आपूर्तिमन्त्री यादवले सम्हाले पदभार, अनुशासन तोड्नेको लागि आफु खतरा भएको सुरुमै चेतावनी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताए । ‘भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै काम गर्नेगरी योजनाबद्ध कार्यक्रम ल्याउछु,’मन्त्री यादबले भने ‘अहिले भाषण हैन काम गर्ने बेला हो, मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौं।’ मन्त्री यादबले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने उल्लेख गर्दै अनुशासन तोडेर गढबड गर्नेका लागि मात्र आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पारे । संविधानको निर्देशअनुसार समाजवादको आधार तयार गर्नेगरी काम गर्ने उनको भनाइ छ । कार्यक्रममा यसअघि तीन वटा मन्त्रालय समयोजन गरेर गठन भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव क्रमशः चन्द्रकुमार घिमिरे, यामकुमारी खतिवडा र अनिलकुमार ठाकुरले मन्त्रालयको गतिविधिबारे जानकारी गराएका थिए । एकीकरणपछि मन्त्रालयलाई छरितो र वैज्ञानिक बनाउन लागिपरेको उनीहरुको भनाइ छ । उनीहरुले अहिलेको मुख्य समस्या मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्न योजनाबद्ध कार्यक्रम ल्याउने तयारीमा लागेको बताएका छन् । को हुन् मातृका यादव विसं २०३४ मा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनबाट राजनीतिक यात्रा शुरु गरेका मातृका यादव विसं २०३६/०३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बनेका थिए । विसं २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बनेका उनी त्यसपछि भूमिगत जीवन बिताएका थिए । चौम चौथो महाधिवेशनका पोलिटब्यूरो सदस्य ‘पिबिएम’ समेत भएका थिए । जेल जीवन र लामो संघर्ष भोगेका उनी २०३९ मा जेलबाट छुटेपछि पुनःपार्टीमा सक्रिय भएका हुन् । २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय ब्यूरो सदस्य बनेका थिए । पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका यादव क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०/५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भएका हुन् । विसं २०५९ मा सरकारसँग दोस्रो वार्तामा वार्ताटोलीको सदस्य बनेका थिए । अन्तरिम व्यवस्थापिका–संसद्मा वनमन्त्री बन्नुभएका उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवादका कारण मन्त्रीबाट राजीनामा दिएका थिए । धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव मधेशमा प्रभावकारी नेताका रुपमा चिनिनछन् ।रासस
७ अर्बमा सिनो हाइड्रोले भोटेकोशी आयोजनाको पुनःनिर्माण थाल्यो, २ वर्षमा बिजुली उत्पादन हुने
काठमाडौं । माथिल्लो भोटेकोशी विद्युत् आयोजनाको पुनःनिर्माण शुरु भएको छ । ३ वर्षदेखि बन्द अवस्थामा रहेको सो आयोजनाको पुनःनिर्माण कार्य शुरु भएपनि विद्युत उत्पादन हुन अझै २ वर्ष लाग्ने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाटको सो आयोजना विसं २०७२ को भूकम्प र विसं २०७३ को बाढीले क्षतिग्रस्त हुँदा त्यसको उत्पादन बन्द भई कम्पनी र राष्ट्रले ठूलो घाटा ब्यहोर्नु परेको छ । विसं २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारणलाइनको टावरलाई क्षति पुु¥याएपछि झण्डै ४ महिना उत्पादन बन्द भएका थियो । मर्मतपश्चात सञ्चालनमा आएको केहि महिनापछि विसं २०७२ को भूकम्पले पुनः क्षति पुु¥याएको थियो । त्यसपछि मर्मत भइरहेको सो आयोजनालाई विसं २०७३ असार २१ गते तिब्बतबाट आएको भोटेकोशी बाढीले पुनः क्षतिग्रस्त बनाएको आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले बताए। अहिले चीनको सिनो हाइड्रो कम्पनीसंग ७ अर्ब रुपैयाँको लगानीमा आयोजना पुनःनिर्माणको ठेक्का सम्झौता भएको छ । आगामी 2 वर्षभित्र आयोजनाको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक स्थापितले बताए। बाह्रबिसे–तातोपानी सडकखण्डअन्तर्गत साविक तातोपानी गाविसको १० किलो भन्ने स्थानमा बाँध बाँधेर ३.५ किमी सुरुङमार्फत फुलपिङकट्टीको झिर्पुमा निर्मित विद्युत्गृहमा पानी खसालिएको थियो । बाढीले सुरुङमार्गबाहेक बाँध स्थल, विद्युत्गृह, पेनस्टक पाइप, प्रसारणलाइनको केही टावर क्षेत्र र विद्युत्गृहमा रहेका सम्पूर्ण उपकरणमा क्षति पुु¥याएकाले मर्मत तथा नयाँ निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०५१ मा अरुण तेस्रो जलविद्युत् आयोजनाबाट लगानीकर्ताले हात झिकेपछि निजी क्षेत्रबाट यो आयोजनाको निर्माण कार्य शुरु भएको थियो । अमेरिकाको पाण्डा इनर्जी र हार्जा कर्पोरेसनले विसं २०५३ मा शुरु गरेको सो आयोजनाबाट उत्पादित विद्युतलाई अमेरिकी डलरमा खरिद गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता भएको थियो ।शुरुमा ३६ मेगावाटको स्वीकृति पाएको सो आयोजनाले पछि ४५ मेगावाटको स्वीकृति पाएको थियो ।
३ सचिवसहित ४ हजार कर्मचारीले दिए स्वेच्छिक अवकाशका लागि निवेदन
काठमाडौं । करिब ४ हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि निवेदन आह्वान गरेकामा करिब ३ हजार ७४८ हजारले निवेदन दिएको मन्त्रालयका स्वेच्छिक अवकाश एकाई शाखाका प्रमुख धर्मराज रोकायले जानाकारी दिए। मन्त्रालयले गत पुस २८ गते राजपत्रमा सूचना प्रकाशित गरेर समायोजनमा जान नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि दरखास्त आह्वान गरेको थियो । ४५ दिनको समयसीमा राखेर स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई निवेदन दिन आग्रह गरिएको थियो । त्यसै अनुसार कर्मचारीले निवेदन दिएका हुन् । गत पुस २९ देखि फागुन १३ गतेसम्म कर्मचारीले आफू कार्यरत कार्यालय र निकायमा स्वेच्छिक अवकाशको निवेदन दर्ता गराउने व्यवस्था गरिएको थियो । उहाँले दरखास्त दिएका निवेदनलाई आवश्यक छानबिन गरी समायोजन गरिने बताए । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र २० वर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरिएको थियो । स्वेच्छिक अवकाश लिनेमा तीन सचिव, १३ सहसचिव र ४५ उपसचिव समेत रहेका छन् । सबभन्दा बढी तल्लो तहका श्रेणीविहीन कर्मचारीले स्वेच्छिक अवकाश लिएको रोकायले बताए। भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला, संसद् सचिवालयका सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्र कार्कीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । उपसचिवसमेत रहेका रोकायले सम्बन्धित कार्यालयमा स्वेच्छिक अवकाशका लागि निवेदन दिएका दरखास्तको यही १९ गतेसम्म संकलन गरिने जानकारी गराए। आवश्यक अध्ययनपछि अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्मा स्वेच्छिक अवकाशका लागि लैजाने उनले बताए । मुलुकभरि करिब ८३ हजार निजामती कर्मचारी छन् । रासस
टिकापुर घटनाका नाइके रेशम चौधरी जेल चलान
काठमाडौं । टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई अहिले धनगढी कारागारमा राखिएको छ । घटनापछि फरार चौधरीले सोमबार बिहान अदालतसामू आत्मसमर्पण गरेका थिए । न्यायाधीश परशुराम भट्टराईको इजलासले उनले जेल पठाएको हो । यसअघि चौधरीले आफूमाथि लागेको अभियोग सत्य नभएको जिगिर गरेका थिए । उनका वकिलले सांसदको चुनाव जितेका उनलाई तारेखमा छाड्नुपर्ने तर्क गरेका थिए । अर्को पेशी फागुन १६ लाई तोकिएको छ । ‘जनमत प्राप्त गर्नुपूर्वको फौजदारी क्रियाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन अदालतले भनेको छ ।
एनआईसी एसिया बैंकले ल्यायो १० प्रतिशत ब्याज दिने सम्मुनती प्लस वचत योजना
काठमाडौं । एनआईसी एसिया बैंकले १० प्रतिशत ब्याज दिने गरी सम्मुनती प्लस वचत खाता योजना ल्याएको छ । सम्मुनती प्लस खातामा दैनिक मौज्दात न्युनतम १० हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ । यो खाता खोलेपछि लकर सुविधामा ५० प्रतिशत छुट र इन्टरनेट, मोवाइल बैंकिङ र निःशुल्क डीम्याट खाता र डेविट कार्ड उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले त्रैमाशिक रुपमा ब्याज भुत्तानी दिने भएको छ । यसअघिका सम्मुनती वचत खाता र सम्मुनती मुद्धति खाता लोकप्रिय भएपछि नयाँ वचत योजना सार्वजनिक गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए ।
नागरिकको आर्थिक सुरक्षाको जिम्मेवारी राज्यले लिन्छः अर्थमन्त्री खतिवडा
मान्छेको क्षमताको पहिचान संकटका बेलामा हुन्छ । जतिसुकै संकट र समास्या आएपनि हाम्रो टिमले समाधान गर्न सक्छ भन्ने मलाई लागेको छ । म एउटा विकासवादी चिन्तन गर्दै आएको व्यक्ति हुँ । मेरा केहि मान्यताहरु छन्, ती समकालिन अभ्यासहरु भन्दा धेरै टाढा छैनन् । समय, परिस्थिती र राजनीतिक प्रणालीले अघि सारेका नयाँ कुराहरु बाहेक हामीले धेरै कुराहरु हिजोकै निरन्तरताका रुपमा अघि बढाउने हो । हामीले गर्ने नयाँ काम बारे प्रधानमन्त्रीको निर्देशनपछि अघि बढाऔंला । आज कार्यभार सम्हालिरहँदा मेरा केहि योजनाहरु छन् । हामीलाई आर्थिक नीतिको स्वरुप कस्तो हुन्छ भनेर बहस गर्नुपर्ने अवस्था छैन् । संबिधानमा उल्लेख गरिएका मौलिक हक र संबिधानमा लेखिएका राज्यका निर्देशक सिद्धान्तहरुको कार्यान्वयन हाम्रो दायीत्व हुनेछ । दोश्रो कुरा अहिले हामी बाम गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका छौं । हामीले चुनावी घोषणा पत्रमा जनतासँग गरिएका प्रतिवद्धताहरु पुरा गराउनुपर्नेछ । हाम्रा केहि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताहरु छन् । निश्चित समयमा निश्चित उपलब्धि हासिल हुन्छ भनेका छौं । त्यो लक्ष्य पुरा गराउन लागिपर्नु पनि हाम्रो दायीत्व हुनेछ । अहिलेको संबिधानले मार्ग निर्दिष्ट गरे अनुसार सरकारका भूमिकाहरु निश्चित छन् । हामीले लोक कल्याणकारी राज्य हुँदै समाजवाद उन्मुख राज्य निर्माणको बाटोमा अघि बढ्नुपर्नेछ । तत्कालका लागि राज्यको भूमिकालाई अग्रणी, नेतृत्वदायी र अभिभावकिय बनाउन्ै पर्नेछ । साच्चै भन्ने हो भने सबै नागरिकको आर्थिक रुपमा सुरक्षा दिने जिम्मेवारी राज्यले लिन्छ र त्यसका लागि निजी क्षेत्र, सहकारी र सामुदायीक क्षेत्रसँग सहकार्य गर्छ । ती सहकार्यहरु परिपुरक हुनेछन् । हामी सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छौं । अर्थतन्त्रमा केहि समस्याहरु छन्, केहि विकृतिहरु प्नि छन् । सरकारी वित्त व्यवस्थापनमा रहेका विकृतिहरुको अन्त्य गराउनुपर्नेछ । म आफैं पनि वित्त अनुशासनको पक्षपाती मान्छे हुँ । आर्थिक क्षेत्रका अनियमिताहरुको अन्त्य भएन भने समृद्धि तर्फ जान सकिँदैन् । त्यसले गरिबी निवारणका हाम्रा लक्ष्य पुरा हुन पनि दिँदैन् । त्यसकारण हामी सरकारी वित्त प्रणालीमा अनुशासन र पारदर्शिता ल्याउँछौं । खर्चको प्रभावकारीता ल्याइनेछ । समग्रमा भन्ने हो भने वित्त व्यवस्थापनमा कुशलता र पारदर्शिता ल्याइनेछ । वित्तिय प्रणालीमा पनि धेरै काममा स्थायीत्व ल्याउनुपर्नेछ । साधन श्रोतलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेछ । काम र उत्पादनका अवसरहरुको सृजना गराउनुपर्नेछ । हामीसँग भएको सिमित श्रोत साधन त्यस तर्फ लगाएनौं भने निर्यातले आयातको सात आठ प्रतिशत पनि धान्न नसक्ने अवस्था छ । त्यसले भुक्तानी असन्तुलनको अवस्था सृजना भैरहनेछ । यो बाह्य कारणले उत्पन्न भएको होइन । हाम्रो ढंगले आर्थिक व्यवस्थापन गर्न नसकेकाले यस्तो समस्या आएको हो । जति पनि हाम्रा संरचनात्मक समस्या छन तिनको समाधान गरेर वित्तिय स्थायीत्व ल्याइनेछ । अर्काे कुरा भनेको उच्च आर्थिक वृद्धिदर कायम गराउनु पर्नेछ । त्यसको आधार भनेको निजी क्षेत्र नै हो । आन्तरिक तथा बाह्य निजी क्षेत्रको लगानी भित्र्याएर उच्च दरको आर्थिक वृद्धिदर कायम गराइनेछ । हामीले परिकल्पना गरेका विकास र पुर्वाधारका आयोजनाहरुको कार्यान्वयन, समाजिक न्याय सहितको विकासका लागि निजी क्षेत्रलाई प्रोत्सहन गरिनेछ । नीतिगत सुधारहरुलाई अनुकुल बनाइनेछ, प्रशासनिक सुधारलाई तिब्रता दिइनेछ । लगानी बोर्डलाई अझ सक्रिय र प्रभावकारी बनाइनेछ । नीजी क्षेत्रसँग सम्बन्धित निर्णय प्रक्रियालाई अझै सहज बनाइनेछ । हामीले जति सुकै जे भने पनि अन्तराष्ट्रिय सहयोग र लगानी बिना उल्लेख्य प्रगति गर्न सक्दैनौं । त्यसका लागि त्यस्ता अन्तराष्ट्रिय सहयोग र प्रबिधी हस्तान्तरणहरुलाई हाम्रो राष्ट्रिय स्वार्थ अनुकुलु भित्र्याउने र उपयोग गर्नुपर्छ । श्रम बजारको सम्बन्धलाई पनि त्यसै अनुरुप विस्तार गरिनेछ । अन्तराष्ट्रिय सहयोगलाई राष्ट्रिय प्राथमिकताका आधारमा उपयोग गर्नेछौं । ऋण तिर्न सक्ने र क्षमता विकास गर्न सक्ने तथा हाम्रो अन्तराष्ट्रिय शाख बढाउने गरि काम गर्छाै । बढि भन्दा बढि अन्तराष्ट्रिय सहयोग भित्र्याउने गरि काम गर्छाै । आजै धेरै कुरा नगरौं, हामीले योजना बनाउने हो र सबैसँगै मिलेर देश बनाउने बाटोमा अघि बढ्ने हो । अहिले अर्थतन्त्रमा देखिएका समस्याहरु अल्पकालिन हुन् । यीनलाई दिर्घकादिन नबनाऔं भन्ने मेरो आग्रह हो । (नव नियुक्त अर्थमन्त्री डा. खतिवडाले कार्यभार सम्हालेपछि दिएको मन्तव्य)
ताप्लेजुङमा महिन्द्राको नयाँ शोरुम, थ्री एसको सेवा दिने
काठमाडौं । अग्नि ग्रुपले महिन्द्रा गाडीहरुको नयाँ आधिकारिक शोरुम ताप्लेजुङमा विस्तार गरेको छ । कम्पनीले हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित उक्त स्थानमा आधिकारिक शोरुमको उद्घाटन गरेको हो । शोरुमको उद्घाटन सभासद् बलबहादुर सम्सोहाङ्ग, श्री तपस पट्नायक (महिन्द्राका सर्भिस कन्ट्रि म्यानेजर) रामेश्वर महर्जन ( अग्नि इन्कर्पोरेटेडका कार्यकारी अधिकृत) तथा अमित चौधरी (अग्नि इन्कर्पोरेटेडका सर्भिस हेड) ले सामुहिक रुपमा गरेका थिए । शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् । चाहिएको बेला सर्वसुलभ तरिकाबाट गाडी खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकहरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य हो । साथै, शोरुमको स्थापनासँगै कम्पनी र ग्राहक बीचको सम्बन्धलाई अझ बलियो बनाउने कम्पनीको विश्वास छ ।
सवारी चोरीको घटना बढ्दै, ४५ दिनमा १५० मोटरसाइकल चोरी
काठमाडौं । काठमाडौंमा सवारीसाधन चोरीको घटना बढ्दै गएको छ । गत माघ १ गतेदेखि फागुन १५ गतेसम्म १ सय ८४ वटा सवारी साधन चोरी भएको हो । महानगरिय ट्राफिक महाशाखाका अनुसार १ सय ५० वटा मोटरसाइकल चोरी भएका छन् । त्यसैगरी २५ वटा स्कुटी, ३ वटा जिप र ६ वटा साइकल चोरी भएका छन् । मोटरसाइकलको प्राविधिक पाटो निकै फितलो रहेको हुने भएकोले चोरीको घटना बढ्दै गएको महाशाखाको सहप्रवक्ता मुकुन्द मरासिनी बताए । मोटरसाइकल चोरी गरेरे पार्टपुर्जा सजिलै अर्को मोटरसाइकलमा सार्न सकिने र सजिलै लुकाउन सकिने भएकाले मोटरसाइकल चोरीको घटना बढ्दै गएको प्रहरी डिएसपी नविनराज राईले बताए । चोरी नियन्त्रणका लागि प्रहरीले विषेस योजना बनाएर अघि बढिरहेको राईले जानकारी दिए । हराएको सवारीको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।