विकासन्युज

आयल निगमका कार्यकारी निर्देशकमा प्रेम आचार्य नियुक्त, भन्छन्- ‘निगमलाई पारदर्शी बनाउँछु’

काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा प्रेम प्रसाद आचार्यलाई नियुक्त गरेको छ । बुधबार बसेको आपूर्ति मन्त्री सहितको बैठकले मन्त्रालयमा उपसचिवका रुपमा कार्यरत आचार्यलाई निगम प्रमुखको जिम्मेवारी दिएको हो । मन्त्रालयले अर्को आदेश नआउन्जेल शर्मालाई नै कार्यकारी निर्देशकका रुपमा काम सुम्पेको मन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलले जानकारी दिए । आचार्यले शुक्रबारदेखि औपचारिक रुपमा कार्यकाल थाल्नेछन् । नियमित कार्यकालमा पारदर्शी ढंगले अघि बढ्ने आचार्यले बताए । उनले विकासन्युजसँग कुरा गर्दै भने, ‘मन्त्रालयले सुम्पेको जिम्मेवारीलाई अनुशासन सहित पालना गर्नेछु ।उपभोक्ताको हितमा रहेर आयल निगमको सञ्चालनलाई पारदर्शी ढंगले सञ्चालन गर्नेछु ।’ गत सोमबार मन्त्रिपरिषधले जग्गा खरिदमा अनियमितता गरेको ठहर गर्दै गोपाल बहादुर खड्कालाई कार्यकारी निर्देशकबाट पदच्युत गरेको थियो ।

मर्चेन्ट्रेड एसिया र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा शुरु

काठमाडौं । मलेशियाको सबै भन्दा ठूलो सञ्जाल भएको मर्चेन्ट्रेड एसिया एसडिएन बिएचडि र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटेन्स सेवा शुरु गर्ने सम्झौता भएको छ । उक्त सेवा सम्बन्धि सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले र मर्चेन्ट्रेड एसियाको चिफ मनी सर्भिस बिजनेस अफिसर सर्भेस्वारन राजा गोपालले हस्ताक्षर गरेका छन् । उक्त सेवा अन्तर्गत मलेशियामा रहने नेपालीहरुले कुनै पनि मर्चेन्ट्रेडको १०० भन्दा बढि तथा ४२५ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५ हजार भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले भुक्तानी लिन सक्नेछन् । सो सम्झौतापत्रमा हस्ताक्षर गर्दै सर्भेस्वारन राजा गोपालले लेसिटी एक्सप्रेस र मर्चेन्ट्रेडको सम्झौताले आगामी दिनमा नेपालमा रेमिटेन्स पठाउन झन सहज हुने बताएका छन् । साथै, आउने दिनमा यो सम्बन्ध अझ मजबुद हुँदै जाने बताएका छन् । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्षदेखि रेमिटेन्स सेवा दिदैं आइरहेको छ ।

भाईटीकामा मात्रै खुल्ने रानीपोखरीको मन्दिर पुन:निर्माण सुरु, सात महिनामै सम्पन्न हुने

काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुन:निर्माण सात महिनामा सम्पन्न गरिने भएको छ । लामो समयसम्म विवादका कारण ढिलाई भएको यो एतिहासिक मन्दिरको पुन:निर्माण ढिलो गरि सम्पन्न हुन लागेको हो । भूकम्प अगाडि भाइटिका र छठ पर्वको अवसरमा मात्र खुला हुने गरेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनः निर्माण सुरु भएको छ । दुई महिना अघि पुरातत्व विभागले यो मन्दिरको पुन : निर्माण थालेको छ । रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर आगामी बैशाखमा सम्पन्न हुने प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए । सुरुमा महानगरपालिकाले आरसीसी ढलान गरेर सम्पुर्ण रानी पोखरीको पुननिर्माण गर्ने भनेको थियो । तर युनेस्कोले आपत्ति जनाएपछि बालगोपालेश्वर मन्दिरमा आधुनिक निर्माण सामग्री प्रयोग नगरी पुननिर्माण गर्ने जिम्मा पुरात्व विभागलाई दिइएको थियो । पुनःनिर्माण कार्य सम्पन्न गर्न १ वर्षको म्याद तोकीएको छ । हालै आएर कामदार खटाएको २ महिना भएको भएता पनि आर्थिक कारोबार भने अघि सारिएको छैन । सो भवन निर्माण गर्नको लागि १ करोड ४० लाख विनीयोजन गरेकोमा खर्च कटौती नगरिएको पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए । पहिलाको जस्तै संरचना बन्ने भनेको छ तर अन्य बाहिरी वातावरणीय संरचनाका कार्यमा पोखरी तथा मन्दिर जाने बाटोलगायतका कार्य भने नगरपालीकाले कार्य अघि सार्ने विभागले जनाएको छ । विभागका प्रवक्ता कुँवरले भने,‘सम्पदालाई विशेष ध्यान दिएर बनाउन पर्ने हुन्छ, घर बनाए जस्तो होइन ।’ सम्पदा निर्माणको लागि कामदारहरु खटाइएको हुनाले काम तोकीएको समय अवधिमा नै पुरा हुने उनले बताए  । विभागले १ करोड ४० लाख रुपैयाँमा ठेक्का लगाएको छ । यहि बैशाख ५ गते कडेँल÷राम जेभी रानीबारीलाई बालगोपालेश्वर मन्दिर पुननिर्माणको ठेक्का दिइएको विभागले जानकारी दिएको छ । ‘ढुंगा, डाँची अप्पा र मा अप्पा सहित सुर्की मोटारको प्रयोग गरेर बालगोपालेश्वर मन्दिरको पुननिर्माण अघि बढेको छ, तोकिएको समयभित्रै पुरातात्विक महत्त्व झल्किने गरि निर्माण गर्नेछौं’, पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले भने । पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले भने ‘एक करोडको लागतमा बालगोपालेश्वर मन्दिर बनाउने तयारी अन्तिम चरणमा पुगेको छ’, विभागका सिडिई घिमिरेले भने । ‘पोखरीको बिचमा बन्ने भएकाले मन्दिर बलियो नै बनाउनु पर्छ, हामी इतिहास पनि जोगाउने र बलियो पनि बनाउने योजनामा छौं’, घिमिरेले भने । पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर बनाउनेछ भने बाँकी सबै संरचना काठमाडौं महानगरपालिका आफैंले निर्माण गर्नेछ । महानगरले यस अघि लगाएको ठेक्का अनुसार नै रानीपोखरीका अन्य संरचनाको निर्माण हुने पनि घिमिरले जानकारी दिए । १६७० सालमा तत्कालीन राजा प्रताप मल्लले पुत्र वियोगमा परेकी रानीलाई भुलाउन रानीपोखरी निर्माण गरेका थिए । विनाशकारी भुकम्पपछि ध्वस्त रहेको रानीपोखरी बल्ल पुनःनिमार्ण कार्य अघि बढेको छ ।

राष्ट्रिय गौरवका आयोजनालाई चुस्त बनाउन विकास समितिकाे निर्देशन

काठमाडौ ।  व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन अवस्था असाध्यै सुुस्त रहेको भन्दै तत्काल चुस्त बनाई दू्रत गतिमा कार्य अगाडि बढाउन सरकारका विभिन्न निकायलाई निर्देश गरेको छ । समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा आज बसेको समितिको बैठकले काठमाडाँै निजगढ द्रूत मार्गलगायतका राष्ट्रिय गौरवको आयोजनाका प्रक्रियागत जटिलतालाई अन्त्य गर्दै परिणामुखी कार्यसम्पादन गराउन प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात, रक्षा अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई निर्देशन गरेको छ । द्रूत मार्गको निर्माण कार्यको जिम्मा पाएको नेपाली सेनाले पाँच महिना पूरा हुन लाग्दा पनि अझै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को टुंगो नलगाएको भन्दै समितिको बैठकले यसका लागि दू्रत मार्गको डिपिआर तयार गरेको भारतीय कम्पनीसित डिपिआर खरिद गर्ने की नगर्ने भन्ने विषयमा शीध्र निर्णयमा पुग्न सरकारका ती निकायलाई बैठकले ध्यानाकर्षण समेत गराएको छ । बैठकले द्रूत मार्गका कूल ७६ किमीमध्ये ६ किमीको मात्र मुआब्जा वितरण कार्यमा धेरै नै समस्या परेको हुँदा तत्काल यसलाई समाधान गर्न, द्रूत मार्गमा बजेटको अभाव हुन नदिन, द्रूतमार्ग निर्माण कार्यलाई गति प्रदान गर्न, प्रक्रियामा सरलीकरण गर्न, कार्यान्वयनको मोडल स्पष्टपार्न, आवश्यकवित्त व्यवस्थापन गर्न, आवश्यक समन्वयको कार्यलाई चुस्त बनाउन समेत निर्देश गरेको छ । साथै समितिको बैठकले नेपाली सेनालाई र सेनाको मेसिनरी एवं जनशक्ति अभिवृद्धि गर्न, उत्प्रेरणा कार्य राख्ने कार्यमा सहयोग पु¥याउन, कार्यतालिकासहितको कार्ययोजना अनिवार्य बनाई सोहीअनुरुप काम गर्न गराउनसमेत सरकारलाई निर्देश गरेको छ । रासस

दशैंको अवसरमा टेलिकमले दियाे ८ सेवामा विशेष छुट, हेरौँ कुन कुनमा केके दियो ?

काठमाडौं । नेपाल टेलिकमले दशैंको अवसरमा कम्पनीका विभिन्न ८ सेवाहरुमा विशेष छुट उपलब्ध गराएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई उपलब्ध गराएको विशेष छुट निम्न प्रकारका छन् । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म ५०, १००, २००, ५०० र १००० रुपैयाँका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी १० रुपैयाँ र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराएको छ । २. युट्युब डाटा प्याकेज:  जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ । ३. कम्बो प्याकेज: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा १६ मीनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मीनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मीनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने कम्पनीले जनाएको छ । ४. भ्वाइस प्याकेज: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मीनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ । ५.पोष्टपेड सेवामा बोनस: सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल २०० रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १००/१०० स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ । ६. एडिएसएल/एफटिटिएच/वाइम्याक्स अफर: असोज ११ गतेदेखि असोज १८ भित्र अनलिमिटेड र भोलुम बेस एडिएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि असोज १९ गतेसम्म थप गरिएको छ । त्यसैगरी असोज ११ देखि १८ गते भित्र एफटिटिएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि असोज १९ गतेसम्म थप गरिएको छ । ७. एसएमएसमा छुट: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्ट सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा असोज ११ गतेदेखि १९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिन कम्पनीले जनाएको छ । ८. फोरजी सिम निःशुल्क परिवर्तन: कम्पनीले असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम(यू सिम) परिवर्तन निःशुल्क गरिएको छ । यो सेवा कम्पनीका काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ । साथै विभिन्न महोत्सवमा स्थापित स्टलबाट पनि लिन सकिने टेलिकमले जनाएको छ ।

कर कानुन पालना नगर्ने ५०९ करदाता कारवाहीमा

काठमाडौं । आन्तरिक राजस्व विभागले कर कानून पालना नगर्ने ५०९ करदातालाई कार्वाही गरेको छ ।  विभागले बजार अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेका छ । अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारवाही गरेको जाकारी दिएको छ । भदौ २७ गतेदेखि शुरु भएको बजार अनुगमनमा ६ दिनमा ३६६ टोलीद्वारा ३ हजार १८६ करदाताको अनुगमन गरेको विभागले जनाएको छ । प्रत्येक कार्यालयबाट ३÷३ वटा टोली परिचालन गरिएको छ । बजार अनुगमन विभागको नियमित कार्य भएको जनाउंदै दशैं, तिहार जस्तो चाडवाडको समयमा बढी कारोवार हुने र सो क्रममा विल विजक जारी नहुने गुनासो धेरै तिरबाट आउने भएकोले बजार अनुगमनलाई तिव्रता दिइएको जनाएको हो । अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको छ । अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारवाही गरेको हो । अनुगमनका क्रममा कर अधिकृत नेतृत्वको टोलीले व्यवसायीहरुलाई कार्यस्थलमा नै करदाता शिक्षा प्रदान गर्नुका साथै कर कानुनको पालना गर्न सुझाव समेत दिएको छ । कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारवाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरुलाई थप अनुसन्धानका लागि खरीद विक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको विभागले जनाएको छ ।  

विदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशैंकको विदाका केही दिनमा बैंक खोल्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गरी असोज ७, ११, १२, १५ र १६ गते सार्वजनिक विदाको दिन बैंक तथा चेक किलियरेन्सको काम गर्न भनेको छ । सो दिनमा पनि राजश्व संकलन हुने भएकाले बैंक खोल्न भएको हो । यसअघि अर्थमन्त्रालयले विदाको दिनमा पनि बैंक खोल्न पत्राचार गरेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

सरकारको निर्णयलाई चुनौति दिँदै खड्का पुगे सर्वोच्च, निर्णय कार्यान्वयन नगराउन माग

काठमाडौ । सरकारले नेपाल आयल निगम लिमिटेडको जग्गा खरिदमा आर्थिक हिनामिना गरेको भन्दै कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका गोपालबहादुर खड्का बुधबार सर्वोच्च अदालत पुगेका छन् । सरकारले बर्खास्त गरेको निर्णयलाई चुनौति दिदै खड्का सर्वोच्च पुगेका हुन् । आफूलाई सफाइ गर्न समेत मौका नदिएको जिकिर गर्दे खड्काले अन्तरिक आदेश जारीको माग गर्दै मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगराउन माग गर्दै रिट दायर गरेका छन् । खड्काले रिट दायर गरेको सर्वोच्चका प्रवत्ता नारायण पन्थीले जानकारी दिए । उनले आफूलाई चार वर्षका लागि नियुक्त गरिएको र आउदो ०७५ माघ १२ गतेसम्म कार्यकाल रहेको भन्दै सरकारले गरेको निर्णय गैरकानूनी भएको खड्काको दावी थियो । जग्गा खरिदमा सरकारी जग्गा प्राप्ति ऐन अनुसारको प्रक्रिया पूरा नगरी बोलपत्र आब्हान गरेर उनले जग्गा खरिद गरेका थिए । संसदको उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण सम्बन्ध समितिले अध्ययन गर्दा जग्गा खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित खड्कालाई पदमुक्त सरकारलार्इ सुझाव दिएकाे थियाे । सोमबार विकासन्युजसंग कुरा गर्दे खड्काले न्यायका लागि सर्वोच्च जाने बताएका थिए । (साथै, यो पनि पढ्नुहोस्)