विकासन्युज

रिलायवल लाइफले ल्यायो मासिक ८ हजार ८ सय तिरेर करोडपति बन्ने योजना

काठमाडौं । रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले करोडपति बन्ने योजना ल्याएको छ । जीवन बीमा कारोबार सुरु गरेको दिन रिलायवलले मासिक ८ हजार ८१७ रुपैयाँ बीमा शुल्क भुक्तानी योजना ल्याएको हो । आगामी ४० वर्षपछि १ करोड रुपैयाँ फिर्ता दिने कम्पनीले जनाएको छ । “हामी सबै बन्न सक्छौ करोडपति मात्र चाहिन्छ इच्छाशक्ति” नाराका साथ ल्याएको रिलायवल धनपति जीवन बीमा योजनाले सानो बचतबाट करोडपति बन्न सकिने छ । यस योजनामा बिमितले न्युनतम ५ लाख रुपैयाँदेखि माथि जतिसुकै परिपक्वता मूल्य छनौट गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ ।  

रिडी हाइड्रोपावरको सेयर मूल्य समायोजन, प्रतिकित्ता १५४ रुपैयाँ मात्र

काठमाडौं । सोमबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहको थियो ।

विद्युत प्राधिकरणले भन्यो: तिहारमा बत्ती कम बाल्नुस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारमा बढी बिजुली खपत हुने उपकरण प्रयोग नगर्न भनेको छ । बढी बिजुली माग हुने साँझको समयमा उच्च भोल्टेजका बत्ति, हिटर, राइसकुकर, ओभन, आइरन, एसी, इनडक्सन हिटर, वाटर पम्प जस्ता उपकरण प्रयोग नगर्न अनुरोध गरेको हो । प्राधिकरणले साँझ ५ देखि राती १० बजेसम्म प्रयोग नगर्न प्राधिकरणले सुझाएको छ । बढी बिजुली खपत हुने उपकरण प्रयोगमा ल्याउदा वितरण ट्रान्सफरमर, फिडर लाइन ओभरलोड भइ ट्रिप हुने र बिजुली आपूर्ति समेत बन्द हुने भन्दै प्राधिकरणले यस्ता उपकरण प्रयोग नगर्ने अनुरोध समेत गरेको छ । तिहारमा साँझका बेला दीपावली गर्नका लागि बढी बिजुलीको माग हुने र सोही अनुपातमा आपूर्ति गर्न कठिन हुने प्राधिकरणको भनाई छ । भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पुर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ । यस्तै तिहारभर हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफयुल प्लाण्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ । भारतबाट आयात र कुलेखानी आयोजना, डिजेल प्लाण्ट र मल्टिफयुल प्लाण्ट सञ्चालन गरेर १ हजार २१५ मेगावाट बिजुली आपूर्ति गर्ने प्राधिकरणको तयारी छ । यस्तै भारतबाट ४१५ मेगावाटसम्म बिजुली आयात हुने छ ।  

प्रभु इन्स्योरेन्सले १९ प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद जारी गर्ने, पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, सोही बैठकले १९.२० प्रतिशत बोनस सेयर पश्चात ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । हाल कम्पनीको पुँजी ५७ करोड ७५ लाख रुपैयाँ रहेको छ । १९.२० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६८ करोड ८४ लाख रुपैयाँ पुग्ने छ । बोनस पश्चात कायम भएको चुक्ता पुँजीको ४६ प्रतिशत हकप्रद निष्काशन गर्ने कम्पनीले जनाएको छ । सो मात्राको हकप्रद सेयर पश्चात कम्पनीको पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा कात्तिक २१ गते हुने भएको छ । सो प्रयोजनको लागि आगामी कात्तिक ७ गते कम्पनीको बुक क्लोज हुँदै छ ।

नक्सा पास नगरी निर्माण भएका भवनलाई वैधानिकता दिने महानगरपालिकाको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका भवनलाई वैधानिकता दिने भएको छ । असार ३० देखि ८ गतेसम्म सम्पन्न महानगरपालिका नगरसभाको बैठकले नक्सा पास नगरि बनाइएका, नक्सा पास भन्दा बढि संरचना निर्माण गरिएका भवनहरुलाई वैधानिकता दिने निर्णय गरेको हो । ‘पास गरिएको नक्सा भन्दा धेरै निर्माण भएका घर र नक्सा पास नगरिएका भवनहरुलाई एक पटक स्वीकृतिको अवसर दिने निर्णय भएको छ, कार्यविधि पनि बनिसकेको छ’, काठमाडौं महानगरपालिकाका अधिकृत महेश काफ्लेले भने । ‘भवन निर्माण इजाजत विपरित निर्माण भएका तथा स्विकृति लिइएको भन्दा विपरित प्रयोजनमा प्रयोग गरिएका भवनहरुको स्थलगत विवरण संकलन गरी जमिनको क्षेत्रफल, भवनको सवलता, सुरक्षा आदि पक्षको विश्लेषण गरि के कुन प्रायोजनमा कुन हदसम्म भवन यथावत कायम राखी उपयोग गर्न सकीने हो प्राविधिक रुपमा यकिन गरी त्यस्ता भवनहरुलाई निश्चित मापदण्डको आधारमा नियमित र प्रमाणिकरण गरिने छ ।’, महानगरपालिका नगरसभा बैठकको निर्णयमा लेखिएको छ । नगरसभाको बैठकको निर्णय अनुसार महानगरपालिकाले कार्यबिधी समेत निर्माण गरिसकेको छ । ‘कार्यविधि लेखेका छौँ तर बोर्डले पास गर्नुपर्ने हुन्छ, अहिलेसम्म पास भइसकेको छैन । नक्साको डिजाइन हेरेर वा मापदण्ड मिचेको छ, छैन हेरेर मात्र त्यस्ता भवनलाई वैधानिकता दिने हो ।’ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने । उनका अनुसार काठमाडौं नगरपालिकामा २५ सयको हाराहारीमा नक्सा पास भएको भन्दा बढी तल्लाका भवनहरु छन् । नक्सा पास नगरिएका र पास नगरिएको नक्सा भन्दा बढि संरचना निर्माण गरिएका भवनहरुलाई मापदण्ड पुरा गरेको खण्डमा मात्रै प्रमाणिकरण गरिनेछ । ‘नक्सा पास नगरिएको र बढि संरचना निर्माण गरिएका भवनहरुले भवन निर्माण संहिता पालना गर्न सक्ने अवस्थामा प्रमाणिकरण गरिन्छ’, महानगरपालिकाका प्रवक्ता कार्कीले विकासन्युजसँग भने ।

टीसीएल स्मार्ट टिभीहरुको माग बढ्दो, उपभोक्ताहरु प्रतिक्षा गर्न बाध्य

काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टिभी ब्राण्ड टीसीएलका स्मार्ट टिभीहरुको माग बजारमा बढ्दो छ । स्टाइलिस डिजाइन तथा गुणस्तरियले भरिपूर्ण टीसीएलका टिभीहरुको मूल्य पनि ग्राहकहरुको क्षमता भित्र रहेको छ । ३२ इन्च देखि ६५ इन्च सम्मको टिभीहरु अहिले सम्म पनि धमाधम बिक्री भएर कतिपय टिभीहरुका लागि ग्राहकहरुले अग्रीम बुकिङ्ग पनि गरिरहेको कम्पनीले जनाएको छ । गुणस्तरिय उत्पादन सँगै टीसीएलले आफ्ना उपभोक्ताहरुको चाहनालाई मध्यनजर गर्दै आकर्षक प्रस्ताव र योजनाहरु ल्याउने क्रममा यसपाली चाडपर्वलाई लक्षित गरि “हातमा हात्ती पकेटको साथी” योजना ल्याएको छ । नेपालका लागि टीसीएल टिभीको आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स प्राली रहेको छ ।

कैलाश विकास बैंकको नयाँ शाखा बाँकेको कोहलपुरमा

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले बाँकेको कोहलपुरमा आफ्नो ३९औँ शाखा स्थापना गरी आइतबारदेखि कारोवारको शुरु गरेको छ । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले गरेका हुन् । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ३९ पुगेका छन् भने एटीएम संख्या १९ पुगेका छन् । बैंकले निकट भविश्यमा दाङ्ग जिल्लाको लमही, सुनसरी जिल्लाको इटहरी, कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप चार शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब २९ करोड रुपैयाँ रहेको छ । उक्त पूजींमा न्यूनतम १० प्रतिशतका दरले मात्र बोनस सेयर जारी गरे पनि नेपाल राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी पुग्नेछ । यस संस्थाले हाल सम्म १८ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

नेपाल क्रिकेट डिभिजन २ मा घटुवा, मुल कारण वर्षा

काठमाडौं । नेपालको क्रिकेट खेल स्तर घटेर डिभिजन २ मा झरेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएपछि अंक तालिकाअनुसार नेपाल डिभिजन २ मा झरेको हो । वर्षाका कारण खेल नभएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन् । प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको हो । घटुवासँगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन पुनः सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल हुन सकेन । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ । नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)को सामना गर्दैछ ।