विकासन्युज

एनएमबि बैंक र आइसीएफसीबीच ऋण सम्झौता, तरलताको समस्यामा सहयोग पुग्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले बिश्व बैकको सदस्य संस्था इन्टरनेशनल फाइनान्स करपोरेसन(आइसीएफसी)सँग ऋण सम्झौता गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बिश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले उक्त सम्झैतापत्र हस्तान्तरण गरेका छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झौताले मुर्त रुप पाउने बैकले जनाएको छ । यस सम्झौताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझौला व्यवसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैकले जनाएको छ ।

संसद पस्यो सेयर बजार, राधेश्याम अधिकारीले भने-जनताको लगानी डुब्नु भएन

काठमाडौं । राष्ट्रिय सभामा सेयर बजारबारे कुरा उठेको छ । काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका राधेश्याम अधिकारीले सेयर बजारमा गरिएको जनताको लगानी डुब्न नहुने धारणा राखेका हुन् । राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्दै अधिकारीले अर्थमन्त्रीकोे अभिव्यक्तिका कारण सेयर बजार ओरालो लागेर जनताको खर्बाै लगानी डुबेको आरोप पनि लगाए । उनले भने–सेयर बजारमा जनताको पनि लगानी छ, अर्थमन्त्रीको अभिव्यक्तिका कारण बजार घेटेको हो, जिम्मेवार व्यक्तिका अभिव्यक्तिहरु पनि जिम्मेवार नै हुनुपर्छ । सेयर बजारलाई अर्थमन्त्रीले अनुत्पादक भनेपछि लगानी कर्तामा त्रास फैलिएको आरोप पनि अधिकारीले लगाएका थिए ।

नेपालमा पहिलो पटक भेन्डिङ उपकरणको प्रयोग हुँदै, फोहोर राखेर पैसा लिन सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्लाष्टिकजन्य वस्तु प्रयोग गर्दै हुनुहुन्छ ? भेन्डिङ उपकरणमा फोहर राख्नुस् पैसा लिनुस् । प्लाष्टिकजन्य वस्तु प्रयोग गरेपछि निस्कने फोहर वस्तुलाई थप व्यवस्थापन र पुनः प्रयोग गर्नका लागि भेन्डिङ उपकरणको उपयोगसंगै नयाँ अवधारणाका साथ कामपा अघि बढ्न लागेको हो । पछिल्लो समय प्लाष्टिकजन्य फोहरबाट शहर प्रदूषित भएकाले आगामी दिनदेखि त्यसलाई नियन्त्रण गर्न निश्चित स्थानमा फोहर संकलन गर्ने भाँडो राखी शहरलाई व्यवस्थित गर्न लागिएको कामपाका निजी साझेदारी एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिएका छन् । उनले भने, “भेन्डिङ उपकरण त्यो हो जुन निश्चित स्थानमा राखिन्छ र त्यसमा नागरिकले प्लाष्टिकजन्य फोहर राखेर आफ्नो परिचय खुलाएपछि सामग्रीको अनुपातका आधारमा सोही व्यक्तिको मोबाइलमा ब्यालेन्स प्लस हुन्छ ।” उक्त उपकरणलाई एटिएम प्रयोग गरे जसरी प्रयोग गर्न सकिन्छ । उक्त उपकरणको प्रयोगबाट शहर सफा हुनाका साथै सर्वसाधारणले फोहर निश्चित स्थानमा राखेबापत केही रकम पाउनेछन् । त्यसरी जम्मा गरिएको फोहरलाई पुनः प्रयोग गरिनेछ । भेन्डिङ उपकरण पुनः प्रयोग गर्न सकिने प्लाष्टिकजन्य फोहर संकलन गर्ने भाँडो हो जस्मा पानी, कोक, चिजबल, चाउचाउको प्याकेटलाई राख्न सकिन्छ जुन प्लाष्टिक पुनः प्रयोग गर्न सकिन्छ । यस किसिमको अभ्यास अन्तर्राष्ट्रियस्तरमा लामो समयदेखि प्रयोगमा आइसकेको भए पनि नेपालमा भने पहिलो हो । शुरुवात्को समय भएकाले हाल अन्तर्राष्ट्रिय विमानस्थल, न्यूरोड, दरबारमार्गलगायत मानिसको बढी आवतजावत हुने सात स्थानमा यस्ता उपकरण राखिने योजना कामपाको छ । रासस

अपडेटः सेयर बजारमा हरियाली, परिसूचक ३२ अंकले उकालो

काठमाडौं । मंगलबार दिउँसो २ बजेर २६ मिनेट जाँदा नेप्से परिसूचक ३२ अंकले उकालो लागेर १२०१ अंकमा पुगेको छ । कारोबार शूरु भएको करिब साढे २ घण्टा सम्म लगातार ओरालो लागेको बजार त्यसपछि भने दोहोरो अंकले उकालो लागेको छ । सो अवधिसम्म १६१ कम्पनीको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बीमा समूह १६९ अंकले उकालो लागेको छ । त्यस्तै, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक राताम्मे छन् भने बाँकी समूहको सूचक दोहोरो अंकले उक्लेका छन् ।

प्रि-बुकिङ गर्ने ग्राहकलाई ग्यालेक्सी एसनाइन/एसनाइन प्लस वितरण, रिटेल बिक्री शुरु

काठमाडौं । नेपालको सबैभन्दा ठूलो स्मार्टफोन ब्रान्ड सामसङले, चैत ९ गतेदेखि काठमाडौंमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी एसनाइन/एसनाइन प्लसको वितरण शुरु गरेको छ । ग्यालक्सी एसनाइन/एसनाइन प्लस क्रमशः ९२ हजार ९०० रुपैयाँ र १ लाख ४ हजार ९०० रुपैयाँमा उपलब्ध छन् । प्रयोगकर्ताहरूले ५ हजार रुपैयाँको क्यासब्याक प्राप्त गरी उक्त फोन प्रभावकारी मूल्य ८७ हजार ९०० रुपैयाँ र ९९ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्नेछन् । ग्यालेक्सी एसनाइन/एसनाइन प्लस संसारको सर्वाेत्कृष्ट क्यामेरा ड्वल एपरचर लेन्सको विशेषता सहित निर्माण गरिएको हो । “ग्यालेक्सी एसनाइन/एसनाइन प्लस एक छुट्टै श्रेणीका स्मार्टफोनहरू हुन् । पुनः परिमार्जित गरिएको क्यामेरासँग अब ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू कुनै स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउनेछन् । सुपर स्लो–मो र एआर ईमोजी जस्ता विशेषताहरूसँग उपभोक्ताहरूले आफूलाई एक नौलो एवं व्यक्तिगत ढंगले प्रस्तुत गर्न सक्नेछन्,” सामसङ मोबाइल फोनका प्रमुख प्रणय रत्न स्थापितले भने । लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङहरूमा यस नयाँ मोडल उपलब्ध छन् । सामसङले १२ हप्ताको लागि १२ हजार जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसँग साझेदारी गरेको छ । शिखर बीमाको सहयोगमा सामसङले आफ्ना ग्राहकहरुलाई एक वर्षे बीमा पनि प्रदान गर्दछ । साथै, एसनाइन/एसनाइन प्लस सजिलो ईएमआई मा उपलब्ध गराउन सामसङले ग्लोबल आई एम ई, नबिल, नेपाल इन्भेष्टमेन्ट बैँक, लक्ष्मी बैँक, मेगा बैँक र कुमारी बैँक जस्ता विभिन्न बैँकहरूसँग साझेदारी गरेको छ ।

चार कम्पनीको ४ करोड ७१ लाख कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । मंगलबार विभिन्न चार कम्पनीको ४ करोड ७१ लाख ९२ हजार ८९३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन स्ट्याण्डर्ड चार्टर्ड बैंक लि., माछापुच्छ्रे बैंक लि., एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लि.को गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ करोड ५७ हजार १५३ कित्ता र माछापुच्छ्रे बैंकको ६६ लाख ५१ हजार ४९० कित्ता बोनस थपिएको छ । त्यसैगरी, एभरेष्ट इन्स्योरेन्सको २ लाख २ हजार ५ सय कित्ता र एनएमबी माइक्रोफाइनान्सको २ लाख ८१ हजार ७५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

स्थानीय तहलाई करारमा कर्मचारी भर्ती गर्ने बाटो खुला, नमुना कार्यविधि पारित

काठमाडौं । स्थानीय तहमा करारमा कर्मचारी राख्न बाटो खुल्ला भएको छ । स्थानीय तहमा प्रविधिक जनशक्तिको कमी भएपछि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन कार्यविधि २०५४ (नमुना कार्यविधि) स्वीकृत भएको हो । कार्यविधी अनुसार स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारीको विवरण खुलाई विज्ञापन गर्नुपर्ने छ । विज्ञापन पछि प्रमुख प्रशासकिय अधिकृतको रहोबरमा आवेदन संकलन गर्नु पर्नेछ । आवेदन मर्फतबाट उम्मेदवारको योग्यता र क्षमताको आधारमा कर्मचारीको छनोट हुनेछ । कर्मचारी छनोट गर्दा पारिश्रमिक समेतको व्यवस्था गर्नुपर्नेछ ।

लाखाैं मानिस सित्तैमा व्यापार गर्छन, प्रबल शाखले त्यसैबाट लाखौं रूपैयाँ कमाउँछन्

काठमाडौं । ‘हाम्रो बजारमा गाडी, घर, जग्गा किनबेच हुन्छ । कम्प्यूटर, ल्यापटप, मोवाईल, क्यामेरा, घडी, टिभी, वासिङ मेसिन लगायत विद्युतीय सामाग्री हुन्छ । फर्निचर, कपडा, व्यूटी तथा हेल्थ केयरका सामान हुन्छन् । औद्योगिक तथा व्यापारिक सामान हुन्छन्’ हाम्रो बजार डटकमका सञ्चालक प्रबल शाख भन्छन्–‘हाम्रो बजार, सबैको बजार ।’ ‘आजको दिनमा हाम्रो बजारमा रियल स्टेट ७ हजार ९ सय, अटोमोबाइल ९ हजार ५ सय, होम फर्निसिङ ६ हजार, ट्राभल टुर प्याकेजेज बिक्रीका लागि सूचिकृत गरिएका छन्’ शाखले भने–‘हाम्रो बजार एउटा डिजिटल प्लेटफर्म हो । यसमा हजारौ मान्छेले नयाँ तथा प्रयोग भईसकेका लाखौ सामान खरिद बिक्री गरिरहेका हुन्छन् । ‘हाम्रो बजारमा कुनै पनि बस्तु सूचिकृत गरेबापत वा किनबेच गरेबापत शुल्क तिर्नु पर्दैन । हाम्रो बजार प्लेटफर्म प्रयोग गरेर मानिसहरुले दैनिक लाखौ÷करोडौ रुपैयाँ बराबरको कारोबार गर्छन् तर त्यसबाट हामीलाई एक रुपैयाँ पनि आम्दानी हुन्न’ शाखले विकासन्युजसँग भने । लाखौ मानिसहरुले विनाशुल्क कारोबार गर्न सक्ने यस प्लेटफर्मबाट शाखाले मासिक ३ देखि ७ लाख रुपैयाँ आम्दानी गर्छन् । समस्याले जन्माएको बजार युनिभर्सीटी अफ कोलोराडो युनाइटेड स्टेडबाट ब्याचलर एण्ड बिजनेश एडमीस्ट्रेसन, वेव्सटर युनिभर्सीटी थाइलेण्डबाट मार्केटिङमा मास्टर गरी नेपाल फर्केका शाखले नयाँ मोडलको मोवाईल किने । त्यसपछि आफूले चलाउँदै आएको पुरानो मोबाइल बेच्ने सोच बनाए । ‘म बजारमा मोबाइल बिक्री गर्न भनेर गएँ । बिक्री गर्न खोज्दा पसलेले ज्यादै कम मूल्यमा प्रस्ताव गर्यो । त्यत्तिकै राख्नु भन्दा थोरै मूल्यमा भएपनि बेच्ने निर्णयमा पुगेँ तर पसलेले फेरी मोबाइल बिक्री गरिसकेपछि मात्रै पैसा दिन्छु भन्यो’ उनले अनुभव सुनाए–‘एक त मैले उसैको मूल्य सस्तोमा मोबाइल बेच्न तयार भए, त्यति हुँदा पनि ऊ पैसा तत्काल दिन्न, बेचेपछि मात्र पैसा दिन्छु भन्छ ।’ उनले त्यो मोवाईल बेचेनन् । आफ्नो जस्तो समस्या समाजमा धेरैको हुन्छ भन्ने उनलाई ज्ञानबोध भयो । आफ्नो र अरुको पनि यस्तो समस्या समाधान गर्ने उपायको खोजिमा थाले उनी । ‘जसरी मैले दुःख पाए त्यसरी नै यहाँ हजारौंले दुःख पाएका होलान् भन्ने लाग्यो’ शाखले सुनाए–‘त्यहि समस्याको समाधानको खोजीमा जन्मिएको हो हाम्रोबजार डट कम ।’ ८ वर्षअघि हाम्रो बजारलाई बच्चाले हबीको लागि खोलेको वेवसाईटको रुपमा तुलना गरिन्थ्यो । अहिले यहि वेवसाईट करोडौ मूल्यका घर घडेरी, लाखौ मूल्यका कार, हजारौ मूल्यमा घरायसी सामानहरु किनबेच गर्ने डिजिटल बजार बनेको छ । शाखका अनुसार हाम्रो बजार वेवसाइटको पेज भ्यू दैनिक ७० देखि ८० हजार रहेको छ । यसमार्फत हजारौं कम्पनीहरुले करोडौंको व्यापार गर्दै आएका छन् । कसरी चल्छ बजार ? आफ्ना बस्तु तथा सेवा बिक्री गर्न चाहानेले बिक्री गरिने बस्तुको फोटो, त्यसको मूल्य, बस्तुको साईज, त्यसको अवस्था, बिक्री गर्न चाहानेको नाम, सम्पर्क नम्बर, ठेगाना लगायत विवरण हाम्रो बजारमा पोष्ट गर्छन । यसरी बस्तु तथा सेवाको विवरण हाम्रो बजारमा प्रकाशित गर्दा कुनै पनि शुल्क लाग्दैन । उल्लेखित विवरण हेरेर हाम्रो बजारको दर्शक वा पाठकले आफूलाई आवश्यक बस्तु तथा सेवा छनौट गर्छन् । दुई पक्षबीच सम्वाद, मोलमोलाई, कारोबार गर्ने अन्तिम निर्णय, लेनदेन लगायत कुनै पनि कार्र्यमा हाम्रो बजार डटकम सहभागी हुँदैन । संस्थाले कुनै शुल्क पनि लिँदैन । ‘प्रयोगकर्ताहरु आपसमा स्वेच्छिक तरिकाले भेट्छन्, कारोबार गर्छन, त्यसमा हाम्रो कुनै पनि संलग्नता हुँदैन’ शाखले भने । ‘हजारौ पसलहरुले हाम्रोबजारमा आफ्ना सामानहरु देखाएर बिक्री गरिरहेका छन् । लाखौं मानिसले आफ्नो घरमा नचाहिने तर बिक्री योग्य पुराना सामानहरुलाई बेचिरहेका छन्’ शाख भन्छन्–‘हामीले प्लेटफर्मको सिस्टम विकास र सञ्चालन मात्र गर्ने हो ।’ ‘हाम्रोबजार मैले होइन, सर्बसाधारणले चलाएको वेवसाइट हो । सर्बसाधारणले आफ्नो घरबाट, कम्पनीबाट, बैंक वा पसलबाट अपलोड गरिरहेका हुन्छन्’ उनले भने । सिस्टम चलाउन ३/४ जना कर्मचारी नियमित काम गर्छन् । केही मानिसहरु पार्टटाईम काम गर्छन । पुराना सामान बेच्ने बढ्दो संस्कार हाम्रो बजार सञ्चालनमा आएको ३/४ वर्षपछि मात्र यसको प्रयोग र लाभबारे चर्चा हुन थाल्यो । जानकारी भएपछि पनि हाम्रो बजारमा आफ्ना सामान सूचिकृत गर्ने कि नगर्ने भन्नेमा मानिसहरु दोधारमा पर्थे । अरुले के भन्ला भन्ने शंका देखिन्थ्यो । अहिले धेरै मानिसको लागि हाम्रो बजार राम्रो व्यापारको प्लेटफर्म बनेको छ । कतिको त बानी परिसकेको छ । ‘पहिला पुरानो सोफा बेच्न राख्ला लाज मान्नेहरुलाई अहिले बानी परिसकेको छ ।’ पुराना सामान हाम्रो बजारमा राखेर बिक्री गर्ने र खेरा जाने अवस्थामा पुगेको बस्तुलाई रुपैयाँमा बदल्ने संस्कार बनेको छ । त्यतिमात्र होइन, बजारमा आएको नयाँ बस्तु तथा सेवाहरुलाई हाम्रो बजारमा सूचिकृत गरेर व्यवसाय नै विस्तार गर्नेको संख्या पनि धेरै छ । डिलर, रिसेलर, हाउजिङ डेभलप्मेन्ट कम्पनीहरुले पनि हाम्रोे बजारमार्फत ब्यवसाय गरिरहेका छन् । ‘हाम्रो बजारको सर्भिस केही घन्टा मात्रै अबरुद्ध भयो भने सयौं फोन आउने गरेको छ । कहिलेकाही मेरो जग्गा बिक्री गरिदिनु भन्नेहरु आउछन्’ उनले अनुभव सुनाए । इकमर्शको तयारी विश्व बजारमा इन्टरनेटबेस वाइङ ह्याविटको विकास भएको छ । नेपालकै कुरा गर्ने हो भने शुरुमा मान्छेहरु एटीएम कार्ड प्रयोग गरी बैंकबाट पैसा झिक्न डराउँथे । अहिले नेपालीहरु कुनै डर र शंका नमानी कार्डबाट रेष्टुरेन्टको विल तिर्छन, बजारमा शपिङपछिको भुक्तानी गर्छन । विस्तारै समाज इन्टरनेटबाट बस्तु तथा सेवा खरिद गर्ने र भुक्तानी गर्ने अभ्यासमा घुलमिल हुँदैछन् । समाजमा बढ्दो इन्टरनेटको प्रयोग र डिजिटल करोबारको बढ्दो संस्कारकाबीच इकमर्शको बारेमा सोच्दै छन् शाख । ‘हामी इन्टरनेट जेनेरेशनमा छौं । फेसबुक, ट्वीटर, लिङ्कइन लगायत सामाजिक तथा पेशागत साइटहरुमा इन्टरनेट मार्फत जोडिएका छौं किनमेल पनि इन्टरनेटबाट गर्ने अभ्यास बढ्दो छ । सेकेण्ड ह्याण्ड प्रडक्टको लागि हाम्रो बजार प्रख्यात छ भने नयाँ प्रडक्टको लागि अरु प्लेटफर्महरु आईरहेका छन्’ शाखले भने–‘अब हामी ईकमर्श साइटमा जाँदैछौं ।’ इकमर्श हेर्दा सजिलो देखिए पनि यसलाई चलाउन कठिन भएको उनको भनाई छ । डिजिटल कारोबारलाई सरकारले प्राथमिकतामा राखे पनि इकमर्श सम्बन्धि कानून नभएकोले यसभित्र केही अन्यौता रहेको उनले बताए । शाखको सुपरब्राण्ड गणेशभक्तका नाति, किरण शाखको छोरा प्रबल शाख व्यवसायिक घरानाको युवा व्यवसायी हुन् । उद्योग, व्यापार र सेवाको क्षेत्रमा शाख समूहका दर्जन कम्पनीहरु छन् । प्रबलले अन्य उद्योग, व्यापारमा पनि परिवारलाई सहयोग गर्छन । तर उनको लागि सुपरब्राण्ड हो हाम्रोबजार । ‘हाम्रो बजार मेरो लागि सुपरब्राण्ड हो तर मैले यो ब्राण्डबाट तत्काल पैसा कमाउन चाहिन’ व्यवसायिक घराना परिवारमा जन्मे हुर्केका शाखले भने–‘तीन वर्षसम्म हामीले एक रुपैयाँ पनि आम्दानी गरेनौ । हाल तेस्रो पक्षको विज्ञापन राखेबाफत मासिक ४/५ लाख रुपैयाँ आम्दानी हुन थालेको छ । कहिले २/३ लाख मात्र हुन्छ, कहिले ७/८ लाख पनि हुन्छ ।’