विकासन्युज

निजगढ विमानस्थलको मुआब्जाका लागि ५० करोड तयार, एक कठ्ठा जमिनको ४ लाख ६० हजारसम्म

काठमाडौं । निर्माणाधिन निजगढ विमानस्थलको मुआब्जा दर निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको मुआब्जा निर्धारण समितिले प्रति कठ्ठा २ लाख ४१ हजारदेखि ४ लाख ६० हजारसम्म हुने गरि मुआब्जा निर्धारण गरेको हो । मुआब्जा निर्धारण गरेपछि आयोजनाले निवेदन दिनका लागि ३५ दिने सूचना समेत प्रकाशित गरिसकेको छ । मुल सडकले छोएको जमिनको प्रति कठ्ठा मूल्य ४ लाख ६० हजार तोकिएको छ भने सडक नपुगेको जमिनको मूल्य २ लाख ४१ हजार ५ सय रुपैंयाँ तोकिएको छ । सहायक सडकले छोएको जमिनको मुल्य भने प्रति कठ्ठा ३ लाख ३९ हजार २ सय ५० रुपैंयाँ तोकिएको छ । निजगढ विमानस्थल आयोजनाका प्रमुख हरि अधिकारीका अनुसार ११० बिगाह जमिनको मुआब्जाका लागि ५० करोड रुपैंयाँ लाग्नेछ । जमिन बाहेक नागरिकका घर तथा अन्य भौतिक संरचनाको पनि मुआब्जा वितरण गरिनेछ । त्यसको दर रेट पनि तय भैसकेको छ । बाँसको टाटीदेखि पक्की घर तथा परालको बार लगाइएका घरहरुको प्रति वर्ग फिटका दरले मुआब्जा दर निर्धारण गरिएको छ । नरिवल, तेजपात, पिपल, फुलका बिरुवाको समेत मुआब्जा दर निर्धारण गरिएको छ । जिल्ला प्रशासनले प्रति वर्ग फिट तीन सय रुपैंयाँदेखि एक लाख रुपैंयाँसम्म मुआब्जा दिने प्रस्ताव गरेको हो । आयोजना प्रभावित क्षेत्रमा रहेका नागरिकले अबको २० दिनभित्र आयोजनाको कार्यालय सिमरा विमानस्थलमा पुगेर आफ्नो कागजात बुझाउनु पर्ने प्रमुख अधिकारीले बताए । मन्त्रि परिषदले ६ लाख ८४ हजारको संख्यामा रहेका रुख काट्ने र ८० वर्ग किलोमिटर क्षेत्रको वरिपरि सडक बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरिसकेको छ । वातावरिणय प्रभाव मुल्यांकन(इआइए)को ६० प्रतिशत भन्दा बढि काम सम्पन्न भैसकेको अधिकारीले जानकारी दिए ।

नेप्सेले दियो नयाँ वर्षको शुभकामना, प्रथम त्रैमासमा अनलाईन कारोबार शुरु गर्ने

काठमाडौं । नेप्सेले नयाँ वर्ष २०७४ को अवसरमा सम्पूर्ण लगानीकर्ता, नियामक निकाय, धितोपत्र व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुमा शुभकामना दिएको छ । नयाँ वर्षको शुभकामना दिँदै नेप्सेले आगामी आर्थिक वर्षको प्रथम त्रैमासमा अनलाईन कारोबार प्रणाली सञ्चालन गर्ने बताएको छ । साथै, नेप्सले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली स्थापना तथा सञ्चालन गर्ने गरी काम अगाडि बढाइ सकेको बताएको छ । नेप्सेले लगानीकर्ताहरुको दोस्रो बजारमा पहुँचलाई सहज बनाउन उक्त प्रणाली शुरु गर्न लागेको हो ।

सेञ्चुरी बैंकको १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । उक्त प्रस्ताव बिहीबार सम्पन्न कम्पनीको छैठौ वार्षिक साधारण सभाले पारित गरेको हो । साथै, साभाले सेयरधनीलाई ४० प्रतिशत हकप्रद निष्कासन गर्ने कम्पनीको बैंक सञ्चालक समितिको प्रस्ताव पनि पारित गरेको छ । उक्त सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्वीकृति समेत प्रदान गरेको छ । यी संस्था प्राप्ती पछि मात्र बैंकले सो मात्राको हकप्रद निष्कासन गर्ने भएको छ । यसैगरी सेञ्चुरी बैंकले आफ्नो ४ अर्ब ७ करोड पूँजी र चार संस्था प्राप्तीबाट करिब २ अर्ब रुपैयाँ पूँजी थप हुनेछ । त्यस्तै, नपुग पूँजीको लागि ४० प्रतिशत हकप्रद शेयर र चालु आ.व.को मुनाफाबाट ८ अर्ब रुपैयाँ पूँजी पुग्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यालयहरु करिब ९० वटा हुने छन् ।

सिभिल बैंकले बचत खातामा ५ प्रतिशत देखि ७ प्रतिशत ब्याज दिने

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा नव वर्ष २०७४ को अवसरमा बचत खातामा ५ देखि ७ प्रतिशत सम्मको वार्षिक व्याजदर दिने भएको छ । यस नयाँ व्याजदरले न्यून व्याजदरका कारणले बैंकमा निक्षेप नराख्ने ग्राहकहरु पनि आकर्षित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । बैंकले यस अघि पनि २०७३ फाल्गुन १ गते १ प्रतिशतले बचत खातामा व्याजदर बृद्धी गरेको थियो । यस नयाँ व्याजदरले न्यून व्याजदरका कारणले बैंकमा निक्षेप नराख्ने ग्राहकहरु पनि आकर्षित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । आगामी दिनमा सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ नयाँ योजना अघि सार्ने पनि बताएको छ ।

यस्तो छ वैशाख एक गते मात्र फुल्ने अनौठो फूल, जसलाई हेर्न भारतबाट लाखौँ आउने

सिरहा। सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटौँ सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रियस्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख केको हो । कसरी यतिका दिनसम्म बाँचिरहेका छन् । यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ । प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका विशाल रूखमा एक्कासि फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः मौलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ । सलहेश को थिए? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ । यो जान्नलाई पौराणिककालमा फर्किनुपर्ने आवश्यकता रहेको छ । लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो । आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् । सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोहि दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहिआएको छ । राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन् । वैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन् । जुन फूल हेर्न देश–विदेशबाट लाखौँको सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे । मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेमविछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहिआएकाले यस फूलबारीभित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ । भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रूखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वासअनुरुप प्रत्येक वर्ष सो फूलबारीमा विवाह गर्नेको सङ्ख्या बढदै गएको छ । रासस

एप्पल वल्र्डमा मोबाइल किन्दा उपहार नै उपहार, खरिदमा ६० प्रतिशत सम्म छुट

काठमाडौं । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको लेटेस्ट तथा ब्राण्डेड मोबाइल एप्पल वल्र्ड (मोबाइल वल्र्ड) प्रालिले नयाँ बर्षको अबसर पारी मोबाइल खरिदकर्ताले उपहार नै उपहार पाउने योजना ल्याएको छ । एप्प्ल वल्र्डमा सामसुङ मोबाइलमा मोडल हेरी ६० प्रतिशत सम्म छुट, युएमआइ र एलजी मोबाइलको खरिद गर्दा अर्को सित्तैमा पाउने, हरेक मोबाइल खरिदमा हात खाली नजाने उपहार, मोबाइल एक्सचेन्ज अफर लगायतका कम्प्लिट मोबाइलको सोलुसन लिएर आएको एप्पल वल्र्ड न्यु मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । एप्पल वल्र्डलाई कम्प्लीट मोबाइल सोलुसन गर्ने हबको रुपमा अगाडी बढाइरहेको बताउँदै निर्देशक ग्लाइडरले ६० प्रतिशत सम्म छुट पाइने यो योजनाबाट भरपुर फाइदा लिन ग्राहकहरुलाई अनुरोध गरेका छन् । दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डले नयाँ प्रबिधी मार्फत फुटेको डिस्प्ले बनाउने र ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिदिने ब्यबस्था गरेको छ ।  नयाँ बर्षमा उपहार आदान प्रदान गर्न र एसइइ परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई यो उपहार योजनाले फाइदा पुग्ने निर्देशक संगम राइको बिश्वास छ । एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वान प्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्श लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एशोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ । नयाँ बर्षको पहिलो दिन देखि १५ दिन सम्म मोबाइल खरीद गर्ने मध्येबाट लक्की ड्र मार्फत २ जनालाई आइफोन सेभेन र सेभेन प्लस बितरण गरिने निर्देशक संगम राइले जानकारी दिए ।

सामान्य अंकले घटेको बजारमा साढे एक अर्बको कारोबार, सबैभन्दा बढी एनसीसी बैंकको

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ५ दशमलब ९४ अंकले घटेर १६९७ दशमलब १३ अंकमा झरेको छ । बिहीबार नेप्से परिसूचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन एक अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ५२ करोड रुपैयाँ घटी हो । बिहीबार कुल १४३ कम्पनीको २१ लाख ३३ करोड कित्ता सेयर किनबेच भएको छ । घटेको बजारमा पनि एनसीसीको बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बिहीबार बैंकको १७ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ४५४ रुपैयाँ रहेको छ । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार बीमा र विकास बैंक समूह बाहेका कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी हाइड्रो समूहको परिसूचक २२ अंकले ओरालो लागेको छ । बीमा र विकास बैंक समूहको परिसूचक भने क्रमशः ६४ र ०.६९ अंकले उकालो लागेका हुन् ।

कृषि विकास बैंकको २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । कृषि विकास बैंककोे आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ । जस अनुसार बैंकले २०७३ साल असार मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार शेयरलाई वार्षिक ६ प्रतिशतले हुने ३८ करोड ६२ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ । त्यस्तै, बैंकले हकप्रद साधारण शेयर बिक्री पश्चात कायम भएको साधारण शेयर चुक्ता पुँजी ५ अर्ब ९० करोड रुपैयाँमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ६ करोड २१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । हाल बैंकको साधारण शेयर र अग्राधिकार शेयर गरी चुक्ता पुँजी ११ अर्ब ३३ करोड रुपैयाँ कायम रहेको छ । २० प्रतिशत बोनस पश्चात बैकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ हुने छ भने साधारण चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । २०७३ साल फागुन मसान्तसम्ममा बैंकको निक्षेप ८८ अर्ब २९ करोड रुपैयाँ र कर्जा २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्म बैंकले १ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले जनाएको छ ।