महालक्ष्मी विकास बैंकद्धारा मृगौला रोगीलाई आर्थिक सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मृगौला रोगी काभ्रेको पूर्णमान तामाङ्गलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३७ वर्षीय तामाङ्गलाई रोगको उपचारका निम्ति सो मात्राको रकम प्रदान गरेको हो । बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले तामाङ्गलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । मृगौला रोगको लागि मानव अंगप्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका तामाङ्गको आर्थिक स्थिति निकै कमजोर रहेको हुनाले उपचार खर्चमा सानो सहयोग पुर्याउने उद्देश्यले बैंकले सो सहयोग गरेको हो । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
सिटी एक्स्प्रेस फाइनान्सले १६७ प्रतिशत हकप्रद निष्काशन गर्न माग्यो बोर्डको अनुमति
काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्स कम्पनीले १६७ प्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको २५ लाख कित्ता सेयर जारी गर्ने अनुमतिको लागि आइतबार(आज) बोर्डलाई आवेदन दिएको छ । बोर्डले अनुमति दिएपश्चात कम्पनीले २५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । हाल संस्थाको पुँजी १५ करोड रुपैयाँ रहेको छ । १६७ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४० करोड नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८९ रुपैयाँ रहेको छ । हकप्रद संस्थाको चुक्ता पुँजी वृद्धि गर्न सो मात्राको सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट मार्फत सो मात्राको सेयर जारी गर्ने निर्णय गरेको छ ।
जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न, विजेतामा ४० जना छनोट
काठमाडौं । मण्डीखाटार टेनिस कोर्टमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता सम्पन्न भएको छ । गएको आइतबार(६ गते)देखि शुरु भएको उक्त प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुष गरी कूल ९३ खेलाडीहरूले भाग लिएका थिए । उक्त प्रतियोगिता आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सम्पन्न गरिएको छ । साताव्यापी प्रतियोगितामा १४ वर्ष मूनिका विभिन्न उमेर समुहबाट कुल ४० जना विजेता र उपविजेता छनोट भएका छन् । समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार स्वरूप विजेताहरूलाई थाइल्याण्डसम्मको हवाई टिकटको व्यवस्था गरिएको छ भने उपविजेताहरूले विभिन्न टेनिस कोर्टको प्रवेश शूल्क र चन्द्रागिरि केबलकार भ्रमणको सुविधा पाउनेछन् । कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले बालबालिकाहरू एकै प्रकारका क्षमता लिएर जन्मिने हुँदा उनीहरुको क्षमता अभिवृद्विमा अभिभावक चनाखो रहनुपर्ने बताएका छन् ।
खतिवडाले व्यवसायीलाई भने : धेरै कर तिरेर सहयोग गर्नुस्, अर्थमन्त्रीले लगाउलान् त प्रगतिशिल कर ?
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले धेरै कर तिरेर सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन् । राजश्व परामर्श समितिले आगामी आर्थिक वर्षको बजेटमा राजश्व संकलनको सुझाव प्रतिवेदन आइतबार सार्वजनिक गर्दै उनले निजी क्षेत्रलाई बढी कर तिरेर सहयोग गर्न भनेका थिए । उनले मुलुक संघीय प्रणालीमा गएपछि स्रोतको बढी आवश्यकता परेको भन्दै राजश्वको दर र दायरा दुबै बढाउने संकेत गरेका छन् । उनले प्रगतिशिल कर (प्रोगेसिभ ट्याक्स) लगाउने समेत संकेत गरेको बोर्डका एक सदस्यले बताए । “बढी आम्दानी गर्नेलाई बढी कर लगाउने उद्धेश्यका साथ प्रोगेसिभ ट्याक्स लगाउने अर्थमन्त्रीले संकेत गरेका छन् ।” ती सदस्यले भने । अहिले ठुलो स्रोत परिचालनको आवश्यकता भएको भन्दै कर संकलनमा आफनो ध्यान केन्द्रीत गर्ने जानकारी गराएका थिए । “अर्थमन्त्रीको मनस्थिती हेर्दा साढे ८ खर्ब रुपैयाँ भन्दा बढी कर संकलन गर्ने लक्ष्य लिने देखिएको छ” स्रोतले भन्यो । करको दर र दायरको विषयमा अझै अन्तिम रुप भने दिइएको छैन् । तर सरकार विगतमा भन्दा यो पटक राजश्व संकलनमा बढी आक्रमक हुने देखिएको छ ।
उपत्यकाका एक हजार भूकम्पपीडितलाई काठ वितरण
काठमाडौं । द टिम्बर कर्पोरेशन अफ नेपालले काठमाडौँ उपत्यकामा ४८ हजार ३० क्युफिट काठ वितरण गरेको छ । विसं २०७२ वैशाख १२ मा क्षति भएको ९९४ घर पुनःनिर्माणका लागि कर्पोरेशनले काठमाडौँ, भक्तपुर र ललितपुरमा उक्त काठ वितरण गरेकामा काठमाडौँमा १४ हजार ७७०, भक्तपुरमा २६ हजार १५० र ललितपुरमा सात हजार ९१० क्युफिट काठ वितरण भएको हो । कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठमाडौँमा ३९६, भक्तपुरमा ६६८ र ललितपुरमा २४० घर पुनःनिर्माणका लागि काठ माग भएकामा काठमाडौँमा २९९, भक्तपुरमा ५३२ र ललितपुरमा १६३ घर पुनःनिर्माणका लागि काठ वितरण गरिसकिएको जानकारी दिएका छन्। विसं २०७२ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितका लागि काठ उत्पादन र व्यवस्थापन निर्देशिका–२०७२ लाई स्वीकृत गरेपछि कर्पोरेशनले गत वर्षको जेठ २९ गतेदेखि उपत्यकाका भूकम्पपीडित तथा सम्पदा निर्माणका लागि काठ वितरण कार्य शुरु गरेको हो । निर्देशिकाको परिच्छेद–५ को दफा ११ मा भूकम्प प्रभावित संरचनाका लागि काठ उपलब्ध गराउन, लगत तयार गर्न, आवश्यक काठ वन विभागसँग माग गर्न, काठ वितरण र सुरक्षाको व्यवस्था मिलाउन तथा काठ वितरणको अनुगमन गर्न भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने व्यवस्था गरिएको थियो । यस्तै कर्पोरेशनले सम्पदा पुनःनिर्माणका लागि काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, नुवाकोट, गोरखालगायतका जिल्लाका लागि झण्डै नौ हजार क्युफिट काठ वितरण गरिसकेको महाप्रबन्धक लौडारीले बताए । सम्पदालाई भने मागबमोजिम नै काठ उपलब्ध गराउँदै आएको कर्पोरेशनले जनाएको छ । उपत्यका बाहिरका भूकम्प प्रभावित जिल्लामा भने सम्बन्धित जिल्ला वन कार्यालयबाट नै काठ उपलब्ध हुँदै आएको छ । कर्पोरेशनले भूकम्पपीडितलाई भूकम्पको रातो कार्ड, नागरिकता, पुनःनिर्माण प्राधिकरणसँग भएको सम्झौता, जग्गाधनी प्रमाणपूर्जा र घर निर्माणको नक्सा हेरेर प्रतिक्युफिट रु दुई हजार ७४० मा काठ उपलब्ध गराउँदै आएको छ । कर्पोरेशनले प्रतिपरिवार अधिकतम ५० क्युफिट काठ वितरण गर्दै आएको छ । “घर पुनःनिर्माणका लागि चाहिने काठ लिनका लागि जिल्ला वन कार्यालयमा आएको निवेदन अध्ययन गरेर जिल्ला वन कार्यालयले काठ उपलब्ध गराउँदै आएको छ ।”, वन विभागका सूचना अधिकारी शान्तमाया श्रेष्ठले भनिन् । भूकम्प प्रभावित जिल्लालाई हालसम्म सामुदायिक वनले मात्र छ लाख ५८ हजार ६४५ क्युफिट काठ उपलब्ध गराएको वन विभागले जनाएको छ । यस्तै सिन्धुपाल्चोकका भूकम्पपीडितलाई जिल्ला वन कार्यालयले २५ हजार क्युफिट काठ वितरण गरेको उनले जानकारी दिए । रासस
नेपाल बैंकको सेयर मूल्य निरन्तर घट्दै, यस्तो छ कारण
काठमाडौं । थप निष्कासन (एफपीओ) को मूल्य तय भएपछि नेपाल बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । हाल कारोबार रकम भन्दा कम मूल्यमा एफपीओ पाउने भएपछि लगानीकर्ताले धमाधम बेच्न थालेका कारण बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको हो । किन्ने भन्दा बेच्ने बढी भएपछि यसको असर बैंकको सेयर मूल्यमा परेको हो । गत चैत १२ गते घटेर २९४ रुपैयाँमा झरेको नेपाल बैंकको सेयर त्यसपछि निरन्तर बढेको थियो । एक साताअघि प्रतिकित्ता ३५४ रुपैयाँ रहेको नेपाल बैंकको सेयर आइतबारसम्म आउदा २९ रुपैयाँ घटेर ३२५ रुपैयाँमा सीमित भएको छ । एफपीओको मूल्य सस्तो भएकाले अझ घट्ने लगानीकर्ताको भनाई छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ ल्याउने भएको छ । बैंकको सेयर घट्नुमा एफपीअाेको मूल्य मुल कारण भएको एक ब्रोकरले बताए । “२८० रुपैयाँमा एफपीओ पाउने भएपछि कसले महंगोमा सेयर किन्छ ?” ती ब्रोकरले भने । पछिल्लो समयमा बैंकको सेयर कारोबार बढी हुदै आएको छ । बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा बैंकले १ करोड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । एफपीओबाट ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ प्राप्त हुने छ । १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । संचित कोषबाट लगानीकर्ताले वर्षेनी लाभांश पाउने छन् । लगानीकर्ताले ३ अर्ब १८ करोड रुपैयाँ लाभांश पाउने छन् । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले घटेर १३०० विन्दुमा, ट्रेडिङ बाहेक सबै समूह राताम्मे
काठमाडौ । आइतबार नेपाल स्टक एक्चेन्ज(नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । नेप्से १७ दशमलब ८१ अंकले ओरालो लागेर १३०० अंकमा अडिएको छ । बजार दोहोरो अंकले ओरालो लाग्दा बीमा समूह १२२ अंक तल झरेको छ । एक दशमलव ८१ अंकले परिवर्तन हुँदा बीमा समूहको सात करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । बजारमा ट्रेडिङ समूहबाहेक कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् । आइतबार १६१ कम्पनीको ३९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । कारोबार रकमको आधारमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको ४ करोड ६० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको २ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी रिलायन्स फाइनान्सका लगानीकर्ताले ७.०२ प्रतिशत कमाएका छन् भने प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ५.७४ प्रतिशत गुमाएका छन् ।
८ मर्चेन्ट बैंकर र नेपाल बैंकबीच एफपीओ अण्डरराइटिङ गर्ने सम्झौता, सबैभन्दा बढी सीबीआईएल क्यापिटलको
काठमाडौं । विभिन्न ८ मर्चेन्ट बैंकरले नेपाल बैंकको थप निष्कासन (अण्डरराइटिङ) गर्ने भएका छन् । एफपीओ अण्डरराइटिङका लागि मर्चेन्ट बैंकर र नेपाल बैंकबीच आइतबार सम्झौता भएको छ । बैंकको बिक्री नभएको एफपीओ प्रतिकित्ता २८० रुपैयाँमा अण्डरराइटरले सकार्ने छन् । मर्चेन्ट बैंकरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको अण्डरराइटिङ गरेका छन् । सबैभन्दा बढी रकमको अण्डरराइटिङ गर्नेमा सीबीआईएल क्यापिटल लिमिटेड भएको छ । उसले १ अर्ब १५ करोड रुपैयाँको लिन सम्झौता गरेको छ । यस्तै ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १ अर्ब १३ करोड, एनआईबीएल एस क्यापिटल लिमिटेडले ८९ करोड ९७ लाख रुपैयाँकाे लिने भएका छन् । यस्तै, सीबीआईएल क्यापिटल लिमिटेडले ४५ करोड, सनराइज क्यापिटल लिमिटेडले ३६ करोड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले ४५ करोड सानिमा क्यापिटल लिमिटेडले २७ करोड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले २३ करोड रुपैयाँको प्रत्याभूति गरेका छन् । एफपीओमा १०० प्रतिशत प्रत्याभूति गर्नुपर्ने व्यवस्था छ ।