म्याग्दीको प्रदेशसभा ‘क’ मा विनोद केसी र ‘ख’ मा नरदेवी पुन विजयी
म्याग्दी । म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा (माओवादी केन्द्र)का विनोद केसी निर्वाचित भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन्। केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पञ्चायतकालमा दुई पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापतिसमेत भइसकेका ७७ वर्षीय गौचनलाई पराजित गर्दै केसी प्रदेश नं ४ मा सम्भवत् कम उमेरको सांसद बनेका छन् । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क)मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो । यसैगरी प्रदेशसभासदस्यमा क्षेत्र (ख)बाट एमालेकी नरदेवी पुन दश हजार ८६८ मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिनिधिसभाको मतगणना पनि अन्तिमचरणमा पुगेको छ । प्रतिनिधिसभा सदस्यको मत गणामा एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ । नेकपा एमाले र (माओवादी केन्द्र)को वाम गठबन्धनबाट उम्मेदवार बनेकी पुनले दुई हजार ८७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गरेका हुन् । दोस्रो संविधानसभामा समानुपातिक सभासद्का साथै राज्यमन्त्री पनि बनेकी एमालेकी पुनले १० हजार ८६८ र काँग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालालले जानकारी दिए । म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र (क) को मतगणनामा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेको निर्वाचन कार्यालयले जनाएको छ । रासस
काठमाडौं क्षेत्र नं ५ मा पोखरेल अगाडि
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका छन् । प्रारम्भिक नतिजाअनुसार पोखरेलको ६८० र नेपाली काँग्रेसका उम्मेदवार डा प्रकाशशरण महतको २९८ मत रहेको छ । निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका जारी छ । त्यसैबीच काठमाडौँ क्षेत्र नं ९ र १० को मतगणना केहीबेर अघि अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा शुरु भएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । रासस
भक्तपुर क्षेत्र नं २ मा मतगणना अनिश्चित, कहीले देखि शुरु ?
भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ । बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो । डेढ घण्टा लामो सर्वदलीय बैठकपछि नेपाली काँग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, घाइतेको उपचार हुनुपर्ने र घरमा भएका क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए । उनले भने–“बालकोट घटनाको निष्पक्ष छानबिन हुनुपर्यो, घाइतेको उपचार हुनुपर्यो, घटनाको मुद्दा दर्ता हुनुपर्यो, धेरै घरमा क्षति पुगेको छ, क्षतिपूर्ति दिनुपर्यो, हाम्रो यही माग हो, हाम्रो माग पूरा नभएसम्म मतगणना गर्न दिदैनौँ, लोकतान्त्रिक गठबन्धनलाई बाहिर राखेर मतगणना भए त्यसबाट उत्पन्न हुने परिस्थितको हामी जिम्मेवारी लिदैनौँ ।” यता वाम गठबन्धनले भने बालकोट मतगणनालाई रोक्न नहुने माग गरेका छन् । वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष वचन देउजाले बालेकाट घटनाको छानबिन गर्नुपर्ने मागमा कुनै आपत्ति नभएको बताउदै बाहिर भएको झगडाको विषयलाई लिएर मतगणना रोक्न नहुने बताए । उनले भने–“घटनाको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो कुनै असहमति छैन, तर त्यही विषयलाई लिएर मतगणना भने रोक्नु हुँदैन, मतगणना शुरु हुनुपर्छ ।” निर्वाचन अधिकृत उत्तम सिलवालले भने सर्वदलीय बैठकमा छलफल भए पनि मतगणना नरोकिने बताउँदै सहमतिमै केही समयपछि मतगणना शुरु हुने दाबी गरे । रासस
मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन
डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । आज बिहान जिल्लाको भित्रीमधेश क्षेत्रको परर्शुराम नगरपालिका १२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बम विस्फोटनबाट बा १ झ ५५३९ नं को गाडीमा सामान्य क्षति पुगे पनि मतपेटिका भने सुरक्षित रहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । त्यसैगरी भित्रीमधेशकै आलिताल गाउँपालिकाको सुनखोलामा मतपेटिका बोकेको अर्को गाडीलाई पनि लक्षित गरी बम विस्फोट गराइएको बताइएको छ । अज्ञात समूहले ती बम विस्फोट गराएको प्रहरीले जनाएको छ । अज्ञात समूहको अवरोधका कारण केही ठाउँको मत ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म ११७ वटा मतदान केन्द्र मध्ये ७६ वटा केन्द्र्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको र बाँकी ४१ केन्द्रका मतपेटिका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत डा रमेशप्रसाद रिजालले जानकारी गराए । रासस
२९ प्रतिशत बोनस सेयर पछि शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २९ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३७८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १५२५ रुपैयाँ रहेको थियो ।
बागलुङमा मतान्तर बढाउँदै वाम गठबन्धन
बागलुङ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिइरहेका छन् । पाठकले १४ हजार ९१२ मत प्राप्त गरेका छन् भने खड्काले ९ हजार ८७० मत प्राप्त गरेका छन् । यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा पनि वाम गठबन्धनका उम्मदेवार नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पछि पार्दै शुरुदेखि नै अग्रता लिइरहेका छन् । पौडेलले १० हजार ७४९ मत प्राप्त गरेका छन् भने पुनले ८ हजार ५५३ मत लिएका छन् । प्रदेशसभातर्फका चारवटै क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । रासस
मुस्ताङ, मनाङ र रुकुममा पहिलो चुनावको मतगणना सकियो, ललितपूरमा भर्खरै सुरु (पछिल्लो अपडेट)
काठमाडौं । मुस्ताङ, मनाङ र रुकुम पूर्वको पहिलो हुने निर्वाचित हुनेतर्फको मतगणना सम्पन्न भएको छ । यी तीन जिल्लामा मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । यद्यपी विजयीहरुको पूर्ण विवरण आयोगलाई औपचारिकरुपमा प्राप्त भइसकेको छैन । ती जिल्लामा अब समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सुरु भएको आयोगले जानकारी दिएको छ । File Photo विहीबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार मंसिर १० मा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ निर्वाचन क्षेत्रको मतगणना सुरु भई कतिपय निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउने क्रम सुरु भइसकेको छ । काठमाडौं उपत्यकाको अवस्था : दोस्रो चरणमा मतदान सम्पन्न भएका ४५ जिल्लामध्ये मतपेटिका संकलन भई उपत्यकाको ललितपुरका दुईवटा निर्वाचन क्षेत्रको मतगणना कार्य सुरु भइसकेको र क्षेत्र नं. १ को मतगणना सुरु गर्ने तयारी हुँदैछ । त्यसैगरी, काठमाडौं तथा भक्तपुर जिल्लाका मतपेटिका संकलन भइसकेकाले केही बेरमै मतगणना सुरु हुने जानकारी आयोगलाई प्राप्त भएको छ । गतिविधी यसैगरी, मंसिर २१ गते बिहीबार ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा सम्पन्न भएको निर्वाचनका अधिकांश मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट बिहान १० बजे प्राप्त जानकारीअनुसार, तेह्रथुम जिल्लाको ५७ मध्ये २०, सिन्धुली जिल्लाको १३७ मध्ये १८, काभ्रेपलान्चोकको १८९ मध्ये ३, नवलपरासी पूर्वको ११२ मध्ये १३, प्युठानको १५१ मध्ये ३ वटा मतपेटिका ल्याउने क्रममा छन् । त्यसैगरी, सल्यानको १११ मध्ये ३३, दैलेखको १३६ मध्ये २२, सुर्खेतको १३८ मध्ये ८, डोटीको ११५ मध्ये २२, कैलालीको २३१ मध्ये १४, डडेल्धुराको ७७ मध्ये २१ मतदान स्थलका मतपेटिकाहरु ल्याउँदै गरेको अवस्थामा छन् । अन्य मतपेटिकाहरु सदरमुकाम ल्याइसकिएको अवस्था छ ।
प्याजले फेरि रुवाउदैँछ उपभोक्ता, विशाल सामुन्द्रीक आधीले घटायो प्याजको आपूर्ति
काठमाडौं । प्याजको भाउ बढ्न थालेको छ । सामुन्द्रीक आधीको प्रभाव स्वरुप भारतमा बेमौसमी वर्षाका कारण प्याजको आपूर्तिमा कमी आएपछि भाउ बढ्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । गत नोभेम्बर २१ देखि ओखी चक्रवात नामक उत्तर हिन्द महासागरमा आएको आधीले भारत, नेपाल लगायत एशियाली मुलुकहरुको मौसममा ठुलो प्रभाव पारिरहेको छ । गत मंगलबार भारतको नासिकस्थित ठुलो प्याज बजार लसल गाँउमा मा बेमौशमी पानी परेपछि प्याजको आपूर्तिमा समस्या आइरहेको छ । दुई दिनमा प्याजको भाउ करिब ५० प्रतिशतले महंगिएको टाइम्स अफ ईण्डियाले जानकारी दिएको छ । गत मंसिर ७ मा भारतले निर्यातमा अंकुश लगाएपछि आन्तरिक बजारमा प्याजको आपूर्ति सहज बनेको थियो । करिब १२ दिनमा प्याजको भाउमा ४१ प्रतिशतले गिरावट आएको थियो । बेमौशमी वर्षाका कारण भारतका किसानहरुले बजारमा प्याज ल्याउन सकेका छैनन्। प्याजको आपूर्तिमा ४/५ दिन ढिलाई हुने देखिएको छ । पछिल्लो समयमा भारतमा प्याजको भाउमा गिरावट आएसँगै नेपाली बजारमा पनि प्याज सस्तिदै गइरहेको थियो । यद्यपी शुक्रबार प्याजको भाउ स्थिर रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रवार थोक बजारमा प्रति किलो ८८ रुपैयाँमा प्याजको किनबेच भइरहेको छ । भारतमा प्याज महंगिएपछि त्यसको सिधा प्रभाव नेपाली तरकारी बजारमा देखिन्छ । नेपाल प्याजमा आत्मनिर्भर नहुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।