अख्तियारद्वारा साढे ११ अर्ब बराबर बिगो दाबी, सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रबाट
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७३/०७४मा प्रतिवादीबाट करिब साढे ११ अर्बको बिगो मागदावी गरेको छ । आयोगले गत आवमा २६७ जना प्रतिवादी उपर ११ अर्ब ५२ करोड ११ लाख ३२ हजार ५ सय ५५ पैसाँ बराबरको बिगो मागदावी गरेकाे हाे। आर्थिक वर्ष २०७३।७४ मा आयोगको ७६ वटा बैठकबाट विभिन्न विषयहरूमा गरी जम्मा ८६० वटा निर्णयहरू लिइएको थियो।अख्तियार र मातहतका कार्यालयबाट आर्थिक वर्षमा सार्वजनिक निकायमा हुने भ्रष्टाचारजन्य क्रियाकलाप र अनियमितताजस्ता विषयमा विभिन्न माध्यमहरूबाट आयोगमा प्राप्त ११, ७०४ र गत आवबाट जिम्मेवारी सरेका ७ हजार ८७६ गरी जम्मा १९ हजार ५८० उजुरीहरू उपर अनुसन्धान तथा तहकिकात गरिएको थियो। आयोगबाट विस्तृत अनुसन्धानपछि १५४ वटा मुद्दा विशेष अदालतमा दायर गर्ने निर्णय भएको थियो। आयोगले राष्ट्रपति विद्यादेवि भण्डारीलाई बुझाएको छ । प्रमुख आयुक्त दीप बस्न्यातले िबहीबार संविधानको धारा २९४ बमोजिम आयोगको २७ औं बार्षिक प्रतिवेदन राष्ट्रपति कार्यालय, शितलनिवासमा आयोजित बिशेष समारोहकाबीच राष्ट्रपति समक्ष प्रस्तुत गरेका हुन् । राष्ट्रपतिले आयोगको बार्षिक प्रतिवेदन ग्रहण गर्दै भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न रणनीतिहरु अवलम्बन गरी सदाचार र निष्पक्षता कायम गरी सुशासन कायम गर्न आयोगले अझ प्रभावकारी भूमिका निर्वाह गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् । साथै आयोगले दिएका सुझाव सरकारले गम्भिरतापूर्वक कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्दै प्रतिवेदन तयार गरी पेश गर्ने सबैलाई धन्यवाद समेत दिइन् । आयोगले सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको बार्षिक प्रतिवेदनमा आयोगबाट सम्पादित कार्यहरुको संख्यात्मक विवरण, अभियोजन र पुनरावेदनसम्बन्धी विवरण, कानूनबमोजिम सम्बन्धित कार्यालयहरुमा लेखी पठाइएको विवरण, तामेली र मुल्तबीसम्बन्धी विवरण, संस्थागत सुदृढिकरणतर्फ आयोगका प्रयासहरु, आयोगले गरेका निरोधात्मक र प्रवर्द्धनात्मक कार्यहरुका साथै भ्रष्टाचारजन्य प्रवृत्तिको विश्लेषण तथा सरकारलाई भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि दिइएका सुझावहरु समेत समावेश गरिएको छ। आयोगमा परेका उजुरीहरु मध्ये शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी करिब २०.३०, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्बन्धित १५.५६,भूमिसुधार तथा व्यवस्था मन्त्रालयसँग सम्बन्धित ६.८५ , स्वास्थ्य सेवासँग सम्बन्धित ४.६० ,गृह मन्त्रालयसँग सम्बन्धित ४.५७ तथा वन तथा भू-संरक्षण मन्त्रालयसँग सम्बन्धित उजुरी ३.८७ प्रतिशत रहेको छ। कुल उजुरीमध्ये ७ हजार ६५ वटा उजुरी प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको, ३०६ वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय भएको र ४ हजार ४९०वटा उजुरी अन्य आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको थियो। आयोगबाट विशेष अदालतमा दायर गरिएका मुद्दाहरुमा घुस सम्बन्धी ५४, झुठा शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी ४०, सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसम्बन्धी १८, गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी ११, गैरकानूनी लाभ वा हानि पुर्याएकोसम्बन्धी ११, राजश्व चुहावटसम्बन्धी ४ र विविध बिषयका ६ वटा मुद्दाहरु रहेका छन्। आयोगबाट विगत वर्षहरूमा विशेष अदालतमा दायर भएका मुद्दाहरूमध्ये आर्थिक वर्ष २०७३।७४ मा १६० वटा मुद्दाहरूको फैसला प्राप्त भएको छ, जसमध्ये७३.१३ प्रतिशत मुद्दाहरूमा पूर्ण वा आंशिकरुपमा आयोगको मागदावी बमोजिम फैसला भएको पाइएको छ । प्रतिवेदन अवधिमा १४६ वटा बिषयहरुमा कानूनबमोजिम आवश्यक कारबाही गर्नका लागि सम्बन्धित निकायहरूमा लेखी पठाइएको थियो भने सार्वजनिक निकायहरुले गर्नुपर्ने सुधारका सम्बन्धमा ६९ वटा सुझावहरू पठाइएको थियो। ७१ जनालाई विभागीय कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाइएको र ४ वटा बिषयहरूमा दुष्परिणाम सच्याउनका लागि सम्बन्धित निकायमा लेखी पठाइएको थियो। सार्वजनिक जग्गाको अतिक्रमण भई व्यक्तिका नाममा दर्ता गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आयोग क्रियाशील रहँदै आएको छ। आर्थिक वर्ष २०७३।७४ मा अनुसन्धानबाट व्यक्तिका नाममा दर्ता देखिन आएका सरकारी तथा सार्वजनिक जग्गाहरुको निर्णय बदर गरी सरकारको नाममा कायम गर्न लेखी पठाइएको मध्ये काठमाडौं उपत्यका लगायतका पहाडी क्षेत्रमा करिब ५ रोपनी र तराईमा करिब २ बिघा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा आइसकेको छ भने छ रोपनी र७७ बिघा सार्वजनिक जग्गा सरकारको नाममा कायम हुने क्रममा छ । आयोगबाट भएको अनुसन्धानको सिलसिलामा सार्वजनिक सम्पत्ति असुल उपर हुँदै आएको छ। आर्थिक वर्ष २०७३।७४ मा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुबाट हानि नोक्सानीहरु सच्याउने कार्य भै ८ करोड ५५ लाख ८४५ हजार रुपैया असुल उपर भएको थियो।२ करोड १ लाख ७४ हजार रुपैया असुल गर्नका लागि सम्बन्धित निकायहरूमा लेखी पठाइएको थियो ।
माछापुच्छे बैंकले वेनी अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण
काठमाडौं । माछापुच्छे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा जिल्ला अस्पताल म्याग्दी,बेनीलाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ । आँखा, नाक, कान, बालचिकित्सा सम्बन्धि जाँच गर्ने उपकरण तथा साधारण औषधी समेत गरी १ लाख १९ हजार रुपैयाँ बराबरको मेडिकल उपकरण बिहीबार हस्तान्तरण भएको बैंकले जनाएको छ । मेडिकल उपकरण जिल्ला समन्वय समिती संयोजक देबेन्द्रबहादुर केसी,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका शाखा प्रबन्धक श्रीधर ढुङ्गानाले संयुक्त रुपमा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष माधब रेग्मी र डा. अम्बालिका शाक्यलाई हस्तान्तरण गरेका हुन् । बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी ७३ स्थानबाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । बंैकको देशभर ८४ वटा एटीएम संचालनमा रहेको छ ।
‘आइएमई छक्का-पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक, रोकायाले पाए १० लाख रुपैयाँ नगद
काठमाडौं । आइएमईले ल्याएको ‘आइएमई छक्का-पञ्जा’अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन् । मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमाआधारित ‘लक्कीड्र’ बाट विजेता घोषित भएका हुन् । पैसा पठाउने रोकाया वा नीजले सिफारिस गरेका व्यक्तिले १० लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, अन्तिम तथा छैठौं १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाउने थापा भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता थापा वा नीजले सिफारिस गरेको व्यक्तिले ६ लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गरेका छन् । अन्तिम नतिजा सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले यस्ता अफरहरुले कम्पनीको सेवा र कम्पनीका सेवाग्राहीहरूलाई नजिकमा ल्याउन ठूलो भूमिका खेलेको बताएका छन् । साथै, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले छक्का–पञ्जा अफरले आइएमईका सेवाग्राहीहरु र व्यवसायीक साझेदारहरुको सम्बन्धलाई पुनर्ताजकिकरण प्रदान गरेको बताउनुभयो । गत भाद्र १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालनमा ल्याईएको यस कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’मा ५ हजार ४० जना, पाक्षिक ‘लक्की ड्र’ मा ६ (छ ) र बम्पर ‘लक्की ड्र’ २ (दुई)जना पुरस्कृत भइसकेका छन् । यस कार्यकममा पैसा पठाउनु हुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्तिमा आधारित रही विजेता छनोट गरिएको थियो ।
बाढीले डुबाएको कृषि क्षेत्र स्थानीय सरकारको चासोमा परेन
काठमाडौं । नेपालको कुल ग्राहस्थ उत्पादनमा (जीडिपी) २९ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा स्थानीय सरकारको चासो कम देखिएको छ । स्थानीय तहमा विनियोजित बजेटमा कूल बजेटको जम्मा २.४६ प्रतिशत कृषिमा र ०.५७ प्रतिशत पशुपन्छीमा छुट्टाएको राष्ट्रिय कृषक समूह महासंघको अध्ययनले देखाएको छ । जबकी पुरानो संरचना हुँदा १५ प्रतिशत अनिवार्य व्यवस्था थियो । सरकारी तथ्यांकअनुसार गत साउनमा आएको बाढीले कृषिमा ५ अर्बको र पशुपन्छीका क्षेत्रमा १० अर्बको क्षति पुगेको छ । महासंघले सर्वेक्षण अनुसार ७५३ स्थानीय तहमध्ये सातवटा प्रदेश समेट्ने ४४ वटा स्थानीय तहलाई नमुनाका रुपमा छनौट गरेको थियो । स्थानीय तहमा कृषि र पशुपन्छी क्षेत्रमा बजेट परिचालन र सदुपयोगको अवस्था अध्ययनबाट अधिकांश स्थानीय तहले यस क्षेत्रलाई संवेदनशिल रुपमा नलिएको प्रस्ट देखिएको छ । दीगो कृषि विकासका आयामहरु प्राथमिकतामा नपरेको विज्ञहरु बताउछन् । अधिकांश स्थानीय तहले रकम विनियोजन गरेपनि हालसम्म २९.५५ प्रतिशत मात्र कार्यान्वयनमा ल्याएको पाइएको छ । कर्मचारी व्यवस्थापन नहुनुले कृषि र पशुपंक्षी क्षेत्रमा ठुलो असर पर्ने देखिएको छ । बजेट अवधि पनि छोटो हुने देखिएको अध्ययनले देखाएको छ । गत बैशाख ३१ मा चुनाव सम्पन्न भएको स्थानीय तहमा हालसम्म कार्ययोजना समेत बनेको छैन । आर्थिक वर्ष १५ जेठमा पारित भएको र हालसम्म पनि विभिन्न कारणले प्रयोगमा नआउनाले स्थानीय तहमा खर्च प्रवृत्तिमा नकारात्मक असर पर्ने देखिएको छ । दिगो र नाफामूलक कृषिका लागि बहुसरोकारवाला निकायको सहभागिता हुनुपर्ने कृषि मन्त्रालयको निश्कर्ष थियो । यद्यपी स्थानीय तहले सो भन्दा बाहिर गएर बजेट निर्माण गरेको पाइएको छ । अध्ययन अनुसार ४४ स्थानीय तहमा जम्मा वडा रहेकोमा पशु सेवा र कृषि प्राविधिक गरी ४७ प्रतिशत मात्र प्राविधिक छन् । यसबाट केन्द्र तथा जिल्लामा प्राविधिक थुप्रने र स्थानीय तहमा प्राविधिक अपर्याप्त संख्यामा रहेको पाइयो । महासंघले नेपालको पुरानो स्थानीय निकाय संरचना अनुसार १५ प्रतिशत रकम अनिवार्य गर्नुपर्ने बाध्यकारी कानुनको आवश्यकता रहेको बताएको छ । त्यस्तै कृषि र पशुपन्छी क्षेत्रको बजेट रकमान्तर गर्न नपाइने कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव पेश गरेको छ ।
माघ ११ देखि सुरु हुँदैछ सूचनाप्रविधिको कुम्भ मेला-क्यान ईन्फोटेक, अनलाईन टिकटमा २० प्रतिशत छुट
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सूचना प्रविधिको कुम्भ मेला क्यान ईन्फोटेक मेला सुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान महासंघ)ले आगामी माघ ११ देखि २४ औं संस्करणको क्यान ईन्फोटेक मेला आयोजना गर्दैछ । ६ दिनसम्म चल्ने मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुर्याउने क्यानले बताएको छ । “सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हालसम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ६० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । क्यानले माघ १४ गते आईतबारलाई विजनेश डे को रुपमा घोषणा गरेको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि १०० रुपैयाँ तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्ने क्यानले जानकारी दिएको छ । यस पटकको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ । जस अन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियत प्रमुख आकर्षण बन्ने क्यानको दाबी छ । साथै टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउंदैछ । मेला अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आमजनमानस माझ सुचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोलामा अनलाईन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाईनेछ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीने क्यानले जानकारी दिएको छ । ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रा.ली रहेको तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रा.लि रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” रहेको छ । त्यस्तै प्लाटिनम स्पोन्सर– वल्र्डलिंक कम्युनिकेसन , डायमण्ड स्पोन्सर– नेपाल टेलिकम र टि.पी लिंक गोल्ड स्पोन्सरहरु– हुवावे, एम.आई. स्मार्ट फोन र महालक्ष्मी मोबाईल , सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस कर्पोरेशन (नेपाल) प्रा.ली रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– नबिन डिस्ट्रिब्युटर्स प्रा. ली रहेको छ । अफिसियलहरुमा बैंक– सन्राइज बैंक, ईन्स्योरेन्स– प्रडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, एस.एम.एस.मा– स्प्यारो एस.एम.एस. र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् ।
एनएमबि बैंकको दुई नयाँ शाखा धनुषाको बट्टेश्वर र ईलामको चुलाचुलीमा
काठमाडौं । एनएमबि बैंकले धनुषाको बट्टेश्वर र ईलामको चुलाचुलीमा गरी एकैसाथ दुई नयाँ शाखाहरु संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग पँहुच नपुग स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने रणनिती लिए बमोजिम मिति एनएमबि बैंकले नयाँ शाखाहरु संचालनमा ल्याईएको हो । उक्त शाखा सञ्चालन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सीले – “देशको बिभिन्न स्थानहरुमा बैंकको नयाँ शाखा संचालनले बैंकिङ्ग पँहुच नपुगेका स्थानीय निकायहरुमा समेत सरल बैकिङ्ग सेवा पुग्ने र सरल बैकिङ्ग सेवा पुर्याउँदै समृद्ध नेपाल प्रति बैंकले लिएको प्रतिबद्तालाई सार्थकता प्रदान गर्ने कुरामा हामी विश्वस्त रहेको छौं” बताए । नयाँ शाखाहरुको शुरुवात सँगै एनएमबि बैंककोे कुल ९३ शाखा ८७ एटिएम र ४ एक्टेन्सन काउन्टर पुगेको छ ।
पाटाले सन् २०३० मा ५० लाख पर्यटक भित्राउने
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्राउन ‘भिजन ५ मिलियन योजना’ सार्वजनिक गरेको छ । बुधबार पाटाको ४१ औं साधारणसभामा पाटाले सरकार र निजी क्षेत्र मिलेर सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने योजना सार्वजनिक गरेको हो । पाटाले भिजन ५ मिलियन योजनालाई सार्वजनिक गर्दै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गरी पर्यटकलाई नेपाल ल्याउनका लागि पहलकदमी भूमिका समेत खेल्ने जनाएको छ । पाटाले संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी सहश्राब्दीविकास लक्ष्यअनुरुप गुरुयोजना बनाएको हो । साधारणसभामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालमा पर्यटक भित्राउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने बताए । ‘निजी क्षेत्रले मात्र काम गरेर हुँदैन त्यसका लागि सरकारले पनि पूर्वाधार निर्माण गर्नुपर्छ, सरकारले अधिक पर्यटक भित्राउन पूर्वाधार निर्माणमा जोड दिएको छ,’उनले भने । निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम चाडो सके पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउने न्यौपानेले बताए । ‘भारत र चीनका पर्यटकलाई लक्षित गरेर कार्यक्रम बनाउन सकेमात्र पनि ठूलो संख्यामा नेपालमा पर्यटक आउँछन्,’उनले भने । कार्यक्रममा राष्टिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले पर्यटनमार्फत मुलकको आर्थिक विकास संभव रहेकाले पूर्वाधार विकासमा नै जोड दिनुपर्ने बताए । पूर्वाधार विकासका लागि सरकार र निजीक्षेत्र मिलेर काम गर्नुपर्छ, उनले भने । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले पर्यटकीय संभावना बोकेका नयाँ गन्तब्यको खोजी गरी ब्यापक प्रवद्र्धनमा साझेदारिताकासाथ अघि बढाए योजनाले सार्थका पाउने बनाए । पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेले भूकम्पपछिको पर्यटनको अवस्था सामान्य बन्दै गएकाले अब पर्यटनमा व्यापक लगानी र प्याकेजको आवश्यकता परेको बताए । ‘अब बन्ने सरकारले पनि सन् २०३० सम्ममा ५० लाखपर्यटक भित्राउने लक्ष्य राखेको छ हामीले पनि त्यहि लक्ष्यलाई भिजन बनाएका छौं,’उनले भने । साधारणसभाले पर्यटन व्यवसायी सुनिल शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्वतमान अध्यक्षमा सुमन पाण्डे, प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका सिइओ जोेशी, उपाध्यक्षमा नेपाल वायुसेवा निगमका ‘कर्पोरेट’ निर्देशक जनकराज कालाखेती, महासचिवमा विभुति चन्द ठाकुर र कोषाध्यक्षमा शिवप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
बजार सामान्य अंकले ओरालो, तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि
काठमाडौं । बिहीबारको सेयर बजार सामान्य ०.५९ अंकले ओरालो लागेर १५२० अंकमा अडेको छ । बजारमा ४५ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५३ कम्पनीको १४ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७२ रुपैयाँ रहेको छ । सामान्य अंकले ओरालो लागेको बजारमा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । बजारमा सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कुबेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्सको सेयर मूल्य क्रमशः ९.७६ र ९.७४ प्रतिशतले बढेको छ । बिहीबार होटल समूहको परिसूचक सबैभन्दा बढी २७ अंकले राताम्मे भएको छ । त्यस्तै, हाइड्रोपावर र बीमा समूहको परिसूचक क्रमशः २३ र २० अंकले राताम्मे भएका छन् । उता, अन्य समूहको परिसूचक भने १३ अंकले उकालो लागेको छ ।