अब मोबाइलमा पैसा सकिए पनि फोन काटिँदैन, टेलिकमले ल्याउँदैछ निर्ब्याजी सापटी योजना
काठमाडौं । फोन गर्दा गर्दै पैसा सकिएर फोन काटिने समस्याबाट हैरान हुनु भएको छ ? चिन्ता नगर्नुस, अब पैसा सकिएर तपाईले मोबाइलमा कुरा गर्न नपाउने दिन सकिए । किनकी नेपाल टेलिकमले अब तपाईको खातामा स्वतः पैसा राखिदिने छ, त्यो पनि निर्ब्याजी । टेलिकमले आगामी एक महिना भित्रै निर्ब्याजी सापटी योजना कार्यान्वयनमा ल्याउँदैछ । त्यसका लागि टेलिकमका प्रिपेड मोबाइल फोन प्रयोगकर्ताहरुले एक पटक सापटी योजनामा आवद्ध हुनु पर्नेछ । त्यसपछि कुनै पनि समयमा फोन गर्दा गर्दै पैसा सकिएर लाइन काटिने समस्या आउने छैन् । ‘सापटी योजनामा आवद्ध भएपछि इन्टरनेट चलाउँदा चलाउँदै र फोन गर्दा गर्दै पैसा सकिएर काटिने अवस्थाको अन्त्य हुनेछ, टेलिकमले निश्चित रकम स्वतः खातामा राखिदिनेछ’, टेलिकमका एक उच्च अधिकारीले भने । उनले त्यसरी प्राप्त हुने रकमको सिमाबारे भने छलफल भैरहेको जानकारी पनि दिए । ‘कति रकमको सापटी सुबिधा दिने भन्नेबारेमा छलफल जारी छ, केहि प्रबिधी पनि ल्याइँदैछ, आगामी एक महिनाभित्र हाम्रा उपभोक्ताले सापटी योजनाको उपयोग गर्न पाउनेछन्’, ती अधिकारीले भने । व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई निर्ब्याजी सापटी योजना तत्काल सञ्चालन गर्न निर्देशन दिएको थियो । समितिको सोही निर्णय बमोजिम कम्पनी सापटी योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।
विद्युत प्राधिकरणमा ७ जना उपकार्यकारी निर्देशकमा बढुवा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गरेको छ । विद्युत प्राधिकरणको बुधबारको सञ्चालक समिति बैठकले निर्देशकहरु लेखनाथ कोइराला, शान्तिलक्ष्मी शाक्य, जगदिश्वरमान सिंह, मोहनरत्न शाक्य, हरराज न्यौपाने, हितेन्द्र देव शाक्य र अनिलराज भण्डारीलाई बढुवा गरेको हो ।
देव: विकास बैंकले नाफा बढाउन सकेन
काठमाडौं । देव विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाउन सकेन् । चालु आवको पुससम्म बैंकले १४ करोड ६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १४ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानी १७.२३ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १३६.७९रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा पनि १.७० प्रतिशतबाट बढेर २.५७ प्रतिशत पुगेको छ । बैंकले २ करोड ७५ लाख प्रोभिजन गरेको छ ।
लुम्बिनी विकास बैंकको हकप्रद सेयर बिहीबारदेखि निष्कासन
काठमाडौं । लुम्बिनी विकास बैंकले चुक्तापुँजी बढाउन बिहीबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ । बैंकले २० करोड ८ लाख रुपैयाँको २० लाख ८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । फागुन १६ गते हकप्रद सेयर निष्कासन बन्द हुनेछ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब २० करोड ९७ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।
सन नेपाल लाइफको साधारणसभा फागुन ४ मा, आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा फागुन ४ गते हुने भएको छ । गत असोजदेखि जीवन बीमा व्यवसाय सुरु गरेको सन लाइफले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ । यस्तै सञ्चालकको बैठक भक्ता, प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक स्वीकृत गर्ने प्रस्ताव सभामा पेश हुने सनले जनाएको छ । कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीले ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।
नेपाल बंगलादेश बैंकको नाफा ४३ करोड मात्रै, उच्च ब्याजदरको असर नाफामा
काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा ४३ करोडमै सिमित भएको छ । बैंकको नाफा चालु आवको पुस मसान्त अवधीमा ११ करोडले घटेर ४३ करोडमा खुम्चिएको हो । बैंकले गत आवको सोही अवधीमा ५४ करोड नाफा कमाएको थियो । ब्याजदर वृद्धिको प्रभाव बैंकको नाफामा परेको देखिन्छ । बैंकले गत आवको पुस मसान्त अवधीमा ८४ करोड ब्याज खर्च गरेको थियो । तर चालु आवको सोही अवधीमा भने बैंकको ब्याज खर्च १ अर्ब ७२ करोड पुगेको छ । बैंकको खराब कर्जा पनि ०.९९ प्रतिशतबाट १.४७ प्रतिशत पुगेको छ । प्रति सेयर आम्दानी पनि २७ रुपैंयाँबाट घटेर ११ रुपैंयाँमा झरेको छ ।
नेपाल एसबीआई बैंकको नाफा ९१ करोड, निष्क्रिय कर्जा न्युन
काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षका ६ महिनामा नाफा बढाएको छ ।चालु आर्थिक वर्षको पुससम्म बैंकले ९१ करोड ३० लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा ७५ करोड ८७ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा एसबीआईले १६ करोड रुपैयाँ बढी नाफा गरेको छ । बैंकले बिहीबार चालु आवको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै निक्रिय कर्जा ०.१३ प्रतिशत मात्र रहेको जानकारी दिएको छ । निक्षेप लागत ५.१४, सीडी रेसियो ७७, आधार ब्याजदर ९.५० प्रतिशत भएको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर ८५ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ७७ अर्ब ५९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भएर ७१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ५९ अर्ब ७७ करोड रुपैयाँ थियो । पुससम्म बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । यस्तै संचित कोषमा ३ अर्ब ७० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंकले माग्यो ४७ कर्मचारी
काठमाडौं । ग्लोबल आईएमई बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर ४७ जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ । बैंकले सहायक प्रबन्धक ३ जना, बरिष्ठ अधिकृत ५ जना, अफिसर ४ जना, जुनियर अधिकृत ९ जना, बरिष्ठ सहायक २६ पदका लागि दरखास्त मागेको हो । बैंकले जनवरी ३१ तारिखसम्ममा आवेदन दिन सकिने जनाएको छ ।