विकासन्युज

यूनिलिभर नेपालको कम्पनी सचिवमा सोनाम श्रेष्ठ नियुक्त

काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडको कम्पनी सचिवमा सोनाम श्रेष्ठ नियुक्त भएका छन् । गत पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो । नवनियुक्त श्रेष्ठले सचिवमा नियुक्त भएकै दिन देखि कम्पनी सचिवको कार्यभार सम्हालिसकेका छन् । यस अघि यस कम्पनीको सचिवको कार्यभार सुशिला अधिकारीले सम्हालेकी थिइन् । उनले राजीनामा दिएपछि श्रेष्ठ यस कम्पनीको सचिवमा नियुक्त भएका हुन् । अधिकारीले गत कात्तिक १३ गतेदेखि नै यस कम्पनीको सचिव पदबाट राजीनामा दिइसेकेकी थिइन् ।

५० हजार वण्डल जस्ता बिक्री गर्न साल्ट ट्रेडिङले गर्यो आईतबार बोलपत्र आब्हान

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भूकम्पका बेला खरिद गरेको ५० हजार वण्डल जस्तापाता बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ । कर्पोरेशनले बोलपत्रबाट जस्तापाता बिक्री गर्न लागेको हो । आइतबार सूचना जारी गर्दे बोलपत्रबाट जस्तापाता बिक्री गर्ने जानकारी दिएको हो । एक महिनाभित्र बिक्री गर्ने तयारी साल्ट ट्रेडिङको छ । ०७२ सालमा गएको भुकम्पबाट क्षतिग्रस्त सार्वजनिक भवनहरु विद्यालय स्वास्थ्य चौकी निर्माणका लागि उसले भारतको जिन्दल इण्डिया लिमिटेडबाट जस्ता पाता खरिद गरेको थियो । सो जस्तापाता बिक्री नभएपछि कर्पोेरेशनले भण्डारण गरी राखेको छ । जस्ता बिक्री नभएपछि साल्टले बैंक ब्याज तिर्दा नोक्सान भएको भन्दै सरकारसंग अनुदान मागेको थियो । बोलपत्रमा भाग लिने व्यक्ति वा फर्मले कवोल गरेको २.५ प्रतिशत रकम टेडिङ्गको खाता रहेको बैंकमा जमानत पेस गर्नु पर्नेछ । यसैगरीे सम्पुर्ण जस्ता पाताहरु पर्सा, वीरगंज र कामाडौंबाट उठाउनु पर्ने साल्टले जनाएको छ ।

१२ वटा बाणिज्य बैंकले नाफा बढाए, ३ वटा ओरालो(सूचिसहित)

काठमाडौं । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १५ वटा बाणिज्य बैंकहरुको नाफा १ अर्ब ५६ करोडले बढेको छ । हालसम्म वित्तिय विवरण सार्वजनिक गरेका १५ बाणिज्य बैंकमध्ये १२ वटाले नाफा बढाएका छन भने ३ वटा बैंकको नाफा घटेको देखिन्छ । १५ बैंकले नाफा समग्रमा १६.५४ प्रतिशत बढाएका छन् । १५ वटा बैंकले १० अर्ब ९९ करोड नाफा कमाउन सफल भएका छन् । गत आवको सोही अवधीमा यी बैंकहरुको नाफा जममा ९ अर्ब ४३ करोड मात्रै थियो । नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा धेरै १ अर्ब ८३ करोड नाफा कमाएको छ भने दोश्रोमा एभरेष्ट बैंकले १ अर्ब १४ करोड नाफा कमाएको छ । एनएमबी बैंकले एक अर्ब नाफा कमाउँदा ग्लोबल आईएमई बैंकले ९५ करोड पुर्याएको छ । पुस मसान्तसम्ममा नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाण्डू भने नाफा बढाउन असफल भएका छन् ।

यो वर्ष ११ वटा बीमा कम्पनीको भन्दा मेरो विजनेश बढी हुनेछ– अभिकर्ता अन्जन भण्डारी

अन्जन भण्डारी, बीमा अभिकर्ता, लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड सिन्धुपाल्चाेक जन्मेर ग्रामिण क्षेत्रमा नै हुर्किनु भएका अन्जन भण्डारी वाणिज्य शास्त्रमा स्नातक गरेपछि अभिकर्ताको रुपमा सन २००८ देखि काम  थाल्नु भएको हाे । २८ वर्षिय भण्डारी सबैभन्दा बढी बीमा कारोबार गर्ने अभिकर्ताको रुपमा परिचित हुनुहुन्छ । उहाँले गत आर्थिक वर्षमा ५० करोड रुपैयाँ प्रिमियम बराबरको बीमा गराउनु भएको भण्डारीले चालु आर्थिक वर्षमा १०० करोड रुपैयाँ प्रिमियम बराबरको बीमा गराउने लक्ष्य राख्नु भएको छ । १० वर्षभित्र वार्षिक १० अर्ब रुपैयाँ प्रिमियम संकलन हुने गरी ठूलो स्केलमा बीमा गराउने लक्ष्यसहित उहाँ अगाडि बढिरहनुभएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले उहाँलाई विश्वकै सबैभन्दा बढी बीमा गराउने अभिकर्ताको रुपमा सम्मान पनि गरिसकेको छ । स्वेच्छिक रुपमा बीमा गर्ने अभ्यास नभएको समाजमा यति ठूलो भोलुमको विजनेश गर्ने उहाँको सीप, कला, क्षमता के हो ? देशविकासका लागि भण्डारीसँग गरिएको अन्तरवार्ता यस पटक । तपाई बीमा क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ? अहिलेसम्मको उपलब्धि कस्तो रह्यो ? म एलआईसी नेपालमा सन् २००८ देखि अभिकर्ताको रुपमा कार्यरत छु । मैले बीमा अभिकर्ताको रुपमा काम गर्दा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, नेपाल लाईफ इन्स्योस्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी थिए । त्यसपछि १३ वटा नयाँ जीवन बीमा कम्पनी थपिएका छन् । गत वर्ष कन्भेन्सनल प्लानमा मात्र मैले २१ करोड रुपैयाँ भन्दा बढीका प्रिमियमको बीमा भएको छ । गत वर्ष नयाँ बीमाको पोलिसीबाट मात्र २० करोड रुपैयाँ प्रिमियम संकलन गरेको थिएँ । सबै गरी ५० करोड रुपैयाँ भन्दा बढी प्रिमियम संकलन भएको छ । चालु आर्थिक वर्ष १०० करोडभन्दा बढीको प्रिमियम संकलन गर्ने लक्ष्यको साथ काम गरिरहेको छु । गत वर्ष नै मैले २/३ वटा कम्पनीलाई जितिसकेको छ । यस वर्ष खुलेका ९ वटा कम्पनी म भन्दा पछाडि हुनेछन् । पुराना कम्पनीमा पनि २÷३ वटा मभन्दा पछाडि हुनेछन् । वार्षिक १०० करोडको प्रिमियम संकलन हुने गरी बीमा गराउँदा तपाईलाई नाफा कति हुन्छ ? अफिसको सबै खर्च कटाएर र सबै कर तिरेर करिव ४ प्रतिशत मात्र बचत हुन्छ । १०० करोड प्रिमियम संकलन हुँदा ४ करोड रुपैयाँ मलाई फाइदा हुन्छ । भन्न त जे भने पनि भनिन्छ । तर अभिकर्ताले कुल प्रिमियममा पाउने भनेको ४/५ प्रतिशत मात्र हो । एक्लैले यति ठूलो विजनेश कसरी गर्नुभएको छ ? म एक्लै छैन । मेरो कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित ८ जना कर्मचारी छन् । मैले हेर्ने भनेको नयाँ ग्राहकलाई मात्र हो । पुराना ग्राहकलाई दिने सेवाहरु कर्मचारीले हेर्छन । हाम्रा ग्राहकलाई कर्जा चाहिएको हुन सक्छ, बीमा दावी गर्नु परेको हुनसक्छ, डकुमेन्टेशनको सेवा आवश्यक होला, मेडिकल इन्स्योरेन्सको सेवा दिनु होला, ती सबै काम कर्मचारीबाट हुन्छ । हाम्रा ग्राहक करिव २००० हजार ग्राहक भएका छन् । वर्षमा ५० करोडभन्दा बढी प्रिमियम संकलन हुन्छ । एकै दिन करोडभन्दा बढी प्रिमियम संकलन भएको हुन्छ । यी सबैं काम मैले गर्न सक्दिन । यी सेवाहरु कर्मचारीहरुबाट हुन्छ, सिस्टमबाट हुुन्छ । मैले १० वर्षअघि नै एउटा सिस्टम बनाउन लाखौं लगानी गरेको थिए । अहिले करोडौं रुपैयाँ लगानी गरेर नयाँ पोलिसी बनाउँदैछु । नयाँ रणनीतिको लागि मैले किन करोडौं लगानी गर्दैछु भने अब मेरो लक्ष्य अर्बौको कारोबार गर्ने हो । निकट भविष्यमा कति कारोबार गर्ने लक्ष्य लिनु भएको छ ? १० वर्षभित्र वार्षिक १० अर्ब भन्दा बढी प्रिमियम संकलन गर्ने लक्ष्यसहित काम गरिरहेको छु । नेपालमा बीमा स्वेच्छिक रुपमा गर्ने अभ्यास छैन । धेरै आग्रह, अनुनय, विनय गरेपछि मात्र बीमा गर्छन भन्ने भनिन्छ । तपाईले मान्छेको विश्वास कसरी जिन्तुहुन्छ ? नेपालका बीमा अभिकर्ता मध्ये प्रयाः सबैले यो पेशालाई आंशिक (पार्ट टाईम जब) रुपमा लिएका छन् । मैले बीमालाई नै पूर्णकालिन पेशाको रुपमा लिएको छु । मैले यस पेशामा ठूला लगानी गरेको छु । अध्ययन गरेको हुन्छु, ग्राहकलाई राम्रो प्रस्तुती दिन सक्छु । ‘बीमा गर्नुहोस्’ मात्र भन्दिन, यसको लाभको बारेमा राम्ररी बुझाउने क्षमताको विकास गरेको छु । अन्जन भण्डारी भनेको बीमाको प्रयाबाजी शब्द जस्तो भईसक्यो । मलाई चिन्ने सबैलाई थाहा छ कि म बीमा अभिकर्ता हुँ । म कसैसँग समय लिएर भेट्न जाँदैछु भने पहिलो नै भन्नेछु कि ‘म तपाईको बीमा गराउन आउँदैछु ।’ कफी खान आउँछु भनेर भेट्ने अनि बीमाको कुरा म गर्दिन । अरु व्यापार व्यवसाय वा सम्बन्ध जोडेर जाने अनि बीमाको कुरा गर्ने काम म गर्दिन । म सोझै बीमाको कुरा गर्छु । मान्छे भेटेपछि मेरो इतिहार र वर्तमान बुझाउँछु । बीमाको महत्व बुझाउँछु । मप्रति विश्वास गरेर बीमा गर्नेहरु धेरै छन् । कुनै पनि व्यक्तिले बीम कम्पनीलाई विश्वास गरेर बीमा गर्ने कि अभिकर्तालाई विश्वास गरेर ? दुबै हो । कम्पनीप्रति पनि विश्वास हुनुपर्छ, अभिकर्ताप्रति पनि विश्वास हुनुपर्छ । नेपाली समाझमा ७० प्रतिशत मान्छे व्यक्तिगत सम्बन्ध, व्यक्तिको प्रस्तुति र प्रभावका आधारमा बीमा गर्छन । ३० प्रतिशत मानिस मात्र बीमा कम्पनीको बारेमा बुझेर बीमा गर्छन । तपाईले बीमा गराउने लक्षित वर्ग कुन हो ? व्यवसायिक समूदाय । नेपालको ठूलो व्यवसायिक व्यक्तित्वमध्ये अधिकांशको बीमा मैले नै गराएको छु । जो मान्छे भेट्न सामान्य अभिकर्ताले सक्दैन, ३÷४ वटा गेट वा सुरक्षा जाँच पार गरेर मात्र पुग्न सकिन्छ । त्यसको लागि तपाईसँग रणनीति चाहियो । व्यवसायीहरु अधिक नाफामा केन्द्रीत हुन्छन । उनीहरु किन बीमा गर्छन ? पारिवारिक सुरक्षा, जोखिम न्यूनिकरण र व्यवसायकि लाभ । बैंकले कर्जा दिदाँ बीमा गरे जस्तै व्यवसायीले आफ्नो व्यवसायिक जोखिमको आधारमा बीमा गर्नु राम्रो हुन्छ । कुनै व्यवसायीले ५ करोडको व्यवसाय गरेको छ । ३ करोड बैंकको कर्जा होला, २ करोड उसको आफ्नै लगानी होला । कुनै कारणबस उसको निधन भयो वा अशक्त भयो भने ५ करोडको जोखिम उसको परिवारलाई थेग्न गाह्रो हुन्छ । त्यसैले उसले अरुको भन्दा बढी बीमा गर्नु पर्छ । आज १००० करोड ऋण लिएर व्यवसाय गर्नेले १०० करोडको पनि बीमा गरेको छैन । भोलि ऊ तलमाथि पर्यो भने उसको परिवार त जोखिममा पर्यो नि । उसले ऋण लिँदा बैंकमा धितो मात्र राखेको हुँदैन, व्यक्तिगत जमानी पनि बसेको हुन्छ । त्यसैले व्यवसायीहरुले जति ऋण लिएका छन्, त्यति नै रकमको लागि जीवन बीमा गर्नुपर्छ । तपाईले लिएको अभिकर्ताको लाईसेन्स व्यक्तिगत हो कि संस्थागत ? व्यक्तिगत हो । म आफ्नो नामबाट नै व्यवसाय विस्तार गर्न चाहान्छु । संस्थागत रुपमा अभिकर्ता आउने अभ्यास कत्तिको छ ? शुरु भएको छ । जस्तै बैंकहरु नै बीमा कम्पनीको एजेन्टको रुपमा काम गर्न थालेका छन् । तर बैंकको मुख्य काम अभिकर्ताको सेवा दिनु होइन, उसको सहायक काम मात्र हो । अभिकर्ताको रुपमा राम्रो आम्दानी गर्नु भएको छ, लगानी कहाँ गर्नुहुन्छ ? म विशुद्ध अभिधकर्ता हुँ । मेरो सम्पूर्ण मिहेनत बीमा अभिकर्ताको रुपमा मात्र हुन्छ । लगानीकर्ताको रुपमा म ग्रुप विजनेशमा छु । हाम्रो ग्रुपले सेयर बजार लगानी गरेको छ । इन्भेष्टमेन्ट कम्पनी पनि चलाएको छ । होटल, ट्राभल्स एण्ड टुर कम्पनीमा लगानी गरेका छौं । अरु बीमा अभिकर्तालाई तपाईको सुझाव के छ ? पहिला बीमाको बारेमा अभिकर्ता आफैलाई ज्ञान हुनुपर्यो । ९० प्रतिशत अभिकर्तालाई बीमाको बारेमा राम्रो ज्ञान नै छैन । जोसँग बीमाको ज्ञान नै छैन, उसले कसरी अरुलाई बीमाको महत्वबारे बुझाउन सक्छ ? सक्दैन । नेपालमा चार लाख अभिकर्ता छन् । तर मासिक १ लाख आम्दानी गर्ने अभिकर्ता ज्यादै कम छन् । मासिक १ लाख रुपैयाँ पनि कमाउन नसक्ने अभिकर्तासँग कि ज्ञान छैन, कि उसले बीमा पेशालाई पार्ट टाईभ जब बनाएको छ भनेर बुझ्दा हुन्छ । विर्सन नहुने कुरा के पनि हो भने संसारभर नै सबैभन्दा गाह्रो काम भनेको बीमा अभिकर्ताको हो । नेपालमा बीमाको कल्चर पनि कम छ । किनकी मेरो बुबाले पनि गर्नु भएको थिएन । जसको परिवारमा अघिल्लो पुस्ताले पनि बीमा गरेको थियो, उसको परिवारले बीमाको महत्व बुझेको हुन्छ । बीमा गर्न राजी हुन्छ । घरमा पनि बीमाको महत्व नबुझेको, स्कूल, कलेजमा पनि बीमाबारे केही नसिकेको समाजमा बीमा गराउनु सजिलो काम होइन । गाह्रो कामको लागि बढी मिहेनत गर्नै पर्छ । ग्राहकको विश्वास जित्न सक्नुपर्छ ।  

नेपालको अन्तराष्ट्रिय व्यापारमा पहुँच, विद्यमान व्यवस्था र सम्भावना

लेखक नेपाल कृषि प्रधान, जलस्रोतको दोस्रो धनी देश, प्राकृतिक तथा विविध धर्म, कला, संस्कृति, रहनसहन एवं जैविक विविधतामा अब्बल छ । यी विविध स्रोतहरुको सहि परिचालन र व्यवस्थापनबाट औद्योगिकरण र व्यवसायिकरणको अथक सम्भावना रहेता पनि सो हुन नसकिरहेको अवस्था छ । नेपालमा उत्पादन भएको कृषि उपज निर्यात गर्न नसक्नु, नदिइनु, वा तपशिलका सन्धि, अधिकार एवं अन्तराष्ट्रिय कानूनको प्रयोग गर्न नसक्नु के हामी नेपाली कै दोष हो या अक्षमता वा राजनैतिक प्रतिवद्धताको कमि हो ? नेपालले अलैची, अदुवा, चिया, जडीवुटीहरु, घरेलु कपडा, गलैँचा, पस्मिना, हस्तकलाका वस्तुहरु र केहि निर्माण सामाग्रीहरु उत्पादनमा समेतमा अब्बल भइसकेको अवस्था छ । तर सो वस्तु निर्यातमा धेरै आन्तरिक प्रक्रियागत समस्याहरु तथा बाह्य चुनौतिहरु झेलिरहेको अवस्था छ । नेपालमा प्रर्वद्धित वैज्ञानिकहरु, प्राविधिकहरु, उद्योगीहरु, व्यापारी, लगानीकर्ताहरु नभएका होइनन तर वे्रनड्रेनको समस्या छ । किन नेपालले उक्त प्रतिभाहरुलाई राख्न र जिम्मेवारी दिन सकेन ? युवा पलायन उत्तिकै छ । किन युवालाई सस्तो काममा विदेश पठाइरहेको छ र सो बाट प्राप्त विप्रेषणलाई ठूलो उपलव्धि मानिरहेको छ ? के युवाहरुलाई स्वदेशमा नै कृषिमा व्यवसायिकरण गर्ने वातावरण बनाउन सकिदैन ? नेपालको रैथाने उत्पादनको पेटेन्ट राईट, अन्तराष्ट्रिय व्यापार चिन्ह, लोगो लिन तथा सो प्रक्रियाको प्रमाणिकरण गर्न समेत समस्या छन् । अर्गार्निक सर्टिफिकेशन प्राप्तिमा समस्या तथा व्यवसायिक उत्पादनमा समस्या हुनु आखिर किन ? विश्वमा नेपाल लगायत भुपरिवेष्ठित देशहरुले पाउने पारवहनको हक अन्तराष्ट्रिय कानुन अनुसार पारवहनको सुविधा स्थल, रेल, जल वा हवाई मार्ग प्रयोग गर्न पाउने अधिकार संयुुक्त राष्ट्र संघको बडापत्रमा र तपशिलको कानून, सन्धि र सम्झौताले समेत प्रद्धत्त गरेको अवस्थामा, अन्य भुपरिवेष्ठित देशहरु जस्तै मंगोलिया, भुटान, अफगानिस्तान, पाराग्वे, बोलिभिया, स्विटजरल्याण्ड, लेसोथो, वोत्स्वआना, जिम्वावे, जाम्विया, मध्य अफ्रिका रिपव्लिक, चाँड, नाइजर, बुर्किना फासो, माली, बुरुण्डी, रुवाण्डा, उवाण्डा, युगाण्डा, लाओस जस्ता सवै देशहरुले पारवहनको अधिकार स्वतःस्फूर्त रुपमा प्रयोग गरिरहेको अवस्थामा समेत किन नेपाल यो अवसरबाट बन्चित भएको होला ? अन्तराष्ट्रिय व्यापार र औधोगिकरण विकासका लागि विद्यमान व्यवस्था भियना सन्धि (संयुक्त राष्ट्र संघले १९६५ जुलाई ८ मा पारित गरेको सन्धि जसले कुनै पनि भुपरिवेष्ठित देशले विना रोकतोक बन्दरगाह प्रयोग गरि अर्को देशबाट सामान ल्याउन पाउने पारवहन अधिकार छ । सामुद्रिक कानूनः संयुक्त राष्ट्र संघीय सम्मेलन सन् १९७३ जमैकाको मान्टेगोवेमा पारित गरेको यस कानूनमा भुपरिवेष्ठित देशलाई समुन्द्रमा जाने बाटो निर्वाध रुपमा संचालन गर्न दिनुपर्ने व्यवस्था छ । डव्लुटिओ कानूनः संयुक्त राष्ट्र संघको विश्व व्यापार संगठनमा आवद्ध देशहरुले सदस्य देशहरुबीच निर्वाध रुपमा व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गरिएको छ । पारवहन सन्धिः भारत र नेपालबीच भएको पारवहन सन्धि अनुसार, नेपालले बन्दरगाह प्रयोग गर्न पाउने अधिकार छ तर भारतले बि.स. २०२७, २०४५, २०७२ नाकाबन्दी गरेर उक्त सन्धिको उल्लंघन गरेको छ । व्यापार सन्धिः भारत र नेपालबीच बि.स. २०४७ मा भएको सन्धिमा भुपरिवेष्टित देशले समुद्र उपयोग गर्न पाउने व्यवस्था छ । एशियन हाईवे सम्झौताः एशियाली देशहरुबीच सडक संञ्जाल जोडेर निर्वाध रुपमा व्यापार गर्न पाउने अभियान अन्तर्गत नेपालको पूर्व पश्चिम राजमार्ग र अरनिको राजमार्ग एशियन हाइवेमा पर्ने हुदा पनि यस सम्झौताको समेत बारम्वार छिमेक राष्ट्रबाट यस एशियाली महादेशको कानून उल्लघन भएको छ । साफ्टा कानूनः सार्क राष्ट्रहरुले एकआपसमा निर्वाध रुपमा व्यापार गर्न पाउने अधिकार सुनिश्चित छ । यी कानून र सन्धि नेपालको लागि अन्तराष्ट्रिय व्यापार प्रर्वद्धनको लागि अवसरहरु हुन् । यति धेरै कानून, अधिकार तथा सन्धिहरु हुदासम्म किन नेपालले उत्पादन गरेको गुणस्तरीय कृषि उपजहरु जस्तै अर्गानिक चिया विदेशबाट र्फिता हुनु, अदुवा नेपाल भारत नाकामा गएर अलपत्र हुनु, भारतले निर्धक्क नाकाबन्दी लगाउनु र नाकाबन्दी लगाउदासम्म नेपालले नाकाबन्दी हो भनेर आधिकारीक रुपमा किटान गर्न नसक्नु र अन्तराष्ट्रिय न्यायलयको सहयोग लिन नसक्नु नेपालका आफ्नै कमजोरी हुन् । नेपालका युवा शक्तिहरुलाई अन्तराष्ट्रिय बजारमा सस्तो मूल्यमा बेचिएका छन् । नेपालबाट करिब १९० प्रकारका उत्पादनहरु निर्यात गर्दा करिब ३००० भन्दा बढी प्रकारका उत्पादनहरु आयात भएका छन् । नेपाल राष्ट्र बैकको पछिल्लो तथ्यांङ्क अनुसार आर्थिक बर्ष २०७४÷७५ को पाँच महिनासम्ममा कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भई ३३ अर्ब ७० करोड पुगेको छ भने वस्तु आयात १२.८ प्रतिशतले बढेर ४३१ अर्ब ४९ करोड पुगेको छ । त्यस्तै आर्थिक वर्ष २०७४/७५ को पाँच महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ०.४ प्रतिशतले घटेको र आयात मूल्य सूचकाङ्कमा ४.९ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ५.३ प्रतिशतले ह्रास आएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त १२.६ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकाङ्कमा कमी भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपकोमूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो । त्यस्तै राजस्व संकलन भन्दा सरकारी खर्च बढी हुुनु अन्तराष्ट्रिय बजारीकरणको समस्याको रुपमा लिन सकिन्छ । सम्भावित कारणहरु गिरीजाप्रसाद कोइरालाको पालामा तातोपानी नाकाबाट ५ बर्षको लागि पेट्रोलियम ल्याउने सहमति, २००८ मा कतारले भाउ नबढाइकन इन्धन दिन तयार हुदा नेपालले पहल नगर्नु, चीनले आफ्नै लगानीमा नेपाललाई रिफाइनरी प्लान्ट बनाइदिने भन्दा पनि नेपाल तयार नहुनु नेपाली नेतृत्वको कमजोरी र अदुरदर्शीताको केही नमुना उदाहरण हुन् । उललेखित अन्तराष्टिय« कानून, अधिकार, सन्धि र सम्झौताको उपभोग तथा सदुपयोग गर्न नसक्नु जसको लागि अन्तराष्ट्रिय सहयोग लिन समेत हिचकिचाउनु एवं उक्त अधिकार कुण्ठित हुदासम्म कानूनी उपचार नखोज्नु नेपालको कमजोरी हुन् । राजनैतिक प्रतिवद्धता, कुशल नेतृत्वको अभाव एवं व्यक्तिगत स्वार्थमा लालाईत हुनुले नेपाल अन्तराष्ट्रिय मञ्चमा कमजोर देखिदै आएको छ । नेपाललाई समुन्नत राष्ट्र बनाउने दुरदृष्टि प्रति नेपालभित्रै रहेका राजनैतिक पार्टीहरुको ऐक्यवद्धता, सहमति, सद्भाव एवं आपसी सहयोगको अभाव छ । दीर्घकालीन सोच, रणनीति, योजना तथा कार्ययोजनाहरुमा राजनैतिक ऐक्यबद्धता नहुनु, तथा कुनै एउटा सरकारले बनाएको राम्रै योजना र रणनीति समेत अर्को सरकारले लोकप्रियताको आँचको कारण निरन्तरता दिन हिचकिचाहट पनि ठूला समस्या हुन् । त्यस्तै, विश्वमा विकास भईसकेको नविन प्रविधि, सोच, विचार एवं शासन प्रक्रियालाई आत्मसाथ नगरिनु तथा सो को पुनरावृत्तिको लागि आवश्यक सोध अनुसन्धान हुन सकेको छैन । राजनैतिक नेतृत्वबाट कुटनैतिक सीप, दक्षताको अभाव साथै अन्तराष्ट्रिय कानून र अधिकारको प्रयोग गर्न चाहेको छैन । नेपालको दक्षिणी सिमानामा मात्र भर परी उत्तरी सिमाना खोल्न नसकिनु, भौगोलिक कठीनाई तथा भौतिक पूर्वाधारको विकासको अभाव पनि ठूला समस्या हुन् । खुल्ला नेपाल भारत सिमानालाई अन्तराष्ट्रियकरण गरि राहदानीको व्यवस्था नगरिनु, नेपाल भारतबीच भएका असमान सन्धि सम्झौता, (जस्तै सन् १९५० को सुगौली संन्धि) यथासक्दो चाडो खारेज गर्न नसक्नु र सो को लागि अन्तराष्ट्रिय सहयोग लिन हिचकिचावट हुनुु, नेपाललाई भित्रि मन देखि सहयोग गर्न चाहने राष्ट्रहरु, संस्थाहरु, स्वदेशी एवं विदेशमा रहेको नेपाली उद्योगपति, लगानीकर्ताहरु, विज्ञ, अनुसन्धानकर्ता रं थिङक ट्यांकहरु सयुक्त रुपमा बसी प्राकृतिक, वित्तिय, मानव, पूर्वाधार, प्रविधि, एव सामाजिक पूजीको सहि परिचालन गर्न नसक्नु, अन्तराष्ट्रिय स्तरको रेलवे, हाइवे टर्मिनलहरुको निमार्ण गर्न नसक्नु, वैदेशिक सहयोगलाई एकिकरण, समायोजन, एवं सहि परिचालन र पूजीं निमार्ण गर्न नसक्नु, राजस्व संकलनमा प्रक्रियागत झमेला देशमा संकलित पूजीबाट कृषि तथा पशुउपजको उत्पादनमा व्यवसायिकरण, प्रशोधन, गुणस्तरीय उत्पादन गर्न नसक्नु, गुणस्तर प्रमाणीकरणको लागि विदेश पठाउनुपर्ने अवस्था जसले समय तथा खर्च बढी लाग्ने, नेपालमा अन्तराष्ट्रिय मापदण्डको गुणस्तर जाँचको व्यवस्थापन हुन नसक्नु, भारतसगँ निवार्हमुखी आदत रहिरहनु नेपालको कमीकमजोरी हुन् । गिरीजाप्रसाद कोइरालाको पालामा तातोपानी नाकाबाट ५ बर्षको लागि पेट्रोलियम ल्याउने सहमति, २००८ मा कतारले भाउ नबढाइकन इन्धन दिन तयार हुदा नेपालले पहल नगर्नु, चीनले आफ्नै लगानीमा नेपाललाई रिफाइनरी प्लान्ट बनाइदिने भन्दा पनि नेपाल तयार नहुनु नेपाली नेतृत्वको कमजोरी र अदुरदर्शीताको केही नमुना उदाहरण हुन् । सम्भावनाः नेपाल देश आफैमा प्राकृतिक एवं मानविय स्रोतको पर्याप्तता, नविनतम प्रविधिको शुरुवात, शासन व्यवस्थामा इन्नोभेटिभ गर्भरनेन्सको अभ्यास शुरुभइसकेको अवस्था, मानव संसाधन, अन्तराष्ट्रिय सहिष्णुता एवं सहयोग (२०७२ मा गएको महाभुकम्प पश्चात् पुर्नस्थापना तथा पुर्ननिर्माणमा गरिरहेको सहयोगको अवस्था विश्लेषण गर्दा) को भावना, वैदेशिक लगानी तथा सहायतामा निरन्तरता, दातृ निकायको प्रतिवद्धता, संघीय गणतान्त्रिक शासन व्यवस्था तथा राज्य पुर्नसंरचनाको अभ्यास, समावेशी र लोककल्याणकारी संविधानको प्राप्ति जस्ता सकारात्मक पहलले देशको सम्बृद्धिको अवसरलाई स्वागत गर्न सक्ने सम्भावना देखिन्छ । अतः देशले माथि उल्लेखित समस्या समाधानको लागि मुख्यरुपमा राजनैतिक प्रतिवद्धता जाहेर गरी आफ्नो देशको समृद्धिको लागि अन्तराष्ट्रिय प्रद्धत्त अधिकारहरुको निर्वाध रुपमा उपयोग गर्नु पर्दछ र सोहि अनुसार नेपालको कानूनमा समेत पुनरावलोकन गरी छरितो र कम प्रक्रियागत बनाउनु पर्दछ । हालै भएको राजनैतिक परिर्वतनको अभ्यासमा स्थानीय स्तर, प्रदेश र संघको संरचनात्मक खाका, आवश्यक कानून नीति एवं स्रोतको बाडँफाट एवं अधिकार प्रयोगलाई संस्थागत समेत गुर्नपर्ने छ । संविधानको अनुसूचिमा उल्लेखित साझा अधिकार एवं सोको उपभोग र व्यवस्थापनको लागि समेत व्यवहारिक मापदण्ड र उक्त संविधानको अधिनमा रहि कानून र छरितो, कुशल एवं प्रभावकारी संरचना (नकी देशलाई आर्थिक दायित्व र भार नथपियोस) बनाई संस्थागत गर्नु पर्ने प्रमख दायित्व पनि छ । नेपालमा भएको पर्यटन तथा प्राकृतिक स्रोत परिचालनको सम्भावनालाई व्यवस्थापन गर्न स्थानीय स्तर, प्रदेश तथा संघबाट नै स्पष्ट, छरितो र मितव्ययी हुने नीति निमार्ण गर्ने अवसर छ । देशले अब विदेशमा रहेका पेशागत दक्ष प्राविधिक जनशक्तिलाई स्वदेशमा नै अवसर दिन, स्थानीय, प्रदेश र संघले आ आफ्नै तवरबाट पहल गरी अथाह संम्भावना रहेको प्राकृतिक लगायत अन्य स्रोतको सहि परिचालन र व्यवस्थापन मार्फत औद्योगिकरण र व्यवसायिकरण गरी पर्यटन प्रर्वद्धनमा अझै जोड, कृषि उपजको प्रशोधन, प्राविधिक शिक्षालयहरुको पहुँचमा विस्तार, अन्तराष्ट्रिय स्तरको ल्यावको विकास र उत्पादित सेवा तथा वस्तुको विश्वबजारीकरण गर्न सक्नुपर्दछ । सोको लागि सरकारले संविधानमा नै अवलम्वन गरेको तिन खम्वे अर्थनीति जस्तै निजी क्षेत्र, सहकारी क्षेत्र र सरकारको सहकार्य गर्नुपर्छ । माथि उल्लेखित विद्यमान अन्तराष्ट्रिय अधिकारको प्रयोग गर्नुपर्छ । लगानीमैत्री वातावरण श्रृजना गर्ने, स्थानीय स्तरबाट स्वेदशमा नै पूँजी निर्माण र परिचालन गर्ने (हाल देखिएको कुनै पनि कम्पनी तथा संस्थाहरुले खुलाएको बखत शेयर लगानीमा जनताको चासो र प्रबृत्ति र गाउ गाउमा स्थापना भएका सहकारी, लगायत वित्तिय संस्थाहरुको स्थापना र पूजी निर्माण विश्लेषण गर्दा नेपालीहरुमा पूंजीको कमि छैन्), र शासन व्यवस्थालाई पनि थप जनउत्तरदायी र सुशासनको प्रत्याभुति दिई राष्ट्र ढुकुटीलाई समेत सक्षम बनाई सामाजिक एवं लोककल्याणकारी योजना समेत ल्याउन सकिन्छ, जसको लागि प्रशासनलाई चुस्त, दुरुस्त र कम प्रक्रियागत बनाई नजितामुखी बनाउनु पर्दछ । नेपालमा भएका क्रमिक आन्दोलन, द्वन्द्व, राजनितिक परिर्वतन, शासन तथा अर्थव्यवस्थामा भएको उतार चढाव, तथा नेपालको संवैधानिक विकासका लागि खर्चिएका २००४, २००७, २०१५,२०१९, २०४७, २०६३, एवं २०७२ बर्षहरु पनि चुनौति थिए । स्थिर राजनीति रं स्थिर सरकारको लागि गरिएको राजनैतिक, कानूनी एवं संरचनात्मक पहलमा समेत उतिकै स्रोत साधानको खर्च भएको अवस्था छ । कानून निमार्णको प्रक्रिया, राज्य पुर्नसंरचना, निर्वाचन जस्ता कुराहरुमा पनि धेरै दशक खर्चिनु प¥यो र धेरै जनधन एवं स्रोतसाधनको लगानी गर्नुप¥यो । अव देशले लोककल्याणकारी एवं समावेशि संविधान पायो, संघीय गणतन्त्रात्मक मुलुक हासिल ग¥यो र संविधानलाई संस्थागत गर्न संघ, प्रदेश र स्थानीय स्तरको निर्वाचन समेत भईसेकेको अवस्था छ । अब राजनैतिक स्थिरता र स्थायी सरकारको संभावना रहेको छ । जसको लागि राजनैतिक सह अस्तित्व, सहकार्य र सद्भाव जस्ता आचरण र व्यवहार र अभ्यास भएमा मात्र राजनैतिक उपलव्धिलाई संस्थागत गरि स्थिर अर्थतन्त्रमा रुपान्तरण गर्न सकिन्छ तवमात्र देशको सम्वृद्धि भई नेपालीहरुको आयस्तरमा बृद्धि हुने देखिन्छ । (पोखरेल रिड नेपालका परियोजना प्रबन्धक हुन् , [email protected])

जनता बैंकले गर्यो प्रगति, नाफा बढेर २७ करोड १७ लाख

काठमाडौं । जनता बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा ११ करोड रुपैयाँ बढाएको छ । गत पुससम्म बैंकले २७ करोड १७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १६ करोड १३ लाख रुपैयाँ थियो । बैंकले आइतबार सार्वजनिक गरेको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको देखाएको छ । ६ महिनामा बैंकको निष्क्रिय कर्जा बढेर २.६५ प्रतिशत पुगेको छ । यस्तै निक्षेप लागत ७.८३, सीडी रेसियो ७८.१४, आधार ब्याजदर ११.३५, स्प्रेड दर ३.८५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ६.७८ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप दोब्बर बढाएर ५२ अर्ब ८० करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप २५ अर्ब ५६ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भई ४८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले २२ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचित कोष बढेर १ अर्ब रुपैयाँ नाघेको छ ।

एनएमबी बैंकको नाफा ४२.८५ प्रतिशतले बढ्यो

काठमाडौं । एनएमबी बैंकको नाफा ४२.८५ प्रतिशतले बढेको छ । बैंकले चालु आवको पुस मसान्त अवधीमा आफ्नो नाफा ३० करोडले वृद्धि गरेर एक अर्ब पुर्याएको हो । गत आवको सोही अवधीमा बैंकको नाफा ७० करोड मात्रै थियो । एनएमबी बैंकले ६ महिनामा ८० अर्ब निक्षेप संकलन गरेर ७२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब २५ करोड छ भने ब्याज खर्च जम्मा २ अर्ब ७५ करोड रुपैंयाँ रहेको छ । बैंकले २५ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गर्दा खराब कर्जालाई १.८९ प्रतिशतबाट घटाएर १.२४ प्रतिशतमा झारेको छ । बैंकको सीडी रेसियो ७६.६१ प्रतिशत मात्रै रहेको छ । बैंकको प्रति सेयर आम्दानी ३१.१८ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १८०.९८ रुपैंयाँ रहेको छ । ६ अर्ब ४८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ३४ करोड रुपैंयाँ रहेको छ ।

सेञ्चुरी कमर्शियल बैंकले गर्यो ३२ करोड ५१ लाख नाफा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सेञ्चुरी कमर्शियल बैंकले नाफा १० करोड रुपैयाँ बढाएको छ । गत पुससम्म बैंकले ३२ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २२ करोड ३९ लाख रुपैयाँ गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा नाफा बढेको देखाएको हो । बैंकको निष्क्रिय कर्जा ०.९९, सीडी रेसिया ७६, निक्षेप लागत ८.३१, आधार ब्याजदर ११.४३ र स्प्रेड दर ३.३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४७ पैसाँ छ । समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन बढाएर ५२ अर्ब १७ करोड रुपैयाँ बढाएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ३२ अर्ब ६७ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।