काभ्रेपलाञ्चोकमा पुनः जाँच तथा सर्वे शुरु, असोज ३ गतेसम्म हुने
बनेपा। काभ्रेपलाञ्चोकमा निजी आवासअन्तर्गत पुनःनिर्माणको गुनासो सम्बोधनका लागि पुनः जाँच तथा सर्वे शुरु भएको छ । भूकम्पपछि घरबारविहीन भएकालाई राहतस्वरुप सरकारले उपलब्ध गराउने अनुदान नपाएको भन्दै गुनासो बढेपछि सरकारले पुनः जाँच र सर्वे शुरु भएको हो । गत साउन ३१ देखि असोज ३ गतेसम्मका लागि ४१ जना सामाजिक परिचालक र ४१ जना इञ्जिनियर जिल्लाभर परिचालन भएको पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैँडाले जानकारी दिए । दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर महाभारत गाउँपालिका, रोशी गाउँपालिकालगायत सबै नगरपालिका र गाउँपालिकामा सर्वे शुरु भएको उल्लेख गर्दै उनले पूर्ण विवरण प्राप्त नभएकाले पुनः जाँच तथा सर्वे भएको बताए । वास्तविक भूकम्पपीडित हुन् वा होइनन् भनेर नै जाँच तथा सर्वे शुरु भएको हो उनले भने । परिचालित इञ्जिनियरले भूकम्पका कारण भत्केको भग्नावशेषको फोटो खिच्ने छन् भने सामाजिक परिचालकले भूकम्पपीडितको विवरण संकलन गर्ने छन् । निजी आवासअन्तर्गत भूकम्पपीडितले जिल्लामा प्रथम किस्ता ५० हजार रुपैयाँ, दोस्रो किस्ता एक लाख ५० हजार रुपैयाँ र तेस्रो किस्ता रु एक लाख पाउँछन् । अहिलेसम्म काभ्रेपलाञ्चोकमा प्रथम किस्ताबापतको ५० हजार रुपैयाँ ६३ हजार ८७० जनाले, दोस्रो किस्ताबापतको एक लाख ५० हजार रुपैयाँ ६ हजार ४२३ जनाले र तेस्रो किस्ताबापतको एक लाख रुपैयाँ १३१ जनाले पाएको पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयले जनाएको छ । जिल्लामा लाभग्राहीको संख्या ७२ हजार ४१७ रहेको छ । रासस
गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोप निर्यात, ८० प्रकारका औषधि उत्पादन
गोरखा । सदरमुकामको हरमटारीमा सञ्चालित गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोपका बिभिन्न देशमा निर्यात हुने गरेका छन् । कम्पनीले आयुर्वेदिक औषधि र चियालगायत सामग्री उत्पादनलाई विशेष प्राथमिकता दिँदै आएको छ । जंगलमा खेर गएका विभिन्न जडीबुटी (कच्चापदार्थ) प्रयोग गरी विभिन्न रोग विरुद्धका ८० प्रकारका औषधि उत्पादन हुँदै आएको कम्पनीका गोरखास्थित इञ्चार्ज अर्जुन अर्यालले जानकारी दिए। अधिकांश औषधि, चिया युरोपका विभिन्न देशमा निर्यात हुन्छ । तुलसी चिया, गुडुची चिया, हर्बल चियालगायत चिया युरोपमा निर्यात हुने गरेको अर्यालले बताए । यहाँका वनजंगलमा पाइने जडीबुटीले उद्योग सञ्चालन भइरहेको छ । धादिङ, तनहुँ, लम्जुङ, चितवनलगायत जिल्लाबाट समेत कच्चापदार्थ ल्याइने गरिन्छ । जटामसी, कुड्की, चिराइतो, हर्रो, बर्रो, अमला, गुर्जो, घोरताप्रे, तेजपात, रुद्राक्ष, सिमली, असुरो, सर्पगन्धालगायत कच्चापदार्थ कम्पनीले खरिद गरी विभिन्न औषधि बनाउने गर्छ । सामुदायिक वन समूहको समन्वयमा जडीबुटी कम्पनीसम्म आइपुग्छ । निमपत्ता, टाँकीका पात र बोक्रा पनि औषधि बनाउन प्रयोग गरिन्छ । मरिच, सुकमेललगायत कच्चापदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था छ । जिल्लामै पाइने कच्चापदार्थले प्रायः उद्योगको माग धान्ने गरेको अर्यालले बताउनुभयो । पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त कम्पनीमा २७ जनाले रोजगारी पाएका छन् । कम्पनीका कविराज जीवन रेग्मी ग्यास्टिक रोगविरुद्ध खाने चूर्ण अइरपत्तिकर, पायल्स रोगविरुद्धको पिलारिन, उच्चरक्तचाप घटाउने केन्सारिनलगायत औषधिको बजारमा माग बढेपछि कम्पनीले उत्पादन बढाएको बताउछन् । रासस
सिप्रदीयन सहायता संस्थाद्धारा तीन जिल्लाका बाढीपीडितलाई खाद्य सामाग्री वितरण
काठमाडौं । सिप्रदीयन सहायता संस्थाले रौतहट, सप्तरी र बर्दियाका बाढीपीडितहरुलाई राहत सामाग्री अन्तर्गत खाद्यान्न बितरण गरेको छ । उक्त संस्थाले रौतहट, सप्तरी, बर्दिया जिल्लाका १ सय ७५ बाढीपीडित घरधुरीलाई दैनिक उपभोग्य सामाग्री बितरण गरेको हो । संस्थाका अनुसार स्थानीय समाजसेवी डिके झा, स्थानीयप्रहरी र जिल्ला प्रशासन कार्यालय रौतहट समेतको रोहवरमा प्रति परिवार २५ केजी चामल, ३ केजीदाल, तीन केजी चिउरा, १२ लिटर पानी, १ केजी नुुन, आधा लिटर खाने तेल, ५ प्याकेट चाउचाउ र १ प्याकेट मसलाबितरण गरिएको संस्थाले जानकारी दिएको छ । यसरी १ सय ७५ घर परिवारमा बितरण गरिएको कुुलखाद्य सामाग्रीमा एक सय ७५ बोरा चामल, एक सय ७५ प्याकेट दाल, १ सय ७५ प्याकेट चिउरा, एक सय ७५ कार्टुुन पानी, १९ कार्टुुन चाउचाउ, एक सय ७५ प्याकेट नुन, आधा लिटरको १ सय ७५ प्याकेट खाने तेल र १ सय ७५ प्याकेट मसाला रहेको कम्पनीले दिएको जानकारी दिए । संस्थाका अनुसार रौतहटमा मात्र ३ लाख ९४ हजार आठ सय ३७ रुपैयाँ बराबरको खाद्य सामाग्री बितरण गरिएको उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । संस्थाको ईटहरी शाखाको तर्फबाट पनिसप्तरी र केराबारी क्षेत्रकातीन सय १७ घरधुरीलाई पनि सातलाख ५५ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री बितरण गरेको कम्पनीले जानकारी दिएको छ । संस्थाका अनुसार ईटहरी वडा नम्वर तीनका ७५ घरधुरीलाई भाँडाकुुंडा, ईटहरीकै वडा नम्वर १७ र १९ का २७ परिवालाई भाडाँकुुडा र केराबारीका ५० परिवारलाई भाँडाकुँडा बितरण गरिएको हो भने सप्तरीको एक सय ६५ परिवारलाई खाद्य सामाग्री बितरण गरिएको छ । संस्थाले नेपालगञ्जशाखाको तर्फबाट पनिबर्दियाका एक सय ३८ परिवारलाई ३ लाख २२ हजार चार सय ८५ रुपैयाँ बराबरको खाद्य सामाग्रीबितरण गरिएको छ । सस्ंथाका अनुसार प्रति परिवार २० केजी चामल ,३ केजी दाल, दुई केजीचिउरा, २ केजीचिनी, १ प्याकेट नुन, २ लिटर खाने तेल र पानी समेत बितरण गरिएको संस्थाले जनाएको छ ।
१८ वटा सिँचाइ आयोजनामा क्षति
सप्तरी । हालै आएको बाढीपहिरोको कारण जिल्लामा सञ्चालित विभिन्न १८ वटा सिँचाइ आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीद्वारा सञ्चालित नयाँ र पुरानो सिँचाइ आयोजना क्षतिगस्त हुँदा करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । सिँचाइ आयोजनाका सम्पूर्ण काम समेत प्रभावित भएका छन् । कार्यालय प्रमुख अशोक साहका अनुसार जिल्लाको खाँडो, मोहुली, जिता, खडक, बिहुल र त्रियुगा, सप्तकोशी नदीको बाढीसँगै बालुवा ढुङ्गा तथा माटोले सिँचाइ आयोजना पुरिँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । बाढीका कारण सडक सिँचाइ आयोजना कल्याणपुरमा हेडवर्कस र गाइड बैक टुटेको, पाचौँ सिँचाइ आयोजना अर्नाहामा बालुवा पुरिएर क्षतिग्रस्त भएको, शहिद गोविन्ददह सीतापुर आयोजनाको बेक फुटेको र रिटेलिङ वाल भत्केको, बलान सिँचाइ आयोजना मलहनिया बालुवाले पुरिएको तथा बैंकसमेत बगाएको, बिहुल सिँचाइ आयोजनाको हेडर्वक टुटेको र पश्चिम तर्फबाट बैंक भत्काई खोला त्यसमा सिफ्ट भएको छ । त्यस्तै, क्षतिग्रत भएका आयोजनामा सुरुङ्गा सिँचाइ आयोजना पोखरियामा बालुवाले पुरेको, मोहुली सिँचाइ आयोजना जन्डोलमा खोला सिफट भएको, बिघना सिँचाइ आयोजना कुशाहाको हेडवर्कस ओभर टन भएको, आअमसोत सिँचाई आयोजना प्रशवनीको हेडवर्कस ओभरटर्न भएको र खडक सिँचाइ आयोजना मैनासहस्रबाहुको बैंक कटिङ भएको छ । त्यस्तै, बलान सिँचाइ आयोजना हर्दिया, देवधार सिँचाइ आयोजना जमुवा, पोर्डासिँचाइ आयोजना, सुन्दरी सिँचाइ आयोजना धर्मपुरको कुलो पुरिएको र ठाउँ ठाउँमा भत्केको, सिरेला बाँध सिँचाइ आयोजना बनोली बाँध बगाएको, भोक्रदह सिँचाइ आयोजना शम्भुनाथ–३ डगराहीको स्यिपल वे भत्केको र कुलो पुरिएर फुटाएको, अमहा सिँचाइ आयोजना मल्हनमा बाँध पूर्णरुपमा क्षतिग्रस्त भई नहर बिग्रेको तथा डुम्बर जोर सिँचाइ आयोजना हरिहरपुरको हेडवर्क र बैक क्षतिग्रस्त भएको बताइएको छ । कार्यालयका अनुसार क्षतिग्रत आयोजना तत्काल सञ्चालन गर्न १० करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान छ । पूर्णरुपमा आयोजनालाई विगतको स्थितिमा लाउन ४० करोड रुपैयाँ भन्दा बढी खर्च लाग्ने बताइएको छ । उक्त १८ वटा आयोजना सञ्चालनबाट सप्तरीको नौ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ हुँदै आएको थियो । रासस
चलचित्र ‘स्काउट’ भाद्र ८ गते देखि सिनेमा घरमा प्रदर्शन हुदै
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिजको अवसर पारेर चलचित्र निर्माता मदुकुमार श्रेष्ठको चलचित्र स्काउट भाद्र ८ गतेदेखि रिलीजमा आउने भएको हो । चलचित्रमा नायक नबराज श्रेष्ठ, नायिका गरिमा पन्त, कुशल थापा, मदुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भद्रगोलको अभियान गरेसंगै चर्चा कमाएकी रक्षाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । मदुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली,कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको यो चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् । ‘स्काउट’को कथावस्तुलाई उठान गरेको चलचित्रको बिभीन्न देशहरुमा बिसेष सो समेत भैसकेको छ भने यस चलचित्रलाई दर्शक हरुले अत्याधिक मन पराएको र नायक नबराज श्रेष्ठ र नायिका गरिमा पन्तको जोडीलाई दर्शकहरुले बिशेष मन पारएको र उनीहरुको अभिनयले दर्शकहरुको मनमा छाप छोड्न सफल भएको कुरा निर्माता मदुकुमार श्रेष्ठ बताउछन् । समसामाहिक कथा बस्तुमा आधारित यस चलचित्र एकदम राम्रो बनेको र नेपाली चलचित्र प्रेमीहरुको बीच छुट्टै पहिचान बनाउन सफल हुने कुरामा नायक नबराज श्रेष्ठ बिस्वस्त छन । साथमा चलचित्र हल सम्म गएर चलचित्र हेरी प्रतिक्रिया दिन समेत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु समक्ष उनले आग्रह गरेका छन ।
प्रधानमन्त्री देउवा दिल्लीमा, विदेशमन्त्री सुष्माले गरिन् स्वागत
नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणको क्रममा केही समयअघि नयाँ दिल्ली आइपुगेका छन् । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा आएका थिए । प्रधानमन्त्री देउवालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले हार्दिक स्वागत गरेकी थिइन् । प्रधानमन्त्रीको स्वागतमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित दूतावासका उच्च अधिकारीहरु उपस्थित थिए । अहिले प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा केही समयका लागि विश्राम गर्दै छन् । बुधबार अपरान्ह ३ बजे उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् भने साेही दिन साँझ ७ः३० बजे नेपाल र भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । रासस
अब डीआईडी ब्राण्डको चेन किट नेपाली बजारमा
काठमाडौं । डाइडो इन्डियाले उत्पादन गरेको डीआईडी ब्रान्डको बाइक चेन नेपाली बजारमा भित्र्याएको छ । सत्यदिप इन्टरनेसनलले डीआईडी ब्रान्डको चेन किट नेपालमा भित्र्याएको हो । एक कार्यक्रमका बीच डाइडो इन्डियाका म्यानेजिङ डाइरेक्टर कात्सुसी कियोसिगे र डेपुटी जनरल म्यानेजर अंकुश जैन तथा सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव हमालले संयुक्त रुपमा चेन किट सार्वजनिक गरे । जापानमा मूख्य कार्यालय रहेको डाइडो कोग्योले सन् २०१४ देखि भारतमा चेन किट उत्पादन थालेको हो । नेपालमा भारतमा निर्मित चेन किट उपलब्ध हुनेछ । विश्वका दुई पांग्रे सवारी साधनहरु मध्ये ६० प्रतिशत भन्दा बढीमा यही ब्रान्डको चेन किट प्रयोग गरिएको कम्पनीको दावी छ । विश्वमै नम्बर एक चेन किट उत्पादक कम्पनीका रुपमा परिचित डीआईडीका चेन हिरो, बजाज, टीभीएस, होन्डा, यामाहा आदि कम्पनीका रेसिङ बाइकहरुमा समेत प्रयोग गरिएको कम्पनीका डेपुटी जनरल म्यानेजर अंकुश जैनले बताए । भारतको राजस्थानमा अवस्थित डाइडो इन्डियाको कारखानामा प्रत्येक वर्ष ४० लाख चेन किट उत्पादन गर्ने क्षमता छ । कारखानामा विभिन्न प्रविधि प्रयोग गरी गुणस्तरीय चेन उत्पादन गरिन्छ । विश्वका विभिन्न ११ देशका १४ स्थानमा डीआईडी चेन उत्पादन हुन्छन् । अन्य कम्पनीको चेन भन्दा हलुका, टिकाउ र गुणस्तरीय हुनुका साथै विश्वसनिय समेत भएकाले नेपालमा यसको राम्रो बजार सम्भाव्यता भएको कार्यक्रममा जानकारी प्रदान गरिएको थियो ।
धनगढीमा ‘छ लेन’ सडक निर्माण सुरु, अनुमानित लागत २ अर्ब १५ करोड
धनगढी । धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको सडकलाई ‘छ लेन‘को बनाई स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ । मोहनापुल-अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हाल प्रारम्भिक चरणमा उक्त सडक दायाँबायाँ ड्रेन(नाली) खन्ने कार्य सुरु भइसकेकाले सो स्थानमा पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामको प्रक्रिया अघि बढाइएको बताए । हालको कालोपत्रे सडकको केन्द्र भागदेखि दयाँबायाँ २५ मिटर ९८२ दशमलव (फिट) चौडा बनाइने यो सडकको काम आगामी दुई वर्षमा सम्पन्न हुने बताइएको छ । सडक निर्माणका क्रममा सडक दायाँबायाँ रहेका घर पर्खाल भत्काउनुपर्ने भएको छ । जग्गा प्राप्ति ऐन२०३४अनुसार सडक क्षेत्रमापर्ने घर पर्खाललगायतका संरचना भत्काउँदा मुआब्जा दिन नपर्ने श्रेष्ठले जानकारी दिए । जम्मा १४ दशमलव १७ किलोमिटर लामो रहेको यो सडकको सहरी क्षेत्रमा पर्ने १० किलोमिटर भागमा ‘छ लेन‘को र बाँकी ग्रामीण क्षेत्रको भागमा ‘चार लेन‘को निर्माण गर्ने लक्ष्य राखिएको छ । सडकको बीच भागमा तीन मिटर चौँडा भएको ‘ग्रिन वेल्ट‘ र सडक दायाँबायाँ ‘फुटपाथ’ समेत निर्माण गरिने जनाइएको छ । सडक विभागको उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तर्गत निर्माण हुनलागेको यो सडकको लागत इष्टिमेट करिब दुई अर्ब १५ करोड रुपैयाँ रहेको बताइएको छ । स्तरोन्नतिपछि यो सडकले पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्गका साथै धनगढी र अत्तरिया आसपासका अन्य सडकलाई जोड्ने भई यस क्षेत्रको व्यापारिक क्रियाकलापमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । अत्तरियादेखि धनगढी मोहनासम्मको हालको सडक निकै साँघुरो एवं जीर्ण हुँदा आवागमनमा कठिनाई उत्पन्न हुने भई सडक दुर्घटनासमेत बढ्ने गरेका छन् । यस्तो अवस्थामा यो सडकको स्तरोन्नतिपछि आवागमन पनि सहज हुने देखिएको छ । रासस