विकासन्युज

१५४ कम्पनीको सेयर मूल्यमा वृद्धि, यी हुन् सोमबार कमाउने १० उत्कृष्ट कम्पनी

काठमाडौं । लामो समय पछि नेप्से परिसूचक उच्च अंकले बढेको छ । ४६ अंकले बढेको सोमबारको बजारमा १६३ कम्पनीको सेयर कारोबार भएको थियो । सो मध्ये १५४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी ९ कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । कमाउने १० उत्कृष्ट कम्पनी सोमबार तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बजारमा सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ रहेको छ । त्यसैगरी, बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य ९.३५ प्रतिशत र एनबी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.१८ प्रतिशतले बढेको छ । सोमबार एनबी इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १२०१ रुपैयाँ रहेको छ । त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको छ । वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, मिसन डेभलपमेन्ट बैंक र अरुण फाइनान्सका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । सोमबार गुमाउने ९ कम्पनी बजारमा सबैभन्दा बढी बिशाल बजार कम्पनीको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।

एक महिनामै राजश्व छल्ने ६१५ व्यवसायीलाई कारवाही

काठमाडौं । एक महिनाकै अन्तरमा ६१५ जना व्यवसायी कारवाहीमा परेका छन् । आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत गरेको बजार अनुगमनका क्रममा कर छल्ने ६१५ व्यवसायीमाथी कारवाही गरिएको हो । विभागले ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि बजार अनुगमन शुरु गरेको थियो । ती सबै कार्यालयले ३/३ वटा टोली परिचालन गरेको थियो । भदौ २७ देखि हालसम्म कारोवार स्थलमै गरिएको आकस्मिक अनुगमनमा ४४२ टोलीबाट ३९०५ वटा करदाताको अनुगमन गरी कर कानून पालना नगर्ने ६१५ करदातालाई प्रचलित कानुन बमोजिम जरिवाना तथा अन्य कानुनी कारवाही गरिएको हो । ६ सय १५ करदाताबाट ३८ लाख ४८ हजार जरिवाना समेत गरिएको थियो । २१ वटा करदाताबाट थप कागजपत्र माग गरी अनुसन्धान भइरहेको छ । अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको छ । अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारवाही गरेको हो । अनुगमनका क्रममा कर अधिकृत नेतृत्वको टोलीले व्यवसायीहरुलाई कार्यस्थलमा नै करदाता शिक्षा प्रदान गर्नुका साथै कर कानुनको पालना गर्न सुझाव समेत दिएको छ । कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारवाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरुलाई थप अनुसन्धानका लागि खरीद विक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको विभागले जनाएको छ ।

नेप्से ४६ अंकले उकालो, बीमा समूहले उचाल्यो बजार

काठमाडौं । सोमबारको नेप्से परिसूचक ४६ दशमलब ६२ अंकले उकालो लागेर १५६४ अंकमा पुगेको छ । बजारमा ६० करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६३ कम्पनीको १४ लाख ५६ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी बैंक अफ काठमाण्डूको सेयर कारोबार भएको छ । सो दिन यस बैंकको १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ रहेको छ । सोमबारको बजारलाई बीमा समूहले उचालेको छ । सो दिन बीमा समूहको परिसूचक २६४.७५ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ७८, विकास बैंक ५७, हाइड्रोपावर ५२ र बैंकिङ समूह ४८ अंकले उकालो लागेका छन् । त्यसैगरी, फाइनान्स र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने ट्रेडिङ् समूहको परिसूचक ४ अंकले ओरालो लागेको छ ।

खानेपानी र धापासी फिडरका क्षेत्रमा विद्युत आपुर्ति बन्द

काठमाडौं । प्रणालीको क्षमता बढाउन नेपाल विद्युत प्राधिकरणले खानेपानी फिडर र धापासी फिडरबाट वितरित लाईनका विद्युत सेवा बन्द भएको छ । सोमबार र मंगदबार दिउँसो ११ः०० बजेदेखि ५ः०० बजेसम्म उक्त फिडरबाट विद्युत सेवा बन्द हुने भएको छ । महाराजगन्ज वितरण केन्द्र अन्तर्गत ११ केभी स्विचिङ्ग स्टेशनबाट खानेपानी , धापासीफिडरबाट वितरित ११ केभी लाइन नारायण गोपाल चोकसम्म धापासी फिडर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले विद्युत सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ । खानेपानी फिडर अन्तर्गत टोखा रोडका सबै खानेपानी पम्पहरु, ग्राण्डी, गंगालाल, न्युरो हस्पिटल र बाँसवरी खानेपनीलगायतका यस फिडरबाट सप्लाई तथा धापासी फिडरका सामाखुशी चोक, टोखा रोड, टोखा बजारलगायत यस फिडरबाट सप्लाईमा विद्युत सेवा अवरुद्ध भएको छ ।  

राष्ट्र बैंकमा ३० वर्षे लफडाः लोक सेवाको परामर्श कुर्दै व्यवस्थापन, तीन हप्तादेखि कर्मचारी धर्नामा

काठमाडौं । मुलुकको वित्तीय क्षेत्रको नियमन गर्ने अख्तियारी पाएको नेपाल राष्ट्र बैंकमा विगत तीन हप्तादेखि कर्मचारीको धर्ना जारी छ । कर्मचारी विनियमावली संसोधनको बिरोध गर्दै काँग्रेस र एमाले निकटका कर्मचारी युनियनहरुले गभर्नर र डेप्युटी गभर्नरको कार्य कक्षमा असोज १० गतेदेखि धर्ना जारी राखेका हुन । सुरुमा १० देखि ११ बजेसम्म धर्ना दिएका कर्मचारीहरुले आइतबारदेखि २ घण्टा धर्ना दिईरहेका छन् । राष्ट्र बैंक सञ्चालक समितिले असोज ८ गते कर्मचारी विनियमावलीलाई संसोधन गरेर ३० बर्षे सेवा अवधी हटाउने निर्णय गरेको थियो । सञ्चालक समितिबाट सर्व सहमतिले पास भएको ३० बर्षे सेवा अवधी सम्बन्धी निर्णयमाथी लोकसेवा आयोगसँग परामर्श मागिएको छ । ‘असोज ८ गते सञ्चालक समितिले निर्णय गरेर लोक सेवामा फाइल पठाएका थियौं, अझै प्रतिक्रिया आएको छैन’, राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवकोटीले भने । उता, लोक सेवा आयोगका प्रवक्ता लक्ष्मी बिलास कोइरालाले भने कर्मचारी विनियमावली संसोधन सम्बन्धी राष्ट्र बैंकको फाइल अध्ययनकै चरणमा रहेको बताए । ‘हामी अध्ययन गरिरहेका छौं, सहमति दिने वा नदिने भन्ने निचोडमा पुगिसकेका छैनौं’, आयोगका प्रवक्ता कोइरालाले भने । कर्मचारी युनियनहरुले भने आन्दोलनलाई झनै कर्डा बनाईरहेका छन् । ‘हामीले १० देखि ११ बजेसम्म धर्ना दिँदै आएका थियौं, आइतबारबाट १० देखि १२ बजेसम्म धर्ना दिईरहेका छौं, हाम्रा माग सुनुवाई नभएसम्म आन्दोलन जारी रहन्छ’, नेपाली काँग्रेस निकट कर्मचारी युनियनका महासचिव राजिव रेग्मीले विकासन्युजसँग भने । एमाले निकट कर्मचारी युनियनका अध्यक्ष डुण्डिराज मिश्रले पनि आन्दोलनलाई थप कडा बनाउँदै लगिएको बताए । गभर्नर डा. चिरञ्जीवी नेपाल विदेश गएकाले कामु गभनएर चिन्तामणि शिवाकोटीको कार्यकक्ष अगाडी कर्मचारीले धर्ना दिँदै आएका छन् । गभर्नर डा. नेपालले सञ्चालक रामजी रेग्मीको संयोजकत्वमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ तथा कार्यकारी निर्देशक एंव प्रवक्ता नारायण पौडेल सम्मिलित वार्ता समिति बनाएका थिए । कर्मचारीहरुले सञ्चालक समितिबाट अधिकार सम्पन्न वार्ता टोली बनाउनुपर्ने भन्दै सो समितिसँग औपचारिक वार्ता नगर्ने अडान लिएका छन् ।

भाइटीकामा बाल गोपालेश्वरको मूलढोका मै पूजा एवं दर्शन गर्न दिइने

काठमाडौं । पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको पुरातत्व विभागले जनाएको छ । कात्तिक ४ गते शनिबार दर्शनार्थीलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाउन पुनःनिर्माणको जिम्मेवारी पाएको कँडेल÷राम जेभी कम्पनीलाई निर्देशन दिइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । यस सम्बन्धमा व्यवस्था गर्न निर्माण व्यवसायीसँग विभागमा सोमबारको बैठकमा यस्तो निर्देशन दिइएको उनले सुनाए । विभागको निर्देशनमा रंगरोगन गरी भाइटीकाका दिन भक्तजनलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको निर्माण व्यवसायी अर्जुन कँडेलले बताए । एक करोड ४० लाख रुपैयाँको लागतमा मन्दिर पुनःनिर्माणको काम अघि बढेको पनि उनले बताए । यसअघि काठमाडौं महानगरपालिकाले सिमेन्ट, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेर पुनःनिर्माण शुरु गरेपछि विभागले पुरातात्विक स्थलमा यस्ता सामग्री प्रयोग गर्न नपाउने भनी भत्काउन लगाएको थियो । परम्परागत निर्माण सामग्रीले बनेका सम्पदा हजारौँ वर्ष टिक्ने र सिमेन्ट प्रयोग भएको संरचना ७० वर्षभन्दा बढी नटिक्ने भएकाले आधुनिक निर्माण सामग्री पुनःनिर्माणमा रोक लगाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताए । हाल विभागले नै बालगोपालेश्वर मन्दिर र रानीपोखरी पुनःनिर्माण गर्ने भने पनि भूकम्पको ३० महिना बितिसक्दा पनि अलपत्र छ । पानी भरिएर आकर्षक देखिने रानीपोखरी अहिले चौरमा परिणत भएको छ । गत असारमै पुनःनिर्माण सम्पन्न हुनुपर्ने सम्झौता निर्माण व्यवसायीसँग भए पनि विभाग र काठमाडौँ महानगरपालिकाको विवादले काममा ढिलाइ भएको छ । हाल महानगरपालिकाले पुनःनिर्माणको डिजाइनको अध्ययन गरिरहेकाले काम हुन नसकेको निर्माण व्यवसायीको भनाइ छ । रानीपोखरी पुनःनिर्माणको लागत भने रु छ करोड २९ लाख छ । प्रताप मल्लले छोरा चक्रवर्तेन्द्र मल्लको निधन भएपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीमा १०८ तीर्थको जल हालिएको थियो । तिहारको भाइटीकामा मात्र खुल्ने रानीपोखरीबीचको बाल गोपालेश्वर मन्दिर दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भाइटीका पर्व मनाउने स्थलका रुपमा स्थापित छ । यो मन्दिर वर्षमा एक दिन भाइटीकामा मात्र खुल्छ । विसं २०७२÷७३ र यस वर्ष पनि मन्दिर भत्किएका कारण मूलढोकाबाटै पूजा एवं दर्शनको व्यवस्था गरिँदै आएको विभागले जनाएको छ । रासस

लाइसेन्स नलिई सवारी साधन चलाउनेको संख्या २६ हजार ५२९

काठमाडौंं । काठमाडौं उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३/७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालकलाई कारबाही गरेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल कानुनको परिपालना नगरी अनधिकृत रुपमा लुकिछिपी सवारी साधन चलाउनेको संख्या धेरै रहेको बताए । “विना लाइसेन्स भित्री सडकमा सवारी साधन चलाउने चालक धेरै छन्, ट्राफिक प्रहरीले यस्ता चालकमाथि विशेष अभियान चलाएको छ,”-प्रमुख खनालले भने । उनले सवारी साधनको वृद्धिसँगै लाइसेन्स नलिई सवारी चलाउने चालकको संख्यामा समेत वृद्धि हुँदै गएको बताए । महाशाखाले अहिले बिना लाइसेन्स सवारी चालक चलाउने चालकमाथि रु एक हजार जरिवना लिँदै आएको छ । पहिला २५० रुपैयाँ राजश्व लिँदै आएको महाशाखाले २०७३ वैशाख १३ गतेको निर्णयअनुसार एक हजार राजश्व लिँदै आएको हो । पक्राउ परेका सवारी साधन फिर्ता भने सम्बन्धित सवारी धनी वा चालकको आफन्तले लाइसेन्स लिएर आएपछि मात्र गर्ने गरिन्छ । हाल काठमाडौं उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन रहेको यातायात व्यवस्था विभागले जनाएको छ । रासस

एक करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको एक करोड रुपैयाँ लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र गर्ने काम शुरु गरेको छ । महानगरपालिको सहयोगमा कामनपा-२६ ले ठमेल क्षेत्रको मनाङ होटलदेखि काठमाडौँ गेष्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्मको सडक कालोपत्रको काम शुरु गरेको हो । सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम शुरु गरेको कामनपा-२६ वडाका अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए । “चाँडै नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ कालोपत्र गर्ने कामलाई तीव्रता दिएका हौँ”, अध्यक्ष तिवारीले भने । केही महिना अगाडिदेखि नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रुपमा विकास गर्नका लागि महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेलका पर्यटन व्यवसायीबीच छलफल हुँदै आएको छ । रासस