विकासन्युज

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेको छ । माघ २८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ११ करोड ८५ लाख रुपैयाँको ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४२ हजार २०० कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा २८ हजार ४४० कित्ता कर्मचारी, ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँको ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

मुग्लिन-मलेखु सडक कालोपत्र तीव्र, ४० प्रतिशत प्रगति

काठमाडौं । पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष ८ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप ३ किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ । विसं २०७९ पुस १५ गते ३ वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको थियो । समयमा काम नसकिएपछि ६ महिना म्याद थप गरिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । यही पुस १५ मा म्याद सकिएपछि ६ महिनाका लागि म्याद थप गरिएको छ । नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन-मलेखु सडकका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म ४० प्रतिशत प्रगति भएको छ । सो सडकको कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र गरिसकिएको छ । धादिङको बाँदरेमा कालोपत्र भइरहेको छ । फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखेर कालोपत्रको अन्तिम तयारी गरिएको उहाँले जानकारी दिए ।  उनले भने, ‘हामीले अहिले कालोपत्रका लागि तीव्र तयारीमा काम गरिरहेका छौँ ।’ अबको मौसम कालोपत्रका लागि उपयुक्त हुने भएकाले तयारी तीव्र गतिमा भएको हो । झण्डै २०० मजदुर, कर्मचारी, प्राविधिक कालोपत्रको काम जुटिरहेको उहाँले बताउनुभयो । यसैगरी छ वटा पुलमध्ये हुग्दि र चरौदीको पुलको फाउण्डेसनपछिको काम अहिले भइरहेको छ । यस्तै कृष्णभिरको पहिरो रोकथामको काम पनि भइरहेको उनले जानकारी दिए । कालोपत्रका लागि सामग्री अभाव हुने अवस्थामा पुगेको छ । अहिले धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भए पनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने देखिएको उहाँको भनाइ छ । सामग्री पाएमा अब काम नरोकिने दराई बताउँछन् ।  यस्तै नाली, बेरियरलगायतका सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन् । सो खण्डमा ३८.८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा २.२ किमी ६ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । ७.२ किमी सडक ४ लेन हुनेछ । ४ लेन रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो-ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए ।  उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग २.३ किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ । शर्मा-जेडआइसिजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।

प्रतिबन्ध र द्वन्द्वका बाबजुद इरानको व्यापार घाटामा सुधार

काठमाडौं । इरानी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा इरानको व्यापार घाटा ६ अर्ब अमेरिकी डलरले खुम्चिएको इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इर्ना) ले जनाएको छ । इरानको भन्सार प्रशासनको तथ्याङ्कलाई उद्धृत गर्दै इर्नाले भनेको छ, ‘सन् २०२५ मार्च २१ देखि सन् २०२६ जनवरी २० सम्मको अवधिको लागि व्यापार सन्तुलन ४ अर्ब डलरको घाटामा रहेको छ, जुन अघिल्लो वर्षको १० अर्ब डलरको घाटाको तुलनामा उच्च सुधार हो ।’ इजरायलसँग १२ दिने युद्ध, संयुक्त राष्ट्र सङ्घको प्रतिबन्ध र अमेरिकाको कडा एकपक्षीय प्रतिबन्धका बाबजुद यो सुधार आएको हो । यो आर्थिक बर्षमा इरानले कुल १३ करोड ३० हजार टन गैर–पेट्रोलियम पदार्थजन्य निर्यातबाट ४५ करोड अमेरिकी डलर मूल्य बराबरको कारोबार गरेको थियो, यो आयतनको आधारमा गत बर्षभन्दा १.३३ प्रतिशत बढी हो तर एक वर्ष अघिको तुलनामा ६.३ प्रतिशतले कम हो । आयात ४.६ प्रतिशतले बढेर ३ करोड ३१ लाख ७० हजार टन पुगेको छ तर यसको मूल्य १५.५५ प्रतिशतले घटेर ४९.१ अर्ब डलर कायम भएको छ ।  

आजदेखि औपचारिक रुपमा निर्वाचन प्रचारप्रसार गर्न पाइने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचारप्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचारप्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् । आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन भएको बारे पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सर्नुपर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ । आचारसंहिता राजनीतिक दल एवं सरोकारवाला पक्षहरूसँग व्यापक विचार–विमर्श गरेर तर्जुमा गरिएको आयोगले स्मरण गराएको छ । आचारसंहिताको  पूर्ण परिपालना गर्छौ भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् । आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उल्लङ्घनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लङ्घनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्ड जरिवाना तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ । यसैगरी, दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्र पत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचारप्रसार गर्न सक्नेछन् । निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले उल्लेख गरेको छ ।

३ रुपैयाँसम्म बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुन ठाउँमा कति पर्छ ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ । त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर १५५ रुपैयाँ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३.५० रुपैयाँ कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

माघमा मात्रै घरजग्गा कारोबारबाट ५ अर्ब रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन् । गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख  रुपैयाँ राजस्व सङ्कलन गरेकोमा माघमा भने केही घटेको हो । देशभरका मालपोतको राजस्व सङ्कलन लगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन । विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ । विभागका अनुसार गत माघमा सेवा कर बापत ३१ करोड ५८ लाख ७२ हजार ४८८ रुपैयाँ, रजिस्ट्रेसन दस्तुर २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ रुपैयाँ सङ्कलन भएको थियो । त्यसैगरी पुँजीगत लाभकर बापत १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ । 

सदरमुकामदेखि १ सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा कायम भएका कतिपय मतदान स्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् । नेपाल-चीन उत्तरी कोरला नाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदानस्थल छन् । जहाँ २ हजार ११ जना मतदाता छन् । यहाँका सबै मतदानस्थलमा पुग्न सदरमुकाम जोमसोमदेखि सवारीसाधनमार्फत करिब ६/७ घण्टा समय लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । यहाँ लोमान्थाङ-२ समजुङ मतदानस्थल सारेर सोही वडाको छोसेरस्थित दिव्य माध्यमिक विद्यालय मतदानस्थलमा गाभिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताए । कोरला सडक मार्गसँग जोडिएका मतदानस्थल र शाखा सडकमा रहेका मतदानस्थल सवारीसाधनको सहज पहुँचमा छैनन् । त्यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदान केन्द्रहरूको दूरी पनि एक सय किलोमिटर दूरीमा छन् । कोरला सडकअन्तर्गत घिलिङ, घमी, चराङ लगायतका मतदानस्थलहरू राष्ट्रिय राजमार्गसँग जोडिएकाले यातायात आउजाउमा सहज भए पनि अन्य मतदानस्थलहरू टाढा रहेकाले त्यहाँ पुग्न जोमसोमदेखि घण्टौँ लाग्ने जनाइएको छ । मतगणनास्थलदेखि जोमसोमसम्म मतपेटिका ल्याई पुर्याउन राति १२ बजेसम्म समय लाग्ने बताइएको छ । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँच वडामा १ हजार ५४२ जना मतदाता छन् । त्यसैगरी, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका मतदान केन्द्र तथा मतदानस्थलहरूको दूरी जोमसोमबाट करिब ५० किलोमिटर छ । २ हजार ८८५ मतदाता यस पालिकामा छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका पाँच स्थानीय तहमा ३९ मतदानस्थल कायम गरिएका छन् । यहाँ कुल ११ हजार ३२८ जना मतदाता कायम रहेको छ । 

चितवनका राजमार्गमा तालिमप्राप्त कुकुरसहित खानतलासी सुरु

काठमाडौं । चितवन जिल्लाको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित बनाउन सुरक्षा निकायले आफ्नो सक्रियतालाई तीब्र पारेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीकाअनुसार आसन्न निर्वाचनको अवधिभर सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको हो । निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको १५ दिने अवधिलाई लक्षित गर्दै (सोमवार) ४ गतेदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा सभा, सम्मेलन र जुलुस हुने भएकाले सुरक्षा परिचालन अझ प्रभावकारी बनाइने एसपी पुरीले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले राजमार्गदेखि सबै निर्वाचन क्षेत्रका मुख्य नाकाहरूमा आकस्मिक जाँच (सरप्राइज चेकिङ) सुरु गरिसकेको छ ।  चितवन देशको मध्य भागमा अवस्थित हुनाले यसलाई सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण ‘ट्रान्जिट प्वाइन्ट’ मानिन्छ । अन्य जिल्लाबाट हुनसक्ने अवैध सामग्रीको ओसारपसार र निर्वाचन बिथोल्ने प्रयासलाई रोक्न प्रहरीले तालिमप्राप्त कुकुरहरूको प्रयोग गरी ठाउँ–ठाउँमा चेक प्वाइन्ट स्थापना गरेको छ । यसले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।    जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा रहेका कुल ६४ जना उम्मेदवारहरूको सुरक्षालाई प्रहरीले उच्च प्राथमिकतामा राखेको छ । उम्मेदवारहरूले गर्ने घरदैलो कार्यक्रम र चुनावी प्रचारप्रसारका क्रममा आवश्यक सुरक्षा समन्वय मिलाइएको छ ।  प्रहरीले जिल्लाभर लङ रेन्ज पेट्रोल र सर्ट रेन्ज पेट्रोललाई नियमित बनाएको छ ।  चितवनमा ठूला राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति र प्रतिष्पर्धा हुने भएकाले पनि सुरक्षा निकायले यहाँ विशेष निगरानी बढाएको हो । हालसम्म जिल्लामा कुनै अप्रिय घटना नभएको र सुरक्षा स्थिति चुस्तदुरुस्त रहेको प्रहरीले दाबी गरेको छ ।