किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानको प्यानलले उम्मेदवारी दर्ता गरेको छ । प्रधानले बस्तु तर्फको उपाध्यक्षमा शंकर पाण्डे र जिल्ला नगरको उपाध्यक्षमा प्रमोद श्रेष्ठलाई उम्मेदवार बनाएको छ । सोमबार मध्यान्ह प्रधान समुहले महासंघ सचिवालय टेकु पुगेर उम्मेदवारी दर्ता गराएको हो । यो समुहले एसोसियट तर्फको उपाध्यक्षमा भने चन्द्र ढकाललाई नै समर्थन गर्ने बताएको छ । उम्मेदवारी दर्ता कार्यक्रममा महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी पनि सहभागी थिए । जोशीले सबै उम्मेदवारहरुलाई माला लगाईदिएर विजयको शुभकामना दिएका थिए । महासंघको गरिमा र व्यवसायीक उन्नतिका लागि आफ्नो प्यानल चुनावी मैदानमा खडा भएको बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले बताए ।
तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सम्पन्न, ७३ लाख रुपैयाँ बढीको कारोबार
काठमाडौं । कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सम्पन्न भएको छ । ‘शान्ति, सम्वृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सम्पन्न एक्स्पोमा मौसमी फूल, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रीन हाउस, कृषि औजार, सुक्ष्म तथा थोपा सिँचाइ प्रविधिलगायतको रु ७३ लाख भन्दा बढीको कारोबार भएको आयोजक समितिले जनाएको छ । अपेक्षा गरेअनुसार कारोबार भएको बताउँदै एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस पटकको अन्तर्राष्ट्रिय मेला कारोबारसँगै प्रवद्र्धन गर्न पनि सफल भएको बताए । मेलामा फ्लोरिकल्चर व्यवसायमा प्रयोगमा आएका अन्तर्राष्ट्रिय प्रविधिका बारेमा पनि अवलोकनकर्ताले जानकारी पाएको उनले बताए । मेला अवधिभर ६६ हजार भन्दा बढी फूलका पारखी मेला अवलोकनका लागि आएको जानकारी गराउँदै एसोसिएसनका संयोजक जेवी तामाङले अघिल्लो वर्षमा भएका मेलामा भन्दा यस वर्ष फूल तथा बोटबिरुवा खरिद गर्नेहरु धेरै रहेको बताए । प्रविधि विस्तारका लागि भारत, बङ्गलादेश, श्रीलङ्का, चीन र दक्षिण कोरियालगायत मुलुकबाट पुष्प व्यवसायीलाई मेलामा सहभागी गराइएको थियो ।
जीवन बीमा बजार २३ प्रतिशतले विस्तार, पुँजी वृद्धिलाई बजारको समर्थन
काठमाडौ । बीमाको पुँजी वृद्धिलाई बजार विस्तारले पनि समर्थन गरेको छ । बीमा क्षेत्रको प्रचार–प्रसारपछि बीमा गर्नेहरूको संख्यासँगै बीमा कारोबार रकम पनि बढेको छ । गएको वर्षको दोस्रो त्रैमासम्म १३ अर्ब ११ करोड करोड रहेको यस्तो रकम यस वर्षको दोस्रो चौमासमा आइपुग्दा बढेर १६ अर्ब १५ करोड पुगेको छ । जीबन बीमा प्रिमियमको वृद्धि २३.१८ प्रतिशतले बढेको देखिएको छ । त्यस्तै, चालू आर्थिक वर्ष २०७३÷७४ को दोस्रो त्रैमासिकसम्म ७ लाख ५९ हजार २० जनाले बीमा गरेका छन् । गत वर्ष सोही अवधिमा ६ लाख ५६ हजार १ सय ४९ जनाले जीवनबीमा गरेको समितिले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष १ लाख २ हजार ८ सय ५१ जना बीमा गर्ने बढेका छन् । बीमा गर्नेको रकम बढेसँगै बीमा रकम पनि बढेको बीमा समितिका अध्यक्ष चिलञ्जीवी चापागाईँले बताए । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा ३ अर्बभन्दा बढीले जीवन बीमाबापतको शुल्क बढेको समितिको तथ्यांकले देखाएको छ । यस अवधिमा ७ अर्बको सर्वाधिक जीवन बीमा भएको छ भने गएको वर्षको समीक्षा अवधिमा यस्तो बीमा ६ अर्ब रुपैयाँको मात्र थियो । यसरी बीमा गराउने कम्पनीहरूमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले यस अवधिमा ४ अर्ब ९४ करोडको जीवन बीमा प्रिमियम संकलन गरेको छ । जीवन बीमा गराउने दोस्रो कम्पनी लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले यो अवधिमा ३ अर्ब ६७ करोडको जीवन बीमा गराएको छ । नेशनल लाइफ इन्स्योरेन्स सर्वाधिक जीवन बीमा गराउने कम्पनीको तेस्रो स्थानमा रहेको छ । उक्त अवधिमा सो कम्पनीले दुई अर्ब ९ करोडको जीवन बीमा गराएका थिए । गएको वर्षको दोस्रो चौमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब १२ करोड, लाइफ इन्स्योरेन्स २ अर्ब ९५ करोड, नेशनल लाइफ इन्स्योरेन्स १ अर्ब ४९ करोड रकमको जीवन बीमा गराएका थिए ।
सोमबारको सेयर बजारमा पुनः सर्किट ब्रेक
काठमाडौं । सेयर बजारमा पुनः सर्किट ब्रेक लागेको छ । सोमबार बजार खुलेको ३० मिनेट नपुग्दै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पुनः सर्किट ब्रेक लागेको हो । यस अघि बजार खुलेको १५ मिनेट नपुग्दै नेप्से परिसूचक ३ प्रतिशतले बढेर १५ मिनेट बन्द भएको थियो । त्यसपछि बजार पुनः खुलेको थियो । बजार ११ बजेर ५९ मिनेट जाँदा खुल्ने नेप्सेले जनाएको छ ।
नयाँ वर्षमा आईएमईका ग्राहकलाई हर्ष नै हर्ष, आइएमईबाट पैसा पठाउँदा ल्यापटप उपहार
काठमाडौं । नयाँ वर्ष २०७४ को अवसरमा जापानबाट क्योदाई-आईएमई मार्फत् नेपाल पैसा पठाउँदा सेवाग्राहीहरुका लागि उपहारको व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार यसरी पैसा पठाउँदा हरेक दिन २ जनाले जापानी येन पाँच हजार ( ५,०००) बराबरको शपिङ्ग कुपन प्राप्त गरे भने हरेक हप्ता १ जना भाग्यशाली विजेताले एउटा ल्यापटप प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । जापानबाट क्योदाई–आईएमई मार्फत पैसा पठाउने सवै सेवाग्राहीहरु सहभागी हुनसक्ने यो प्रवद्र्धनात्मक योजना यहीं अप्रिल १ देखि ३० सम्म कायम हुनेछ । योजना अवधिभरमा जापानबाट क्योदाई मार्फत आईएमई गर्ने सेवाग्राहीहरु मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा दैनिक र साप्ताहिक विजेता घोषित गरिनेछ । दैनिक विजेताको हकमा उपहार प्रत्येक दिन साझ र साप्ताहिक विजेताका लागि सप्ताहन्तमा घोषणा गरिनेछ । यसको जानकारी विभिन्न संचारका माध्यम वा अफिसका आधिकारिक सामाजिक संजाल पेज मार्फत गराइनेछ । यस योजनाको विस्तृत जानकारीका लागि क्योदाई–आईएमई को आधिकारिक वेब साइट, सामाजिक संजाल पेज र काठमाडौं पानीपोखरीस्थित आईएमई केन्द्रीय कार्यालयको शोधपुछ शाखामा सम्पर्क गर्न सक्नेछन् । यी दुवै कम्पनीसँग आवद्ध कर्मचारीहरु, एजेण्ट, सव–एजेण्ट, परिवारका सदस्यहरु वा निजका नातेदार यो प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ । हाल कम्पनीले ७५ जिल्लाका ५,७०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट सेवा दिँदै आईरहेको छ ।
नेपाल उद्योग परिसंघको उपाध्यक्षमा राजेश कुमार अग्रवाल नियुक्त
काठमाडौं । नेपाल उद्योग परिसंघको हालै सम्पन्न राष्ट्रिय परिषदको पूर्ण बैठकले परिसंघको रिक्त रोजगारदाता परिषदको संयोजकमा राजेश कुमार अग्रवाललाई मनोनय नगरेको छ । परिसंघको विधानअनुसार रोजगारदाता परिषदको संयोजक परिसंघको पदेन उपाध्यक्ष हुने व्यवस्था छ । राष्ट्रिय परिषदका बरिष्ठ सदस्य राजेश कुमार अग्रवाललाई संयोजकमा मनोनित गरियोस भनि परिसंघको विधानअनुसार पदाधिकारी समितिको शिफारिसमा गभर्निङ काउन्सीलले गरेको प्रस्ताव राष्ट्रिय परिषदले अनुमोदन गरेको हो । नवनियुक्त उपाध्यक्ष र रोजगादाता परिषदका संयोजक अग्रवालले परिसंघको तर्फबाट नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय तथा मातहतका निकाय, अन्तर्राष्ट्रिय श्रम संगठन, व्यवस्थापिका संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्वन्ध समितिमा प्रतिनिधित्व रहने परिसंघले जनाएको छ । औद्योगिक क्षेत्रमा सुमधुर श्रम सम्वन्ध कायम गर्नका लागि विभिन्न श्रम संगठन तथा श्रमिक तथा रोजगादाताका पेशागत संगठन र सरकारसँगको सहकार्यमा दुई पक्षीय तथा त्रिपक्षीय संयन्त्रमा रहेर श्रम तथा रोजगार क्षेत्रसँग सम्वन्धित नीति तथा ऐन कानुन निर्माण र त्यसको कार्यान्वयनका क्रममा रोजगारदाता परिषदको महत्वपूर्ण भुमिका रहने गर्छ । साथै श्रमिक तथा रोजगारदाता संगठनका बीचमा हुने सामूहिक सौदावाजी, सामाजिक सुरक्षा र सम्वन्धित कानुनमा तोकिएको न्यूनतम ज्याला निर्धारण र पुनरावलोकनमा समेत रोजगारदाता परिषदको संलग्नता रहँदै आएको छ । स्थापना काल देखि नै परिसंघमा आवद्ध भई सक्रीय रहनु भएका उद्योगी अग्रवालले परिसंघका विभिन्न क्षेत्रगत समिति तथा उपसमितिमा रहेर काम गरिसकेका अनुभवी व्यक्ति रहेको परिसंघले जनाएको छ ।
रक्सी प्रतिबन्धले १० लाखको रोजगारी संकटमा, शनिबारबाट प्रतिबन्ध लागू
नयाँदिल्ली । भारतमा सर्वोच्च अदालतको आदेशअनुसार अप्रिल १ देखि राष्ट्रिय राजमार्ग र प्रदेश राजमार्गहरुबाट पाँच सय मिटर वरपर रक्सी विक्रीमा रोक लगाइएको छ । अघिलो वर्षको डिसेम्बर १५ मा अदालतले दिएको आदेश शनिबारदेखि लागू गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । केही भारतीय पहाडी प्रदेशहरुमा भने अदालत लचिलो हुँदै प्रस्तुत भएको छ । २० हजार जनसंख्या र सिक्किम, मेघालय र हिमान्चल प्रदेशका राजमार्ग वरपरि २ सय २० मिटर दुरीमा रक्सी बेच्च नपाइने निर्देशन उसले दिएको छ । यो आदेशले होटल र रेस्टुरेन्टहरुमाा विक्री हुने रक्सीमा समेत पैतिवन्ध लगाइएको छ । अदालतको आदेशले मुलुकभरकाराष्ट्रिय र राजमार्ग र प्रदेश राजमार्गमा विदेशी, स्वदेशी रक्सी र वियरका पसल बन्द भएका छन् । सर्वोच्च अदालतको आदेश लागू भएपछि मुलुकभर करिब १० लाखको नोकरी संकटमा परेको दी इनकोमिक्स टाइम्सले जनाएको छ । एजेन्सीबाट ।
सूर्या लाइफले ५ प्रतिशत वोनस सेयर दिँदै, साधारण सभा बैशाख १४ गते
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँच प्रतिशतको दरले वोनस सेयर वितरण गर्ने भएको छ । यो जीवन बीमा कम्पनीले हालको चुक्ता पूँजी ६२ करोड ५० लाखको ५ प्रतिशतका दरले ३ करोड १२ लाख ५० हजार रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । यो जीवन बीमा कम्पनीले वोनस सेयरको स्वीकृतिसहितका विविध एजेन्डा स्वीकृतिका लागि आगामी वैशा १४ गतेका लागि आठौ वार्षिक साधारण सभाको मिति तय गरेको छ । यसले उद्योग संगठन मोरङको सभाकक्ष, विराटनगरमा साधारण सभा गर्ने निर्णय गरेको छ । यसले आगामी चैत्र २८ देखि बैशाख १४ गतेसम्मका लागि बुक क्लोज गरेको छ ।