विकासन्युज

माछापुच्छ्रे बैंकको धनगढी शाखा स्थानान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो धनगढी शाखालाईधनगढी मेनरोडमा स्थानान्तरण गरेको छ । बैंकले बुधबारकादिन देखि संचालनमा आउने गरी उक्त शाखालाई स्थानान्तरण गरेको हो । उक्तशाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले गरेका छन् । नयाँ सुविधा सम्पन्न भवन बाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । हाल बैंकको ६ अर्व ५९ करोड रुपैयाँ चुक्ता पुंजी रहेको छ । बैकले गत पुस मसान्तसम्म ५८ अर्व २४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५१ अर्व ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सो अबधिमा ८४ करोड ९१ लाख रुपैयाँ संचालन मुनाफा कमाएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिटिजन्स बैंक र डलरको एक्स्चेञ्जबीच रेमिटेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डलरको एक्स्चेञ्ज कम्पनी लि.बीच विप्रेषण रकम भुक्तानी (रेमिटेन्स) सम्झौता भएको छ । यस सम्झौता बमोजिम अब कुवेतबाट डलरको एक्स्चेञ्ज मार्फत नेपालमा पठाएको विपे्रषण रकम सहज रुपमा सिटिजन्स बैंकको सम्पूर्ण शाखाहरु बाट सरल र सहज रुपमा भुक्तानी पाउन सकिने छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले तथा डलरको एक्स्चेञ्जका महाप्रबन्धक खालिद सरिफले हस्ताक्षर गरेका छन् । बैंकले यस अघि यू.के को क्यासको फाईनान्सीयल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड, यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरियो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्ज संग सम्झौता गरि ती विप्रे्रषण कम्पनीहरु बाट बैंकिङ्ग प्रणालि मार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरु बाट गर्दै आइरहेको छ । त्यस्तै, यसको अतिरिक्त स्वदेशको विभिन्न विपे्रषण कम्पनी संग सहकार्य गरि बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस ,आईपे रिलायबल ,बुम रेमिट , ओभरसिज रेमिट र सिजि मनि बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ । साथै बंैकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनी संग सम्झौता गरि विप्रे्रषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको छ ।

महालक्ष्मीले ल्यायो उद्यमशील कर्जा योजना, १ लाख देखि ९ लाखसम्मको कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा सर्वसाधारणहरु माझ ‘महालक्ष्मी उद्यमशील कर्जा’ योजना ल्याएको छ । बैंकले सर्वसाधारणहरु लाई स्वदेश मै उद्योग व्यवसाय संचालन गर्न प्रेरित गर्ने उद्देश्यले ‘उद्यम गरौं उद्यमी बनौं, विदेश होइन स्वदेश रोजौँ’ भन्ने नाराका साथ न्यून व्याजदरमा यस योजना ल्याएको हो । उक्त कर्जा योजना अन्तर्गत बैंकले देश भित्रै उद्योग, व्यवसाय एवम् कृषि पेशा संचालन गर्न चाहने युवालाई वार्षिक १३ प्रतिशतको व्याजदरमा १ लाख रुपैयाँदेखि ९ लाख रुपैयाँसम्मको कर्जा उपलव्ध गराउने छ । यस योजनाले केहि हदसम्म भएपनि युवाहरुलाई स्वदेश मै उद्योग व्यवसाय गर्न प्रेरित गर्नेछ भन्ने बैंकले अपेक्षा गरेको छ । यस योजना आगामी वैशाख ३ गतेदेखि लागू हुने बैंकले जनाएको छ ।

सिभिल बैंकको हकप्रद सेयरमा वृद्धि, ३० प्रतिशत निष्काशन गर्ने प्रस्ताव

काठमाडौं । सिभिल बैंकको हकप्रद सेयरमा वृद्धि भएको छ । बैंकले पूँजी योजना अनुसार ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त हकप्रद वृद्धि सम्बन्धि निर्णय बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । यस अघि बैंकले सेयरधनीहरुलाई २० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई पुनरावलोकन गरि बैंकले युनिक फाइनान्स लि. र हामा मर्चेन्ट एण्ड फाइनान्स लि.लाई प्राप्ति गर्ने भएको छ । उक्त दुई कम्पनी प्राप्ति पश्चात बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गर्ने भएको छ । साथै, बैंकले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीमा सो मात्राको(अर्थात ३० प्रतिशत) हकप्रद सेयर जारी गर्न लागेको हो ।

फास्ट ट्रयाकपछि निजगढ विमानस्थल पनि सेनालाई, ६ लाख ८४ हजार रुख काटेर पहुँच मार्ग बनाउने

काठमाडौं । सरकारले निजगढ विमानस्थलको प्रारम्भिक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको छ । सरकारले केहि समय अघि मात्रै काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । केहि समय अघि बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माणको प्रारम्भिक कार्य नेपाली सेनालाई दिने निर्णय गरेको हो । ‘निजगढ विमानस्थलको प्रारम्भिक कार्य नेपाली सेना मार्फत सम्पन्न गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेको छ, सेनाले पनि सरकारले दिएको जिम्मेवारी पुरा गर्ने भनेको छ’, पर्यटन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले भने । सरकारले विमानस्थलको ८० वर्ग किलोमिटरको बाहिरी सडक निर्माण र ६ लाख ८४ हजार रुख काट्ने जिम्मा नेपाली सेनालाई दिएको हो । हाल सो विमानस्थलको वातावरिणय प्रभाव मुल्यांकन(इआइए)को ६० प्रतिशत काम सम्पन्न भैसकेको छ । इआइएको काम सकिएपछि वन मन्त्रालयसँग रुख काट्ने अनुमति मागिनेछ । रुख कटान र पहुँच मार्ग निर्माणका लागि पर्यटन मन्त्रालयले ४ अर्ब बजेट मागेको छ । सरकारले चालु आवको बजेटमा मुआब्जा र डिपिआर निर्माणका लागि एक अर्ब ५० करोड बजेट विनियोजन गरेको थियो । ‘पहुँच मार्ग निर्माण र वन रुख काट्नका लागि पर्यटन मन्त्रालयले चार अर्ब बजेट मागेको छ, अर्थ मन्त्रालय पनि सकारात्मक छ’, अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख मधु कुमार मरासिनीले भने । हाल विमानस्थल निर्माण क्षेत्रको ११० विगाह जमिनको मुआब्जा वितरण प्रक्रिया सुरु हुन लागेको छ । मुआब्जा दर पनि कायम गरिसकिएको आयोजना प्रमुख हरि अधिकारीले जानकारी दिए । त्यस्तै, १६०० सुकुम्बासी परिवारको घरबासका लागि पनि सरकारले उपयुक्त व्यवस्थानको तयारी गरिरहेको छ ।

विश्वज्योती मलमा १० दिने मोबाइल महोत्सव शुरु, पुरानो मोबाइल साट्न पाइने

काठमाडौं । नयाँ वर्षको उपलक्ष्य पारेर जमलमा रहेको विश्वज्योती मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ । एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ विश्वज्योती मोबाइल मार्ट सञ्चालनमा आएको हो । सोही अवसरमा मार्टले १० दिने मोबाइल महोत्सव पनि सुरु गरेको छ । बुधबार एक कार्यक्रमका बिच मोबाइल मार्ट तथा महोत्सवको औपचारिक सुरुवात गरिएको हो । आधा दर्जन बढी ब्राण्डका मोबाइल कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरुले मोबाइल मार्टको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । मार्ट स्थापना तथा नयाँ वर्षको अवसरमा सुरु गरिएको मोबाइल महोत्सवमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने छ । साथै महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भिसिंग गर्ने व्यवस्था मिलाएको मार्टले नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । मोबाइल मार्टका अध्यक्ष प्रकाश महर्जनले एउटै छानाबाट धेरै ब्राण्डका मोबाइल बिक्री बितरण गर्दै ती ब्राण्डका मोबाइलको सर्भिसिंग पनि सोही स्थानबाट दिन लागिएको बताए । ‘मोबाइल खरिद गर्न चाहनेलाई धेरै भन्दा धेरै विकल्प एकै साथनमा दिने हाम्रो लक्ष्य हो । महोत्सव अवधिमा हामीले पुरानो मोबाइल साट्ने, निशुल्क मोबाइल मर्मतको अफरका साथै भारी छुटको व्यवस्था गरेका छौं ।’ महोत्सव अवधिमा १० हजार रुपैंया भन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नजाने उपहारको पनि व्यवस्था गरिएको छ । साथै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको पनि व्यवस्था मोबाइल मार्टले गरेको छ । बुधबारदेखि सुरु भएको मोबाइल महोत्सव १० दिनसम्म चल्नेछ । बुधबारदेखि सञ्चालनमा आएको मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इन फोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुंग, ओभिआई लगायत एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् । विश्वज्योती मलको तेस्रो तल्लामा रहेको मोबाइल मार्टमा सेवाग्राहीले महोत्सव पछि पनि मोबाइल मर्मतको सुविधा पाउने छन् । यसबाट मोबाइल किन्न तथा मर्मत गर्न विभिन्न स्थानमा भौंतारिनु पर्ने अहिलेको बाध्यताबाट सेवाग्राहीले राहत पाउने विश्वास मोबाइल मार्टले लिएको छ ।

हल्ला र अनुमानको भरमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा चलेको/चलाइएको हल्ला र आधारहीन अनुमानको भरमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले धितोपत्र बजारमा लगानी गर्दा देशका विद्यमान आर्थिक परिदृष्य, सूचिकृत संगठित संस्थाहरुको आधारभूत विश्लेषण गरि लगानी गर्न आग्रह गरेको हो । साथै, लगानीकर्ता स्वयंको जोखिम बहन गर्न सक्ने क्षमता आदिलाई दृष्टिगत गरी सत्य तथ्य बुझी धितोपत्रमा लगानी गर्न बोर्डको अनुरोध छ । हाल विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा गरिएको धितोपत्र बजारको विभिन्न हल्लाका पछि लाग्दा कतिपय लगानीकर्ताहरु मारमा पर्ने भएकाले बार्डले यस विषयमा ध्यानाकर्षण गराएको हो । धितोपत्रको मूल्य सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, संवेदनशील सूचनाहरु र भावी योजनाहरुका साथै देशको समग्र आर्थिक अवस्था तथा लगानीकर्ताहरुको बजार प्रतिको विश्वास आदिले समेत प्रभाव पार्ने बोर्डले जनाएको छ । साथै, बोर्डले विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा गरिएको अडकल तथा अनुमान अनुरुप शेयरको मूल्य तथा नेप्से परिसूचकको अवस्था नरहने कुराको पनि जानकारी गराएको छ ।

सेयर बजारमा २ अर्ब रुपैयाँको सेयर कारोबार, सबैभन्दा बढी सुर्या लाइफको

काठमाडौं । बुधबार सेयर बजारमा २ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४५ कम्पनीको ३८ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा वृद्धि भएको छ । मंगलबारको तुलनामा कारोबार रकममा करिब १० करोड रुपैयाँ बढी हो । बजारमा सबैभन्दा बढी सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकै दिन १० करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सो दिन कम्पनीको सेयर मूल्य पतिकत्ता १२८४ रुपैयाँ रहेको छ । सो दिन कारोबार रकममा सुधार आएता पनि नेप्से परिसूचकमा भने गिरावट आएको छ । बुधबार परिसूचक ६ दशमलब ७५ अंकले घटेर १७०३ दशमलब ०७ अंकमा झरेको छ । कारोबार भएका होटल, विकास बैंक, फाइनान्स, उत्पादन मूलक , फाइनान्स र अन्य समूहको परिसूचक उकालो लागेका छन् । त्यस्तै, बीमा, हाइड्रोपावर र बैंकिङ समस्हका परिसुचक राताम्मे भएका छन् ।