गरिमा विकास बैंकको सञ्चालकमा खड्का र ढकाल चयन
काठमाडौं । गरिमा विकास बैंकको नयाँ सञ्चालकमा डा. भुपेन्द्रबहादुर खड्का र सञ्जिब ढकाल चयन भएका छन् । बैंकको हालै सम्पन्न ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालकमा खड्का र ढकाललाई चयन गरेको छ । डा. भुपेन्द्रबहादुर खड्का सञ्जिब ढकाल खड्का र ढकाल दुबै जना सर्वसाधारण समूहबाट सञ्चालकमा निर्वाचित भएका हुन् ।
कालीगण्डकी करिडोरको कुस्मा-मिर्मी खण्डको ट्रयाक असारभित्रै खोल्ने
पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको कुस्मा-मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्रयाक खोल्ने कार्य सकिने भएको छ । करिडोरको मिर्मी-कुस्मा खण्डमा पर्वतको मुडिकुवादेखि अर्मादी र स्याङ्जाको मोहनडाँडादेखि मिर्मी सम्मको थोरै भूभागमा बाँकी रहेको ट्रयाक खोल्ने काम असार सम्ममा नै सक्न लागिएको हो । करिडोरको मिर्मी-कुस्मा खण्डमा झण्डै दुई किलोमिटर मात्रै सडकमा ट्रयाक खोल्न बाँकी रहेको छ । भारतसँगको सिमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने गैँडाकोट-मिर्मी-फलेवास-जोमसोम-कोरल्ला सडक ३७७ किलोमिटर लामो छ । सेतीवेणी-मिर्मी खण्डमा पर्ने पिँडीखोलाको ठूलोखोलादेखि मिर्मी सम्मको सय मिटर कठिन पहरोमा ट्रयाक खोल्न बाँकी छ भने पर्वतको मोदीवेणीदेखि अर्मादीसम्म मात्रै डेढ किलोमिटर मिटर ट्रयाक खोल्नका लागि काम भइरहेको छ । “थोरै मात्र ट्रयाक खोल्न बाँकी छ, यसै वर्षभित्र खोलिसक्ने गरी काम अगाडि बढाइएको छ”, करिडोरको गैँडाकोट-राम्दी-मालढुंगा आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले भने । मोदीवेणी र मोहनडाँडा मिर्मी खण्डको पहरोमा ट्र्याक बनाउन विस्फोटन गर्नुपर्ने आवश्यकता भएकाले नेपाली सेनाको सहयोग लिनुपर्ने देखिएको छ । कालीगण्डकी करिडोरमा कालीगण्डकी पश्चिममा पाल्पा-गुल्मी-बागलुङ खण्डमा सडकको अधिकांश ट्रयाक नेपाली सेनाले खोलेको छ भने विभिन्न खोलामा बेली ब्रिज बनाउने कामसमेत सम्पन्न गरिसकेको छ । पर्वत खण्डमा भने ठेकेदारले समयमा काम नगर्दा गत वर्ष नै ट्रयाक खोल्ने भनिए पनि अझै काम हुन सकेको छैन । अहिले फलेवास नगरपालिकाको मुडिकुवादेखि अर्मादी खण्डमा ट्र्याक खोल्ने काम भइरहेको छ । मोहनडाँडादेखि मिर्मीसम्म विस्फोटन गर्नुपर्ने भएकाले सेनाले सहयोग नगरेसम्म काम अधुरै छ । आयोजना कार्यालयका अनुसार फलेवासदेखि अर्मादी सम्मको सडकको ट्र्याक खोल्ने काम असार सम्ममा सक्ने लक्ष्य छ । रानीपानीदेखि फलेवाससम्मको २२ किलोमिटर सडक चक्लाबन्दी गरी ग्राभेल स्ट्याण्डर्डको बनाउन टेण्डर आह्वान भइसकेको छ । त्यसका लागि रु ३९ करोड ३० लाख बजेट विनियोजन भएको छ । अहिले पनि मोदीखोला, लमायखोला र सेतीखोलामा पक्कीपुल निर्माणका लागि काम शुरु भएको छ भने आँधीखोलामा पुल निर्माणका लागि टेण्डर आह्वान गर्न अन्तिम चरणमा रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । “सडकको धेरै क्षेत्रमा काम भइरहेको छ, बजेटको पनि अभाव छैन”, उनले भने, “भूगोल र ठेकेदारका कारण कहिलेकाहीँ समस्या आएको छ”, उनले ठेकेदारलाई दबाब दिएर पनि लक्ष्यअनुसार समयमा काम सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् । कालीगण्डकी करिडोरको पर्वत-मिर्मी खण्ड जम्मा ५५ किलोमिटर छ भने बागलुङ-गुल्मी-पाल्पा खण्ड यो भन्दा झण्डै ३० किलोमिटर बढी छ । पर्वत खण्डमा समयमा पुल र सडकको काम सक्ने हो भने उत्तर दक्षिण आउने सवारी साधनले यही मार्ग प्रयोग गर्ने सम्भावना छ । कालीगण्डकी करिडोरको पर्वत खण्डका लागि निरन्तर अभियान चलाइरहेका प्रदेशसभा सदस्य विकास लम्साल यो खण्डको काम जुनसुकै हालतमा पनि समयमा पूरा गराउने बताए । “कुस्मा-मिर्मी खण्डमा पुल र सडक निर्माणका लागि निरन्तर दबाब र अनुगमन जारी रहन्छ”, उनले भने, “समयमा नै काम सम्पन्न गर्न बजेटदेखि प्रक्रियागत ढिलाइ हुन दिइने छैन ।” पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरीले पनि करिडोरको कामलाई जुनसुकै हालतमा पनि सम्पन्न गराउन बजेटको कमी हुन नदिने बताए । ठेकेदारका कारण ढिलाइ हुने अवस्थामा नेपाली सेनालाई जिम्मा दिएर पनि काम अघि बढाउनुपर्ने उनको धारणा छ । गिरी सहितको टोलीले बागलुङ-गुल्मी खण्डमा नेपाली सेनाले गरेको काम अवलोकन गरेर फर्केको छ । अवलोकनका क्रममा नेपाली सेनालाई जिम्मा दिएमा सोचेको भन्दा छिटो र गुणस्तरीय हुने देखिएको उनले बताए । रासस
महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई सहयोग वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नवलपरासीेको तिलौली स्थित त्रिमूर्ती प्राथमीक विद्यालयलाई २ थान कम्प्युटर र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय परासीले वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर साे विद्यालयलाई उक्त सहयोग प्रदान गरेको हो । कार्यक्रममा रामग्राम नगरपालीकाका मेयर नरेन्द्र गुप्ताले बैंकको यो कार्य सराहनीय भएको र यस सहयोगले अहिलेको आधुनिक युगमा, शहरमा जस्तै गाउँ गाउँमा पनि विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्न विद्यालय समर्थ भएको बताएका छन् । उक्त कार्यक्रममा श्री त्रिमूर्ती प्राथमीक विद्यालयका प्रधानाध्यापक मस्जीद अलि अन्सारीले आफ्नो विद्यालयलाई छानेर सहयोग गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गरेका छन् । साथै, यस बैंकले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।
नबिल फाउण्डेसनद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं। नबिल बैंंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बाटुलेचौरको गोकर्णेश्वर स्थित श्री राम जानकी आधारभूत विद्यालयका कक्षा ८ सम्मका छात्र छात्राहरुलाई ब्याग तथा सिसा कलम बितरण गरेको छ । फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा सञ्चालक माधवप्रसाद रेग्मीले सरस्वती पूजाको दिन पारेर उक्त सामाग्रीहरु बितरण गरेका फाउण्डेसनले जनाएको छ । फाउण्डेसनको अनुसार वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालको उपस्थित रहेको थियो । सो अवसरमा फाउण्डेसनका अध्यक्ष अग्रवालले शिक्षा क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
सरकारी ढुकुटीको पैसा बैंकहरुले नपाउने
काठमाडौं । बाणिज्य बैंकहरुले सरकारी ढुकुटीमा रहेको पैसा निक्षेपका रुपमा नपाउने भएका छन् । लगानी योग्य पुँजी अभावको तत्कालिन समाधानका रुपमा सरकारको बिभिन्न कोषको रकम बाणिज्य बैंकहरुलाई दिन सकिने वा नसकिनेबारे अर्थमन्त्रालयले छलफल चलाएको थियो । ‘सरकारी कोषको केहि रकम बाणिज्य बैंकलाई निक्षेपका रुपमा दिन मिल्छ की मिल्दैन भनेर अध्ययन गरिरहेका छौं, अध्ययन सकिँदासम्म लगानी योग्य पुँजीको अभाव पनि हट्न सक्छ’, अर्थमन्त्रालयका एक सहसचिवले भने । उनका अनुसार बाणिज्य बैंकलाई सरकारी कोषको रकम निक्षेपका रुपमा दिने वा नदिने भन्नेबारे प्रारम्भिक अध्ययन मात्रै भएको हो । सरकारी ढुकुटीको पैसा बैंकहरुलाई उपलब्ध गराउन विद्यमान कानुनले नदिने अवस्था रहेको पनि उनले बताए । ‘हामीले सरकारी कोष पनि चलायमान हुनुपर्छ भन्ने मान्यता अघि सारेका छौं, यहि बेलामा वित्तिय क्षेत्रले कोषको पैसा माग्यो, हामीले के हुन सक्छ भनेर बुझ्न मात्रै थालेका थियौं, यहाँ त पाइन्छ रे भनेर हल्ला नै हुन थाल्यो, विद्यमान कानुनले त्यस्तो गर्न दिँदैन’, ति अधिकारीले भने । उता, राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापाले भने सरकारी कोषको पैसा बाणिज्य बैंकहरुलाई निक्षेपका रुपमा दिन नसकिने स्पष्ट पारे । वित्तिय क्षेत्रले निक्षेप संकलन गरेर कर्जा प्रवाह गर्नु भएकाले सोही अनुसार आफ्नो काम गर्न बैंकहरुलाई सुझाव पनि दिएका छन् । बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा लगानी धेरै मात्रामा बढाएकाले लगानी योग्य पुँजीको अभाव भएको पनि बताए । ‘निक्षेप संकलन भन्दा धेरै कर्जा लगानी गर्ने अनि सरकारी कोषको पैसा चाहियो भन्ने यस्तो पनि हुन्छ ?’, कार्यकारी निर्देशक थापाले भने । उता, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि निक्षेप बढाउन नसके कर्जा लगानी पनि नगर्न बैंकरहरुलाई निर्देशन दिँदै आएका छन् । उनले निक्षेपको वृद्धि दर भन्दा धेरै कर्जा लगानी गरेर बैंकहरुले निउँ खोजेको भन्दै कडा कदम चाल्ने चेतावनी समेत दिएका थिए । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने सरकारी कोषहरुमा जम्मा भएको केहि रकमलाई निक्षेपका रुपमा उपलब्ध गराएर सरकारले लगानी योग्य पुँजी अभावको तत्कालिन समाधान दिनुपर्नेमै जोड दिए । ‘सरकारी कोषमा रहेको केहि रकमलाई निक्षेपका रुपमा बैंकहरुलाई उपलब्ध गराएर यो समस्याको समाधान गर्न सकिन्छ भन्ने सुझाव दिएका छौं, त्यसो गर्दा हामीले पनि बिजनेश पाउँछौं र सरकारको आम्दानी पनि बढ्छ’, नेपाल बंगलादेश बैंकका सिइओ समेत रहेको बैंकर्स संघका अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने ।
फागुनमा अन्तर्राष्ट्रिय व्यापार मेला हुदै, मंलबारदेखि मेलाको लागि स्टल बुकिङ खुल्ला
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिदै आएको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ यस वर्ष फागुन २४ देखि २८ गतेसम्म राजधानीमा हुने भएको छ । काठमाडौं स्थित भृकुटीमण्डपमा आयोजना हुने उक्त सातौ व्यापार मेलाको लागि मंगलबार बाट स्टल बुकिङ खुल्ला गरिएको जनाइएको छ । नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न तथा स्वदेशी उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्र मुलुकको अर्थतन्त्रलाई उकास्न सघाउ पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागेको हो । मेला आयोजना गर्न वाणिज्य मन्त्रालयले सहयोग गर्ने भएको छ भने, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रवद्र्धन गर्ने भएको छ । अयोजकको अनुसार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको ३ सयभन्दा बढी स्टल रहनेछ । मुलुकबाहिर सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, मलेशिया लगायतका देशहरूको सहभागिता रहनेछ । मेलामा मुख्य आकर्षण हस्तकलाका उत्पादनहरू, एनटीआइएसका प्रोडक्टहरू रहनेछन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रियाको व्यवस्था गरिने जनाइएको छ। हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी स्टलहरु राखिने छ । त्यस्तै शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन लगायतका पनि छुट्टाछुट्टै स्टलहरू रहने अयोजकले जानकारी दिएको छ । विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल हुने सो मेलाको स्वदेशी र विदेशी गरी करिव २ लाख ग्राहक तथा अवलोकनकर्ताहरूले अवलोकन गर्ने आयोजकले अपेक्ष राखेको छ । आयोजकका अनुसार गएको वर्ष भएको छैटौ मेलामा एकलाखभन्दाबढी स्वदेशी एवं विदेशी अवलोकनकर्ताहरुले मेलाको अवलोकन गरेका थिए ।
मृगौला, क्यान्सर र प्यारालाइसिस रोगीलाई दिईने ५ हजार भत्ताको कार्यविधी एक हप्ता भित्रै
काठमाडौं । नेपाल सरकारले मृगौला, प्यारालाइसिस र क्यान्सरका बिरामीहरुलाई दिने भनिएको ५ हजार रुपैंयाको कार्यविधी स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकृत हरिदास शर्माका अनुसार मन्त्रालयले कार्यविधी निर्माण गरी मन्त्रीपरिषदमा पेस गरेको हो ।अहिले मन्त्रिपरिषदमा राय तथा सुझाव संकलनको कार्य भैरहेको र ४/५ दिनमा कार्यविधी पास हुने चिकित्सा सेवा विभागका प्रमुख भोला राम शर्माले जानकारी दिए । गत पुस महिनामा सरकारले मृर्गौला, क्यान्सर र प्यारालाइसिसका बिरामीहरुलाई जिवन यापन सहज बनाउन भन्दै मासिक ५/५ हजार रुपैंया दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषदले कार्यबिधी पास गरेपछि यी रोगका पीडितहरुले मासिक पाँच हजार भत्ता पाउनेछन् । विभागका प्रमुख शर्माले कार्यबिधी पास भए लगत्तै रोगीहरुलाई भत्ता वितरण गर्ने बताए । सरकारले अहिले मृर्गौलाका रोगीहरुलाई त्रिवी शिक्षण अस्पतालमा निःशुल्क डायलाइसिसको व्यवस्था गरेको छ । यस्तै प्यारालाइसिसको बिरामीलाई एक लाख रुपैया खर्च दिदैँ आएको छ भने अंग प्रत्यारोपण गर्नका लागी ५ लाख ५० हजार प्रदान गर्दै आएको छ । सरकारले पिडीतहरुलाई दिने भत्ता रकम रक्सी र चुरोट लगायत बस्तुहरुमा थप कर लगाई रकमको स्रोत जुटाउने तयारी गरेको छ ।
ओम डेभलपमेन्ट बैंकको नाफा घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ओम डेभलपमेन्ट बैंकको नाफा घटेको छ । गत पुससम्म बैंकले १५ करोड रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले बुधबार चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा घटेको जानकारी दिएको हो । तरलता कसिलो हुदा थप लगानी गर्न नसकेको र निक्षेपको लागत बढेका कारण नाफा घटेको बैंकले जनाएको छ । बैंकको निष्क्रिय कर्जा १.१७, निक्षेप लागत ८.४०, सीडी रेसियो ७६.४७, आधार ब्याजदर ११.४७ र स्प्रेड दर ४.८३ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप बढेर १७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप १२ अर्ब ९९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भएको छ । बैंकले १५ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा कर्जा लगानी ११ अर्ब ३४ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर ९१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । चुक्तापुँजी २ अर्ब १३ करोड रुपैयाँ छ ।