदेखि पाँच लाखसम्म जरिवान गर्न सकिने विधेयकमा उल्लेख गरिएको छ । विधेयकले वस्तु विनिमय बजार सञ्चालन गर्दा संगठित संस्थाको न्यूनतम चुक्ता पुँजी ५० करोड हुनुपर्ने  व्यवस्था गरेको छ । त्यस्तै वस्तु कारोबार, राफसाफ, तथा फस्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गर्ने संस्थाको न्यूनतम चुक्ता पुँजी धितोपत्र बोर्डले तोके बमोजिम हुुनपर्ने छ । वस्तु विनिमय बजार सञ्चालन गर्ने अनुमति प्राप्त संस्थाले अनुमति प्राप्त गरेको मितिले १८० दिन भित्र व्यवसाय शुरू गरिसकेको हुनुपर्ने छ । यस्तो बजार सञ्चालन गर्ने कम्पनीले चुक्ता पँुजीको ५ प्रतिशतभन्दा बढी सेयर राख्न पाउने छैन । अर्को वस्तु विनिमय बजार कम्पनीको सेयरधनी रहेकाले वस्तु विनिमय बजारको सेयर लिन पाउने छैन । कुनै कारणले कालोसूचीमा रहेको वा हटेको तीन वर्षपछिमात्र यस्तो बजारमा प्रवेश पाउने छ । सरकारी रकम तिर्न बाँकी भएको अवसथामा पनि वस्तु विनिमय बजारको सेयर लिन पाउने छैनन् ।  विदेशी पुँजी, सीप तथा प्रविधिको प्रयोग गरी वस्तु विनिमय बजार सञ्चालन गर्ने प्रयोजनका लागि रणनीतिक साझेदारको रुपमा विदेशी लगानीकर्ताले यस्तो कम्पनीको चुक्ता पुँजीको ५१ प्रतिशतसम्म सयेर लिन सकने छन् । त्यस्तै एक पटकमा कारोबार गर्न सकिने वस्तुको सीमा बोर्डले वस्तुको किसिम अनुसार निर्धारण गर्ने छ । त्यस्तै यस्तो बजारबाट लगानीकर्तालाई हुने सक्ने सम्भावित प्रणलीगत जोखिम (सिष्टमिक रिक्स) बाट सुरक्षित गर्न लगानीकर्ताको संरक्षण कोष स्थापना गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ । वस्तु कारोबार गर्न व्यवसायीले वस्तु विनिमय बजारबाट सदस्यता लिनुपर्नेछ । वस्तु बजारलाई सही मूल्य निर्धारण गर्ने, मूल्य जोखिम कम गर्ने, महँगी नियन्त्रण गर्ने उद्देश्यसहित विधेयक ल्याएको हो । उक्त विधेयकले कृषक, व्यवसायी र सरकारलाई समेत फाइदा पुग्ने नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । नयाँ ऐनले बजारलाई नियमका साथै व्यवस्थापन समेत गर्ने बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । विधेयक पारितपछि बस्तु विनिमय बजार करको दायरामा विस्तार हुने, रोजगारीको बढोत्तरी, अनुगमन तथा अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न नयाँ विधेयकले काम गर्ने अर्थमन्त्रीले बताएका छन् । उनले आर्थिक अनियमितता र ठगी नियन्त्रण गर्न सकिने तथा सीमित व्यक्तिले बजार नियन्त्रण गर्ने अवस्थाको समेत अन्त्य यसबाट हुने बताएका छन् ।