विकासन्युज

बीमा संस्थानमा कस्ले मार्ला बाजी ?

काठमाडौं । राष्ट्रिय बीमा संस्थामा रिक्त रहेको प्रशासकका लागि ५ जनाले आवेदन दिएका छन् ।  कविप्रसाद पाठक, झापा, डिल्लीराज अर्याल, गुल्मी, बुद्धकाजी श्रेष्ठ काठमाडौं, लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा रहेका छन् । प्रशासक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समिलिाई उम्मेदवारले आइतबार संस्थाको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । सोमबार अन्तरवार्ता दिन काम पनि सकिएको छ । समितिले ३ जनालाई छनौट गरेर अर्थ मन्त्रालयमा शिफारिश गर्नेछ । त्यसपछि मन्त्रिपरिषदले एक जनालाई प्रशासक बनाउने छ ।

औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त गरिएकोमा महासंघद्धारा स्वागत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजबाट औद्योगिक क्षेत्रमा हाल कायम लोडसेडिङ अन्त्य भएको घोषणा गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफल रुपमा कार्यान्वयन गर्न उर्जा मन्त्री, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई प्राप्त सफलताप्रति महासंघ खुशी व्यक्त गरेकाे छ । औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्यको घोषणाबाट अब मुलुकभित्र उद्योग व्यवसाय विस्तार भएका उद्योग व्यवसायको निर्वाध संचालन, उत्पादन प्रवद्र्धन तथा नयाँ औद्योगिक विस्तारमा सघाउ पुग्नुका साथै समग्रमा मुलुकको आर्थिक व्यवसायिक विकास, लगानी आकर्षणमा समेत मद्दत पुग्ने महासंघले विश्वास लिएको छ । महासंघले नयाँ आउने उद्योगहरु र क्षमता विस्तार गर्न चाहने उद्योगधन्दाहरुका लागि आवश्यक विद्युत उनीहरुले मागेका बखत सहज रुपमा उपलव्ध गराई दिने वातावरणका लागि महासंघ, उर्जा मन्त्रालय र प्राधिकरण समक्ष आग्रह गरेको छ । साथै, प्राधिकरणले विद्युत प्रसारणमा गुणस्तरीय विद्युत प्रवाह गर्न ध्यान दिनुपर्ने महासंघको सुझाव छ ।

करमा एग्रेसिभ बन्दै सरकार, विज्ञ भन्छनः ९५० अर्ब राजश्व संकलन सम्भव छ

काठमाडौं । सरकारले नयाँ बजेटमा एग्रेसिभ कर नीति अवलम्बन गर्नेे स्पष्ट संकेत गरेको छ । अर्थमन्त्री युवराज खतिवडा, राजश्व सचिव शिशीर ढुंगानाले करको दायरा विस्तार नयाँ बजेटको प्रमुख प्राथमिकतामा पर्ने बताउँदै आएका थिए । सोमबार नेपाल आर्थिक संघले आयोजना गरेको पुर्व बजेट छलफल कार्यक्रममा सहभागी अर्थमन्त्रालयको राजश्व महाशाखा प्रमुख रामशरण पुडासैनीले पनि राजश्वमा सरकार एग्रेसिभ हुने स्पष्ट पारे । ‘राजश्व संकलनमा सरकार एग्रेसिभ हुन्छ, भन्सारदेखि आन्तरिक बजारमा पनि व्यापक सुधार गर्छाै’, पुडासैनीले भने । कार्यक्रममा सहभागी विज्ञहरुले पनि राजश्वका दर बढाउने प्रशस्तै ठाउँ रहेको बताएका थिए । अर्थशास्त्री प्रा.डा. मदन कुमार दाहालले भन्सारले २५ प्रतिशत आयातलाई मात्रै ट्रयाक गरेकाले राजश्व संकलनको लक्ष्य ठुलो मात्रामा बढाउन सकिने बताए । ‘भन्सारले २५ प्रतिशत आयातलाई मात्रै समेटेको छ, अब आफैं बुझ्नुस हाम्रो अर्थतन्त्र कस्तो छ र हामीले के गर्नु पर्छ’, अर्थशास्त्री डा. दाहालले भने । अर्का अर्थशास्त्री डा. खिमलाल देवकोटाले पनि संघियताले अधिक श्रोत खोजेको र त्यसका लागि राजश्व संकलनको लक्ष्य बढाउनै पर्ने धारणा राखे । उनले आगामी आर्थिक बर्षको बजेटमा ९५० अर्बको राजश्व संकलन लक्ष्य तय गरिनु उपयुक्त हुने धारणा राखेका थिए । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र भन्दा पहिले सरकार सुध्रिनुपर्ने धारणा राखेका थिए । उनले बजार अनुगमनलाई राजनीतिज्ञले पैसा कमाउने माध्यम र कर्मचारीले शक्ति प्रदर्शनको माध्यम बनाएको आरोप समेत लगाएका थिए । डा. देवकोटाले बजेटको आधार १७ खर्ब हाराहारी बनाउनुपर्ने सुझाव समेत दिए । प्रा.डा. दाहालले भने १५ खर्बको बजेट उपयुक्त हुने सुझाव पेश गरेका थिए ।राजश्व संकल ३० प्रतिशत बढे मात्र साढे ९ खर्बको लक्ष्य पुरा हुने छ । चालु आर्थिक वर्षमा सरकारले २२ प्रतिशत राजश्व वृद्धिको लक्ष्य राखेकोमा पुरा गर्न हम्मे परेको छ । ३० प्रतिशत राजश्व बढाउन कर संरचनामा ठुलो परिवर्तनका लागि प्रयास गर्नुपर्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्बन्धि सम्मेलन सकियो

काठमाडौं ।अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्बन्धि सम्मेलन आइतबार सम्पन्न भएको छ । सोही दिन एसिया प्रशान्त लेखा व्यवसायीहरूको संस्थाहरुको बैंठक समेत बसेको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)द्धारा आयोजित बैठकले सम्वन्धित संस्थाको वार्षिक प्रतिवदेन पारित गर्नुका साथै आगामी रणनीतिका बारेमा छलफल गरेको जानकारी गराएकाे छ । लेखापरीक्षणको पारदर्शिता, लेखापरीक्षकहरुलाई थप जिम्मेवार बनाउने, नयाँ–नयाँ प्रविधिको प्रयोग र चुनौती लगायत विषयमा छलफल भएको आइक्यानका अध्यक्ष सिए प्रकाशजंग थापाले जनाएका छन् । आयोजकका अनुसार वैठकमा हरेक सदस्य राष्ट्रहरुले सम्वन्धित मुलुकको वार्षिक प्रतिवदेन प्रस्तुत गरेका थिए । उक्त वैठक यसअघिका वैठकहरुकै निरन्तरता भएको हो । सोही क्रममा वोर्ड डाइरेक्टरहरुको वैठक पनि बसेको थियो । वैठकमा आगामी रणनीति र कार्यान्वयनसम्वन्धमा व्यापक छलफल भएको अध्यक्ष थापाले जानकारी दिएका छन् । शनिबार सुरु भएको अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्रसम्वन्धि सम्मेलनको अन्तिम दिन अर्थात सोमबार आइक्यानले सिए शिक्षा मेला समेत आयोजना गरेको थियो ।

हुवावेको ‘नोभा थ्री ई’ नेपाली बजारमा, मूल्य ३५ हजार ९०० रुपैयाँ

काठमाडौं । हुवावेको नयाँ स्मार्ट फोन ‘नोभा थ्री ई’ नेपाली बजारमा भित्रिएको छ । दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको उक्त फोन हालै बजारमा आएको हो । कम्पनीका अनुसार नोभा थ्री ई फोन अगाडि र पछाडि दुबै भाग मोटो र नफुट्ने सिसाले बनेको र स्क्रिनको चारैतिर पात्लो बिजेलले घेरिएको छ । १६ मेगा पिक्सेल क्यामेरा–जडित नोभा थ्री ई सेल्फीका लागि सर्वोत्कृष्ट रहेको छ । क्यामेरालाई पोट्रेट मोडमा राख्दा नोभा थ्री ईले स्टूडियोमा खिचेकै जस्तै राम्रो सेल्फी निकाल्छ । यसमा थ्रीडी फेसियल डिटेक्सन फिचर पनि रहेको छ । १६एमपी र अपरटूयर अफ एफ/२.२ क्यामेराको अतिरिक्त नोभा थ्री ई मा दुई मेगा पिक्सेलको वैकल्पिक क्यामरा पनि जडान गरिएको छ, जसले यसलाई अद्वितीय सेल्फी-फोन बनाउन मद्दत गरेको कम्पनीले जनाएको छ । यस फोनमा अल्ट्रा न्यारो नोट्च सहित ५.८४ इञ्च ठूलो फूल भ्यिू डिस्प्लेका साथै ६२ गिगा बाईट रोम रहेको छ । २.५ कर्भड ग्लासद्धारा सुरिक्षत यो फोन एकदमै बलियो पनि छ । साथै, स्क्रिनको एस्पेक्ट रेसियो १९ः९ भएकोले यसले फोनको अग्र भागलाई ९० प्रतिशतसम्म सुरक्षा दिन्छ । यस फोनमा इएमयूआई ८.०, फाष्ट चार्ज २.०, अ हेडफोन ज्याक, फोजी, वाईफाई बी/जी/एन, ब्ल्यिूटुथ ४.२, ए जीपीएस एण्ड यूएसबी-ओटीजी जस्ता विशेषताहरू छन् । यो स्मार्ट फोनमा ३००० एमएएच व्याटेरी छ । नेपाली बजारमा यसको मूल्य ३५ हजार ९०० रुपैयाँ रहेको छ । अहिले यी फोन गाढा नीलो र निखर काला दुई रङमा मात्रै उपलब्ध छन् । साथै, केही समयपछि साकुरा फूल जस्तै गुलाबी रङमा पनि यो स्मार्ट फोन चाँडै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

औद्योगीक क्षेत्रमा गरिएको लगानीभन्दा आयात २६६ प्रतिशत बढी, कहिले होला आर्थिक समृद्धि ?

काठमाडौं । पछिल्लो समय सबैतिर आर्थिक समृद्धिको नारा घन्किरहँदा व्यवहारमा भने त्यस्तो देखिएको छैन । नारा नारामै सिमित भएको देखिन्छ । गएको नौ महिनाको अबधिमा मुलकमा विभिन्न औद्योगीक क्षेत्रमा २ खर्ब ५६ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । उक्त परिमाणको लगानी प्रतिबद्धता आइरहँदा अर्कोतर्फ सोही समयावधिमा करिब ४ गुणाबढी विभिन्न मुलुकहरुबाट नेपालमा वस्तु/सामाग्री लगातको आयात भएको देखिन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा गएको नौ महिनाको अबधिमा मात्रै ८ खर्ब ७४ अर्ब रुपैयाँको आयात भएको छ । उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालय, उद्योग विभागकोअनुसार गएको नौ महिनामा मुलुकभर औद्योगीक क्षेत्रको लागि ३३५ वटा उद्योग दर्ता भएको छ । उक्त दर्ता भएका कृषिजन्य, निर्माण, उर्जामुलक, उत्पादन लगायतका उद्योगहरुको लागि कुल २ खर्ब ५६ अर्ब रुपैयाँ पूँजी लगानीको प्रतिबद्धता आएको हो । सरकार तथा निजी क्षेत्रले उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने घोषणा गरिरहँदा अयात भने निरन्तर बढीरहेको देखिन्छ । चलुन नौ महिनामा मुलुकमा पैने नौं खर्ब रुपैयाँको आयात भइरहँदा मुलुकलाई ८ खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागकोअनुसार सबैभन्दा बढी भारतसँग ५ खर्ब ४१ अर्ब रुपैयाँ र चीनसँग १ खर्ब ११ अर्बको रुपैयाँ नेपालको व्यापार घाटा देखिन्छ । गएको नौ महिनामा नेपालबाट विभिन्न मुलुकमा ५९ अर्ब ७३ करोड रुपैयाँको मात्रै वस्तु तथा समाग्रीहरुको निर्यात भएको छ । सबैभन्दा बढी भारतमा ३४ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको छ । दोस्रो बढी संयुक्त राज्य अमेरिकामा ६ अर्ब ४५ करोड रुपैयाँको निर्यात भएको छ ।

ग्लोबल आइएमई बैंकको एकैदिन ७ वटा शाखा सञ्चालनमा, संख्या १२९ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन ७ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले सोमबार(आज)देखि धनुषाको तारापट्टि, बाराको फेटा बजार, रौतहटको बिजयपुर, सप्तरीको पातो, डडेल्धुराको भद्रपुर, डोटीको साना गाँउ र बैतडीको खोचलेक सहित ७ वटा नयाँ शाखाहरु स्थापना गरि संचालनमा ल्याएको हो । यी शाखासहित बैंकको शाखा कार्यालयहरुको संख्या १२९ पुगेको छ । साथै, बैंकले सोही दिनदेखि ललितपुरको मंगलबजारमा एटिएम सेवा समेत थप गरेको छ । यस सँगै बैंकको एटिएम संख्या १३१ पुगेको छ ।

नारायणघाट र पर्सामा सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील्सको भेटघाट सम्पन्न

काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा.लि र लक्ष्मी स्टील्स प्रा.लि ले नारायणघाट र टांढी पर्सामा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यी ठाउँलाई केन्द्रित गर्दै सो क्षेत्रमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी सो कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो । उक्त भेलामा नारायणघाट १७५जना र टांढी, पर्सा १५८ जना जति ठेकेदारहरुको उपस्थिति रहेको थियो । सर्वोत्तम सिमेन्टले ग्रिन सर्वाेत्तम ओ.पि.सि र ग्रिन पि.एस.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ । यस उद्योगद्वरा उत्पादित यस सिमेन्टको मसिनोपन प्रतिग्राम ४५००से.मि स्क्वायरसम्म रहेको कम्पनीले विज्ञप्तीमा जनाएको छ । यस सिमेन्ट उद्योेगको उत्पादन क्षमता ४०००० बोरा प्रतिदिन रहेको र आउने समयमा ६०००० बोरा सम्मको क्षमता बढाउने टार्गेट रहेको छ ।