विकासन्युज

अनमोल केसीले गरे बेनेली लियोंसिनोको उद्घाटन, मोटरसाईकलको सुरुवाती मूल्य ८ लाख ९९ हजार

काठमाडौं । नेपाली चलचित्रका नायक अनमोल केसीले बेनेली ब्राण्डका लियोंसिनो मोटरसाईकलको उद्घाटन गरेका छन् । उनी बेनेली नयाँ ब्रान्डका प्रतिनिधि हुन् । मोटरसाईकल इस्क्राम्बल शैलीको छीटो, छरितो र सानदार रहेको कम्पनीको भनाइ छ । मोटरसाईकलमा १७ इञ्चको मिश्रधातुले बनेको पांग्रा जडान गरिएको छ । यसको अगाडी १२०/७० ‘जेडआर’–१७ र पछाडी १६०/६० ‘जेडआर’–१७ पांग्रा रहेको छ । जसले जस्तोसुकै अवस्थामा पनि सन्तुलन रक्षको ग्यारन्टी दिने कम्पनीको दावी छ । त्यस्तै मोटरसाईकलको अप्साइड डाउन ४५ एमएमफोर्क जुन ३२० एमएम डिस्कलाई पकडमा राखेको ४ पिस्टन ब्रेक क्यालिपर्ससँग जोडिएको छ । ब्रेकिंग सिंगल पिस्टन क्यलिपररहित २६० एमएमको डिस्कले नियन्त्रण गर्ने बताइएको छ । मोटरसाइकल ५ सय सिसिको लिकुइडमा प्रस्तुत गरिएको छ । जसले ८५०० आरपिएममा ४८ सिभी अधिकशक्ति र ४५०० आरपिएममा ४६ एनएम (४.६ केजी) को अधिक टोर्क रहेको जनाइएको छ । हरेक सिलिन्डरमा ४ भल्भ, हाइड्रोलिक क्लच र ६ इस्पिडको गियर बक्स, इस्टिल ट्रेलिस फ्रेमले अत्याधिक भर्सट्यालिटी र मनुभरेबिलिटीको ग्यारन्टी दिने कम्पनीले बताएको छ । रातो, सिल्भर र कालो रंगमा उपलब्ध मोटरसाईकलको सुरुवाती मूल्य ८ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ कम्पनीले जानकारी गराएको छ ।

केएलमा सुरु भयो ‘दामीसेल’ मेला, ५ हजारको सामान खरिदमा दुईवटा फिल्म टिकट सित्तैमा

काठमाडौं । राजधानीको चाबहिल स्थित केएल टावरमा ‘दामी ‘सेल’ मेला सुरु भएको छ । ठूला किसिमका सेल मेलामध्ये एक मानिएको यस दामीसेल मेलामा ४५ वटा पसलहरू सहभागी छन् । तीन हजारभन्दा बढी सामानहरू डिस्प्लेमा राखिएको छ । ती सामानहरुको खरिदमा५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । शनिबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । ५ हजार रुपैंयाको सामान खरिदमा दुईवटा फिल्म टिकट निःशुल्क उपलब्ध हुने मेलाको आयोजकले जनाएको छ । साथै पाँच सय वा सोभन्दा बढीको खरिदमा दैनिक पाँच हजार रुपैयाँ बराबरको उपहार दुई जनालाई, बम्पर उपहार लक्की ड्रमार्फत् एक जनालाई दिइने टावरले जनाएको छ । मेला अवधिभर केएल टावरमा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् । फेस पेन्टिङ, फेसन शो, म्यूजिकलइभेन्ट, बीबाइङ, हिपहपलगायत कार्यक्रमहरूका साथै भ्यालेन्टाइन दिवसमा स्पेशल कार्यक्रम समेत गरिने बताइएको छ । हालकेएल टावरमा ५० बढी पसलहरू छन् । मोबाइल हब, डिपार्टमेन्ट स्टोर, सर्टिङ-सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमाहल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सी लगायत सबैखाले सेवा-सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।

सानिमा बैंकले खोल्यो थप चार नयाँ शाखा, शाखा सङ्ख्या ५१ पुग्यो

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो थप चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको अमरसिंह, बगर, बिरौटा र दाङ्गको तुलसीपुर गरी ४ वटा नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । पोखराको शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरेका थिए । साथै, दाङ्गको तुलसीपुर शाखा कार्यालयको उद्घाटन् बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा बरिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताएका छन् । हाल बैंकको ५१ शाखा, १ एक्सटेन्सन काउन्टर र ६० एटीएम सेवा सञ्चालनमा रहेको छ ।

केपी ओलीले भने-लगानीकर्ता नआत्तिनुस्, सेयरमा भ्याट लाग्दैन(भिडियोसहित)

काठमाडौं । एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले सेयर बजारका लगानीकर्तालाई नआत्तिन अनुरोध गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको नव निर्वाचित नेतृत्वलाई स्वागत गर्न पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी सरकारसँग सेयर बजारका लगानी कर्ता आत्तिनु नपर्ने बताएका हुन् ।-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ओलीले बापमन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको आरोप पनि लगाए । ‘बामपन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको छ, आजसम्म सेयरमा भ्याट लगाउन आवश्यक किन ठानिएन, हामी गम्भिर भएका छौं’, ओलीले भने । उनले बामपन्थी सरकारलाई देखाएर लोकतन्त्र मासिने, खुल्ला बजार अर्थतन्त्र नासीने तथा लगानीकर्ता निरुत्साहित हुने अफवाह फैलाईएकोमा आपक्ति समेत जनाए । ‘नेपालका बामपन्थीहरुले आफ्नो जीवन नै लोकतन्त्र प्राप्तीका लागि समर्पण गरेका छन्, जसले लोकतन्त्र ल्यायो उसैले लोकतन्त्र मास्छ भन्ने हल्ला चलाईएको छ, तपाईहरु त्यस्ता अफवाहको पछि नलाग्नुस’, ओलीले भने । उनले बामपन्थी सरकार गठन भएपछि सेयर बजारमा उछाल आउने दावी पनि गरे । ‘तपाईहरु ढुक्क हुनुस, नयाँ सरकार आएपछि सेयर बजारमा उछाल आउँछ, नयाँ सरकारले लिने नितीका कारण सेयर बजार उकालो चढ्छ’, ओलीले भने । उनले सेयरमा भ्याट लाग्न नदिने पनि स्पष्ट पारेका छन् । ओलीले काम चलाउ वर्तमान सरकारले राज्य ढुकुटीको दोहन गरिरहेको आरोप पनि लगाए । काँग्रेसले आफुले राज्यको ढुकुटी भरेकाले मास्ने अधिकार पाउनुपर्ने तर्कको गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यस्ता गलत निर्णय सबै खारेज गर्ने पनि स्पष्ट पारे ।

अधिकांश बैंकले राष्ट्र बैंकको पैसा लिएनन्, २० अर्ब दिदा ७ बैंकले लिए ८ अर्ब ४० करोड

काठमाडौं । विभिन्न ७ बैंकले नेपाल राष्ट्र बैंकबाट ८ अर्ब ४० करोड रुपैयाँ उठाएका छन् । बजारमा तरलता कम हुनगइ अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले आइतबार रिपो वित्तीय उपकरण मार्फत बजारमा २० अर्ब रुपैयाँ पठाएर बजारमा हस्तक्षेप गरेको थियो । आइतबारसम्म बैंकिङ प्रणालीमा २२ अर्ब ४२ करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । आइतबार राष्ट्र बैंकबाट सिटिजन्स बैंक, मेगा बैंक, कैलाश विकास बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकले ५ प्रतिशत ब्याजमा १४ दिनका लागि पैसा उठाएका छन् । रिपोको पैसा निक्षेपमा गणना गरेर थप लगानी गर्न नपाउने भएपछि अधिकाँश बैंकले लिएन । तरलताको अवस्था कसिलो भएका कही बैंकले मात्र रिपो खरिद गरेका हुन् । एक साताअघि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको छ । अल्पकालिन तरलताको समस्या समधान गर्न केन्द्रीय बैंकले दुई साताका लागि बजारमा पैसा पठाएको हो । रिपो रकम माघ २८ गते फिर्ता हुनेछ । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण डेढ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ७ पटक रिपो गरी बजारमा ५२ अर्ब ४५ करोड रुपैयाँ बजारमा पठाएको छ । यता बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशत बढी रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने  बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।  

राष्ट्रिय बाणिज्य बैंकको लोभ लाग्दो प्रगति, नाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौं । पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको नाफा ४७.१० प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७४ पुस मसान्त अवधीमा आफ्नो नाफा ५७ करोडले वृद्धि गरेर एक अर्ब ७८ करोड पुर्याएको हो । २०७३ पुस मसान्तमा बैंकले एक अर्ब २१ करोड नाफा कमाएको थियो । बैंकले एक खर्ब ४९ अर्ब निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब कर्जा लगानी प्रवाह गर्दा सीडी रेसियो ६९.१२ प्रतिशत मात्रै पुगेको छ । ठुला निजी बैंकहरु सिडी रेसियो नाघेर कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगिसक्दा पनि बाणिज्य बैंक भने अझै १० प्रतिशत थप कर्जा लगानी गर्न सक्ने अवस्थामा रहेको छ । अन्य सरकारी संस्थान तथा उद्योगहरु निरन्तर ओरालो लागिरहँदा पनि राष्ट्रिय बाणिज्य बैंकले भने निरन्तर प्रगति गरिरहेको देखिन्छ । बैंकले ५ अर्ब ३२ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३१ करोड मात्रै ब्याज खर्च गरेको देखिन्छ । बैंकले कर्मचारी खर्च पनि एक अर्ब ४१ करोडबाट घटाएर एक अर्ब २० करोडमा सिमित गरेको छ । खराब कर्जा ३.११ प्रतिशत रहेको बैंकले ८८ करोड प्रोभिजन गरेको छ भने ४० करोड राइट ब्याकबाट आम्दानी गरेको छ ।

हिमालयन बैंकको नाफा एक अर्ब १० करोड

काठमाडौं । हिमालयन बैंकले एक अर्ब १० करोड नाफा कमाएको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा ८ करोडले नाफा बढाएको हो । २०७४ पुस मसान्त अवधीमा एक अर्ब २ करोड नाफा गरेको थियो । हिमालयन बैंकले ९२ अर्ब निक्षेप संकलन गरेर ८२ अर्ब कर्जा लगानी गरेको छ । बैंकले ४ अर्ब ५० करोड ब्याज आम्दानी गर्दा २ अर्ब ६३ करोड ब्याज खर्च गरेको छ । बैंकको सीडी रेसियो भने ७९.३० प्रतिशत पुगिसकेको छ । ०.९४ प्रतिशतबाट १.३२ प्रतिशत खराब कर्जा पुगेको बैंकले २८ करोड प्रोभिजन गरेको छ भने २७ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । ८ अर्ब ११ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६९ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २७.२६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १५७.८८ रुपैंयाँ रहेको छ ।

नेपाल बैंकको नाफा २६ करोडले घट्यो

काठमाडौं । नेपाल बैंकको नाफा २६ करोडले घटेको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा एक अर्ब ६३ करोड मात्रै नाफा कमाउन सफल भएको छ । जबकी २०७३ पुस मसान्तमा बैंकको नाफा १ अर्ब ८९ करोड रहेको थियो । नेपाल बैंकले ९१ अर्ब निक्षेप संकलन गरेर ७८ अर्ब कर्जा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब २४ करोड छ भने ब्याज खर्च एक अर्ब ३० करोड मात्रै रहेको छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा ५ अर्ब ४ करोड रुपैंयाँ रहेको छ । ३.२३ प्रतिशत खराब कर्जा रहेको नेपाल बैंकले २३ करोड प्रोभिजन गरेको छ । बैंकको खराब कर्जा गत आवको पुस मसान्तमा जम्मा २.८५ प्रतिशत मात्रै थियो । बैंकले २३ करोड रुपैंयाँ नै राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । बैंकको सीडी रेसियो ७५.३० प्रतिशत मात्रै रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४०.७४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १७२.७६ रुपैंयाँ रहेको छ ।