विकासन्युज

डिशहोमले शुरु गर्यो दुई नयाँ च्यानल, आफ्नो रोजाई अनुसारको प्लस प्याकेज लिन पाइने

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण शुरु गरेको छ । बुधबार दरबार मार्ग स्थित होटल अन्नपूर्णमा आयोजित एक समारोहमा सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा डिशहोमले “रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलको प्रशारण शुरु गरेको हो । कम्पनीका अनुसार डिशहोमको च्यानल नं १०४ मा प्रशारण हुने रमाईलो टिभिमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलि श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण हुनेछन् । यसैगरी डिशहोमको च्यानल नं १०५ मा प्रशारण हुने नेपालकै पहिलो स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्समा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रशारण हुनेछ । यस च्यानलमार्फत देशको कुनै पनि कुनामा संचालन हुने खेल प्रतियोगिताहरु देशभर छरिएर रहेका खेलप्रेमीहरुले प्रत्यक्ष रुपमा हेर्न पाउने हुँदा यसबाट समग्र नेपाली खेलकुदकै विकासमा महत्वपूर्ण योगदान पुग्ने डिशहोमको विश्वास रहेको छ । डिशहोमका यी नयाँ च्यानलहरु हेर्नको लागि ग्राहकहरुले आफ्नो रोजाई अनुसारको प्लस प्याकेज लिनुपर्ने हुन्छ । बेसिक, मिडियम, डिलक्स र सुपर एच.डी. प्याकेज हेरिरहेका ग्राहकहरुले न्युन रकम थप गरेर बेसिक प्लस, मिडियम प्लस, डिलक्स प्लस वा सुपर एच.डी. प्लस प्याकेज लिन सक्नेछन् । प्लस प्याकेजमा रमाईलो टिभि र एक्सन स्पोर्ट्स च्यानलका अलावा ग्राहकहरुले नेपाली चलचित्रहरु प्रशारण हुने प्लस मुभि, सांगितिक च्यानलहरु, कार्टुन च्यानल तथा अन्य डिशहोमका च्यानलहरु पनि हेर्न पाउनेछन् । नयाँ च्यानलहरु संगै डिशहोमले नेपाली चलचित्रहरु रिलिज भएकै दिनमा घरमै बसेर हेर्न मिल्ने “डिशहोम सिनेमाघर” नाम गरेको सेवा पनि सुरु गरेको छ । यस सेवा अन्तर्गत डिशहोमले धुम-२ र लिला चलचित्र रिलिज भएकै दिन सफलतापुर्वक प्रशारण गरिसकेको छ । डिशहोमको यस सेवा मार्फत नेपाली चलचित्र क्षेत्रले एउटा नयाँ मञ्च पाएको र यसबाट आफुहरु निकै उत्साहित भएको विभिन्न नेपाली चलचित्रकर्मीहरुले बताएका छन् । ग्राहकहरुले चलचित्र प्रशारण हुने दिनमा एस.एम.एस पठाएर वा डिशहोम ग्राहक सेवामा फोन गरेर यो सेवा लिन सक्नेछन् । डिशहोमले आफ्नै नयाँ च्यानलहरु निरन्तर थप्दै जाने र कम्तीमा १५ देखि २० वटा सम्म आफ्नै च्यानलहरु बनाउने लक्ष्य राखेको छ । साथै, डिशहोमले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना पनि ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले ५ हजार ९९९ रुपैयाँ पर्ने डिशहोमको हाईब्रिड एच.डी. कनेक्सन खरिद गर्दा ३ हजार रुपैयाँ छुट प्राप्त गरी २ हजार ९९९ रुपैयाँमै जोड्न सक्ने कम्पनीले जनाएको छ ।

हिमालयन हाइड्रो एक्स्पो पुस २१ देखि हुने, जलविद्युतमा लगानी जुटाउने लक्ष्य

काठमाडौं । जलविद्युतमा लगानी जुटाउन काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुने भएको छ ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले संयुक्त रुपमा पुस २१ देखि २३ गतेसम्म आयोजना हुने भएको छ । राष्ट्रिय योजना आयोगले एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गर्नुका साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्स, नेपाल बैंकर्स एसोसिएसनस र युथ कम्युनिटी फर नेप्लीज कन्ट्रयाक्टरको सक्रिय सहयोग रहेको छ । एक्सपोमा नेपाल टनेलिङ एसोसियसन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संघको पनि सहयोग रहेको छ । यस एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसनले गदैछ । एक्सपोमा ३ सयभन्दा बढी स्टल राखिने भएको छ । जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । ती स्टलमध्ये १५० भन्दा बढी विदेशी स्टल रहनेछन् । सरकारले घोषणा गरेको ७ बर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथ दिने विश्वास गरिएको छ ।

महाकाली नदी नियन्त्रणका लागि ४० करोड खर्च गरिने, निर्माणको काम अन्तिम चरणमा

दार्चुला । महाकाली नदी किनारमा तटबन्ध अन्तर्गतको छवटा प्याकेज निर्माण अन्तिम चरणमा पुगेको छ । तटबन्ध निर्माण तीन महिना भित्र सम्पन्न हुने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिए । पहिलो चरणमा ठेक्का सम्झौता भएका प्याकेज नं १, २, ३, ४, ५ र ६ मा ९० देखि ९८ प्रतिशत तटबन्ध निर्माण भइसकेको छ । यस्तै, प्याकेज नं ७, ८, १० र ११ मा चालु आव २०७४/७५ भित्र तटबन्ध निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको देवकोटाले बताए । चालु आवमा तीनवटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । कोर क्षेत्रको १३ नं प्याकेज तथा अन्य क्षेत्रको १४ र १५ नं प्याकेजको काम तिहार लगत्तै सञ्चालन हुने देवकोटाको भनाइ छ । “गत आवमा गिट्टी अभावका कारण तटबन्ध निर्माणको काम प्रभावित बन्यो,” देवकोटाले भने । आयोजनाले चालु आवमा ४० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । चालु आवका लागि २८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएकामा १२ करोड रुपैयाँ थप खर्च गर्ने योजना रहेको देवकोटाले बताए । वर्षेनी जिल्लाबाट अन्य विकासे कार्यालयको बजेट काम गर्न नसकी फिर्ता हुने गरेकामा महाकाली नदी नियन्त्रण आयोजनाले भने थप बजेट माग गरी खर्च गर्ने गरेको छ । रासस

पाटन नगरपालिकाको बजेट ४८ करोड, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता

बैतडी । पाटन नगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ का लागि ४८ करोड ५९ लाख १२ हजार रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाको प्रथम नगरसभाले भौतिक पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । नगरपालिकाका सबै वडाका केन्द्रमा सडक पुर्याउने उद्देश्यसहित सडक निर्माणका लागि झण्डै रु तीन करोड बजेट विनियोजन गरिएको छ । नगरपालिकाभित्रका विद्यालयको शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने र निजी स्रोतका शिक्षकको व्यवस्थापन गर्ने उद्देश्यसहित नगर शिक्षक राख्ने कुरा नगरसभाले पारित गरेको भण्डारीले बताए । यसैगरी, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यचौकी नभएका वडामा स्वास्थ्यचौकी विस्तार गर्न र अनमी राख्न एक करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । कृषि तथा उद्यमशीलतालाई महत्व दिँदै कृषिका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने नगरसभाले निर्णय गरेको छ । रासस

बुढीगण्डकीमा स्वाभिमान बेचिएको छ, अब प्रधानमन्त्री देउवासँगै वयानः लेखा समिति

काठमाडौं । ‘बुढीगण्डकी जलविद्युत आयोजना बेचिएको छ, त्यहाँ आयोजना मात्रै होइन हाम्रो स्वाभिमान पनि बेचिएको हो, स्वाभिमान बेच्ने अधिकार कसैलाई छैन, मेरो कद होचो छ की अग्लो भनेर नहेर्नाेस, म स्वाभिमानसँग सम्झौता गर्दिन’, बुधबारको बैठकमा सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले भावुक हुँदै भने । बुधबारको बैठकले चार दिनभित्र(असोज ८ गते) चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता, मन्त्रि परिषदले गरेको अनुमोदन, हालसम्म भएका प्रयास लगायतका सम्पुर्ण विवरण पेश गर्न पनि निर्देशन दिएको छ । समितिले अर्काे बैठकमा प्रधानमन्त्रीसँग बयान लिने निर्णय पनि गरेको हो ।‘बुढीगण्डकी जलविद्युत आयोजनाबारे हालसम्म भएका सहमति र सम्झौताहरुबारे अब अर्काे बैठकमा सम्माननिय प्रधानमन्त्रीसँग छलफल गर्छाै’, सभापति उपाध्यायले बैठकको निर्णय सुनाउँदै भने । समितिको बैठकमा सांसदहरुले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिएर अघिल्लो सरकारका उर्जा मन्त्री जनार्दन शर्माले ठुलो आर्थिक चलखेल गरेको आरोप लगाएका थिए । उनीहरुले बुढीगण्डकी जलविद्युत आयोजनामा भएको अनियमितता रोक्ने अभियानमा खुट्टा नकमाउन सभापति उपाध्यायको ध्यानाकर्षण पनि गराएका छन् ।

प्रभु इन्स्योरेन्सले पनि १९.२०% बोनस दिने

काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ५८ लाख ३६ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

मञ्जुश्री फाइनान्सको असोज ९ गते बुक क्लोज, २५ गते विशेष साधारणसभामा जाँदै

काठमाडौं । मञ्जुश्री फाइनान्सको अगामी असोज ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले विशेष साधारणसभा जाने प्रयोजनको लागि सो दिन फाइनान्सको बुक क्लोज हुन लागेको हो । कम्पनी अगामी असोज २५ गते विशेष साधारणसभामा जाँदै छ । उक्त साभामा कम्पनीले ५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव लैजाँदै छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

पूर्णिमा विकास बैंकले ८ करोड ४५ लाख रुपैयाँ बोनस सेयर दिने

काठमाडौं । पूर्णिमा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ८ करोड ९० लाख रुपैयाँ लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट सो मात्राको लाभांश दिन लागेको हो । बैंकले अाफ्ना सेयरधनीलाई ८ करोड ४५ लाख ५० हजार रुपैयाँको बोनस सेयर र कर प्रयोजनको लागि ४४ लाख ४० हजार रुपैयाँ नगद लाभांश गरि सो मात्राको लाभांश दिन लागेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र यस बैंकको वार्षिका साधारणसभाबाट पारित भए पछि बाँडफाँड गरिने छ ।