विकासन्युज

विश्व बैंकलाई हस्तकलामा लागानी गर्न उद्योगमन्त्रीको आग्रह

काठमाडौं। उद्योगमन्त्री सुनिलबहादुर थापाले ग्रामिण क्षेत्रमा सहयोग पुग्ने गरी हस्तकला क्षेत्रमा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । गरिबी निवारण कोषको आयोजनामा राजधानीमा तीन दिनसम्म सञ्चालन भएको दक्षिण एसियाली हस्तकला महोत्सवको आइतबार भएको समापन कार्यक्रममा बोल्दै उनले नेपालको ग्रामिण क्षेत्रको लागि हस्तकला सम्बन्धी कार्यक्रमहरुमा लगानी गर्न बैंकलाई अग्रह गरेका हुन् । साथै उनले हालको कार्यक्रमहरुलाई समेत जारी राख्न पर्ने धारणा व्यक्त गरे । ‘समाजको दिगो विकासको लागि ग्रामिण क्षेत्रमा हस्तकलाको विकास हुन आवश्यक छ,’ उनले भने ‘हस्तकलाकोे विकासले गरिबी न्यूनिकरणमा सहयोग पुग्नका साथै मुलुकको व्यापार घाटा घटाउन समेत टेवा मिल्नेछ ।’ नेपाली कालिगढहरुले उत्पादन गरेको  ‘नेपाल को’ ब्राण्डलाई अझ निर्यातमूखी बनाउदै लान पर्ने उनको जोड छ । कार्यक्रममा वाणिज्य मन्त्रालयको सचिव चन्द्रकुमार घिमिरेले गरिबी न्यूनिकरण, दिगो विकास लगयतलाई हस्तकलाले सहयोग गर्ने बताए । ‘सरकारले पछिल्लो समय स्वदेशी उत्पादनलाई अघि बढाउन एकीकृत व्यापार रणनीति (एनटीआईएस) ल्याएको छ,’ उनले भने ‘त्यसले हस्तकला तथा हस्तकलाका उद्योगी कालिगढहरुलाई सहयोग पुग्नेछ ।’ त्यस्तै हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले महोत्सव उपलब्धिमुलक भएको बताए । महोत्सव अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको लागि सुरुवाती खुड्कीलो भएको उनको बुझाइ छ । अझै गर्न पर्ने धेरै रहेको उनले बताए । महोत्सवमा नेपालका एक सयभन्दा बढी कालिगढसहित भारतीय र पाकिस्तानी कालीगढहरूले बनाएका हस्तकलाहरू प्रदर्शन भएको थियो । साथै महोत्सवमा हस्तकला सम्बन्धी क्षेत्रीय चुनौती र सिकाईबारे समेत छलफल, एकआपसका अनुभवहरु आदानप्रदान गरिएको आयोजकको भनाइ छ ।    

इन्टरनेसनल सिमेन्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल नियुक्त

काठमाडौं । इन्टरनेसनल सिमेन्टले अभिनेता राजेश हमाललाई आफ्ना उत्पादनहरुको ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनी र अभिनेता हमालबीच शनिबार सो सम्बन्धी अनुबन्ध पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनी सञ्चालक विमल अग्रवाल र हमालले हस्ताक्षर गरेका छन् । अब इन्टरनेसनल सिमेन्टका उत्पादनहरुको प्रवद्र्धन अभियान तथा प्रचार सामग्रीमा अभिनेता हमाल सामेल हुनेछन् । वीरगन्जस्थित इन्टरनेसनल सिमेन्टले ओम, ज्योति र रुद्राक्ष, ब्रान्ड नाममा सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनी सञ्चालक अग्रवालले हमालको सहभागिताबाट आफ्ना ब्रान्डको बजार प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

ज्योति विकास बैंकको सीईओमा मनोज ज्ञवाली

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । डेपुटी सीईओ रहेका ज्ञवालीलाई सञ्चालक समितिले आइतबार सीईओमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल लिमिटडमा काम गरिसकेका छन् । सीए ज्ञवाली नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा सञ्चालक पनि रहेका छन् ।

ज्योति विकास बैंकको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार राजधानीमा सम्पन्न १० औं वार्षिक साधारणसभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापूँजीकोे १० प्रतिशतका दरले हुुने २२ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरको बोनस सेयर स्वीकृत गरेको हो । सभाले तत्कालिन राप्तीभेरी बिकास बैंकका शेयरधनीलाई संचालक समितिबाट पारित वित्तीय विवरणका आधारमा चुक्तापूँजीकोे ६ प्रतिशतका दरले हुुने ९४ लाख २३ हजार रुपैयाँ बोनस सेयर वितरण गर्न स्वीकृत प्रदान गरेको छ । यसपछि बैकको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ पुग्ने छ ।सो अवसरमा बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, लकर, एटिएम, ३६५ दिने बैंकिङ्गका साथै एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । साविकको राप्तीभेरीलाई प्राप्ति गरे पश्चात ११ वटा नयाँशाखा संचालनमा आउने भएका छन् । यसपछि शाखा सञ्जाल ४९ वटा, १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।  हालसम्म बैंकले १३अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब १० करोड रुपैयाँ ऋण लगान गरेको छ ।

चार जना पत्रकारलाई ‘प्याफ’ जर्नालिज्म पुरस्कार, प्रत्येकले पाए ४० हजार

काठमाडौं। गरिबी निवारण क्षेत्रमा सशक्त रुपमा कलम चलाउदै आएका चार जना पत्रकारलाई ‘प्याफ नेशनल जर्नालिजम एवार्ड–२०७४ वितरण गरिएको छ । आइतबार राजधानीमा दक्षिण एसियाली हस्तकला महोत्सवको समापनको अवसरमा पत्रकारहरुलाई उद्योगमन्त्री सुनिलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए । चार विधामा पुरस्कार वितरण गरिएको थियो । जसमा नेपाली छापामा नागरिक दैनिकका महेशकुमार दास, अंग्रेजी छापामा हिमालय टाइम्सका बाजुराका संवाददाता प्रकाशसिंह, विद्युतिय इलेक्ट्रोनिककातर्फबाट कमिनिटी रेडियो नेटवर्कका लक्ष्मी बस्नेत पुरस्कृत भएका छन् । त्यस्तै मोफसलतर्फ जनता पत्र सिन्धुपाल्चोकका टिका सुवेदी पुरस्कृत भएका छन् । उनीहरुलाई जनही ४० हजार रुपैयाँ, प्रमाण पत्र लगायत प्रदान गरिएको छ । प्याफले विगत वर्षदेखिनै गरिबी निवारण सम्बन्धमा कलम चलाउने पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ । गरिबी निवारण विकास सम्बन्धमा सशक्त कलम चलाएको, पत्रकारीता गरेको अबधि लगायत तथा निर्णय मण्डलले गरेको छनौट गरेको आधारमा ती पत्रकारहरु पुरस्कृत गरिएको बताइएको छ ।

आशा लघुवित्तद्धारा २ दिने लघुवित्त व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कृषि विकास बैंक, क्षेत्रिय तालिम केन्द्र विरेन्द्रनगर, चितवनमा २ दिने लघुवित्त व्यवस्थापन तालिम दिएको छ । संस्थाले पुस २८ र २९ गते २० वटा शाखा कार्यालयहरुका सम्पुर्ण फिल्ड कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो । सो २ दिने कार्यक्रममा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीता, सम्भावना र चुनौती, कर्मचारीको व्यक्तित्व विकासका विषयमा तालिम दिइएको थियो । सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल, मानव संशाधन तथा कार्य संचालन विभाग प्रमुख जीवन खनाल, कर्जा तथा अनुगमन विभाग प्रमुख रविन खतिवडा, सुचना प्रविधि विभागका सुदिप रेग्मी, अनुगमन अधिकृतहरु सुजित खतिवडा, सुशिल पौडेल र शाखा कार्यालय भरतपुर, चितवनको शाखा प्रवन्धक कमला बश्यालले कार्यक्रममा विविध विषयमा सहभागीहरुलाई तालिम दिएका थिए । साथै, संस्थाले यहि महिनाको पहिलो साता बाँकेको, कोहलपुरमा १६ वटा शाखा कार्यालयहरुमा कार्यरत सम्पुर्ण फिल्ड कर्मचारीहरुलाई सोही तालिम प्रदान गरेको थियो । हाल संस्थाको ३६ वटा शाखा कार्यालयहरु रहेको छ ।

जलविद्युत र पर्यटन आर्थिक विकासकाे मेरुदण्ड : चन्द्रप्रसाद ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत र पर्यटन मुलुकको आर्थिक विकासका मेरुदण्ड भएको बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आइतबार बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सव तथा सक्रान्ति मेलालाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले सो कुरा बताएका हुन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महासंघले एक जिल्ला एक उत्पादन कार्यक्रम संचालन गरेको उल्लेख गर्दै म्याग्दीमा कृषि उत्पादनका अतिरिक्त खनिज पदार्थको उत्पादन र प्रशोधनको उत्तिकै सम्भावना रहेको उल्लेख गरे । मुलुकले संघीय संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अब सबैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको विचार व्यक्त गरे । म्याग्दी रेमिट्यान्स भित्राउन अग्रणी भुमिका रहेको बताउँदै उनले रेमिटेन्सलाई सामुहिक लगानीमा आकर्षित गरी म्याग्दीको आर्थिक विकासमा लगाउन सबैसंग आग्रहगरे । पुर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि, विभिन्नकार्यालय प्रमुखहरु , स्थानीय उद्योगी एवम् व्यवसायीहरुले महोत्वस सफलताको शुभकामना व्यक्त गरेका थिए ।

एभरेष्ट बैंकको २३ औं साधारणसभा सम्पन्न, ३३ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २३ औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कम्पनीको उक्त सभाले सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । साथै, उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको १.७४ प्रतिशत नगद लाभांश (कार प्रायोजनको लागि) लाई दिने प्रस्ताब अनुमोदन गरेको छ ।३३ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँभन्दा बढि हुने कम्पनीले जनाएकाे छ । बैंकले वार्षिक साधारण सभाको अबसरमा ५ वटा नयाँ शाखासमेत खोलेको छ । महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखरमा आफ्नो नयाँ शाखा खोलेको हो । साथै, बैंकले मोरङको बिराटचोक, इलामको फिक्कल, रौतहटको गौरादह, कैलालीको लम्की र झलारीमा नयाँ एक्टेन्सन् काउन्टर खोलेको छ । बैंकले साधारण सभाको अवसरमा आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिको लागि केन्द्रिय कार्यालयमा ‘इबिएल ट्रेनिङ एकेडेमी’ समेत संचालनमा ल्याएको छ । प्रविधिमा लगानी बढाउदै बैंकले कर्मचारीको लागि इ लनिङ मोवाइल एप ‘सरस्वति’को समेत सुरुवात गरेको छ । बैंकले आफ्नो २३ औं बार्षिक उत्सबको अवसर पारेर प्रतिबिम्ब “प्रतिबिम्ब” नामक बार्षिक प्रकाशन सुरु गरेको छ । बैंकले आफ्नो ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९५ एटिएम मेशिनहरुबाट दिदै आएको छ । बैंकले निकट भबिष्यमा नै ११ नयाँ शाखा थप गर्दै आफ्नो सेवा बिस्तार गर्ने योजना बनाएको छ ।