विकासन्युज

यातायात सिण्डिकेट हट्यो, देशभर सडक परमिट खुला

काठमाडौ । यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयलाई जुनसुकै सडकमा अनुमति लिन आउने यातायात कम्पनीका सवारी चल्न पाउने गरी रुट इजाजत दिन निर्देशन दिएको छ । विभागले आज देशभरका सबै कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । यो निर्देशनपछि देशभरका यातायात एकाधिकार (सिण्डिकेट) हट्ने विश्वास गरिएको छ । राजधानीकै धेरै सडकमा एउटै यातायात समितिका सवारी मात्र सञ्चालन हुँदै आएको छ । यसले यात्रु मारमा पर्ने गरेका छन् । विभागले चैत १८ गते आइतबार यातायातसम्बन्धी पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको थियो । संशोधन एवम् नयाँ जारी भएका निर्देशिका कार्यविधिबमोजिम कार्यालयलाई पत्राचार गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए । विभागले नयाँ रुट परमिट लिन यातायात समितिको सिफारिश लिनुपर्ने व्यवस्था पनि हटाएकाले अब जुनसुकै कम्पनीका सवारी सबै सडकमा निर्बाध गुड्न पाउने बताए । यातायात कम्पनीलाई विभागमा पञ्जीकरण भई रुट परमिट लिन यातायात कार्यालयमा निवेदन दिन पनि विभागले आह्वान गरेको छ । काठमाडौंदेखि धुलीखेलसम्मको रुटबाट तोडिएको यातायात व्यवसायीको सिण्डिकेट अब देशभरी नै तोडिएको छ । काठमाडौंदेखि धुलिखेलसम्म ७ यातायात व्यवसायी संघले ३० वटा बस सञ्चालनमा ल्याएका छन् । साझा यातायात, सिटी यातायता, मेट्रो याताया र अन्नपुर्ण यातायातले सो रुटमा २० वटा बस सञ्चालनमा ल्याएका हुन् । विभागले मयुर यातायातलाई अनुमती दिएपछि व्यवसायी र विभागबीच विवाद बढेको थियो ।

एनआईसी एशिया बैंकद्वारा कर्णाली प्रदेशका ८ विद्यार्थीलाई २ लाख छात्रवृत्ति

काठमाडौं । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पीडित विद्यार्थीहरुलाई प्रदान गरिएको हो । बैंकले मुलुकभर फैलिएको आफ्नो १९२ वटा शाखा कार्यालयहरुमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको जनाएको छ । बैंकले मुलुकभरका १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङमार्पmत् सेवा प्रदान गर्दै आएको छ । बैंकको अनुसार बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढी र कुल कर्जा करिब रू १०६ अर्ब पुगेको छ । कुल निक्षेप करिब रू १३० अर्ब पुगीसकेको जनाएको छ ।

आइएमई इन्स्योरेन्स र भरपर्दो कृषक सहकारी संस्थाबीच सामुहिक दुर्घटना बीमा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५ सय जना भन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा हुने जनाइएको छ । सोही अवसरमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफ्ना ग्राहकहरुको रु. ५० हजारको औषधोपचार बीमा तथा रु. १ लाखको व्यक्तिगत दुर्घटना बीमा गरेको जानकारी गराए । संस्था तथा संस्थासँग आवद्ध सदस्यहरुको आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्स कम्पनीबाट प्राप्त हुने उनले विश्वास दिलाएका छन् ।  

भारत पुगेर महासंघको अध्यक्ष राणाले नेपलामा लगानी गर्न आग्रह गरिन्

काठमाडौं । मित्रराष्ट्र भारतको तीन दिने राजकिय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक सस्थाहरुले नया दिल्लीमा एक कार्यक्रमकाे आयोजना गरेका छ। उक्त कार्यक्रममा नेपालबाट निजी क्षेत्रको नेतृत्व गर्दै सहभागी भएकी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी हुन् । भारतीय निजी क्षेत्रका प्रतिनिधि सस्थाहरु भारतीय उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ र एसोचेमले संयुक्त रुपमा शुक्रबार उक्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष राणाले नेपालमा अव लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेकी हुन् । कार्यक्रममा उनले नेपालमा स्थिर सरकार भएको भन्दै लगानी गर्न आग्रह गरेकी थिइन् । भारतले हासिल गर्दै गएको आर्थिक समृद्धिबाट लाभ लिन नेपाल सधै लालायित रहेको उनको भनाइ थियो । उनले कार्यक्रममा नेपालको पछिल्लो वदलिदो परिस्थितिको सम्बन्धमा पनि प्रकाश पारेको बताइएको छ । ‘नेपालमा लगानी गर्ने उपयुक्त समय अहिले जस्तो विगतमा कहिले थिएन,’ उनले भनिन् ‘नेपालमा सेवामुलक, उत्पादनमुलक र कृषि प्रशोधन जस्ता क्षेत्रहरूमा लगानी गर्ने उपर्युक्त समय आएको छ ।’ त्यस्तै उनले यतिखेर खासगरी उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको आवश्यकता रहेको जनाइन् । रकारले विद्युत आपूर्तिको प्रभावकारी व्यवस्थापन गरेको कारण लोडसेडी अन्त्य हुनुका साथै उद्योग व्यवसायको क्षमता वृद्धि भएको उनले कार्यक्रममा जानकारी गराए । जसकारण हाल निकै ठुला परियोजनाहरु अगाडी बढिरहेको भन्दै आगामी दिनमा उद्योग बढ्ने उनको बुझाइ छ ।

पोखरा फाइनान्स बेंसी सहरमा

काठमाडौं । पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले लमजुङको वेंसी सहर बजारमा नयाँ शाखा उद्घाटन गरि सञ्चालनमा ल्याएको छ ।  शाखामार्फत् संस्थाले निक्षेप एवं कर्जा लगायतका सेवा प्रदान गर्ने बताएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तार गर्ने उद्देश्यले वेंसी सहरमा शाखा खोलेको जनाएको छ । शाखाको उद्घाटन लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले संयुक्त रुपमा गरेको बैंकको भनाइ छ । बैंकको जारी पूँजी रु ७५ अर्ब ४१ करोड रहेको छ । संस्थाको हालसम्म निक्षेप रु. ४ अर्व २३ लाख तथा कर्जा लगानी रु. ३ अर्व ८६ करोड गरेको भने जगेडा कोषमा रु. ४१ करोड ७४ लाख रहेको जानकारी दिएको छ ।

हकप्रद सेयरको बाढी, ३९ कम्पनीको साढे २१ अर्बको निष्कासन, अझै साढे ९ अर्ब लाइनमा

काठमाडौं । साउनयता बैंक तथा वित्तीयलगायत विभिन्न ३९ कम्पनीले साढे २१ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्न स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाउनेमा अधिकाँश बैंक तथा वित्त र बीमा कम्पनी रहेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा गरी २१ करोड ४८ लाख ९५ हजार कित्ता हकप्रद निष्कासन गरेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद निष्कासन गरेका हुन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले ८ अर्ब, विकास बैंकले साढे २ अर्ब र वित्त कम्पनीले ८० करोड रुपैयाँ चुक्तापँुजी पुराउनु पर्ने व्यवस्था गरेपछि हकप्रद सेयर निष्कासन गरेका हुन् । स्वीकृति पाएका मध्ये अधिकाँशले हकप्रद सेयर निष्कासन गरिसकेका छन् । भरखरै स्वीकृति पाएकाले निष्कासनको तयारी गरेका छन् । अनुमति पाएका मध्ये सबैभन्दा बढी हकप्रद सेयर मेगा बैंकले निष्कासन गरेको छ । मेगाले २ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको थियो । यस्तै प्रभु बैंकले २ अर्ब ३५ करोड २५ लाख, सिभिल बैंकले २ अर्ब ७ करोड ४० लाख, कुमारी बैंकले १ अर्ब १९ करोड ३८ लाख र सिद्धार्थ बैंकले ६८ करोड २६ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गरेका छन् । कुमारी बाहेक सबै बैंकले हकप्रद निष्कासन गरेका छन् । हकप्रद निष्कासन गरेपछि सबै बिक्री नहुदा पुनः लिलामी हुदै आएको छ । संस्थापक लगानीकर्ताले पनि हकप्रद सेयरका लागि आवेदन नदिएपछि बिक्री नभएको हो । १८ कम्पनीको ९ अर्ब ५८ करोड पाइपलाइनमा विभिन्न कम्पनीको ९ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद सेयर आउने तयारीमा छन् । यसमध्ये सबै भन्दा ठुलो हकप्रद नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको छ । एनसीसीले २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँको हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंक तथा वित्त र बीमा बाहेक अपी पावर कम्पनी लिमिटेड र श्रीराम सुगर मिल्स लिमिटेडले हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । अपीले नयाँ आयोजना बनाउन र श्रीरामले उत्पादन क्षमता बढाउनका लागि हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । श्रीरामले ३ सय, एनसीसी बैंकले १०० र अपीले २०० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसंग अनुमति मागेका छन् । हकप्रद निष्कासन गरेका विवरण प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला  

सामसङद्वारा नयाँ वर्ष अफर घोषणा, विभिन्न प्रोडक्टमा ७ हजारसम्म छुट

काठमाडौं । नेपाली बजारमा बिक्री भइरहेको सामसङ स्मार्टफोन कम्पनी, सामसङले नयाँ वर्ष २०७५ आगमनलाई लक्षित गर्दै आफ्नो ‘२०७५ साल सामसङ अफर बबाल’ घोषणा गरेको छ । ‘नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै हामीले हाम्रा उपभोक्ताहरुका लागि नयाँ अफर ल्याएका छौँ’, सामसङ मोबाइल शाखा प्रमुख प्रणय रत्न स्थापितले भने ‘हामी विश्वस्त छौँ यसले सकारात्मक प्रभाव पार्दै ग्राहकमाझ हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउदै लैजानेछ ।’ योजनाअन्तर्गत सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्ने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार उपभोक्ताले ग्लाक्सी ट्याब एस थ्रीकोे खरिदमा लेभल बक्स स्पिकर, एस ८/ एस ८ प्लसको खरिदमा लेभल यु फ्लेक्स तथा नोट ८ को खरिदमा स्पिकर सित्तैमा पाउँने जानकारी गराएको छ । उपहारसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा समेत भारी छुटको व्यवस्था गरेको जनाएको छ । जसमा रु ६ हजार ९० को छुट सहित नोट ८ लाई ९६ हजार ९०० सयमा रु ७ हजारको छुटसँगै एस८ प्लासको मुल्य ७९ हजार ९ सय तथा एस ८ को मूल्य रु ७६ हजार ९०० बाट रु ६९ हजार ९०० तयमा झारिएको कम्नपीले जनाएको छ । त्यसैगरी, रु २००० को छुट सहित जे७ प्रो र जे ७ याक्सको मूल्य क्रमशः रु ३२ हजार ९०० बाट रु ३० हजार ९०० तथा रु २८ हजार २९० बाट रु २६ हजार २९० मा झारेको छ । जे ७ प्राइम२ को मूल्य अब रु २७ हजार ९९० र जे ७ नेक्स्ट (३२ जिबी)को मुल्य रु २० हजार ९९० निर्धारित गरिएको छ जसको मूल्य यसअघि क्रमशः रु २८ हजार ९९० र रु २१ हजार ९९० रहेको थियो । कम्पनीको अनुसार रु १२ सयको छुट सहित अन नेक्स्टको मूल्य रु २५ हजार १९० बाट रु २३ हजार ९९० तय गरेको छ ।

इन्डिया–नेपाल विजनेश फोरमा प्रधानमन्त्रीले भने : इतिहासकै बलियो सरकार भएकाले नेपालमा लगानीको थप अवसर

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताएका छन् । इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताए । नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपालमात्रै रहेको उल्लेख गर्दै उनले नेपाललाई विकासशील देशमा लैजान आफू प्रयत्नशील रहेको उल्लेख गरे। अहिले प्रतिनिधिसभाको तीन चौथाई मत प्राप्त सरकार गठन भएको, कानूनको परिपालना गराउन कुनै बाधा व्यवधान नभएको, इतिहासकै बलियो सरकार निर्माण भएकाले पनि लगानीको थप अवसर सिर्जना भएको प्रधानमन्त्रीको भनाइ थियो । भारतीय लगानीकर्ता संसारभर नै लगानीका लागि गएको भन्दै उनले नेपालमा पनि खुला हृदयका साथ आउन आग्रह गरे। सरकारले नयाँ उद्योग स्थापना लागि विशेष आर्थिक क्षेत्र स्थापना गरेको, उद्योग, व्यवसायमैत्री औद्योगिक नीति ल्याएको, श्रम समस्या नरहेको, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गरेको जानकारी दिँदै सरकार सबै प्रकारको लगानीलाई स्वागत गर्न तयार छ भने। सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै पनि विभेद नगरेको, समान सुविधा दिएको, वीरगञ्जमा एकीकृत जाँचचौकी स्थापना गरी सहज भन्सार सुविधा दिन थालिएको र त्यस्तो चौकी अन्य तीन स्थानमा पनि स्थापना हुने क्रममा रहेको स्पष्ट पारे। नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता गरिएको, ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, अर्को प्रसारण लाइन निर्माणको प्रारम्भ भएको, माथिल्लो कर्णाली, अरुण तेस्रो आयोजना निर्माण हुन लागेकाले ऊर्जा क्षेत्रमा लगानीको महत्वपूर्ण अवसर रहेको भन्दै भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे। कृषि, पर्यटन तथा जडीबुटी उद्योगमा समेत लगानीको महत्वपूर्ण अवसर रहेको प्रधानमन्त्रीको जोड थियो । सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा राजनीतिक स्थिरता कायम भएको, स्थिर सरकार गठन भएकाले लगानीको वातावरण बनेको उल्लेख गरे । माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता ठूला जलविद्युत् आयोजना निर्माणका क्रममा रहेको उनले बताए । ती आयोजना नौ÷नौ सय मेगावाट क्षमताका आयोजना हुन् । माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनको काम शुरु भएको र अरुण तेस्रो, निर्माणको क्रममा जान लागेको उनको भनाइ थियो । लगानी बोर्डले विभिन्न ठूला परियोजनालाई अगाडि बढाइरहेको उल्लेख गर्दै उनले नेपालमा भारतीय उद्योगी तथा व्यवसायीको लगानी पनि सुरक्षित हुने अवस्था रहेको उल्लेख गरे ।राजनीतिक रुपमा असाध्यै समस्या रहेको बेलामा समेत नेपालमा भारतीय उद्योग तथा व्यवसायीले महत्वपूर्ण नाफा गरेको भन्दै हालको अवस्थामा झन लगानीमैत्री वातावरण बनेको स्पष्ट पारे । जलविद्युत्, पर्यटन क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत अधिकारीले ढुक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरे । नेपाल सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँमा मोनो–रेललगायतका पूर्वाधारको विकासका लागिसमेत काम गरिरहेको उल्लेख गर्दै उनले नेपाल लगानीका लागि उपयुक्त स्थल रहेको पटकपटक दोहो¥याएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव माधव बेल्वासेले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण शुरु हुने क्रममा रहेको, केही नीतिगत सुधार गरिएको जानकारी गराए । ऊर्जा क्षेत्रको एकीकृत विकासका लागि सरकारले २०७२ फागुन ६ गते नै ९९ बुँदे ऊर्जा संकटकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको र निजी क्षेत्रलाई थप सहज गराइएको उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गरेको, राजनीतिक रुपमा समेत सहज वातावरण बनेको भन्दै वैदेशिक लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराएकी थिइन् । उनले नेपाल र भारतका निजी क्षेत्र मिलेर पनि काम गर्न सकिने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीको छाता संगठन भएकाले पनि महासंघले पनि थप सहजीकरण गर्ने स्पष्ट पारिन् । उनले लगानी बोर्डको क्षमता वृद्धि र कार्यक्षेत्रको विस्तारसमेत भएकाले लगानीको वातावरण बने जानकारी गराइन्। सिएनआइका अध्यक्ष हरिभक्त शर्माले नेपाल लगानीका लागि एकदमै उपयुक्त भएकाले जुनसुकै क्षेत्रमा पनि नाफा कमाउन सकिने भएकाले लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरे। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीका लागि आउन भारतीय लगानीकर्तालाई आग्रह गरे । पिटिसी इन्डियाका अध्यक्ष दीपक अमिताभले आफ्नो कम्पनीले नेपाल, बंगलादेशलाई विद्युत् उपलब्ध गराइरहेको जानकारी दिए। नेपाललाई हाल १५० मेगावाट विद्युत् उपलब्ध गराइरहेको जानकारी दिँदै ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन जस्तै अन्य लाइन पनि निर्माण गर्नुपर्ने बताए। रासस