विकासन्युज

एनआईसी एशिया बैंकद्वारा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालद्वारा एक समारोहकोबीच काठमाडौंस्थित बैंकको रजिस्ट्र्राड कार्यालय, थापालीमा उक्त नयाँ सालकोे क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष  अग्रवालले नयाँ वर्षको शुभ अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनीहरु, नियमनकारी निकायहरु, कर्मचारी लगायत सम्पुर्णलाई शुभकामना दिएका थिए । कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष जगदीशप्रसाद अग्रवाल, अन्य सञ्चालकहरु, बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने लगायतका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ । हाल मुलुकभर बैंकले १९२ शाखा कार्यालयहरु, १९६ एटीएम, ४ एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ तथा सबैभन्दा धेरै सञ्जालमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिएको छ । बैंकको वासलातको आकार रू १५५ अर्बभन्दा बढी पुगेको छ भने कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करिब १३१ अर्ब पुगिसकेको जनाएको छ ।

सिटिजन्स बैंकले २४५ मा ४ लाख ६४ हजार कित्ता एफपीओ निष्कासन गर्ने, प्रिमियमबाट पाैने ७ कराेड कमाउँदै

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सर्वसारणका लागि थप निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । बैंकले प्रिमियम मूल्यमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासन गर्नका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि एफपीओ निष्कासन गर्ने बैंकले जनाएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १४५ रुपैयाँ प्रिमियम थप गरी २४५ रुपैयाँमा एफपीओ निष्कासन गर्ने बैंकको डेपुटी सीईओ गणेशराज पोखरेलले जानकारी दिए । उनका अनुसार एफपीओबाट बैंकले कुल ११ करोड ३६ लाख ३७ हजार रुपैयाँ प्राप्त गर्नेछ । बैंकले  प्रिमियम अाम्दानी मात्र ६ कराेड ७२ लाख रूपैयाँ अाम्दानी हुनेछ । संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ बनाउन एफपीओ निष्कासन गर्न लागेको हो । हाल संस्थापक सेयर ५१ प्रतिशत अलि बढी भएपछि यसलाई सीमामा झार्न एफपीओ निष्कासन गर्न लागेको पोखरेलले जानकारी दिए । एफपीओलाई इक्रा नेपालले ३ रेटिङ गरेको छ । बैंकको चुक्तापुँजी बढेर ८ अर्ब २ करोड रुपैयाँ नाघेको छ । एफपीओ निष्कासन प्रस्ताव यसअघिको वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो ।

बच्चा जन्मिएको एक महिनामा जीवन बीमा हुने , स्थायी अशंक्त भए सबै बीमा शुल्क मिनाह

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले नववर्ष २०७५ को अवसर पारेर आफ्ना ग्राहकहरुको लागि “मेरो मुटु बाल जीवन बीमा” योजना ल्याएको छ । एक महिनाको उमेरदेखि नै बच्चाको बीमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकै साथ हुनु यस योजनाको सौन्दर्य हो । यस योजनाले बच्चाको दीर्घकालीन आर्थिक सुरक्षा तथा बचतको आस्वस्थता प्रदान गर्नेछ । यस योजनाको अन्य विशेषता भनेको, परिपक्वतामा पाइने सुविधाहरुका साथै बीमा अवधि भरी प्रस्तावकको कुनै पनि कारणले मृत्युवा दुर्घटनामा परी स्थायी अशक्तता भएमा सो घटना पश्चातको बाँकी सबै बीमा शुल्क मिनाहा हुनुका साथै बीमांक रकमको १ प्रतिशतको दरले हुन आउने रकम आयको रुपमा बीमा अवधी भरी हरेक महिना प्रदान गरिने छ जसले गर्दा बच्चाको भविष्य निर्माणमा विशेष मद्दतपुग्ने कम्पनीले जनाएको छ । यस बीमा योजनाको सञ्चालनसँगै कम्पनीले जम्मा ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ र निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको जनाएको छ ।  रिलायन्स लाईफ इन्स्योरेन्स लि. सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो जसको कूल पूंजी रु.२ अर्ब १० करोड र चुक्ता पूंजी रु.१ अर्ब ४७ करोड रहेको छ ।

८ महिनामा व्यक्तिले बैंकमा जम्मा गरे ११८ अर्ब, व्यक्तिगत वचत बढेर पुग्यो १४ खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा व्यक्तिगत निक्षेप ९.३ प्रतिशत बढेको छ । गत फागुनसम्म विभिन्न बैंक तथा वित्तीय संस्थामा व्यक्तिले १ खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ बैंकमा राखेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप बढेर १३ खर्ब ८७ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । बैंकले संकलन गरेको कुल रकमको ५६ प्रतिशत बढी व्यक्तिगत निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा संस्थागत र व्यक्तिगत गरी कुल २५ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ रहेको छ । बाँकी ४४ प्रतिशत निक्षेप स्थानीय सरकार, बीमा कम्पनी, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सरकारी र गैरसरकारी संस्थाको रहेको छ ।

३१५ व्यक्तिगत सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

काठमाडौ । गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई व्यक्तिगत गार्ड (पिएसओ) का रुपमा राख्नेलगायतका गुनासो आएपछि गृहले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी मन्त्रालयलाई दिन परिपत्र जारी गरेको हो । यस्तै नेपाल प्रहरीका पूर्व पदाधिकारीको सुरक्षार्थ खटिएका ३१५ जना नेपाल प्रहरीका कर्मचारीलाई समेत फिर्ता ल्याउन गृहले नेपाल प्रहरीलाई परिपत्र पठाएको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका त्यस्ता सुरक्षाकर्मीमध्ये अधिकांशलाई घरमा कामदारका रुपमा राख्ने गरेको आरोप लाग्ने गरेको छ । सुरक्षा जोखिम रहेको अवस्थामा पूर्व प्रहरी अधिकारीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन दिएर सुरक्षा खतरा रहेसम्मका लागि सुरक्षागार्ड पाउनसक्ने प्रावधान रहे पनि कुनै खतरा नै नरहेकाहरुले पनि यस्तो सुरक्षाकर्मी राखेर दुरुपयोग गर्दै आएका छन् । बहालवाला अति विशिष्ट एवं पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय भएभन्दा बढी संख्यामा खटिएका ४५ जना नेपाल प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले निर्देशन दिएको छ । गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय नभईकनै खटिएका ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भइसकेका छन् । यस्तै सशस्त्र प्रहरी बलका पनि करीब ५०० सुरक्षाकर्मी बहालवाला विशिष्ट व्यक्ति, पूर्व पदाधिकारीको सुरक्षामा खटिएका छन् । उनीहरुमध्ये केहीलाई घरेलु कामदारका रुपमा समेत प्रयोग गरिराखिएको गुनासो आउने गरेको छ । सुरक्षाबाहेक अन्य काममा लगाइएका सशस्त्रका कर्मचारीलाई समेत तत्काल फिर्ता बोलाउन गृहले परिपत्र जारी गरेको हो । दुवै प्रहरीले गृह मन्त्रालयलाई पठाएको विवरणमा कतिपय राजनीतिक दलका नेता, केही पूर्व गृहसचिवलगायतका घरमा सहयोगीका रुपमा सुरक्षाकर्मीलाई खटाइएको उल्लेख छ । गत चैत १९ गते गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना, २०७४’ को बुँदा नं ७१मा सुरक्षाबाहेक अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई वैशाख मसान्तभित्र फिर्ता बोलाउने समयसीमा तोकिएकामा त्यसलाई कार्यान्वयन गर्न त्यसअघि नै गृहले काम शुरु गरेको हो । रासस

सिण्डिकेट हटेपछि सुर्योदय यातायातले सञ्चालनमा ल्यायो स्मार्ट यात्रुबस: टिभी, वाईफाई , जिपिएस र सीसी क्यामेरा जडान

काठमाडौं । सरकारले देशभरी नयाँ रुट अनुमति खुला गरेपछि निजी क्षेत्रबाट सुर्योदय यातायात एन्ड अटो प्राइभेट लिमिटेडले अत्याधुनिक सुविधा सहितको यात्रुबस सञ्चालनमा ल्याएको छ । नयाँ वर्षको आगमनसँगै सूर्योदयले अशोक लेलैण्डका १५ थान नयाँ मोडेलका यात्रुवहाक वस पूर्वाञ्चलमा सञ्चालनमा ल्याएको हो । बसमा डिजिटल डिस्पले , टिभी, वाईफाई , जिपिएस, सीसी क्यामेरा लगायत अत्याधुनिक उपकरणहरु जडान गरिएको छ । जनाइएको छ । कम्पनीको अनुसार गाडीमा विभिन्न किसिमका लाईफटाईम इन्जिन जडान गरिएको छ । कम्पनीले पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने बताएको छ । संस्थाका अध्यक्ष देवेन्द्रकुमार न्यौपानेले गाडीहरुमा फिल्टर र मोबिल खर्चबाहेक अन्य खर्च नआउने दावी गरेका छन् । संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी गाडी विस्तार गर्दै यात्रुहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित गराउने जानकारी दिए । राजधानीमा पनि संगठित रुपमा सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । महानगर यातायात, सिटी यातायात, साझा यातायात, मयुर यातायात र धुम्रबराही यातायात सञ्चालनमा छन् । सरकारले यातायात सिण्डिकेट खारेजको घोषणा गरेपछि निजी क्षेत्रबाट संगठित रुपमा ठुला बस सञ्चालनमा आउन थालेका छन् ।

सेयर कारोबार गर्न अब ब्रोकरकोमा जानु नपर्ने, घर र कार्यालयमा बसेर किनबेच गर्न सकिने

काठमाडौं । तपाई सेयर खरिदबिक्री गर्नका लागि ब्रोकर कार्यलय धाउनु परेको छ ? तपाईलाई ब्रोकर अफिसमा जान समय छैन ? अब चिन्ता नलिनुस तपाईले बैशाखदेखि नै घरमै बसेर सेयर कारोबार गर्न सक्नु हुनेछ । अब ब्रोकर कार्यलयले बैशाखदेखि इन्टरनेटमार्फत सेयर कारोबार गराउन पाउने भएका छन् । नियामक धितोपत्र बोर्डले वैशाखदेखि इन्टरनेटमार्फत सेयर कारोबार गराउन धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ । ब्रोकर कम्पनीले आफनो व्याकअफिसमा सुधार गरी अनलाइन कारोबार गर्न सकिने जानकारी दिएपछि बोर्डले यस्तो निर्देशन दिएको हो । यसबाट लगानीकर्ता ब्रोकर कार्यालयमा उपस्थित भएर सेयर कारोबारको अन्त्यभई घर वा कार्यालयबाट सेयर खरिदबिक्री गर्न सक्ने भएका छन् । लगानकर्तालाई झण्झट नहुने, सेयर कारोबार र अभिलेख अझ बढी प्रभावकारी, सहज, पारदर्शी र छिटो काम हुने बोर्डले जनाएको छ । यसले निकट भविष्यमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले गर्न लागेको अनलाईन सेयर कारोबारलाई आधार तयार गर्ने बोर्डको भनाई छ ।  

सेयर, सवारीसाधन र रियलस्टेटमा बैंकको लगानी घट्यो, अटोलोन ३०० प्रतिशत गिरावट

काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थाले दिने सेयर (मार्जिन नेचर लोन) र सवारी साधन (अटोलोन) र रियलस्टेटमा कर्जा लगानी घटेको छ । गत वर्ष जस्तै यो वर्ष पनि बैंकसंग लगानीयोग्य पुँजीको अभाव भएपछि कर्जा लगानी घटेको हो । नेपाल राष्ट्र बैंकले सेयर, सवारी र रियलस्टेट क्षेत्रमा भएको लगानी अनुत्पादक भन्दै प्राथमिकता नदिएपछि लगानी घटेको हो । चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाले १ अर्ब ९९ करोड २१ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिमा सेयर कर्जा २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थाले हालसम्म ४२ अर्ब ४६ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । यो वर्ष पनि बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले सेयर कर्जा लगानी घटाउदा यसको असर पुँजी बजारमा परेको छ । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ ।लगानीयोग्य पुँजी नुहुनु सेयर बजार घट्नुको मुल कारण भएको लगानीकर्ताको भनाई छ । यस्तै अटोलोनमा ३०० प्रतिशत गिरावट आएको छ । चालु आवको फागुनमा अटोलोन ८.८ प्रतिशत बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ३४.८ प्रतिशत थियो । गत फागुनसम्म बैंकले १३ अर्ब १४ करोड ७५ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको फागुनमा ३८ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । हालसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६२ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तै रियलस्टेट क्षेत्रमा हुने कर्जा प्रवाह ४० प्रतिशत भन्द बढीले कमी आएको छ । चालु आवको फागुनसम्म ९.२ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.७ प्रतिशत बढेको थियो । गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाले ११ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा १८ अर्ब रुपैयाँ लगानी भएको थियो । हालसम्म यो क्षेत्रमा १ खर्ब ३७ करोड ५३ लाख रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।