विकासन्युज

यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताः नेपालद्धारा भारत १९ रनले पराजित

काठमाडौं । मलेसियामा जारी एसीसी उन्नाई वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनायो । एक सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४८।१ ओभरमा १६६ रन मात्र बनाउन सक्यो । क्रिकेटमा नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले सर्वाधिक ८८ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेट समेत लिए । उनले १०१ बल खेल्दै दुई छक्का र ६ चौका प्रहार गरे । यस्तै, सुरुवाती व्याट्सम्यान जितेन्द्र सिंहले ३६ तथा भीम सार्कीले १५ रन बनाए । बलिङतर्फ भारतका आदित्य ठाकरे र अभिषेक शर्माले दुई/दुई विकेट लिए । भारतका लागि कप्तान हिमांशु रानाले ४६ रन बनाए । उनले ३८ बलमा एक छक्का तथा सात चौका हाने । मनोज कर्लाले ३५, अभिषेक शर्माले २७, अनुज रावलले १८ र आदित्य ठेकरेले १३ रन बनाए । बलिङतर्फ नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले चार तथा पवन सर्राफ र सहाब अलामले दुई/दुई विकेट लिए । यस्तै सन्दिप लामिछाने र कमलसिंह ऐरीले एक/एक विकेट बाँडे । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल बंगालदेशसँग दुई विकेटले पराजित भएको थियो । एसिया कपअन्तर्गत नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग खेल्नेछ । रासस

लूम्बिनी विकास बैंकको ५७औं शाखा मोरङमा

काठमाडौं । लूम्बिनी विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा मोरङ जिल्लाको सून्दर हरैचा नगरपालिकामा ५७औं शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार एक समारोहका बीच सून्दर हरैचा नगरपालिकाका प्रमूख शिवप्रसाद ढकालले गरेका हुन् । सो अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष सूशिल राज पराजूलीले बैंकबाट आगामी दिनमा अझ प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने साथै ग्रामिण भेगमा समेत क्रमश सेवा विस्तार गर्दै जाने बताए । बैंकका सञ्चालक चिन्तामणी भट्टराईले बैंकले ग्रामिण जनतासँगको सामिप्यतामा अभिबृद्धि गर्दै जाने बताए । हाल बैंकले ५७ वटा शाखा तथा १२ एटिएममार्फत विभिन्न निक्षेप तथा कर्जा सूविधाका साथै एटीएम, एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, आश्बा लगाएत बैंकिङ्ग सेवाहरु दिँदै आएको छ । बैंकले गत आश्विन मसान्तसम्ममा करिब १८ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन तथा १५ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सो अवधिमा २ करोड ५३ लाख रुपैयाँ सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको छ बैंकले जनाएको छ ।

नेप्से दोहोरो अंकले उकालो, बीमा समूहले उचाल्यो बजार

काठमाडौं । दुई सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार आइतबार दोहोरो अंकले उकालो लागेको छ । सो दिन नेप्से परिसूचक १६.४१ अंकले उकालो लागेर १४७७.१४ अंकमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा ३९ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५९ कम्पनीका ११ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी बैंक अफ काठमाण्डूको २ करोड ८९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । आइतबारको सेयर बजारलाई बीमा समूहले उचालेको छ । सो दिन बीमा समूह ११८ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूहक स्थिर रहेको छ भने ट्रेडिङ समूह सामान्य अंकले ओरालो लागेको छ । अन्य बाँकी समूहहरु भने सामान्य अंकले उकालोे लागेका छन् । त्यस्तै, सबैभन्दा बढी सहयोगी विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । उता विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने ६ प्रतिशत गुमाएका छन् ।

एमाले महासचिव पोखरेलले भनेः केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको छैन

काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकारको नेतृत्वबारे पार्टीले औपचारिक निर्णय नगरेको बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न सक्ने तर पार्टीले अहिले नै निर्णय भने नगरेको स्पष्ट पारेका हुन् । ‘पार्टी अध्यक्ष नै प्रधानमन्त्री बन्ने सम्भावना छ । तर अहिले नै औपचारिक घोषणा गरेका छैनौँ’, पोखरेलले भने । उनले योग्य र सक्षम व्यक्तिलाई पार्टीले प्रधानमन्त्री बनाउने पनि बताए । पोखरेलले मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने दावी पनि गरे । उनले चुनाव लगत्तै एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने बताए । बामपन्थी गठबन्धनले स्वतन्त्रता हनन गर्छन भन्ने काँग्रेस नेताहरुको मानसिकता बिग्रेका आरोप पनि लगाए ।

फुडमाण्डू ८औं वर्षमा प्रवेश, बेवसाइटको नयाँ संस्करण शुरु

काठमाडौं । फुडमाण्डू प्राली आफ्नो सातौँ वर्ष पूरा गरि ८औं वर्षमा प्रवेश गरेको छ । साे अवसरमा कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणा गरेको छ । कम्पनीले आउँदा दिनहरुमा सेवा गुणस्तरलाई अझ बढाउँदै सेवा प्रदान गर्ने स्थानहरुको परिधी तथा आफुसँग आवद्ध रेण्टुरेण्टहरुको संख्या क्रमिक रुपमा बढाउँदै लाने योजना बनाएको छ । फुडमाण्डूका प्रमुख कार्यकारी मनोहर अधिकारीले सन् २०१० नोभेम्बर ११ मा आफ्नो सेवा सरुुवात गरेको कम्पनीले स्थापनादेखि हालसम्म २ लाखभन्दा बढी अर्डरहरु ग्राहकहरुको घरदैलोसम्म डेलिभरी गरिसकेको छ । सक्षम, सपर्पित र लगनशील कर्मचारीहरु तथा उच्चस्तरीय प्रविधि र कुशल व्यवस्थापनको माध्यमबाट फुडमाण्डूले देशमा आफुलाई खानासँग सम्बद्ध डेलीभरी सेवा प्रदान गर्ने एक भरपर्दो र चीरपरिचित कम्पनीकोे रुपमा स्थापित गर्न सफल भैसकेको जनाएको छ । सातौं वाषिर्कोत्सवको उपलक्ष्यमा कम्पनीले ११ नोभेम्बरदेखि ७ दिनका लागि प्रत्येक अर्डरमा ७ प्रतिशत छुट उपलव्ध गराउने योजना ल्याएको छ । ग्राहकहरुले कम्पनीको वेवसाइट, मोवाईल एपवा टेलिफोन जुनसुकै माध्यमबाट गरिने अर्डरमा यो छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै डिसेम्बर १५ देखि नेपालमा नै पहिले पटक अनलाईन फूड फेस्टिबलको आयोजना गर्न गइरहेको जानकारी कम्पनीले गराएको छ । १७५ भन्दा बढी प्रख्यात रेष्टुरेन्टहरुसँग सहकार्य गर्दै आएको फुडमाण्डूले स्वादमा विविधता चाहने ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको जनाएको छ ।

क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने रामविर मानन्धरको चुनावी एजेण्डा

काठमाडौँ । मंसिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्तगत काठमाडौँ क्षेत्र नम्बर ७ का बामपन्गथी उम्मेदवार रामबिर मानन्धरले हिरो योजना अघि सारेका छन् । उनले हिरो योजना अन्तर्गत नागरिकलाई हिरो बनाउने योजना अघि सारेका हुन् । उनले HERO योजना अन्तर्गत H बाट हेल्थ अर्थात स्वस्थ , E बाट एजुकेशन अर्थात शिक्षित, R बाट रिच अर्थात धनी बनाउने र O बाट अर्गनाइजर अर्थात संगठक बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले गत संबिधान सभा र रुपान्तरिक व्यवस्थापिका संसदमा आफुले खलेको भूमिका तथा क्षेत्रको विकासमा पुर्याएको योगदानका कारण आफ्नो जित सुनिश्चित भएको दावी पनि गरेका छन् । बाम गठबन्धनका उम्मेदवार मानन्धरसँग लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका नेता विक्रम थापा प्रतिष्पर्धामा छन् । दोश्रो संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादी नेतृ हिसिला यमीलाई पराजित गरेर राष्ट्रिय राजनितिमा चर्चामा आएका मानन्धरलाई नै वाम गठबन्धनले प्रतिनिधि सभाका लागि उमेद्वार वनाएको हो । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं ७ मा कांग्रेसले ११ हजार १५, एमालेले ११ हजार ८ सय ५६, माओवादीले ३ हजार १ सय २० र राप्रपाले १९ सय ६४ मत ल्याएको थियो । यहाँ बाम गठबन्धनको पक्षमा १४ हजार ९ सय ७६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १२ हजार ९ सय ७९ मत रहेको छ । अर्थात यहाँ बाम गठबन्धन १९ सय ९७ मतले अगाडि रहेको छ । स्थानिय तहको मतकै आधारमा पनि बाम गठबन्धन बलियो छ भने रामविरको व्यक्तिगत लोकप्रियताका आधारमा मतान्तर अझै बढ्ने अनुमान गर्ने दावी गरिएको छ ।

कैलाश विकास बैंकको लाभांश ११ लाख रुपैयाँले घट्यो

काठमाडौं । कैलाश विकास बैंकको लाभांश ११ लाख ३२ हजार ८२९ रुपैयाँले घटेको छ । बैंकले पूर्व धोषित लभांशमा ११ लाख ३२ हजार ८२९ रुपैयाँ घटाएर कुल २१ करोड ६५ लाख ५८ हजार ३७५ रुपैयाँ नगद लभांश दिने भएको छ । यसअघि बैंकले आफ्ना सेयरधनीलाई २१ करोड ७६ लाख ९१ हजार २०४ रुपैयाँ नगद लभांश दिने घोषणा गरेको थियो । बैंकले नेपाल राष्ट्र बैंकको पत्र अनुसार पूर्व धोषित नगद लभांशमा परिवर्तन गरेको हो । साथै, बैंकले चुक्ता पुँजीको २२ करोड ९१ लाख ४८ हजार ८०० रुपैयाँ बराबरको (अर्थात १० प्रतिशत) बोनस सेयर वितरण गर्ने प्रस्ताव राखेको छ । कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी वार्षिक साधारणसभा मंसिर १५ गते हुँदै छ । सो प्रयोजनको लागि मंसिर १ गतेदेखि १५ गतेसम्म(१५ दिन) बुक क्लोज हुने भएको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब २९ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी २ अर्ब ५२ करोड रुपैयाँ नाघ्ने छ ।

नयाँ संसद र सरकार आएपछि मात्र वित्त आयोग गठन हुने

काठमाडौं । व्यवस्थापिका संसदले प्राकृतिक स्रोत तथा वित्तीय आयोग विधेयक पारित गरेपनि अर्को संसद नबनेसम्म आयोग गठन नहुने भएको छ । संवैधानिक आयोग भएकाले संसदीय सुनुवाईपछि मात्र अध्यक्ष नियुत्त हुने भएपछि आयोग गठनको काम रोकिएको छ । यस्तै प्रदेश र प्रतिनिधिसभाका निर्वाचन भएको र त्यसपछि नयाँ सरकार बन्ने भएकाले पनि आयोग गठन नहुने भएको हो । विधेयक पारित भएपछि आयोगको अध्यक्ष नियुत्तीको प्रक्रिया सुरु भएकोमा पछि त्यतिकै रोकिएको अर्थ मन्त्रालयका कानून सहसचिव उदयराज सापकोटाले बताए “संसद भएका बेला अध्यक्ष नियुत्त गरेको भए आयोग गठन भइ काम अघि बढी सक्थ्यो” उनले भने “निर्वाचन पछि आउने नयाँ संसदले सुनुवाइ गरेपछि मात्र अध्यक्ष नियुत्त हुने छ ।” चालु आर्थिक वर्षको बजेट अगावै आयोग गठन हुनपर्नेमा ऐन पारितमा भएको ढिलाइले आयोग गठन पछि सरेको छ । आयोग गठन नहुने भएपछि सरकारले स्थानिय तहलाई सिधै २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरी निकासा दिएको छ । यस्तै आयोग सञ्चालनका लागि आवश्यक नियमावली पनि बनाउन बाँकी छ । स्थानिय तहको स्रोत बाँडफाँडको जिम्मेवारी आयोगको हुन्छ । आयोगले शुत्र तयार पारी सोही अनुसार रोयल्टी र करलगायत अन्य शुल्क स्थानिय तहलाई वितरण गर्ने छ । हाल ७५३ वटा स्थानिय तह छन् ।