विकासन्युज

नेपाल र भारतकाे वाणिज्य सम्बन्धि उच्च स्तरिय वैठक वैशाखमा, सुध्रेला त दुई देशबीचको ब्यापार ?

काठमाडौं । नेपाल र भारतको वाणिज्य सम्बन्धि उच्च स्तरिय वैठक वैशाख दोस्रो साता नेपालमा हुने भएको छ । नेपाल र भारतबीचको व्यापारलाई सुद्रिढ बनाउने उद्देश्यले वैशाख ११ देखि १४ गतेसम्म पोखरामा वाणिज्य सम्बन्धि उच्च स्तरको वैठाक हुने भएको हो । पोखरामा दुई चरणको वैठक हुनेछ । जसमा पहिलो सहजसचिव स्तरको अन्तर सरकारी संयन्त्र (आईजीएससी)को वैठक र दोस्रो सचिव स्तरको अन्तर सरकारी संयन्त्र (आईजीसी)को वैठक हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए । उनका अनुसार पहिलो वैठक वैशाख ११ र १२ गते हुनेछ भने, दोस्रो चरणको आईजीसीको वैठक १३ र १४ गते गर्ने मिति तय भएको छ । वैठकको लागि मन्त्रालयले ठोस एजेन्डाको सम्बन्धमा छलफल गरिरहेको जानकारी दिएको छ । विगतदेखि उक्त उच्च स्तरिय वैठक नेपाल र भारतमा पालैपालो हुदै आएको मन्त्रालयको भनाइ छ । मन्त्रलयको अनुसार वैठकमा नेपाल र भारतबीचको व्यापार पारवहन, दुई देशबीच व्यापारमा देखिएका समस्या, समाधानको उपाय लगायत मुद्धाहरुमा बृहत्त छलफल हुने छ । मन्त्रालयका अधिकारीहरुले उक्त वैठक नेपाल र भारतबीचको व्यापारको लागि महत्वपूर्ण हुने बताएका छन् । उनीहरुले नेपालको लागि वैठक निर्णायक हुने जनाएका छन् । वैठक पछि दुई देशबीच गरिएको महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिने प्रवत्ता सैंजुको भनाइ छ । सरोकार व्यवसायीहरुले भने वैठकमा पछिल्लो समय समस्याको रुपमा चुलिएको भारतबाट आयात हुने क्लिङ्कर, अदुवाको अबरोध लगायतको मुद्धाहरुको विषयमा वैठकले सम्बोधन गर्न पर्नु पर्नेमा जोड दिदै आएका छन् ।

सेञ्चुरी बैंकले विभिन्न २० वटा शाखाबाट ३६५ दिने बैंकिङ्ग सेवा दिँदै, कँहा कँहाबाट दिँदै छ ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विभिन्न २० वटा शाखाबाट ३६५ दिने नगद कारोबार सुविधा दिने भएको छ । बैंकले चैत १० गते सार्वजनिक बिदाको दिनदेखि लागु हुने गरी विभिन्न स्थानबाट उक्त सुविधा दिँदै छ । बैंकले पुतलीसडक, टिकापुर, बिराटनगर, इटहरी, धरान, विर्तामोड, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी, धुलिखेल, न्यूरोड, मानभवन, सामाखुसी र कोटेश्वर शाखाबाट बिदाको दिन पनि नगद कारोबार सुविधा दिन लागेको हो । यस अघि बैंकले सार्वजनिक बिदाको दिन प्रधान कार्यालय पुतलीसडक तथा टिकापुर शाखाबाट मात्रै नगद कारोबारको सुविधा दिँदै आएको थियो । साथै, बैंकले ९ वटा कार्यलयहरुबाट ३६५ दिने लकरको सुविधा समेत उपलब्ध गराउने भएको छ । बैंकले पुतलीसडक, बिराटनगर, विर्तामोड, वीरगञ्ज, नारायणगढ, बुटवल, पोखरा, न्यूरोड र मानभवनबाट आफ्ना ग्राहकहरुलाइै लकर सुविधा प्रदान गर्दै छ । हाल बैंकले काठमाडौं उपत्यका र उपत्यका बाहिर गरि जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

चन्द्रागिरि हिल्स महत्वपूर्ण पर्यटकीय ‘प्रोडक्ट’

काठमाडौ । सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२० का ) रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाका साथ अभियान घोषणा गरिएको हो । यो लक्ष्यलाई भेट्टाउन आवश्यक पर्यटकीय पूर्वाधार निर्माणलाई राज्यले उच्च प्राथमिकता दिएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो कार्यभार सम्हाल्ने क्रममा उल्लिखित प्रतिबद्धतालाई दोहोर्याउँदै पर्यटकीय पूर्वाधार विस्तार कार्यलाई तीव्रता दिने उद्घोष गरेका छन्। पर्यटक बढाउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको चन्द्रागिरि हिल्स महत्वपूर्ण पर्यटकीय उत्पादन ‘प्रोडक्ट’ बनेको छ । चन्द्रागिरि हिल्सलाई सरकारले उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने भएको छ । पर्यटनमन्त्री अधिकारीले बुधबार चन्द्रागिरिको स्थलगत अवलोकन गर्दै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको यो क्षेत्रको विकास र संरक्षणका लागि राज्यले पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने बताए। उनले भने, “अहिले हामीले जे भनेका छौं त्यसलाई आधिकारिक समयसीमा तोकेर पर्यटन मन्त्रालयले यो विमानस्थल यति दिनभित्र बनिसक्छ भनेर समयसीमा स्पष्ट गर्छौं, त्यसका प्रगति पनि देखाउँछौँ ती पूर्वाधारसँगै पर्यटक कति बढ्नेछन् भनेर बाहिर ल्याउनेछौँ ।” नेपाल पर्यटन वर्ष २०२० लाई सफल तुल्याउन यस्ता ‘प्रोडक्ट’को महत्वपूर्ण भूमिका हुने भन्दै उनले यसमा सञ्चारमाध्यमले राजनीतिकभन्दा आर्थिक गतिविधिलाई विशेष प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए । वार्षिक ७ लाख पर्यटक पुग्ने धार्मिक महत्वको चन्द्रागिरि पहाड काठमाडौ केन्द्रित पर्यटकका लागि उत्तम गन्तव्य पनि हो । पर्यटन क्षेत्रमा राम्रो प्रोडक्ट बनेको र करिब ३० प्रतिशत विभिन्न तवरबाट राज्यले कर प्राप्त गरिरहेको भन्दै मन्त्री अधिकारीले यस्ता पर्यटकीय प्रोडक्टलाई सातवटै प्रदेशका सम्भावना बोकेका क्षेत्रमा विस्तार गर्न आग्रह गरे। “राज्यले पर्यटकीय पूर्वाधार विकास गरिदिने हो पर्यटकीय उत्पादन विस्तार र विविधीकरण गर्ने निजी क्षेत्र नै हो त्यसैले पूर्वाधार निर्माण गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्न सरकारको पूर्ण साथ रहनेछ,” उनले भने। मन्त्री अधिकारीले चन्द्रागिरि केवलकार जस्ता नयाँ पर्यटकीय गन्तव्यको संरक्षण गरी अभिभावकीय भूमिका निर्वाह गर्न सरकार तत्पर रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे । कूल ग्रार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान पुर्याउने लक्ष्यका साथ पर्यटकीय गन्तव्यको प्रवद्र्धन विकास गरिनुपर्नेमा मन्त्री अधिकारीको जोड छ । चन्द्रागिरि हिल्सका लिमिटेडका अध्यक्ष चन्द्र ढकालले पर्यटकको गन्तब्य बनेको चन्द्रागिरि राज्यको उच्च प्राथमिकतामा पर्नु सकारात्मक हो भन्दै यस्ता पर्यटकीय प्रोडक्टलाई प्रदेश स्तरमा पनि विस्तार गरिने बताउ। पर्यटनलाई प्राथमिकता दिएर चन्द्रागिरिको पूर्वाधार अवलोकन गरिनु पर्यटन विकासमा सरकारको उच्च प्राथमिकता रहेको उदाहरण पेश भएको र यसले समग्र पर्यटन क्षेत्रमा उत्साह जगाएको उनले उल्लेख गरे । मन्त्री अधिकारीले सडकसंजाल र विमानस्थल जस्ता मुख्यमुख्य पर्यटकीय पूर्वाधार निमार्ण गर्ने दायित्व राज्यको भएको बताएका छन् । पर्यटकीय पूर्वाधार निमार्ण भईसकेपछि पर्यटकीय उत्पादनतयार गर्ने काममा नेपालको निजि क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिदै भने तब मात्र चन्द्रागिरि र चन्द्रागिरि जस्तै सुन्दर सयौँ पर्यटकीय गन्तव्यको लाभ नेपालको अर्थतन्त्रले हासिल गर्न सक्दछ । सरकार आसन्न भ्रमण वर्ष २०२० मा वार्षिक १५ लाख पर्यटक भित्र्याउने योजनाका साथ अगाडी बढीरहेको जानकारी दिँदै पर्यटकीय पूर्वाधारहरुको निमार्णमा सहजिकरण तथा सुरक्षाको पूर्ण दायित्व राज्यले लिने बताए । संक्षिप्त प्रतिक्रियाकै क्रममा चन्द्रागिरि लगायत नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्यहरु विश्वका पर्यटकहरुका लागी सुरक्षित रहेको बताएका छन् । सन् २०१७ मा छ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकले चन्द्रागिरिको भ्रमण गरेका थिए । सन् २०१६ मा ५ लाख ५० हजारको हाराहारीमा पर्यटक गएका थिए । दैनिक १ हजार ५०० देखि २ हजारसम्म चन्द्रागिरि पुग्ने गरेका छन् । सार्वजनिक बिदा र चाडबाडको बेला धेरै सर्वसाधारण जाने गर्छन् । झण्डै ५ अर्ब रुपैयाँ लगानीमा पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको यस आयोजनाअन्तर्गत अबको तीन महिनामा अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण भइसक्ने कम्पनीले जनाएको छ ।

विश्व बैंकद्धारा २६ अर्ब ६० करोड ऋण सहयोग घोषणा, वित्त व्यवस्थापन र सिंचाइमा लगानी हुने

काठमाडौ । नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैंकले २६ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता दिने घोषणा गरेको छ ।बैंक सञ्चालक कार्यकारी समितिको बुधबारको बैठकले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा सुधार ल्याउन तथा रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणको आधुनिकीकरणका निम्ति उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । एकात्मक शासन प्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएको ऐतिहासिक क्षणमा नेपाली नागरिकलाई सहज ढंगले सेवा प्रवाह गर्न आवश्यक पर्ने संघीयताको वित्तीय ढाँचालगायत पूर्वाधार स्थापनाका निम्ति नवनिर्वाचित सरकारलाई ऋण सहयोग प्रदान गर्ने निर्णय भएको बैंकका नेपाल, बंगलादेश र भुटानका देशीय निर्देशक चिम्याओ फ्यानले बताए । ऋणस्वरुप प्रदान गरिने उक्त रकम अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, वित्तीय जवाफदेहिता तथा बजेट व्यवस्थापन ऐन कार्यान्वयन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अयोग स्थापना, सार्वजनिक वित्त व्यवस्थापन प्रणालीको सुदृढीकरण र राजश्व संकलन सुधारमा उपयोग हुने उक्त बैंकले जनाएको छ । नेपालको नयाँ संवैधानिक व्यवस्थाअनुसार स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा त्यसको सराहना गर्दै बैंक सञ्चालक समितिले सहज सार्वजनिक सेवा प्रवाह, जवाफदेहिता र पारदर्शिताको प्रवद्र्धनका निम्ति नेपाल सरकारलाई सघाउने निर्णय गरेको स्पष्ट गरेको छ । साथै सञ्चालक समितिले बैंकलाई समावेशी विकास हासिल गर्ने नेपालको लक्ष्य प्राप्तिमा पूर्णरुपले सहयोग गर्न तथा नेपालको विकासका अन्य साझेदारहरुसँग समन्वय गरी विकास निर्माणका कार्यक्रम नपुगेका स्थानहरुमा पुग्न प्रोत्साहन गरेको छ । रासस

नेप्से २४ अंकले घट्दा यूनिलिभर नेपालको सेयर मूल्य १५१० रुपैयाँले वृद्धि

काठमाडौं । बैंकहरुको महंगो ब्याजदरका कारण सेयर बजार दिनानुदिन घट्दै गएको छ । निरन्तर घट्दै गएको बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको सो दिनको नेप्से परिसूचक अन्तत बजार बन्द हुँदा २४.४० अंकले घटेर १२३१ अंकमा झरेको छ । बैंकहरुको ब्याज दोहोरो अंकले बढेपछि सेयर बजारमा निकै नकरात्मक असर परेको देखिन्छ । सेयर बजार निरन्तर घट्दै गएपछि नेपाल इन्भेष्टर्स फोरमले सेयरधितो कर्जा सीमा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउन माग गरेको छ । बजारमा परिसूचकमा गिरावट आएतापनि सेयर कारोबारमा भने केही सुधार भएको छ । बुधबारको बजारमा अघिल्लो दिनको तुलनामा करिब ५ करोड रुपैयाँबढीको सेयर किनेबेच भएको छ । सो दिन कुल ३७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ३२ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । दोहोरो अंकले घटेको बजारमा पनि यूनिलिभर नेपालको सेयर मूल्यमा वृद्धि भएको छ । एकैदिन यस कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १५१० रुपैयाँ कमाएका छन् । अर्थात यस कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ६.११ प्रतिशतले बढेको छ । बुधबार मात्रै यस कम्पनीको सेयर मूल्य १५१० रुपैयाँले बढेर प्रतिकित्ता २६ हजार २११ रुपैयाँ भएको छ । बजारमा उत्पादनमूलक समूह ५८ अंकले उकालो लागेको छ भने कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूह १८६ अंकले घटेका छन् ।

राजधानीमा शुक्रबारदेखि खाद्य मेला, जाति जनजातिका परिकारसहितका ७८ स्टल सहभागि हुने

काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपको बगैंचामा चैत ९,१० र ११ गते तेस्रो खाद्य मेला–२०४ हुने भएको छ । स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरुको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको संयुक्त आयोजनामा मेला सञ्चालन हुन लागेको हो । ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौंः असल पोषणका लागि खाने बानीमा सुधार गरौं’ भन्ने नारा रहेको उक्त मेलामा मुख्य गरि खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषण सम्बन्धि जनचेतनामूलक कार्यक्रम हुने बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि विभागले जानकारी गराएको छ । कार्यक्रमको आसरमा विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले मेलामा थारु, नेवार, राई लगायत विभिन्न जाति जनजातिका लोकप्रिय पौष्टिक परिकारको प्रदर्शनी, बिक्री वितरणका साथै झाँकी प्रदर्शनी हुने बताए । स्थानीय स्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थहरुको उत्पादन विविधीकरण तथा पौष्टिक महत्वका बारेमा समेत विविध जानकारी मेलाको अवसरमा गराइने उनको भनाइ छ । आयोजकका अनुसार मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १४ स्टल, विभिन्न संघसंस्थाका जानकारीमूलक २४ स्टल र विभिन्न उद्योगहरुबाट उत्पादित खाद्य वस्तु बिक्री विवतरण गर्ने गरी ४० वटा गरि ७८ स्टल सहभागि हुनेछ । निशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त मेलामा सहभागीमध्ये खाद्य उद्योग, खाद्य सम्बन्धी प्रदर्शनी तथा खाद्य परिकार समूह गरी तीन विधामा प्रथम, द्वितीय तथा सान्त्वना हुनेलाई नगद पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जानकारी गराएको छ ।

जनता बैंकको नयाँ निक्षेप खातामा वार्षिक ७ प्रतिशत व्याज सहित १० लाखको दुर्घटना बीमा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आकर्षक बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ । यो बचत योजना यहि चैत ७ गते देखि लागु हुनेछ । विभिन्न विशेषताहरु सहित ल्याएको यस योजनामा न्यूनतम निक्षेप १० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ । त्यस्तै, वार्षिक ७ प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने र बचतकर्ताको १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा प्रदान गर्ने बैंकले जनाएको छ । त्यसैगरी, बचतकर्ता बिरामी भई अस्पताल भर्ना हनु पर्दा १ लाखसम्म र भर्ना नभई उपचार गर्दा ५ हजार रुपैयाँसम्मको उपचार खर्चको बीमा गरिएको छ । साथै, यस योजना अन्तर्गत बैंकले बचतकर्तालाई लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिएको छ । त्यस्तै, अन्य खातामा जस्तै एटीएम, एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सीआश्वा सुविधामा पनि रहेको बैंकले जनाएको छ । यस नयाँ निक्षेप खाता सबै उमेर समूहका ग्राहकहरुले खोल्न सक्नेछन् । यसको लागि ग्राहकले खाता खोल्दा भर्ने नियमित फारामको अतिरिक्त बीमा सम्बन्धि एउटा फाराम भर्नु पर्नेछ । यस बचत योजना नेको इन्स्युरेन्सको सहकार्यमा ल्याइएको हो । यस योजनाबाट ग्राहकहरुले निक्षेपमा आकर्षक ब्याज पाउनुको साथै स्वास्थ्य सेवामा हुने आकासिदो खर्चबाट राहत पाउने बैंकको विश्वास छ । बैंकले हाल देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

स्वदेशमा रोजगारी सरकारको प्राथमिकताः मन्त्री विष्ट 

काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले स्वदेशमा नै रोजगारीको अवशर सिर्जना आफ्नो प्राथमिकतामा भएको बताएका छन् । उनले यसका लागि सरकार, रोजगारदाता र ट्रेड युनियन मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । उनले श्रम क्षेत्रमा गर्नुपर्ने सुधार र तत्काल गर्नुपर्ने कामका बारेमा आफूले सबैको सल्लाह लिएर उचित निर्णय गर्ने जानकारी गराएका छन् । मन्त्री विष्टलाई नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का तर्फबाट श्रम ऐन वमोजिम तत्काल गर्नु पर्ने कामहरु, सामाजिक सुरक्षा अन्तर्गत तत्काल गर्नु पर्ने काम, अन्य कानूनी व्यवस्थामा गर्नु पर्ने सुधारहरु, संस्थागत विकास सम्वन्धमा थप सुझावहरु र रोजगारी सिर्जनाका सम्वन्धमा सुझावहरु दिइएको थियो । जिफन्टका सचिव रमेश बडालले श्रम ऐन वमोजिम केन्द्रिय श्रम सल्लाहकार समिति गठन गर्न तथा हाल कानून मन्त्रालयमा पुगेको श्रम नियमावली छिटो पारित गर्न आग्रह गरेका छन् । यसैगरी स्थाई न्युनतम पारिश्रमिक निर्धारण समिति गठन गर्न र वैशाख १ गतेदेखि काम शुरु गरी असारमसान्त भित्र घोषणा गर्न सुझाव दिए । नयाँ दर श्रावण १ बाट लागु हुने व्यवस्था मिलाउन पनि बडालले आग्रह गरेका छन् । योगदान आधारित सामाजिक सुरक्षा ऐन आए पनि नियमावली तयार नभएको भन्दै जिफन्टले नियमावली तुरुन्त तयार गरि यस अन्तरगतको सुरक्षा योजना अर्थात स्कीमहरु तयार गर्नुपर्ने मन्त्री विष्टलाई अवगत गराएको छ । सामाजिक सुरक्षा कोषलाई निजामती कर्मचारीबाट नभई विज्ञ मार्फत नेतृत्व गर्न कार्यकारी निर्देशक, निर्देशकहरु र केहि कर्मचारी तुरुन्त नियुक्ति गर्न आवश्यक रहेको सचिव बडालले बताएका छन् । साथै, उनले प्रत्येक प्रदेशमा सामाजिक सुरक्षा कार्यालय स्थापना र सञ्चालन तत्काल गर्न आवश्यक रहेको जानकारी गराएका छन् ।