रेल र पानी जहाज ओली सरकारको उच्च प्राथमिकतामा
काठमाडौं । सरकारले रेलमार्गको निर्माण र पानी जहाज सञ्चालनको योजनालाई उच्च प्राथमिकतामा राखेको छ । संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा मेची-महाकाली रेलमार्गको निर्माण, केरुङ-काठमाडौं- पोखरा-लुम्बिनी रेलमार्ग र काठमाडौं-बिरगञ्ज रेलमार्गलाई उच्च प्राथमकितामा राखेको हो । त्यस्तै, कोशी, गण्डकी र कर्णाली नदिमा पानी जहाज सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था पनि आगामी आर्थिक बर्षभित्रै गरिसक्ने योजना सरकारले अघि सारेको हो । अहिले केरुङ काठमाडौं रेलमार्गको अध्ययनका लागि चिनियाँ प्राबिधि टोली नेपाल भ्रमणमा आएको छ । प्रधानमन्त्री केपी ओलीको आगामी चीन भ्रमणमा सो रेलमार्ग निर्माण सम्बन्धी सम्झौता गर्ने सोँच सरकारले बनाएको छ । त्यस्तै, मेची महाकाली रेलमार्गको निर्माणलई थप तिब्रता दिने सरकारले बताएको छ । काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका लागि भारत सरकारसँग सम्झौताको तयारी भैरहेको छ । विस्तृत सम्भाव्यता अध्ययन गरेर रेलमार्ग निर्माण गर्ने नेपाल भारत सरकारको योजना छ । त्यस बाहेक प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा गरेको सम्झौता अनुसार नेपालका ठुला नदिहरुमा पानी जहाज सञ्चालनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्ने सरकारी योजना छ । रेल र पानी जहाजका चर्का भाषण गर्दा अघिल्लो प्रधानमन्त्री कार्यकालमा ओलीको व्यापक आलोचना भएको थियो । तर यसपाली भने ओलीले निती तथा कार्यक्रममै रेल र पानी जहाजलाई उच्च प्राथमिकतामा राखेका हुन् ।
बन्द रुग्ण उद्योगलाई सरकारले निजी, साझेदारीमा सञ्चानल गर्ने
काठमाडौं । मुलकमा रहेको बन्द तथा रुग्ण सरकारी उद्योगहरुलाई निजी तथा साझेदारी रुपमा सञ्चालन गरिने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको निती तथा कार्यक्रम पस्तुत गर्दै मुलुकका विभिन्न बन्द र रुग्ण उद्योगहरुलाई सम्भावनाको आधारमा निजी तथा साझेदारीको रुपले सञ्चालन गरिने बताइन् । मुलुकमा रहेको चिनी, छाला जन्य तथा सिमेन्ट लगायतको उद्योगहरुलाई निर्यातमूखी बनाइने उनको भनाइ छ । त्यस्तै उनको अनुसार फलामको उत्पादन प्रसोधन, जुट, गलैँचा, धागो उद्योगहरुलार्इ समेत अध्ययन अघि बढाइ निर्यातमूखी उद्योगको रुपमा सञ्चालन गरिनेछ ।
निजगढ विमानस्थल निर्माण अघि बढाउने, एक बर्षमा भैरहवा र तीन बर्षमा पोखरा विमानस्थल तयार पार्ने
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षभित्रै निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत निजगढ विमानस्थलको निर्माणलाई तिब्रता दिने बताएको हो । त्यस बाहेक आगामी एक बर्षभित्रै भैरहवा विमानस्थल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने तथा पोखरा विमानस्थलको निर्माण आगामी ३ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले निर्धारण गरेको छ । त्यस बाहेक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधार तथा क्षमता अभिवृद्धि र देशभै भरका आन्तरिक विमानस्थलहरुमा कालोपत्रे गर्दै जाने योजना पनि अघि सारिएको छ ।
घरेलु अर्थतन्त्रलाई नोक्सानी पुर्याउने सेवा तथा वस्तुको आयातमा रोक
काठमाडौं । सरकारले घरेलु अर्थतन्त्रमा नकारात्मक असर गर्ने सेवा तथा वस्तुहरुको आयातमा रोक लगाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत आयातमा कडाई गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको नीति तथा कार्यक्रममा भनिएको छ–आगामी आर्थिक बर्षदेखि जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने र घरेलु अर्थतन्त्रलाई नोक्सानी पुर्याउने बस्तु तथा सेवाको आयातमा रोक लगाउने नीति लिइनेछ ।’ सरकारले अब रक्सी, चुरोट, खैनी, मेकअपका समान, बिलासिताका सवारी साधन लगायतको आयातलाई प्रतिस्थापन गर्ने योजना अघि सार्न लागेको हो । आयात वृद्धि तथा निकासीमा भारी गिरावट आउन थालेपछि सरकारले घरेलु उद्योग संरक्षणका लागि यस्तो कदम चाल्न लागेको हो । आयातमा भएको वृद्धिले व्यापार घाटा चुलिएको छ ।
५ वर्षमा कृषिको उत्पादन दोब्बर बनाइने
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको ५ वर्षमा कृषि क्षेत्रको उत्पादन दोब्बर बनाउइने बताइन् । उनले त्यसको लागि कृषिलाई आधुनिकिकरण गर्ने, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई प्रभावकारी रुपमा अघि बढाउने, कृषि भूमिको खण्डीकरण रोक्ने लगायत कार्य अघि बढाउने बताइन् । कृषिको वहुउपयोगी हुनेगरी उत्पादनहरुको विविधिकरण गरिने समेत उनको भनाइ छ ।
नगद भुक्तानी निषेध, बैंकबाट मात्रै पैसाको लेनदेन
काठमाडौं । सरकारले अब नगद भुक्तानीलाई निषेध गर्ने भएको छ । संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमले अब सबै खाले भुक्तानीहरुलाई बैंकिङ प्रणालीबाट मात्रै हुने व्यवस्था गर्ने योजना अघि सारेको हो । त्यस्तै, विभिन्न संघ संस्था र कोषहरुमा रहेको निष्कृय श्रोतलाई उत्पादन मुलक क्षेत्रमा लगाउने योजना पनि अघि सारिएको छ । सरकारले वित्तीय क्षेत्रका नियामक निकायहरुको नियामकीय क्षमता अभिवृद्धिका लागि पनि विशेष योजना ल्याउने बताएको छ । त्यस्तै, आगामी आर्थिक बर्षमा कृषि बीमा कार्यक्रमलाई अझै विस्तार गर्ने योजना पनि सरकारले अघि सारेको छ ।
आगामी आर्थिक बर्षमा दोहोरो अंक नजिकको आर्थिक वृद्धिदर
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि दोहोरो अंकको आर्थिक वृद्धिदर लक्ष्य निर्धारण गरेको छ । व्यवस्थापिका संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक बर्षमा दोहोरो अंक नजिकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य तय गरेको हो । सरकारले चालु आर्थिकमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हुने अपेक्षा गरेको थियो । तथ्यांक विभागको पछिल्लो प्रतिवेदन अनुसार ५.८९ प्रतिशत आर्थिक वृद्धिदर हुने देखिएको छ ।१४ औं योजनाले आगामी आवमा आर्थिक वृद्धिदर ८.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
ट्रस्टबिजद्धारा बेल्जियन बैंकिङ्ग एकेडमीसँग सम्झौता
काठमाडौं । ट्रस्टबिज प्राइभेट लिमिटेड र ब्रसेल्स स्थित बेल्जियन बैकिङ्ग एकेडमीबीच बैकिङ्ग सम्बन्धमा उच्चस्तरीय अध्ययन एवं प्रशिक्षण कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालनका लागि सहकार्य गर्नका निमित्त सम्झौता भएको छ । यस सहकार्यले बैकहरुका संचालक समितिका पदाधिकारीहरुलाई संस्थागत सुशासन, जोखिम व्यवस्थापन, स्वार्थको द्धन्द्ध, अनुपालना, नियामक निकायसँगको सम्बन्ध एवम् समन्वय लगायतका विषयमा अन्तर्राष्ट्रिय असल अभ्यास बिषय समेटीएको अभिमुखीकरण तथा पुनर्ताजगीकरण प्रशिक्षण बेल्जियन बैकिङ्ग एकेडमीका बिशेषज्ञहरुले प्रदान गर्नेछन । यसैगरि बैकका उच्च व्यवस्थापनमा रहेका अधिकृतहरुलाई जोखिम व्यवस्थान, सञ्चालन, बैकिङ्ग प्रविधि र नयाँ बैंकिंग र वित्तीय उपकरणहरुको प्रयोगको तालिम ट्रस्टबिज प्राइभेट लिमिटेड समन्वयमा बेल्जियन बैकिङ्ग एकेडमी प्रदान गर्नेछ । “यस सम्झौताले परिपक्क तथा बिकसित युरोपियन बैकिङ्गको अनुभव, ज्ञान र सीपमा नेपाली बैंकहरुको पहुच पुर्याएको छ ।“ ट्रस्टबिज प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपानेले बताए । बेल्जियन बैंकिङ्ग एकेडमी एक बेल्जियन बैकिङ्ग एसोसिएसनबाट बैकिङ्ग तालिम प्रदान गर्न स्थापना गरिएको सस्था हो । यसले युरोपका बैंकका पदाधिकारी तथा अधिकृतहरुको क्षमता अभिवृद्धिका आवश्यकता पूर्ति गर्नका लागि आवश्यक तालिम उपलब्ध गराउँछ । ट्रस्टबिज प्राइभेट लिमिटेड तथा बेल्जियन बैकिङ्ग एकेडमीले पारस्परिक सहकार्यमा बेल्जियम तथा अन्य युरोपियन देशमा आयोजित विभिन्न बैकिङ्ग तालिमहरुकालागि विशेषज्ञ तथा ज्ञान अदान-प्रदान गर्नेछन् ।