चिनीको भन्सार दर नबढाउन सर्वोच्चको आदेश
काठमाडौंं । सर्वोच्च अदालतले चिनीको भन्सार नबढाउन सरकारलाई अन्तरिम आदेश दिएको छ । ज्ञान इन्टरप्राइजेजले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले १०० प्रतिशत भन्सार वृद्धि कार्यान्वयन नगर्ने सरकारलाई आदेश दिएको हो । सर्वोच्चले जेठ १४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । लिखित जवाफ १५ दिनभित्र पेश गर्न पनि सर्वोच्चले सरकारलाई आदेश दिएको छ । उद्योगीको मागअनुसार सरकारले वैशाख ४ गते मन्त्रिपरिषद्बाट चिनीमा शतप्रतिशत भन्सार शुल्क बढाइ ३० प्रतिशत पुरएको थियो । सरकारले स्वदेशी उद्योगको संरक्षण गर्न चिनीको भन्सार दर बढाएको हो ।
‘अर्थमन्त्रीज्यू, मेरो निर्वाचन क्षेत्रमा सडक र खानेपानीका लागि बजेट विनियोजन गर्नुहोला’
काठमाडौ । ‘माननीय अर्थमन्त्रीज्यू, मेरो निर्वाचन क्षेत्रमा सडक र खानेपानीका लागि बजेट विनियोजन गर्नुहोला ।’ आगामी बजेटको सैद्धान्तिक छलफलका लागि केही वर्षदेखि संसदीय अभ्यासमा ल्याइएको पूर्वबजेटसम्बन्धी छलफलमा सांसद्ले आफ्नो प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रमा आवश्यक पर्ने बजेट र योजनाको माग गर्न छाड्नुभएन । केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको सरकार गठन भइसकेका सन्दर्भमा वार्षिक बजेटमार्फत वित्तीय संघीयताको पूर्ण कार्यान्वयनको जग बसाल्न यस वर्षका लागि कसरी बजेट आउनुपर्छ भन्नेमा भन्दा सानातिना र क्षेत्रगत कार्यक्रममा सांसद्ले समय खर्चनुभएको छ । नेपालको संविधानबमोजिम नयाँ निर्वाचनपछिको सरकारले ल्याउन लागेको समाजवादोन्मुख हुने भनिएको बजेटमा पनि विगतमा झैँ नेता, मन्त्री, सांसद् र उच्चपदस्थले आफ्नो पहुँचका आधारमा बजेट र कार्यक्रम पार्न लागिरहेको प्रत्यक्ष झझल्को प्रतिनिधिसभाको बैठकमा देखिन्थ्यो । संसदीय प्रणालीमा पूर्वबजेट छलफललाई सरकारले कुन सिद्धान्त र प्राथमिकताका आधारमा बजेट ल्याउँदैछ भन्ने जानकारी दिलाउनाका साथै त्यसमा सांसद्बाट मुख्य सुझाव लिनु हो । आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक ) बारे अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको प्रस्ताव सकारात्मक र आशावादी भनिए पनि बजेटको सैद्धान्तिक प्राथमिकताभन्दा क्षेत्रगत बजेट कम नपरोस् र आफूले मागेको कार्यक्रमलाई बजेट दिइयोस् भन्ने तीव्र चाहना सांसद्मा देखिन्थ्यो । सांसद्ले स्थानीय सडक, नदी नियन्त्रण, पुल, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता विषयमा स्थान र कार्यक्रम तोकेर पनि बजेट नछुटाउन माग गरेका थिए । उनिहरुले बजेटको प्रभावकारी कार्यान्वयन गर्न र तोकिएको खर्च पारदर्शी रुपमा गरी जनतालाई लाभ दिने संयन्त्र स्थापना गर्न पनि माग गरे । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा सार्थक बनाउन उत्पादनमुखी अर्थतन्त्रमा जोड दिन तथा स्वरोजगारका लागि औद्योगिक विकास र सीपमूलक शिक्षाका कार्यक्रम समेट्न सुझाव दिइएको छ । अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गरेको सो सिद्धान्त र प्राथमिकताको प्रस्तावमा यही वैशाख २४ गतेदेखि संघीय संसद्को दुवै सदनमा छलफल शुरु भएको थियो । संविधानबमोजिम हरेक जेठ १५ मा सरकारले आगामी आर्थिक वर्षका लागि सद्नमा बजेट पेश गर्नुपर्छ । आउने बजेटमा आफूले दिएका सुझाव सही रुपमा समावेश हुने हो वा होइन, संसद्मा गरिएको छलफल केवल छलफल मात्र हुने त होइन भन्नेमा पनि सांसद्हरू चिन्तित देखिन्थे । नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले भने, “बजेट निर्माणमा सांसद्हरूको भूमिका के हो भन्ने स्पष्ट छैन, सिंहदरबारतिर कार्यक्रम र बजेटका लागि सुझाव दिन जाँदा बजेट तयार भइसक्यो भन्ने जवाफ पाइन्छ तर हाम्रो छलफलको प्रभाव कस्तो पर्ने हो मलाई थाहा छैन ।” नेपाली काँग्रेसका बहादुरसिंह लामाले सरकारले कुनै आयोजना राख्दा वा हटाउँदा त्यसमा पूर्वअध्ययन गर्न माग गरे भने नेकपा (माओवादी केन्द्र) का अञ्जना बिसखेंले बजेट निर्माणमा सांसद्को सहभागिता बढाउनुपर्ने माग गरे । सांसद् विकास कोष नहटाउन माग सत्तापक्ष र विपक्षका सांसद्ले चालू आवमा समावेश भएको सांसद् विकास कोषको रकम रोक्का गरिएको र आगामी दिनमा कटौती गर्ने सरकारले सोच राखेकामा कडा विरोध गरे । उनिहरुले स्थानीय तहमा विकासनिर्माण प्रभावकारी नहुँदा आफूहरूले जनतालाई प्रत्यक्ष राहत हुने गरी पूर्वाधार विकासका कार्यक्रम चलाएका सन्दर्भमा सो रकम दिने व्यवस्था नहटाउन माग गरे । अर्थमन्त्री डा खतिवडाले साना कार्यक्रम स्थानीय तहले सञ्चालन गर्ने भएकाले संघीय सरकारले ठूला र नतिजामुखी आयोजनामा मात्र लगानी गर्ने जानकारी दिएका छन् । रासस
प्रभु लाइफ इन्स्योरेन्स अब पोखरामा, ६० करोडको साधारण सेयर जारी गर्दै
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स सोमवारदेखि आफ्नो पोखरा शाखा कार्यालयको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन सोही प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । कार्यक्रममा गुरुङले जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले अन्य जीवन बीमा योजना संगै स्वास्थ्य बीमा योजना समेत संचालन गर्नु पर्ने कुरामा जोड दिएका छन् । प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने बिचार ब्यक्त गरेका छन् । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कम्पनीका हाल विभिन्न २० शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको बताएका छन् । साथै, आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने लक्ष्य राखेको उनले बताए । २ अर्ब चुक्ता पूँजी रहेको यस इन्स्योरेन्समा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्दै छ ।
कर्णाली राजमार्गमा जोडियो डाेल्पाकाे जगदुल्ला गाउँपालिका
त्रिपुराकोट, डोल्पा । जगदुल्ला गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । छिमेकी जिल्ला जुम्लासम्म पुगेको कर्णाली राजमार्गबाट जगदुल्ला गाँउपालिकामा पहिलो पटक जीप पुगेको हाे । जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउँपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट बा १९ च १६६८ नंको जिप पुगेपछि स्थानीयवासीले खुशी हुँदै स्वागत गरेको र जीप हेर्नेहरुको भीड लागेको स्थानीयवासी हरिबहादुर शाहीले बताए। साविकको रिमी र काइगाउँ गाविस मिलेर बनेको जगदुल्ला गाउँपालिकामा कर्णाली राजमार्गमा जोडिने डोल्पाको पहिलो स्थानीयतह भएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायालेले बताए । “ठूलो प्रयासबाट जगदुल्ला गाउँपालिकालाई जीप सञ्चालन कर्णाली राजमार्गमा जोड्न सफल भयौँ, अबको केही महीनामा साना मालवाहक गाडी पनि सञ्चालनमा आउने छन्” अध्यक्ष रोकायले भने । जुम्ला र डोल्पाको सिमानामा पर्ने मौरे लेकबाट त्रिपुरासुन्दरीसम्मको ७२ किलोमिटर सडकखण्ड हाल निर्माणाधीन छ । नेपालगञ्जबाट लामो दूरीमा पर्ने भए पनि कर्णाली राजमार्गमा जगदुल्ला गाउँपालिका जोडिएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य सामान सस्तो हुने र यात्राका लागि पनि सहज हुनेछ । रासस
क्षमापूजा गरेर काष्ठमण्डप पुनःनिर्माण शुरु
काठमाडौ । सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माण शुरु भएको छ । विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको सोमबार पुनःनिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले क्षमापूजा गरेर शुरु गरे। नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको हो । बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको र बिसेत नामका मानिसले कल्पतरुलाई चिनी समातेर एउटा रुख उपलब्ध गराउने वाचा गराई छाडेपछि कल्पतरुले सालको काठ दिएको र त्यसैबाट मूर्तिविहीन मरुसतः बनाए जसलाई काष्ठमण्डप भनेर चिनिन्छ । पछि मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको बताइन्छ । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयबाट भएको उत्खननपछि यो सातौँ शताब्दीको भएको इतिहासकारले बताएका छन् । अध्यक्ष शाक्यका अनुसार अब करीब चार महीना पुनःनिर्माणका लागि आवश्यक पर्ने सामग्री तयार गरिने र चार महिनापछि निर्माणको काम शुरु गरिने योजना छ । पुनःनिर्माण चार वर्षभित्र सकिने लक्ष्य छ । क्षमापूजाका अवसरमा सरीक संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सम्पदाको पुनःनिर्माण गर्न सके मात्र पर्यटन क्षेत्रको विकास हुने बताए । मन्त्री अधिकारीले भने्, “काष्ठमण्डप मात्र होइन, अन्य बाँकी सबै ऐतिहासिक सम्पदा जतिसक्दो छिटो पुनःनिर्माण गरिनुपर्छ, यसका लागि मन्त्रालयका तर्फबाट गर्नुपर्ने कामका लागि तयार छौँ ।” काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण गर्न ढिला भइसकेको छ भन्दै निर्माणका क्रममा आफ्नो र कामपाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सबै ऐतिहासिक सम्पदालाई मौलिक रुपमै निर्माण गर्नुपर्नेमा जोड दिए । रासस
नेपाल बङ्गलादेश बैंकको थप ५ शाखाबाट कारोबार शुरु
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले थप ५ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले बाराको सिमरा, परवनीपुर तथा मकवानपुरको मकवानपुरगढीे, दाङ्गको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटाबाट कारोबार शुरु गरेको छ । यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यी ५ शाखासहित बैंकले ६७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा एटीएबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा
काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा विस्तार भएको छ । बैंकले सोमबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरेका छन् । बैंकले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहभागी भई ३३ वटा त्यस्ता स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने प्रतिबद्धता जनाएको छ । हाल बैंकले २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ । बैंकको वासलातको आकार १५८ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११० अर्ब रुपैयाँ र कुल निक्षेप करिब १३४ अर्ब रुपैयाँ पुगिसकेको छ ।
एनजिओ/आइएनजीओको अखडामा नागरिकताको लफडा
काठमाडौं । समाज कल्याण परिषदका निर्देशक शिवकुमार वस्नेतलाई विभागिय मन्त्रीले काखी च्याप्दा अनुसन्धान फितलो हुन पुगेको छ । दोहोरो नागरिकता लिएको भन्दै छानविनमा परेका बस्नेतलार्इृ मन्त्रीले साथ दिएपछि अनुसन्धान फितलो भएको हो । दोहोरो नागरिकता लिएको भन्दै निर्देशक बस्नेतमाथी गत ७ गते लिखित उजुरी परे पनि महिला बालबालिका, महिला र जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले अनुसन्धान रोक्न दबाब दिएकी हुन् । छानविनमा परेका वस्नेतलाई कारवाही गर्नुको सट्टा योजना शाखा र प्रशासन शाखाको दोहोरो जिम्मेवारी दिए पछि परिषदमा असन्तुष्टी बढेको हो । ‘किर्ते नागरिकताको अभियोगमा छानविनमा राखेर कारवाही गर्नुपर्ने मानिसलाई उल्टै महत्वपुर्ण जिम्मेवारी दिइएको छ,’ परिषद स्रोतले भन्यो, ‘मन्त्री र सचिव विच पैसाको चलखेल नभएको भए किन थप जिम्मेवारी दिइयो ? यो शंकास्पद छ ।’ नागरिकता माथी छानविन भईरहेको वेला प्रशासन शाखाको जिम्मेवारी दिएर मन्त्रीले किर्ते काण्डमा जोगाउन खोजेको परिषदका कर्मचारीहरु बताउँछन । पहिलो नागरिकता अनुसार सेवामा प्रवेश गरेकाले अवकास पाइसक्नु पर्ने व्यक्ति दोस्रो नागरिकता अनुसार पदवहालमा नै रहेको भन्दै नविन योगीले गत वैशाख ७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।