विकासन्युज

ललितपुरमा शुरु भयो अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसरमा पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा पाँच दिने ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७४ शुरु भएको छ । मेला बुधबारदेखि सुरु भएको हो । मेलाको एक समारोहकाबीच प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए । सो अवसरमा उनले प्रदेशको आर्थिक विकास गर्न लगानी मैत्री वातारण बनाउने, निर्यात बढाउने र औद्योगिक र भूउपयोग नीति कडाईसाथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकार र निजी क्षेत्रको सहकार्यलाई अघि बढाउने उनको जोड छ । संघकाले सरकार एवं निजी क्षेत्रको संयुक्त पहलमा समग्र जिल्लालाई नै हस्तकला क्षेत्रको रुपमा घोषणा गर्नुपर्नेमा जोड दिएको छ । हस्तकलाको प्रवद्र्धन गरी ललितपुर नमूना हस्तकला ग्राम निर्माण गर्नु पर्ने, जसको माध्यमबाट ललितपुर जिल्लालाई पर्यटन प्रवद्र्धनको रुपमा विस्तार गर्न सकिने संघको भनाइ छ । मेलामा पाकिस्तान, बंगलादेश, भारत लगायतको २२ र स्वेदशी ५८ गरी ८० वटा स्टलहरु राखिएको आयोजकको भनाइ छ ।

एनआईसी एशियाको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त भएका छन् । गत माघ १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो । नवनियुक्त कार्कीले सचिवमा नियुक्त भएकै दिनदेखि कम्पनी सचिवको कार्यभार सम्हालिसकेका छन् ।

अखिल महासचिवमा वसिम आलम

काठमाडौं । अनेरास्ववियु पुनर्गठनको बहस शिखरमा पुगेका बेला महासचिवमा भने वसिम आलमको चर्चा बढेको छ । उनी अनेरास्ववियु केन्द्रिय कमिटी सचिवका साथै प्रदेश नम्बर १ का इञ्चार्ज पनि हुन् । अल्पसंख्यक मुस्लिम समुदायका प्रतिनिधी समेत रहेका उनलाई अनेरास्ववियु भित्र वौद्धिक व्यक्तित्व मानिन्छ । प्रदेश नम्बर १ को इञ्चार्ज बनेपछि उनले त्यहाँ संगठनलाई गुट भन्दा माथी उठाएर बिधिमा सञ्चालनको प्रयास गरिरहेका छन् । लामो समयदेखि सम्मेलन हुन नसकेको झापा जिल्लाको सम्मेलनलाई त्यसकै उदाहरण मान्न सकिने अखिलकै कार्यकर्ताहरुको दावी छ । मिलनसार, वौद्धिक र सन्तुलनकारी भूमिका प्रस्तुत हुने आलमले प्रदेश नम्बर १ मा गुट न्युनीकरणमा ठुलो योदान दिँदै आएका छन् । हाल सात वटा प्रदेशमध्ये एक नम्बर प्रदेश नै सबै भन्दा सक्रिय रहेको अनेरास्ववियु भित्रै चर्चा हुने गरेको छ । गुटगत असन्तुलन मिलाएर संगठनलाई बिधीबाट सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्ने आलमलाई पार्टी अध्यक्ष केपी ओली देखि बरिष्ठ नेता माधव नेपालसम्मले विश्वास गर्ने बताइन्छ । उनलाई महासचिव बनाउन सकिए संगठनमा चरम गुटबन्दी न्युनिकरणमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ ।

जुत्ता चप्पल उद्योगी एउटै छाता मुनी, भृकुटीमण्डपमा बिजनेस एक्स्पो

काठमाडौं । नेपालका अधिकांश ठुला जुत्ता चप्पल उद्योगीले एउटै छातामुनी बिजनेश एक्स्पो आयोजना गरेका छन् । राजधानीको भृकुटीमण्डपमा सुरु भएको फुटवेयर बिजनेश एक्स्पोमा ५० भन्दा बढि जुत्ता चप्पल उद्योगहरुका उत्पादन खरिद गर्न पाइन्छ । चैत १ गतेदेखि सुरु भएको एक्स्पो २५ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पो उद्घाटन गर्दै प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेलले समृद्धिको यात्रा तय भएको बताएका थिए । एक्स्पोमा १४० भन्दा बढी स्टलहरु रहेका छ् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल तथा नेपाली जुत्ता घरको सहआयोजनामा सुरु भएको मेलाले नेपाली जुत्ता चप्पलहरुको बजारीकरणमा सहयोग पुग्ने म्यानका अध्यक्ष रविन कुमार श्रेष्ठले बताए । हाल नेपाली जुत्ता चप्पलमध्ये ८० प्रतिशत ३ नम्बर प्रदेशबाटै उत्पादन भैरहेको छ । मेलाको सहआयोजक नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले विगतमा २–४ वटा निजि उत्पादकहरुले साना तिना मेला गर्ने गरेको भए पनि अब भने एकिकृत रुपमा फुटवेयर बिजनेस एक्स्पोको रुपमा बृहत मेला सञ्चालन भएको बताए । मेलाले ५ करोड बढीको कारोबार गर्ने तथा २ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।  

रसुवागढी र सान्जेन जलविद्युतको आईपीओमा ५०० प्रतिशत आवेदन, २ अर्बको मागमा १० अर्ब ७९ करोड

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा झण्डै ५ गुणा आवेदन परेको छ ।   रसुवागढी र सान्जेनले २ अर्ब ४ करोड ५९ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सेयरका लागि कर्मचारी संचय कोषका संचयकर्ताबाट १० अर्ब ७९ करोड ६६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । रसुवागढी र सान्जेनको सेयर खरिद गर्न सञ्चय कोषका ३ लाख ६९ हजार ४५९ सञ्चयकर्ताको आवेदन परेको छ । रसुवागढीमा १ लाख ८६ हजार ३२४ आवेदन परेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले जानकारी दिए । उनकाअनुसार रसुवागढीका लागि सञ्चयकर्ताबाट परेको आवेदनबाट ६ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ जम्मा भएको छ । रसुवागढीले सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर निष्कासन गरेको थियो । उनले बुधबार ४ बजेसम्मको विवरण हो र अझै थप हुने बताएका छन् । यसैगरी सान्जेन जलविद्युतमा १ लाख ८३ हजार २२४ सञ्चयकर्ताको आवेदन परेको छ । आवेदनबाट ४ अर्ब १७ करोड २२ लाख ५३ हजार रुपैयाँ संकलन भएको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । सान्जेनले सञ्चयकर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको ७१ लाख १७ हजार ५ सय कित्ता सेयर बिक्री खुल्ला गरेको थियो । दुवै कम्पनीले अब आगामी चैत ५ गतेबाट नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर बिक्री खुल्ला गर्नेछ । संस्थापक संस्थाका कर्मचारीका लागि रसुवागढीले २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँको २३ लाख ९४ हजार ७ सय ३५ किता सेयर निष्कासन गर्नेछ । यस्तै, ऋणदाता संस्थाका कर्मचारीका लागि पनि ६ करोड ८४ लाख २१ हजार रुपैयाँको ६ लाख ८४ हजार २ सय १० कित्ता सेयर जारी गर्नेछ । सान्जेनले संस्थापक संस्थाका कर्मचारीका लागि १२ करोड ७७ लाख ५० हजार रुपैयाँबराबरको १२ लाख ७७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्नेछ । ऋणदाता संस्थाका कर्मचारीका लागि ३ करोड ६५ लाख रुपैयाँ मूल्यको ३ लाख ६५ हजार कित्ता सेयर छुट्याइएको छ । संस्थापक र ऋणदाता संस्थाका कर्मचारीले चैत १३ गतेसम्म आवेदन दिन पाउने छन् ।रसुवागढीले १११ मेगाावाटको र सान्जेनले तल्लो र माथिल्लो गरी ५७ मेगावाटका २ जलविद्युत आयोजना बनाइरहेको छ ।

दैलेखको ग्यासँ हेर्न चिनियाँ टोली आउँदै, टेकुमा पाइपबाट परिक्षण गरिने

काठमाडौं । दैलेख–सुर्खेत, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका ग्यास खानीहरुको अन्वेषण तथा उत्खननका लागि चिनियाँ टोली यसै महिना नेपाल आउँदैछ । यता नेपालले पनि टेकुको प्राकृतिक ग्यासको परिक्षण प्रक्रिया अघि बढाएको छ । खानी विभागको प्राकृतिक ग्यास शाखाका प्रमुख विजयलाल श्रेष्ठले टेकुको एउटा ग्यास कुवामा ड्रिल गर्ने काम सम्पन्न भएको र बागमति र बिष्णुमति दोभानमा ड्रिल गर्नका लागि कम्पनी छनौट प्रक्रिया अघि बढेको बताए । ‘टेकुको पुरानो कुवामा ड्रिल गर्ने काम सम्पन्न भएको छ, टेकु दोभानमा ड्रिल गर्ने कम्पनी छान्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ’, प्राकृतिक ग्यास शाखा प्रमुख श्रेष्ठले विकासन्युजसँग भने । खानी विभागले २०७३ कात्तिक ५ गते ललितपुरको इमाडोलमा रहेको कुवाबाट प्राकृतिक ग्यास निकालेर परिक्षण गरेको थियो । सो कुवामा पाइपबाट घर घरमा पुर्याएर बाल्न मिल्ने ग्यास रहेको तर मात्रा थोरै भएकाले व्यवसायीक उत्पादन गर्न कठिन हुने देखिएको छ । इमाडोलको परिक्षणपछि विभागले टेकुका २ वटा कुवामा परिक्षण प्रक्रिया अघि बढाएको हो । त्यसका लागि एउटा कुवामा ड्रि गर्ने, मेसिन जोड्ने, ग्यासँ तान्ने, ग्यास र पानी छुट्याउने तथा बाल्नेसम्मको काम गर्न करिब ५० लाख रुपैंयाँ खर्च हुने पनि श्रेष्ठले जानकारी दिए । ‘पहिले नै अध्ययन सम्पन्न गरिसकेका कुवाहरुमा अहिले ग्यास निकालेर परिक्षण गर्दैछौं, कति मात्रा छ र व्यवसायीक उत्पादन सम्भव छ की छैन भनेर पनि हेर्छाै’, श्रेष्ठले भने । उनले आगामी २ महिना भित्र टेकुका दुबै कुवाँमा प्राकृतिक ग्यासको परिक्षण सम्पन्न गर्ने पनि बताए । दैलेख–सुर्खेत, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका ग्यास खानीहरुका अध्ययनका लागि चिनियाँ टोली यसै महिना नेपाल आउँदैछ । श्रोतका अनुसार चिन सरकारले नेपालमा पेट्रोलिमय उत्खननका लागि २ अर्ब २० करोडको बजेट विनियोजन गरेको छ । तर नेपालले भने ४ अर्ब रुपैंया लाग्ने प्रक्षेपण पठाएको छ । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको हो । इमाडोलमा पाइपबाट ग्यास निकालियो, टेकुमा एक महिना भित्रै

२० वर्ष पुराना ३ सवारी नियन्त्रणमा

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ । यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो । आज बिहान ११ बजेसम्म ३ वटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार जिल्लाको खैरहनी र गोन्द्राबाट एक/एक वटा ट्रक र आँपटारीबाट एउटा बस नियन्त्रणमा लिइएको हो । जिल्लाका अन्य क्षेत्रमा पनि कडाइका साथ जाँच भइरहेको उनले बताए । नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा बुझाइने उनले जानकारी दिए । रासस

हवाइजहाजबाट सामान ल्याउदैं हुनुहुन्छ ? गोदामको भाउ बढ्यो यस्तो छ मूल्यसूचि

काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विमानबाट ओसारपोसार हुने ६ प्रकारका सामाग्रीको भण्डारनमा शुल्क बृद्धि गरेको छ ।    विमानबाट आयात निर्यात हुने साधारण, बहुमूल्य, नाशवान, खतराजन्य, एक्सप्रेस कुरियार व्याग र जिवित जनावर लगायत बस्तुको भण्डारनको शुल्क बृद्धि गरेको हो । कम्पनीका प्रमुख स्रोसराज भण्डारीका अनुसार साधारण मालसामानको निर्यात गर्दा प्रतिकेजी २ रुपैंया ८५ पैसादेखि २ सय रुपैंया पर्नेछ, आयात गर्दा प्रतिकेजी ५ रुपैंया ३५ पैसादेखि १ सय रुपैंया पर्नेछ । बहुमूल्य मालसामानको निर्यात गर्दा प्रतिकेजी ३ सय रुपैंया र निर्यात गर्दा २ सय रुपैंयादेखि ८ सय रुपैंयासम्म पर्नेछ । त्यसैगरी, नाशवान सामाग्री निर्यात गर्दा प्रतिकेजी ३ सय रुपैंया र आयात गर्दा ८ रुपैंयादेखि २ सय रुपैंया पर्नेछ । खतराजन्य मालसामानको निर्यात गर्दा ६ सय रुपैंया र आयात गर्दा १६ देखि ४ सय रुपैंया पर्नेछ । त्यसैगरी एक्सप्रेस कुरियर व्याग र एक्सप्रेस कुरियर पार्सल र एक्सप्रेस कार्गो लगायतको सामाग्री निर्यात गर्दा प्रतिकेजी १ सयदेखि ५ सय रुपैंया र आयात गर्दा प्रतिकेजी ५ रुपैंया देखि २ सय रुपैंया पर्नेछ । जीवित जनावर आयात निर्यात गर्दा भने बहुमूल्य मालसामानको भन्दा दोब्बर शुल्क लाग्ने भण्डारीले बताए । तर मृत सरीर वा दैविक प्रकोक मालसामानको भने कुनै दस्तुर नलाग्ने कम्पनीले जनाएको छ । निर्यात गर्दा पहिलो चौविस घण्टासम्मको लागि डिमरेज दस्तुर लाग्ने छैन । ३० दिनसम्म प्रतिकेजी १ रुपैंया, ३१ औं दिनदेखि ६० दिनसम्म प्रतिकेजी १ रुपैंया ५० पैसा र ६० दिनदेखि पछि जतिसुकै दिन भएपनि प्रतिकेजी २ रुपैंयाको दरले डिमरेज दस्तुर लाग्नेछ । त्यस्तै आयात गर्दा ५ दिनसम्म डिमरेज दस्तुर लाग्नेछैन । ३० दिनसम्म प्रतिकेजी २ रुपैंया ३१ औं दिनदेखि ६० दिनसम्म प्रतिकेजी १ रुपैंया ५० पैसा र ६० दिनभन्दा बढी जतिसुकै दिन भएपनि प्रतिकेजी ४ रुपैंयाको दरले डिमरेज दस्तुर लाग्नेछ । यसअघि आयात गरिएको बस्तुमा ५० केजीसम्म ७० रुपैया, ५१ केजी देखि ५०० केजीसम्म १४० रुपैंया ५०१ केजी देखि १००० केजीसम्म २२० रुपैंया र १ हजार भन्दामाथी जतिसुकै केजी भएतापनि २८० रुपैंया शुल्क निर्धारण गरिएको थियो । यसैगरी निर्यात गर्दा ७ दिनसम्मको निशुल्क रहेको थियो भने ८ देखि ३० दिनसम्को प्रतिकेजी ४० पैसा, ३१ देखि ६० दिनसम्म ८० पैसा र ६० दिनभन्दा बढी जतिसुकै दिन भएपनि १ रुपैंया २० पैसा शुल्क तोकिएको थियो ।