२७७ आरोही सगरमाथाको चुचुरोमा
काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सातौँ दिनसम्म २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् ।यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएयता हालसम्म २७७ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेले जानकारी दिए । उनका अनुसार आजमात्रै ३६ जनाले सगरमाथाको आरोहण गरेका छन् । यसमा २१ नेपाली र १५ विदेशी छन् । शुक्रबार ६५ जनाले सगरमाथा आरोहण गरेका थिए । वैशाख ३० गते आठजना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु भएको थियो । वसन्त ऋतुको यो याममा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् । अधिकांश आरोही सगरमाथाको चुचुरोमा पुगेर धमाधम फर्कंदैछन् भने केही आरोही आरोहणको तयारीमा छन् । कतिपय आरोही आरोहण सकेर गन्तव्यतिर पुगिसकेको सम्पर्क अधिकृत पाण्डेले बताए । रासस
४ वर्षभित्र नागढुंगा–धुलिखेल मेट्रो रेल सञ्चालनको तयारी, निर्माण गर्न विश्वव्यापी बोलपत्र आब्हान
काठमाडौं । सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । आगामी चार साताभित्र विस्तृत सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुले प्रस्ताव बुझाउनुपर्ने गरी विश्वव्यापी बोलपत्र आह्वान गरिएको हो । पहिलो चरणमा परामर्शदाता चयन गरी सो रेलमार्गको अध्ययन गरिनेछ । सार्वजनिक निजी साझेदारी ढाँचामा शहरी यातायातलाई व्यवस्थित गर्ने लक्ष्यका साथ मेट्रो रेलको अध्ययनका लागि प्रारम्भिक काम शुरु गरिएको बोर्डले जनाएको छ । बोर्डले छनोट गर्ने परामर्शदाताले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिएफएस) तयार पार्नुपर्नेछ । सो कार्यका लागि सरकारले नै स्रोतको व्यवस्थापन गर्नेछ ।यस्तै बोर्डले इच्छुक परामर्शदातालाई सो मेट्रो रेल निर्माणको समग्र पक्ष समेटिएको आशयपत्र पेश गर्न समेत आग्रह गरेको छ । विश्वका धेरै जसो देशमा सहज यातायाताका लागि मेट्रो रेल चलाई राखिएको सन्दर्भमा सो मार्गमा मेट्रो सञ्चालनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको हो ।आगामी चार वर्षभित्र मेट्रो रेल चलाउने तयारीका साथ आवश्यक प्रक्रिया शुरु गरिएको लगानी बोर्डले जानकारी दिएको छ । काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्मको मेट्रो रेलको लम्बाई ४५ किलोमिटर लामो रहेको छ । बोर्डको २०७४ कात्तिक २७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले मेट्रो निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने निर्णय गरेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीकाअनुसार सोही निर्णयका आधारमा बोर्डले विश्वव्यापी बोलपत्र मार्फत परामर्शदाता चयनका लागि आवश्यक प्रक्रिया शुरु भएको हो । बोर्डले यही जेठ ३ गते सार्वजनिक सूचनामार्फत विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो । राष्ट्रिय योजना आयोगले समेत नागढुंगादेखि धुलीखेलसम्म मेट्रो रेल चलाउन सकिने भन्दै आवश्यक प्रक्रिया शुरु गर्न सिफारिश गरेको थियो । आयोगले सो कार्यका लागि लगानी बोर्डमार्फत सहजीकरण गर्ने निर्णय गरेको थियो । लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले विश्वव्यापी बोलपत्र आह्वान गरिएको र त्यसमा परामर्शदाताको रुपमा काम गर्न चाहने संस्थाको आशयपत्र हेरेर उपयुक्त संस्था छनोट गरिने जानकारी दिए । उनले भने , “हामीले ३० दिनको अवधि राखेर बोलपत्र आह्वान गरेका छौँ । विश्वभर नै मेट्रो रेल बनाएका अनुभवी संस्था वा निकाय यस प्रक्रियामा सहभागी हुन्छन् भन्ने हामीले अपेक्षा गरेका छौ ।” जानकारहरुका अनुसार एक किलोमिटर मेट्रो रेल निर्माणका लागि रु चार अर्ब खर्च लाग्नेछ । त्यस हिसाबमा ४५ किलोमिटर लामो मेट्रो निर्माणका लागि १८० अर्ब लाग्नेछ । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि तथा अन्य प्राविधिक उपकरणमा भएको मूल्यवृद्धिका आधारमा रु दुई खर्बको हाराहारीमा खर्च लाग्ने देखिएको छ । विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा सो रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइनेछ । सडक तथा यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल ३० लाख जनसंख्या भएको शहरमा मेट्रो सञ्चालनमा आएको सन्दर्भमा काठमाडौँमा पनि त्यसको प्रक्रिया अगाडि बढ्नु जरुरी भइसकेको बताए । उनले भने , “मेट्रो रेल निर्माणमा पनि सरकार नै लाग्नुपर्ने अवस्था छ । नागरिकलाई सहज रुपमा शहरी यातायातको प्रबन्ध गर्नु पनि अत्यावश्यक छ ।” निर्माण सम्पन्न भइसकेपछि पनि सरकारले उचित अनुदान दिनु जरुरी हुने गजुरेलको भनाइ छ । लागत तथा सञ्चालनका हिसाबले मेट्रोमा फाइदा नहुने भएपनि शहरी यातायात व्यवस्थित गर्न त्यस्तो माध्यम जरुरी भइसकेको छ । नेपालमा मेट्रो निर्माणमा लागि चिनियाँ र जापानी कम्पनीले चासो व्यक्त गरिसकेका छन् । काठमाडौँ महानगरपालिकाले पनि चक्रपथमा मोनो रेल निर्माणको प्रक्रिया शुरु गरेको छ । रासस
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सगरमाथको शिखरमा
काठमाडौ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकि छिन् । आरोही श्रेष्ठले शनिबार बिहान ८ः१० बजे शिखरमा पाइला टेकेकी फोटो पत्रकार क्लबका प्रवक्ता दिपेश श्रेष्ठले जानकारी दिए । क्लबले उनको सफल आरोहणपछि सर्वोच्च शिखरमा पाइला टेक्ने श्रेष्ठ पहिलो नेपाली फोटो पत्रकार भएको दाबी गरेको छ ।गोरखाको आरुघाट स्थायी घर भएकी २८ वर्षीया श्रेष्ठले यसअघि २६ सेप्टेम्बर २०१७ मा ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी थिइन्। आरोहणका क्रममा पत्रकार श्रेष्ठले पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरेकी क्लबले जनाएको छ । मुलुकको संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा श्रेष्ठले उक्त फोटो प्रदर्शनी गरेकी थिइन्। उनी पाँच वर्षदेखि फोटो पत्रकारितामा सक्रिय छिन्। रासस
अब मर्चेन्ट बैंकरको पनि आईपीओ, सीबीआईएल क्यापिटलले निष्कासन गर्दै
काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन सीबीआइएलले आईपीओ निष्कास गर्न लागको हो । १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालले बताए । उनले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको जानकारी दिए । सीबीआईएलको गत बैशाख ११ गते सम्पन्न विशेष साधारणसभाले आईपीओमा जाने प्रस्ताव पारित गरेपछि प्रक्रिया अघि बढेको दाहालले बताए । धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको चुक्तापूँजी बढाएर २० करोड रुपैयाँ पुर्याउनु पर्ने वाध्यकारी व्यवस्था गरेपछि आईपीओमा जान लागेको हो । आईपीओ निष्कासन गर्नेमा सीबीआईएल पहिलो मर्चेन्ट बैंकर हुने छ । मर्चेन्ट बैंकरलाई आईपीओमा जान वाध्यकारी गराइएको छैन् । हाल सीबीआइएलको चुक्तापुँजी १७ करोड रुपैयाँ छ । सीबीआइएलमा सिटिजन्स बैंकको ६८.९४ प्रतिशत स्वामित्व रहेको छ । बाँकी व्यवसायी घरनाको लगानी छ । सीबीआईएलको आईपीओ निष्कासनको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकर लिमिटेड रहेको छ । कम्पनीले २० प्रतिशत आईपीओ निष्कासनका लागि स्वीकृति मागेकोमा धितोपत्र बोर्डले १५ प्रतिशत मात्र दिएको छ । सीबीआईएलले अघिल्लो वर्ष सेयरधनीलाई १० र यो वर्ष ५ प्रतिशत लाभांश दिएको छ । नागरिक लगानी कोषको ७५ हजार कित्ता संस्थापक सेयर बिक्री भएपछि मात्र सीबीआईएलले सेयर निष्कासनको अनुमति पाउने छ । कोषको ७५ हजार कित्ता सेयर किन्न कर्मचारी संचय कोष तयार भइसकेको छ । धितोपत्र निष्कासन नियमावलीमा एउटा मर्चेन्ट बैंकरको सेयर लगानी अर्को मर्चेन्ट बैंकरमा नहुने व्यवस्था गरेपछि कोषले स्वामित्व संचय कोषलाई बेच्न लागेको हो ।
बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक
सिन्धुली । बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ । सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै नियम विपरित सञ्चालन हुदै आएको त्यस्ता सवारी साधनलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बिपी राजमार्गमा २ हजार एमएम भन्दा बढी ह्लिवेस भएका र १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक सार्वजनिक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। १८ सिट भन्दा बढी क्षमता भएका सवारी साधन सञ्चालनका लागि यातायात व्यवस्था कार्यालयबाट इजाजत लिनुपर्ने अन्यथा सञ्चालन गर्न नदिने उनले जानकारी दिए। यसैगरी, १० टन भन्दा बढी वजन भएका मालबाहक सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइएको छ, प्रहरी उपरीक्षक यादवले भने, “सार्वजनिक निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युपमेन्ट तथा निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनको हकमा सडक विभागको सिफारीसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सञ्चालन स्वीकृति ल्याएमा मात्र सञ्चालन हुन दिइनेछ ।” सवारी चलाउन इजाजत नपाएका धेरै सवारी साधन बिपी राजमार्गमा सञ्चालन भइरहँदा दैनिक दुर्घटना बढेको भन्दै उनले अब यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागले गरेका निर्णय कडाइका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । सडक सुरक्षाका लागि यसअघि नै यस्ता सवारी रोकिनुपर्ने भए पनि नरोकिएको पाइएकाले अब इजाजत बिना सञ्चालनमा रहेका सबै सवारी साधनलाई पूर्ण रुपमा रोकिने उनकाे भनाइ छ । यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, उदयपुर, र महोत्तरीका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई इजाजत नभएका त्यस्ता यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बिपी राजमार्गमा नपठाउन आग्रह गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए । सरकारले २०७२ असोज १ गतेबाट बिपी राजमार्गमा १८ सिट क्षमता भएका यात्रुवाहक तथा १० टन भन्दा बढी वजन भएका मालवाहक सवारी साधनबाहेक अन्यलाई सञ्चालन हुन नदिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्न यातायात मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले जिल्ला प्रशासन कार्यालय लगायत मातहतका कार्यालयलाई पटक/पटक पत्राचार गरेको थियो । तर यसको प्रभावकारी कार्यान्वयन हुन सकिएको थिएन् । रासस
सिद्धार्थ बैंकको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण
काठमाडौ । यो साता सिद्धार्थ बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म बैंकको ७ करोड १ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै कारोबार भएको सेयर संख्याका आधारमा पनि सिद्धार्थ बैंक अग्रस्थानमा छ । बैंकको २ लाख ११ हजार कित्ता शेयर कारोबार भएको थियो । बैंकको सेयर सस्तो भएपछि लगानीकर्ताले खरिद गरेका हुन् । सिद्धार्थको सेयर मूल्य घटेर प्रतिकित्ता ३३५ रुपैयाँमा कारोबार भएको छ । यस्तै वित्तीय अवस्था राम्रो, आकर्षक प्रतिफल दिने आशामा लगानीकर्ताले सिद्धार्थको सेयर किनेका हुन् । यो साता १ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडकाअनुसार २३ लाख २९ हजार ४४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४५.९६ प्रतिशत कम हो । गत साता १८१ कम्पनीको २ अर्ब १९ लाख ९९ हजार बराबरका ४८ लाख १२ हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.४८ अंकले बढेर अन्तिम दिन १ हजार ३३९ अंकमा पुगेको छ । यस साता डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९ लाख ६९ हजार ७९३ बोनस सेयर, प्रभु बैंकको २ करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २ लाख ३ हजार ५६० कित्ता बोनस सेयर सुचिकृत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस्तै साइन रेसुङ डेभलपमेन्ट बैंकको २७ लाख ५१ हजार २३१ कित्ता बोनस, सिर्जना फाइनान्स लिमिटेडको ९ लाख ८२ हजार ८०० कित्ता बोनस, समता माइक्रोफाइनान्सको ६३ हजार ३०० कित्ता बोनस, पोखरा फाइनान्स कम्पनीको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद, मितेरी डेभलपमेन्ट बैंकको ११ लाख ९७ हजार ६९ कित्ता बोनस र प्रिमियर इन्स्योरेन्स कम्पनीको ६ लाख ९५ हजार ३९७ कित्ता बोनस शेयरसमेत स्टकमा सूचीकृत भएको छ ।
नक्कली स्टिकर प्रकरणः कुलेश्वरका तीन जना व्यापारीलाई पक्राउ गर्न सीआइबीलाई राजश्वको पत्र
वीरगञ्ज । मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरुमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी) लाई अनुरोध गरेको छ । उक्त प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरुमाथि छानबिन गर्न आन्तरिक राजश्व कार्यालय पर्सा वीरगञ्जले सिआइबीलाई अनुरोध गरेको हो । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका अन्य अभियुक्तसँगको बयानका आधारमा काठमाडौं कुलेश्वरका थप तीन जनालाई पक्राउ गरी आवश्यक छानबिन गर्न सिआइबीलाई पत्राचार गरेको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ । ती व्यक्तिहरुको नाम सार्वजनिक गरिए फरार हुने भएकोले नाम सार्वजनिक नगरिदिन आन्तरिक राजश्व कार्यालय पर्साले आग्रह गरेको छ । सो प्रकरणमा हाल चारजना आवश्यक कारबाहीका लागि वीरगञ्ज कारागारमा राखिएका छन् भने प्रमोद दवाडी, सुगम सापकोटा तथा प्रकाश सापकोटालाई बयान गरी छाडिएको बताइएको छ । बयान दिने व्यक्तिले अन्य व्यक्तिको नाम समेत सार्वजनिक गर्ने गरेकाले अनुसन्धान लम्बिदै गएको हो तर आउँदो असार मसान्तभित्र नक्कली स्टिकर प्रकरणको मुद्दा छिनोफानो हुने प्रमुख कर अधिकृत गोपिकृष्ण कोइरालाले बताए । नक्कली स्टिकर छाप्ने भारतीय कम्पनीको नामसमेत खुली सकेकाले ती कम्पनीलाई छानबिनको दायरामा ल्याउन राजश्व विभागलाई पत्राचार गरेको भन्दै प्रमुख कर अधिकृत कोइरालाले भने, “विभागले परराष्ट्र मन्त्रालयमार्फत अघि बढ्ने छन् ।” विसं २०७४ भदौ १९ गते राजधानीको हरिओम ट्रेडिङ प्रालिले भारतको कलकताबाट करिब तीन करोड ५० लाख मूल्य बराबरको ८६ हजार ४७० थान नक्कली स्टिकर वीरगञ्ज भन्सारको वैधानिक च्यानलबाट नेपाल भित्र्याइरहेको बेलामा पक्राउ परेको थियो । हिमालय रोडबेज नामक ढुवानी कम्पनीका कर्मचारी छिमेकी भारत रक्सौलका वीरेन्द्रकुमार महतो नक्कली स्टिकरसहित पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी) ले अनुसन्धानको क्रममा स्टिकर आयातकर्ता कम्पनीका सहयोगी विराटनगरका प्रकाश घिमिरे, धादिङ धुनीबेँसीका राजकुमार भण्डारी, हरिओम ट्रेडिङ कम्पनीका सञ्चालक कूलप्रसाद राजभण्डारी, हिमालयन कार्गोका सञ्चालक विनोदकुमार गुप्तालाई पक्राउ गरेका थिए । आन्तरिक राजश्व विभागले प्रायः गरी ग्लोबल टेण्डरमार्फत इण्डोनेसियाबाट मदिराको स्टिकर छपाउने गरे पनि यस प्रकारको स्टिकर पहिलो पटक भारतको कलकतामा छपाएको फेला परेको हो । आन्तरिक राजश्व विभागले हालसम्म भारतबाट यस प्रकारको कुनै स्टिकर नछपाएकाले पक्राउ परेका उक्त स्टिकर नक्कली भएको बताइएको छ । पक्राउ परेकासँग बयान पश्चात जनही सात करोडको धरौटी माग गर्दा धरौटी बुझाउन नसकेपछि विनोदकुमार गुप्ता बाहेक सबैलाई पूर्पक्षका लागि वीरगञ्ज कारागारमा राखिएको जनाएको छ । गुप्ता भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि तत्कालीन प्रधानन्यायधीश गोपाल पराजुलीको इजलासको आदेशबाट रिहा भएका थिए । पक्राउ परेकासँग पटक÷पटक बयान लिने क्रममा थप तीन जनाको नाम आएकाले उनीहरुको खोजी भइरहेको बताइएको छ । सो नक्कली स्टिकर बजारमा गएको भए सरकारलाई करीब चार करोड राजश्व घाटा हुने थियो ।
किङ्गफिसरले भित्र्यायो गुड टाईम्स
काठमाडौं । युनाइटेड ब्रुअरीज लिमिटेडले किङ्गफिसरका नयाँ बियर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले यति ब्रुअरीसँगको सहकार्यमा किङ्गफिसर प्रिमियम तथा किङ्गफिसर स्ट्रङ्ग नेपाली बजारमा भित्र्याएको हो । युनाइटेड ब्रुअरीज लिमिटेड ग्लोबल बियर लिडर हेइनकेन एनभीसँगको संयुुक्त उद्यम हो । युनाइटेड ब्रुअरीजले आफ्नो विभिन्न देशहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली बियर पारखीहरुको लागि नेपाली बजारमा पनि किङ्गफिसर बियर प्रस्तुत गरेको हो । युवा, समकालीन तथा रमाइलो ब्राण्ड, किङ्गफिसरले निरन्तर आफ्ना उपभोक्ताको साथ रमाइलो तवरले आफूलाई जोड्दै आएको छ । किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्ली तथा हप्सको प्रयोगद्वारा गरिन्छ । यसको अद्वितीय स्वाद तथा गुणस्तरीयतका कारण किङ्गफिसर बियरको माग दिनानुदिन बढ्दै गईरहेको छ । युनाइटेड ब्रुअरीजका प्रबन्ध निर्देशक शेखर राममुर्तिले किङ्गफिसर विश्वव्यापी रुपमा स्थापित भारतीय ब्राण्ड भएको दावी गरे । यति ब्रुअरीका प्रबन्ध निर्देशक सन्जिव सराफले “किङ्गफिसर बियरलाई नेपाली बजारमा ल्याइनु ठुलो उपलब्धि भएको बताए । नेपाल अधिराज्यभरका सम्पूर्ण विक्रीकक्षमा किङ्गफिसर प्रिमियम तथा स्ट्रङ्ग उपलब्ध रहेको छ । किङ्ग फिसर प्रिमियम ६५० एमएलको बोटलमा उपलब्ध रहेको छ र यसको मूल्य २७५ रुपैंयाँ रहेको छ । त्यसै गरी ५०० एमएलको क्यानको मूल्य २१० रहेको छ । किङ्ग फिसर स्ट्रङ्ग ६५० एमएल बोटलको मूल्य २३५ तथा क्यानको मूल्य १८० रुपैंयाँ तोकिएको छ ।