विकासन्युज

राजपालाई पनि सरकारमा ल्याउने एमालेको तयारी

काठमाडौं । नेकपा(एमाले)का नेता रविन्द्र अधिकारीले आफूहरुले राजपा र फोरम नेपाल दुवैलाई सरकारमा ल्याउनेगरि पहल गरिरहेको स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता अधिकारीले वर्तमान सरकार सम्भव भएसम्म सबैलाई सरकारमा सहभागी गराउने गृहकार्यमा जुटिरहेको बताएका हुन् । उनले भने,‘राजनीतिक संक्रमण पनि सम्पन्न भएको छ, अब मुलुकलाई राजनीतिक स्थायत्वि र समृद्धिको यात्रामा अघि बढाउनको लागि पनि बलियो सरकार बनाउने पक्षमा हामी छौं ।’ अधिकारीले भने, ‘हामीले राजनीतिक स्थायित्व हाँसिल गर्नकै लागि वाम गठबन्धन बनाएर निर्वाचनमा गएका हौं, यो सँगै एकता प्रक्रिया अघि बढाएका छौं, सरकार बनाएका छौं, बलियो सरकार बनोस् भन्ने हाम्रो चाहना छ, हिमाल, पहाड र तराई सबैलाई मिलाएर अघि बढ्न चाहन्छौं, यसकोलागि राजपा र फोरमलाई सँगै लिएर जान चाहन्छौं, सकारात्मक कुराहरु भैरहेका छन् ।’ उनले आफूहरु संविधान संशोधनको लागि कहिल्यै पनि बाधक नभएको जिकिर गरे । यद्धपी उनले सबैलाई जायज लाग्ने विषयमा संविधान हुने स्पष्ट पारे । उनले थपे,‘हामीलाई मात्रै जायज लागेर हुँदैन, फोरमलाई मात्रै लागेर पनि हुँदैन, राजपालाई पनि लागेर हुँदैन, सबैलाई जायज लाग्नुपर्यो, अनि संविधान संशोधन गर्छौं।’ उनले संविधानको धारा २७४ संशोधन गर्न नसकिने स्पष्ट पारे । नेता अधिकारीले आउने आईतबार वा सोमबारसम्म मन्त्रिमण्डल विस्तार हुने जनाए । उनले भने,‘क्याविनेट विस्तार हुन्छ, अब आउने सोमबारसम्म भैसक्छ, राजपासँग पनि राम्रो कुराकानी भएको छ, राम्रो मात्रै होईन, धेरै राम्रो कुराकानी भएको छ, कुराकानीले आकार लिएपछि हामी पत्राचार गर्छौं ।’

आइएमई डिजिटल र सिद्धार्थ बैंकबीच मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्धारा प्रवद्धित ‘आइएमई डिजिटल’ र सिद्धार्थ बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्धार्थ बैंकको तर्फबाट भुक्तानी विभाग प्रमुख सुरेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिद्धार्थ बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकले चाडै नै सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक लिङ्क गर्ने छ । साथै, बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्रदान गर्ने बैंकले जनाएको छ । त्यसैगरी, सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’

काठमाडौं । ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’भन्ने मूलनाराका साथ आइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरि गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो । स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन पाँच जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध गराइएको थियो भने प्रत्येक महिना एकजना भाग्यशाली विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध गराइएको थियो । भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमईका प्रमुख बिक्री अधिकृत रुद्रराज पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्कगर्दा संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आइएमई गरि कूल ३४ हजार ४ सय ३६ रुपैयाँ पठाउने आइएमई सेवाग्राही राई भाग्यशाली छनोट भएका छन् । सेवा र शर्त अनुसार सेवाग्राही राई स्वयम् वानीजले सिफारिस गरेको व्यक्तिले उक्तउपहार पाउने व्यवस्था गरिएको छ । त्यस्तै योजना अवधिमा विदेशस्थित आइएमईका व्यवसायिक साझेदार संस्थाहरु जस्तै- मनीग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यासमार्फत आइएमई गरि नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लालबहादुर गुरुङ्ग भाग्यशाली विजेता छनोट भएका छन् । भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमईका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्कगर्दा साइप्रसबाट मनीग्राममार्फत पठाएको पैसा नेपालमा आइएमईमार्फत लिने गुरुङ्ग भाग्यशाली विजेता घोषित भएका हुन् । सेवा र शर्त अनुसार सेवाग्राही गुरुङ्ग स्वयमले उक्त उपहार पाउने व्यवस्था गरिएको छ । कम्पनीले १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् रेमिटेन्स सेवा दिँदै आएको छ ।  

वयोधाले भित्र्यायो अत्याधुनिक मेसिन, एकैपल्ट मुटुको धड्कन, पल्स रेट, अक्सिजनको अवस्था थाहा पाइने

काठमाडौं । राजधानीस्थित वयोधा अस्पतालले नेपालमा पहिलो पटक छुटै किसिमको रिमोट मोनिटरिङ टेक्नोलोजी ‘मेसिमो पेसेन्ट सेफ्टिनेट’ नामक अत्याधुनिक मेसिन भित्र्याएको छ । मेसिन नेटवर्किंग प्रविधिद्धारा सञ्चालन हुने जनाइएको छ । उक्त टेक्नोलोजीअन्तर्गत धेरैजसो बिरामीको औंलामा मेसिमो पेसेन्ट सेफ्टिनेट नामक डिभाइस लगाइन्छ । सो डिभाइस लगाइसकेपछि स्वास्थ्यकर्मीले कम्प्युटरको सहायताले एकैपल्ट बिरामीको मुटुको धड्कन, पल्स रेट, रगतको अक्सिजन, हेमोग्लोबिनको अवस्था बारेमा थाहा पाउन सक्नेछ । अस्पतालको अनुसार बिरामीहरु फरक–फरक वेडमा राखिएपनि वार्डका नर्स र डक्टरसँग भएको पेजरमा नै हरेक बिरामीको अवस्थाको बारेमा नयाँ जानकारीहरु प्राप्त गर्न सक्नेछन् । जसले बिरामीको उपचार प्रक्रिया सहज हुनेछ । मेसिमोको प्रयोगले बिरामीको रगतमा भएको अक्सिजन, मुटुको धड्कन र परफ्युजन इन्डेक्सको जाँच गर्न सकिन्छ । मेसिमो मानव शरीरको अक्सिजन मापन गर्ने संसारकै पछिल्लो अत्याधुनिक मेसिन भएको अस्पतालको दावी छ । विरामीहरुको छिटो छरितो र सहज किसिमले उपचार गर्नका लागि भित्र्एको उक्त प्रविधि केही हप्ताभित्रै सञ्चालनमा आउने अस्पतालको भनाइ छ ।

सलमान खानको नाममा गोर्खा बुअरीले बेचेको टिकटको पैसा फिर्ता गर्नु पर्ने, कति पैसा उठायो ? कम्पनीले जवाफ दिन मानेन

काठमाडौं । नेपालीलाई रक्सी खुवाएर भारतीय अभिनेतासँग नचलाउने गोर्खा बुअरीको योजना विफल भएको छ । सँगै कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको टिकटको पैसा फिर्ता गर्नु पर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकृत केदारनाथ शर्माले कम्पनीले गैरकानुनी रुपमा कन्सर्ट राखेको आफूले जानकारी पाएको बताए । ‘हामीसँग सहमति नलिईकन कन्सर्ट राखिएको पाइएको छ । सुर्ती र मदिराजन्य पदार्थको बिक्री, उपभोग र प्रबद्र्धन सार्वजनिक स्थलमा गर्न कानुनले निषेध गरेको छ’ शर्माले विकासन्यूजसँग भने-गोर्खा ब्रुअरीले हामीसँग समन्वय नै नगरी, सहमति नै नगरी कार्यक्रम योजना बनाएछ । सुरक्षाको थ्रेट भयो भनेर सुरक्षा निकायमा सुरक्षा माग गरिएको रहेछ । जिल्ला सुरक्षा परिषद्को बैठकमा मैले सुरक्षा दिन सकिदैन र यस्तो कार्यक्रम गर्न पनि हुन्दैन भनिदिएको छु ।’ उक्त कार्यक्रम रद्द गर्नै पर्ने र सर्वसाधारणलाई बिक्री गरिएको टिकटको पैसा फिर्ता गर्नुपर्ने उनले बताए । कम्पनीले एक बोटल वियर सित्तैमा खान दिने र सलमान खानसँग नचाउने भन्दै प्रतिव्यक्ति २० हजार रुपैयाँ दरको टिकट बिक्री गर्दै आएको छ । कम्पनीले महिलेसम्म सर्वसाधारणलाई कति टिकट बिक्री गर्यो र उनीहरुबाट कति रकम संकलन भन्ने जानकारी कम्पनीले दिन मानेन । कम्पनीको उच्च व्यवस्थापनमा रहेको सुरेन्द्र सिलवाल, बैभव शर्मासँग यो विषयमा सम्पर्क गर्दा उनीहरुले कुरा गर्न चाहेनन् । थप सामाग्री पढ्न सक्नुहुनेछ । मदिराको बजारीकरण गर्ने सलमान खानको कन्सर्ट स्थगित, प्रतिव्यक्ति रू २०००० मा बेचिएको टिकट के हुन्छ ? विप्लवकाे चेतावनीपछि भारतीय मिडियाले सलमान खानलाई नेपाल नजान दिए दवाव सलमान खानको कन्सर्ट भाड्ने विप्लवको घोषणा, अटेर गरे भयानक परिणाम भूकम्पमा सहानुभूति समेत नदिने सलमान खान रक्सीको प्रमोशन गर्न नेपाल आउँदै, टिकटको मूल्य १० हजारसम्म

सानिमा बैंकद्धारा धुर्मुस सुन्तली फाउण्डेशनलाई २१ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुर्मुस सुन्तली फाउण्डेशनलाई २१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक तुकप्रसाद पौडेलले एक कार्यक्रमका बिच सो रकमको चेक फाउण्डेशनलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै सिताराम कट्टेलले उक्त बस्ती अनुमानित समय भन्दा चाडै र अनुमानित लागत भन्दा कममै सकिएको बताउदै सहयोग गरेकोमा बैंकलाई धन्यबाद दिएका छन् । केही रकमको प्रतिवद्धता आइसकेको जानकारी दिदैं उनले यो रकमसगैं सो बस्ती निर्माणमा अपुग रकम जुटेको बताएका छन् । त्यसैगरी, श्रीमती कुञ्जना घिमिरेले बैंकले गरेको सहयोग सम्मानका रुपमा लिएको बताएकी छिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमा भित्रनै सम्पन्न गरी हस्तान्तरण गरेको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनका पाठ सिक्नु पर्ने बताएका छन् । साथै, आफ्नो कलाकारीतामा मात्र सीमित नरहि समाज सेवामा लागेकोमा सिताराम कट्टेल र कुञ्जना घिमिरेप्रति कृतज्ञता व्यक्त गरेका छन् । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३ गते उक्त बस्ती एक समारोहका बीच हस्तान्तरण गरिएको थियो । बैंकले सन् २०१२ देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति सहित अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल सानिमा बैंकको सबै भन्दा न्यून निष्कृय कर्जा तथा नेपाल भरी ५८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटीएम सञ्जाल रहेका छन् ।

सिङगारपुरका ली हसिन बने धेरै तलब लिने प्रधानमन्त्री, ट्रम्पको भन्दा ४ गुणा बढी

काठमाडौं । सिङगापुरका प्रधानमन्त्री ली हसिन लुङग विश्वकै सबैभन्दा धेरै तलब खाने प्रधानमन्त्री बनेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि भन्दै सिङगापुर सरकारले प्रधानमन्त्रीको तलब बढाएको हो । सिङगापुर सरकारले प्रधानमन्त्रीको तलब १.१ मिलियन सिङगापुर डलरबाट दोब्बर पारी २.२ मिलियन सिङगापुर डलर (१६ करोड ५६ लाख नेपाली रुपैंया) बनाइएको हो । वृद्धि भएको तलब विश्वमै जनताबाट निर्वाचित भएका जनप्रतिनिधिले खाने सबैभन्दा धेरै हो । यो तलब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा चार गुणा धेरै हो । अहिले डोनाल्ड ट्रम्पको ४ लाख अमेरिकी डलर करिब (४ करोड नेपाली रुपैंया)रहेको छ । तर ट्रम्पले आफ्नो तलब वापतको रकम सामाजिक संस्थालाई दान गरेका छन् । सिङगापुरको सरकारले प्रधानमन्त्रीको तलब कम हुँदा एसियन राष्ट्रमा भ्रष्ट्रचार बढेको कारण देखाउँदै तलब वृद्धि गरेको दाबी गरेको छ । प्रधानमन्त्रीको तलब वृद्धि हुँदा भ्रष्टाचार तर्फ प्रधानमन्त्रीको ध्यान जान नपाउने सिङगापुर सरकारले विस्वास लिएको छ । तर सिङगापुरका उपप्रधानमन्त्री टीओ ची हेइनले प्रधानमन्त्रीको तलब नबढ्ने दाबी गरेका छन् । ‘संसदले कुनै पनि मन्त्रीको तलब वृद्धि गरेको छैन्, वृद्धि हुने कुराले जनातमा राम्रो सन्देश जादैन’ अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग हेइनले भने । सिङगापुरमा तलब वृद्धिको विषयलाई जनता र बौद्धिक वर्गले समेत आलोचना गरेका छन् ।

हकप्रद र बोनसको लोभमा परी ओभर स्पेकुलेसनमा शेयर किन्नु गलत हो

पूँजीवृद्धि हैन विधि चाहिँ समस्या बनेको हो । अब बढिसक्यो फिर्ता हुन्न । सेयर कमोडीटी हैन जुन तत्काल उपयोग नगरे नासिन्छ, मासिन्छ र आर्थिक मुल्य पनि सकिन्छ । यो स्वामित्व हस्तान्तरण मात्र भएकोले एकबाट अर्कोमा सर्दै जान्छ तर मासिन्न । आपूर्ति बढेर भाउ घटेको भन्ने हो भने यतिखेर यसको मूल्य घटेर परल भन्दा पनि तल आइसक्नुपर्ने थियो तर यस्तो स्थिति भएको छैन । अहिले भाउ घटेको छ यसको कारण हकप्रद र बोनसको लोभ र मोहमा परी आँखा चिम्लेर ओभर स्पेकुलेसन गर्दै शेयर किन्नु हो । अलिकती कम्पनीको साख, अलिकति स्पेकुलेसन र बढी भार प्रतिफललाइ दिएर लगानी गर्नेले कहिले पनि जोखिम लिनुपर्दैन । तर यहाँ प्रतिफल शून्य भएका कम्पनीको शेयरलाइ पनि बढी स्पेकुलेसनको भार दिइयो । समस्या यहीँबाट शुरू भएको हो । जति हकप्रद र बोनस आएपनि त्यतिबेला हकप्रद र बोनसपछि कम्पनीले गर्नसक्ने सम्भावित नाफा र दिनसक्ने प्रतिफल हेरेर लगानी गरेको भए अहिले आपूर्ति बढी भयो भन्दै अरण्यरोदन गर्नुपर्ने थिएन । शून्य प्रतिफललाई पनि कित्ताको लोभमा ५०० गुणा मूल्य तिर्ने आफैँ अनि प्रतिफल नदेखेपछि रुने पनि आफैँ ? ऋणको मात्र ब्याजदर बढेको छैन बचतको पनि बढेको छ । एकातिर नबढी अर्को्तिर मात्र बढ्दैन । क्रिया र प्रतिक्रिया बराबर हुन्छ । ४ गुणा पूँजी हालेको वर्षै्दिनमा उही पुरानै लाभ खोज्ने हामी नै हौं । २ अर्ब पूँजी हुँदा वार्षिक खूद नाफा ३० करोड भएका कम्पनीले अहिले ८ अर्ब हुँदा नाफा बढाएर वार्षिक ५० करोड पुर्याएको छ । परिमाण बढेको छ तर बढ्दो पूँजी अनुरुप गुणात्मक बढेन र बढ्दैन पनि । तर हामीलाई ८ अर्ब हुँदा पनि २ अर्ब बराबरकै प्रतिशेयर आम्दानी चाहिएको छ यो कसरी सम्भव हुन्छ ? नाफा हुन्जेल केहि नदेख्ने अनि नाफा आएन भने फलानो ढिस्कानोले यसो गर्यो उसो गर्यो भनेर आलाप नगर्दा राम्रो हुन्छ ? शेयर लगानी जोखिमयुक्त हुन्छ भन्ने जान्दा जान्दै जोखिममा हाम फालेपछि वहन पनि आफैले गर्नुपर्छ । केन्द्रीय बैंक र धितोपत्र वोर्डले गरेन भनेर आलाप गर्नुको सट्टा के गर्नुपर्ने हो त्यो पनि बताउनु पर्यो ।