उपमहानगरले उठायो ५ करोड ७१ लाख राजश्व
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधिमा रु चार करोड ९८ लाख ३० हजार २१६ राजश्व संकलन गरेको थियो । यस अवधिमा गत वर्षभन्दा रु ७३ लाख ७५ हजार ४८० बढी राजश्व संकलन भएको हो । राजश्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सापास दस्तुरबाट रु एक करोड २८ लाख ४७ हजार ३०३ राजश्व संकलन गरिएको छ । गत वर्ष बनिसकेका घर प्रमाणित गर्नेको संख्या बढी भएका कारण सो अवधिमा बढी राजश्व उठेको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माको भनाइ छ । नगरका साबिकका १८ देखि २८ सम्मका वडालाई घर नक्सा प्रमाणितमा छुट दिइएको छ । उपमहानगरपालिकाका अनुसार आव ०७४ साउनदेखि माघ मसान्तसम्म नक्सा दर्ता ७१३, प्लिन्थ लेवल स्वीकृति २२८, सुपर स्ट्रक्चर इजाजत ३३१, नयाँ घर निर्माण २२६ र पुरानो घरको प्रमाणित २९५ वटा गरिएको छ । गत वर्ष रु १२ करोड राजश्व लक्ष्य रहेकामा चालु आवमा उपमहानगरपालिकाको रु १६ करोड राजश्व लक्ष्य रहेको राजश्व शाखा प्रमुख भूपति खत्रीले जानकारी दिए ।-रासस
बरुण हाइड्रोपावरको नाफा सावा २ करोड
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षमा नाफा बढेको छ । गत पुससम्म कम्पनीले २ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिम कम्पनीले १ करोड ३३ लाख रुपैयाँ नाफा गरेको छ । समीक्षा अवधिमा कम्पनीले बिजुली बिक्रीबाट ५ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । २५ करोड ५१ लाख रुपैयाँ सेयरपुँजी भएको बरुणको संचित कोष बढेर २ करोड ३३ लाख रुपैयाँ पुगेको छ । बैंकको कर्जा अझै २३ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
प्रभु बैंकको हकप्रद बिक्री १० दिन थप, फागुन २३ गतेसम्म हकप्रद भर्न पाइने
काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर बिक्री १० दिनका लागि थप भएको छ । बैंकको सञ्चालक समितिले १० दिनका लागि हकप्रद बिक्रीको म्याद थप गर्ने निर्णय गरेको छ । हकप्रद बिक्री खुला फागुन २३ गतेसम्म हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । गत पुस २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिने पाउने छन् । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ८ अर्ब २३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी ५ अर्ब ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ ।
८ अण्डरराइटरले बुटबल पावर कम्पनीको ५० करोडको एफपीओ किन्नु पर्ने
काठमाडौं । प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ५० करोड रुपैयाँ भन्दा बढीको थप निष्कासन (एफपीओ) किन्नु पर्ने भएको छ । फपीओ बिक्री खुला ३ दिनमात्र बाँकी रहदा अझै ५४ करोड रुपैयाँ बढीको बिक्री हुँन बाँकी भएपछि बाँकी हुने एफपीओ अण्डरराइटरले सकार्नुपर्ने अवस्था देखिएको हो । यद्यपी ३ दिन समय बाँकी रहेकाले सबै बिक्री हुने संभावना पनि छ । हालसम्म बीपीसीको १ अर्ब ५० करोड रुपैयाँको एफपीओ बिक्री भएको बीपीसी वित्त विभागका भाइस प्रसिडेन्ट राधेश्याम श्रेष्ठले जानकारी दिए । उनकाअनुसार अझै ५४ करोड रुपैयाँको बिक्री हुन बाँकी छ । निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले मंगलबार बैंकिङ समयसम्म मात्र एफपीओका लागि आवेदन दिन सक्ने जानकारी दिएको छ । बिक्री नभएको एफपीओ एनएमबीलगायत लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, ग्लोबल आईएमई सम्मुनत योजना १, नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नविल ब्यालेन्स फण्ड १ र नविल इक्विटी फण्ड गरी ८ संस्थाले खरिद गर्नुपर्ने छ । बीपीसीले प्रिमियम मूल्य ४०१ रुपैयाँ थप गरी प्रतिकित्ता ५०१ रुपैयाँमा गत माघ १५ गतेदेखि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो ।सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि बीपीसीले संगठित संस्थालाई एफपीओ बिक्री खुला गरेको थियो । संगठित संस्थाले पनि बीपीसीको एफपीओ खरिद गरेनन् । सबैमा १० कित्ताको मनोवैज्ञानिक असर देखिएको एनएमबीले जनाएको छ । झण्डै ८५ हजार भन्दा बढी आवेदन परेपनि १० कित्ता मात्र पर्ने मनोवैज्ञानिक प्रभावले पर्याप्त बिक्री नभएको एनएमबीको भनाई छ । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।चालु आर्थिक वर्षको ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेको छ । बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ ।
एशियन लाइफको हकप्रद बिक्री खुला, चैत १८ गते बन्द हुने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर आइतबारदेखि बिक्री खुला भएको छ । एशियनले चुक्तापुँजी बढाउन ४० करोड २७ लाख ९६ हजार रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन बन्द चैत १८ गते हुनेछ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । गत माघ ७ गतेसम्म नेपाल स्कट एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविक सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ ।चालु आर्थिक वर्षको असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्ता पुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था नियामक बीमा समितिले गरेको छ । कम्पनीको चुक्ता पुँजी हाल ८० करोड ५५ लाख रुपैयाँ छ । कम्पनीले आउदो ३ वर्षमा नाफा ३ सय प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरेको छ । ०६४ चैत २१ गतेदेखि जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले आउदो आर्थिक वर्ष ०७६÷०७७ मा नाफा झण्डै ३ सय प्रतिशत बढाएर २६ करोड ६२ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा एशियनले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ३ वर्षमा कम्पनीले नाफा झण्डै १६ करोड रुपैयाँ बढाउने प्रक्षेपण गरेको छ ।
एनआईसी एसिया ग्रोथ फण्डको बिक्री आजसम्म मात्र
काठमाडौं । एनआईसी एसिया बैंकले निष्कासन गरेका एनआईसी एसिया ग्रोथ फण्ड आज आइतबारदेखि बन्द हुने भएको छ । एनआईसी क्यापिटल लिमिटेडले निष्कासन ग्रोथ फण्डको बिक्री आइतबार बैंकिङ समयपछि बन्द हुने जानकारी दिएको छ । आजसम्म मात्र आवेदन लिने उसले जनाएको छ । एनआईसी क्यापिटलले प्रति एकाई १० रुपैयाँका दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाई निष्कासन गरेको हो । ग्रोथ फण्ड माघ २ गतेदेखि निष्कासन भएको हो । ग्रोथ फण्डको निष्कासन छिटो बन्द हुने मिति माघ ८ र ढिलोमा माघ २१ गतेसम्म तोकिएको थियो । पुरै बिक्री नभएपछि समय थप गरिएको छ । ग्रोथ फण्ड कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत अर्थात १ करोड ५० लाख कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी ८ करोड ५० लाख एकाई बिक्रीका लागि खुला गरिएको छ ।
बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन
बिबिसी । बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ। ५४ वर्षीया श्रीदेवी दुबाईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका बेला हृदयघात भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्। पुरूष कलाकारको सहयोग विनै सफल चलचित्र दिने थोरै अभिनेत्रीहरूमा श्रीदेवीको नाम आउँछ। उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो। बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन् । बालकलाकारकै रूपमा उनले तेलुगु र मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्। दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिवूड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरिन्। सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिवूडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो। उनलाई ‘लेडी अमिताभ बच्चन’ पनि भन्ने गरिन्थ्यो । सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिनन्।सन् २०१२ मा उनले इंग्लिश-विंग्लिश नामक चलचित्रमा अभिनय गरिन्। जुन व्यावसायिक रूपमा निकै सफल रह्यो। सन् २०१७ मा मम नामक उनको चलचित्र आएको थियो, जसमा उनले लामो भूमिका निर्वाह गरेकी थिइन्।
प्रदेश ६ को नामाकरण कर्णाली र राजधानी वीरेन्द्रनगर
काठमाडौं । संघीय संरचनाअनुसार प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश नामाकरण गरिएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई तोकिएको छ । प्रदेशसभाको शनिबार बसेको बैठकले प्रदेशको नामाकारण कर्णाली र राजधानी वीरेन्द्रनगरलाई बनाउने निर्णय अध्याधिक मतले पारित गरेको छ । सबैभन्दा पहिला नामाकारण र राजधानी तोक्ने प्रदेश नम्बर छ भएको छ । बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरे भने विपक्षी दल दलका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेत सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राखेका थिए । प्रदेशसभा दलहरुको सहमतिका आधारमा कँडेल र शाहीले कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको थियो । ४० सदस्यीय प्रदेशसभामा ३९ सांसद छन् । प्रस्तावको पक्षमा ३६ मत परेको छ भने विपक्षमा एक मत मात्र खसेको छ ।