बैंक अफ काठमाण्डूको नाफा ५ करोड घट्यो
काठमाडौं । बैंक अफ काठमाण्डूको नाफा ५ करोड घटेको छ । गत आवको पुस मसान्त अवधीमा ६० करोड नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने ५५ करोड मात्रै नाफा कमाउन सफल भएको हो । बैंक अफ काठमाण्डूको खराब कर्जा पनि १.५१ प्रतिशतबाट बढेर १.८६ प्रतिशत पुगेको छ । बैंकले २३ करोड रुपैंयाँ सम्भावित नोक्सानीका लागि प्रोभिजन गरेको देखिन्छ । ६ अर्ब २४ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८९ करोड रहेको छ । बैंक अफ काठमाण्डूले ६ महिनामा ७० अर्ब निक्षेप संकलन गरेर ६४ अर्ब कर्ज लगानी प्रवाह गरेको छ । बैंकको सिडी रेसियो ७९.२४ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी १७.६६ रुपैंयाँ र प्रति सेयर नेटवर्थ १७८.४२ रुपैंयाँ रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ८३ करोड
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । गत पुससम्म बैंकले १ अर्ब ८३ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो । गत आवको तुलनामा चालु आवमा बैंकले झण्डै २५ करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको देखाएको छ । गत पुसमा बैंकको निष्क्रिय कर्जा १.१२, सीडी रेसियो ७८.४७, आधार ब्याजदर ९, निक्षेप लागत ६.२१, स्प्रेड दर ४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६२ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर १ खर्ब २९ करोड ८४लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै कर्जा लगानी पनि बढाएर १ खर्ब १३ अर्ब रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले ९६ करोड ७० लाख रुपैयाँ थियो । बैंकको संचित कोषमा ९ अर्ब ९१ करोड रुपैयाँ छ ।
कालिका पावरको आईपीओ माघ २१ देखि निष्कासन हुने, ३ हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले माघ २१ देखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई छुट्टाएको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सेयर निष्कासन बन्द छिटोमा फागुन ६ र ढिलोमा २१ गतेसम्म हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्कोट्स लिमिटेडले जनाएको छ । आईपीओ खरिदका लागि न्युनतम १० र अधिकतम ३ हजार कित्तासम्मका लागि दरखास्त दिन पाइने व्यवस्था गरिएको छ । आयोजना प्रभावित गोरखाको अजिरकोट, भीमसेन, सुलिकोट, सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका स्थानियबासिन्दाले सेयर खरिदका लागि दरखास्त दिन पाउने छन् । आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १२ लाख रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत अन्य आयोजनाको तुलनामा बढेको छ । कम्पनीले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । बाँडफाँड भएको मितिले ३ वर्षसम्म सेयर बिक्री गर्न बन्देज लगाइएको छ । कम्पनीमा संस्थाकको ४२ करोड, ६ करोड आयोजना प्रभावित र १२ करोड रुपैयाँ सर्वसाधारणका लागि हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार सर्वसाधारणको १८ करोड स्वामित्व हुने छ । कम्पनी कालिका ग्रुपअन्र्तगतको हो ।
उपत्यकाबाट २४ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। वाग्मती सफाइ महाअभियानको २४६औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी ५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।गुह्येश्वरीमाथिको वाग्मती सजफाइको २०७औँ हप्तामा हनुमानघाट र गोठाटार पुल क्षेत्रमा सफाइ गरी २ मेट्रिक टन फोहर व्यवस्थापन भयो । रुद्रमती सफाइको २०२ हप्तामा मैतीदेवी मन्दिर–सेतोपुल–रुद्रनगर टोलमा सफाइ गरी १ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए। विष्णुमती सफाइको १७४औँ हप्तामा तारकेश्वर नगरपालिका–१० मनमैँजु पुलमा सफाइ गरी ४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता बिजेन्द्र लामाले सुनाए । चक्रपथ सफाइको ४२औँ हप्तामा सुकेधारा क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको पनि सहभागिता थियो । सडकमा फालिएका मोबाइल रिचार्ज गरेका कार्ड र सूर्तीको खोल पनि हटाइएको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए। वाग्मतीको तिलगंगा क्षेत्र, मीनभवन क्षेत्रको आलोकनगर र चक्रपथको बाफलखण्डमा पनि आज जनचेतनामूलक सफाइ अभियान चलाइएको सफाइ महाअभियानले जनाएको छ । रासस
अब उद्योग परिसंघ पनि महासंघीय मोडलमा, देशैभर संगठन विस्तार गर्ने
काठमाडौं । नेपाल उद्योग परिसंघ पनि महासंघीय ढाँचामा अघि बढ्ने भएको छ । मन्त्रिपरिषदले संसोधित विधान स्वीकृत गरेसँगै परिसंघलाई पनि महासंघीय ढाँचामा जान बाटो खुलेको हो । अब नीजी क्षेत्रका तीन वटा छाता संगठनहरुले देशभैर संगठन निर्माण गर्नेछन् । नेपाल उद्योग बाणिज्य महासंघले महासंघीय ढाँचामा देशभर संगठन विस्तार गरेको छ भने चेम्बर अफ कमर्शले पनि विधान संसोधन गरेर देशभर फैलने निर्णय गरिसकेको छ । अब परिसंघले पनि देशभरका उद्योगीहरुलाई संगठित गर्न लागेको हो । परिसंघले देशको सातओटै प्रदेशमा प्रदेश परिसंघ गठन गर्ने प्रकृयालाई अघि बढाउन लागेको छ । परिसंघले उपाध्यक्ष पदमा सुलभ अग्रवाललाई मनोनित गरेको छ । त्यस्तै महिला उद्यमीहरुका तर्फबाट छाया शर्मा र रिता भण्डारीलाई मनोनित गरेको छ । त्यस्तै, आशिष गर्ग, हेमन्त गोल्छा, मनिष खेम्का,रविन्द्र भक्तश्रेष्ठ, ऋिषी घिमिरे, शरद तिवरेवाला, शिषिर भट्ट र सुधीर मित्तल केन्द्रिय सदस्य बनेका छन् । साथै “प्रदेश परिसंघ”को गठन सातओटै प्रदेशमा गर्ने गरी प्रत्येक प्रदेशमा एक÷एकजनालाई संयोजक तोक्ने निर्णय सहित प्रदेश संयोजक समेत मनोनयन गरेको छ । प्रदेश (१) मीनप्रकाश मैनाली (झापा), प्रदेश (२) नरेश दास (जनकपुर), प्रदेश (३) ऋषी घिमिरे (हेटौडा), प्रदेश (४) विनोद न्यौपाने (पोखरा), प्रदेश (५)एजाज आलम (बुटवल), प्रदेश (६) टेक बहादुर भण्डारी (सुर्खेत) र प्रदेश (७) हेम विक्रमथापा (कञ्चनपुर) रहेका छन् ।
१ अर्ब ७३ करोडको सेयर कारोबार
काठमाडौं । धितोपत्र बजारमा गत साता १ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से)का अनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ५८.७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको १ अर्ब ९ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार ६०० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.८६ अंकले बढेर अन्तिम दिन १ हजार ४०४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ३१ अंकले बढेर २९६ दशमलव ४१ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको १६ करोड सात लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । सो बैंकको ६ लाख १५ हजार कित्ता शेयर कारोबार भएको छ । रासस
अरुण तेस्रो आयोजनामा एभरेष्ट बैंकले ३ अर्ब ६० करोड लगानी गर्ने, एसजेविएनले नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड ऋण लिदै
काठमाडौं । एभरेष्ट बैंकले प्रस्तावित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ । एभरेष्टले ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्ने भएको हो । एभरेष्ट र आयोजनाको प्रवद्र्धक एसजेविएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच सम्झौता भएको छ । एभरेष्टले संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म ४ सय केभी क्षमताको १६८ किलोमिटर लामो प्रसारणलाइन बनाउन ऋण लगानी गर्ने सम्झौता गरेको एसजेवीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतिशकुमार शर्माले बताए । यो प्रसारणलाइनका लागि पञ्जाव नेसनल बैंकसंग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ । प्रसारणलाइन बनाउन नेपाल र भारतको बैंकबाट लगानी जुटेको शर्माले जानकारी दिए । नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड रुपैयाँ ब्रिजलोन लिने तयारी भएको उनले बताए । यसका लागि नेपाली बैंकसंग प्रस्ताव मागिसकेको छ । आयोजना प्रभावित स्थानियबासिन्दालाई १ अर्ब ६० करोड रुपैयाँको सेयर वितरण र मासिक ३० युनिट बिजुली निःशुल्क दिने छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । प्रभावित ६ गाविसमा एसजेवीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने शर्माले बताए । आयोजना आउदो सन् २०२२ को सेप्टेम्वरमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ । विद्युत उत्पादनका लागि यो रकम लगानी गर्ने तयारी एसजेवीएनको छ । विद्युत उत्पादन प्याकेजका लागि भारतको पावर फाइनान्स कर्पोेरेशन र अन्य बैंकसंग छलफल चलिरहेको उनले जानकारी दिए । “ब्याजमा कुरा नमिलेकाले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थासंग वार्ता चालिरहेको छ” उनले भने “सस्तो ब्याजदर दिने बैंकसंग ऋण सम्झौता हुने छ ।” अहिले ९२ अर्ब रुपैयाँ ऋणका लागि बैंकसंग कुरा भइरहेको छ । आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स (जेपी) लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । प्रवद्र्धक एसजेवीएन र जेपीबीच नयाँदिल्लीमा ठेक्का सम्झौता भएको छ । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ । प्याकेज २ अन्र्तगत विद्युत्गृह निर्माणका लागि पनि बोलपत्र आब्हान गरिएको छ । यसको पनि यो महिनाभित्र ठेकेदार छनोट हुने तयारीमा छ । जसअनुसार दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्र्तगत काम हुने भएको छ । सबै प्याकेजको ठेक्काको काम भइरहेको छ । भारत निकासीका आयोजना बन्न लागेको हो । आगामी २५ वर्षका लागि एसजेभीएनले अरुणको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।
ग्लोबल आईएमई र एभरेष्टको वित्तीय विवरण सार्वजनिक, एभरेष्टको भन्दा ग्लोबल आईएमईको सेयरमा बढी फाइदा
काठमाडौं । शनिवार ग्लोबल आईएमई बैंक र एभरेष्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छन् । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा ग्लोबल आर्ईएमई बैंकले भन्दा एभरेष्ट बैंकको वित्तीय परिसूचकको वृद्धिदर उच्च देखिएको छ । तर २०५१ सालमा स्थापना भएको एभरेष्ट बैंकलाई २०६४ सालमा स्थापना भएको ग्लोबल आईएमई बैंकले धेरै परिसूचिकमा पछाडि पारेको छ । ग्लोबल आईएमईको खुद नाफा ९५ करोड ४२ लाख रुपैयाँ छ भने एभरेष्ट बैंकको १ अर्ब १४ करोड रुपैयाँ छ । गत आर्थिक वर्षभन्दा यस वर्ष ग्लोबलले ५ करोड नाफा बढाएको छ भने १७ करोड रुपैयाँले बढाएको छ । २०७३ पुस मसान्तसम्ममा ग्लोबल आईएमई बैंकको निक्षेप ८४ अर्ब थियो भने यस वर्ष १६ अर्ब वृद्धि गरी १०० अर्ब बनाएको छ । तर असोज मसान्तको तुलनामा यस बैंकको निक्षेप ४ करोड रुपैयाँ घटेको छ । एभरेष्ट बैंकको निक्षेप २०७३ पुस मसान्तमा ९० अर्ब थियो भने २०७४ पुस मसान्तसम्ममा १३ अर्ब थपेर १०३ अर्ब बनाएको छ । ग्लोबल आईएमईले ८८ अर्ब कर्जा प्रवाह गरेको छ भने करिव २० अर्ब रुपैयाँ लगानी गरेको छ । एभरेष्ट बैंकले ८५ अर्ब कर्जा प्रवाह गरी १५ अर्ब रुपैयाँ लगानी गरेको छ । कर्जा र लगानी दुबैमा एभरेष्टलाई ग्लोबल आईएमईले पछाडि पारेको छ । ग्लोबल आईएमई बैंकको क्यापिटल एडेक्वसी ११.६५, खराव कर्जा १.६१ , सीसीडी रेसियो ७७.७ र बेसरेट १०.३१ प्रतिशत रहेको छ । एभरेष्ट बैंकको क्यापिटल एडेक्वसी १५.६८, खराव कर्जा ०.२५, सीसीडी रेसियो ७५.८४ र बेसरेट ७.७४ प्रतिशत छ । एभरेष्ट बैंकको पीई रेसियो ३१.९३ प्रतिशत छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ छ । ग्लोबल आईएमई बैंकको पीई रेसियो १४.६९ छ भने प्रतिसेयर आम्दानी २१.४४ रुपैयाँ छ । गत विहीबार एभरेष्ट बैंकको सेयर मूल्य ८६७ रुपैयाँ छ भने ग्लोबल आईएमई बैंकको ३१४ रुपैयाँ छ । हाल ग्लोबल आईएमई बैंकको सेयर पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ भने एभरेष्ट बैंकको ८ अर्ब रुपैयाँ छ । संचित कोषमा ग्लोबलको ३ अर्ब ४२ करोड रुपैयाँ छ भने एभरेष्ट बैंकको ५ अर्ब १९ करोड रुपैयाँ छ । प्रकाशित वित्तीय विवरण र बजारको सेयर मूल्यका आधारमा यतिबेला एभरेष्ट बैंकको सेयर किन्दा भन्दा ग्लोबल आईएमईको सेयर किन्दा बढी लाभ हुने देखिएको छ । क्यापिटल एडेक्वसीको आधारमा आगामी वर्षको लाभांशमा एभरेट बैंकले नगद लाभांश मात्र दिने सम्भावना छ भने ग्लोबल आईएमई बैंकले नगद लाभांश र बोनस सेयर दिन सक्ने देखिन्छ ।