विकासन्युज

जेनजी आन्दोलनबाट क्षतिग्रस्त ५ होटल घाटामा, कुन कस्तो अवस्थामा ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ७ वटा होटल कम्पनीमध्ये ५  कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा नोक्सानी बेहोरेका छन् । बन्दीपुर केबलकार, ओरियण्टल, चन्द्रागिरि हिल्स, सिटि होटल र तारागाउँ रिजेन्सीले अप्रत्याशित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरू, राजनीतिक अस्थिरता र आन्दोलनका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेको प्रभावमा नोक्सानी भोग्नु परेको जनाएको छ । सूचीकृत कम्पनीहरूले देशमा पर्यटकीय पूर्वाधारको कम विकास, सुस्त निर्माण, सार्वजनिक यातायातको अभाव र अन्तर्राष्ट्रिय हवाई सिट सीमितताले व्यवसायमा नकारात्मक असर परेको बताएका छन्। साथै, विदेशी विनिमय दरको उतार–चढाव र ऊर्जा तथा इन्धन मूल्य वृद्धिले पनि होटल तथा पर्यटन व्यवसायलाई चुनौती दिइरहेको उल्लेख गरिएको छ । यद्यपि, समीक्षा अवधिमा सोल्टी होटल र कालिन्चोक दर्शन कम्पनी भने नाफामा रहेका छन् । चन्द्रागिरि हिल्सको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ४ करोड ७० लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१.०७ प्रतिशत घटेर २४ करोड ८९ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड २५ लाख ३७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी ७४६ प्रतिशत बढेर २ करोड ६ लाख ८३ हजार रुपैयाँ र कुल आम्दानी ४२.७३ प्रतिशत घटेर २१ करोड १ लाख ६८ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीको अन्य आम्दानी १ करोड ८२ लाख ४१ हजार रुपैयाँ र कुल आम्दानी ३६ करोड ७० लाख १६ हजार रुपैयाँ थियो ।  चालु आवको पुसमा कम्पनीको बिक्री लागत ३०.१४ प्रतिशत घटेर ३ करोड ८७ लाख ९१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ५५ लाख २१ हजार रुपैयाँ बिक्री लागत थियो ।  समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च ११.६७ प्रतिशत घटेर ७ करोड ८० लाख १० हजार रुपैयाँ, प्रशासनिक खर्च १० प्रतिशत घटेर ४ करोड ६८ लाख ६१ हजार रुपैयाँ र कुल खर्च ११ प्रतिशत घटेर १२ करोड ४८ लाख ७२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ८३ लाख २० हजार रुपैयाँ कर्मचारी खर्च, ५ करोड २१ लाख रुपैयाँ प्रशासनिक खर्च र १४ करोड ४ लाख २० हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ४ करोड ६२ लाख ६९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.०७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०३.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७७.६८ गुणा ऋणात्मक रहेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कम्पनीको भौतिक संरचना तथा केबलकारका विभिन्न उपकरणहरूमा क्षति पुगेपछि गत त्रैमासिकको बाँकी अवधिभर कम्पनीका सबै आर्थिक गतिविधिहरू पूर्ण रूपमा ठप्प भएका थिए । यद्यपि, चालु त्रैमासिकको मध्यदेखि अर्थात् मंसिर १५ गतेबाट कम्पनीले पुनः कारोबार सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार कारोबारको मुख्य समयमा भएको बन्दका कारण आर्थिक रूपमा ठूलो नोक्सानी व्यहोर्नुपरेको छ । उक्त क्षतिपूर्ति तथा आर्थिक पुनर्उत्थानका लागि कम्पनी प्रतिबद्ध रहेको र सोहीअनुसार रणनीति तय गरी अगाडि बढिरहेको जानकारी दिइएको छ । जेनजी आन्दोलनका क्रममा कम्पनीको बटम स्टेशनको मुख्य भवन परिसर, भित्री आर्थिक गतिविधि सञ्चालन हुने संरचनाहरू, कार्यालय परिसर, केबलकारको मुख्य प्रस्थान स्थल, बाहिरी क्षेत्रमा रहेका विभिन्न स्टलहरू तथा केबलकार सञ्चालनका मुख्य युनिटहरू लगायतका उपकरणहरूमा क्षति पुगेको थियो । ती सबै क्षतिको विवरण संकलन तथा मूल्याङ्कन गर्ने कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । साथै तोडफोड, लुटपाट तथा आगजनीबाट भएको क्षतिको विस्तृत विवरण तयार गरी बीमा दाबीका लागि सम्बन्धित बीमा कम्पनीमा प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ । समिक्षा अवधिको अन्त्यसम्ममा केबलकार भ्रमण गर्ने पर्यटकहरू तथा रिसोर्ट परिसरमा आउने पाहुनाहरूको संख्यामा अघिल्लो अवधिको तुलनामा क्रमिक सुधार देखिन थालेको कम्पनीको भनाइ छ । समग्र मुलुकको अवस्था अनुकूल रहेमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको समग्र आर्थिक सूचकमा केही सकारात्मक सुधार देखिने प्रक्षेपण गरिएको छ । कालिञ्चोक दर्शनको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १ करोड १९ लाख ९३ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ लाख ८६ हजार रुपैयाँ ऋणात्मक थियो ।  चालु आवको पुस मसान्तसम्ममा कम्पनीको आम्दानी ३४४.१५ प्रतिशत बढेर ३ करोड ५४ लाख ६६ हजार रुपैयाँ, बिक्री आम्दानी ८७.२४ प्रतिशत बढेर १३ लाख ७ हजार रुपैयाँ, सञ्चालन आम्दानी ३६८.७६ प्रतिशत बढेर ३ करोड ४१ लाख ५९ हजार रुपैयाँ, अन्य आम्दानी १६.५५ प्रतिशत बढेर ५ लाख ३५ हजार रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च १६३.८४ प्रतिशत बढेर ७६ लाख ४१ हजार रुपैयाँ, अन्य खर्च ६५.१० प्रतिशत बढेर ४३ लाख ६७ हजार रुपैयाँ र वित्तीय खर्च ८०.८४ प्रतिशत बढेर २९ लाख ५५ हजार रुपैयाँ गरेको छ ।  ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ४ करोड ३९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९७.७७ गुणा छ ।  कम्पनीका अनुसार पुस मसान्तसम्मको तथ्यांकका आधारमा गत वर्षको तुलनामा बाह्य तथा आन्तरिक पर्यटकहरूको आगमनमा क्रमिक सुधार देखिएको छ । यस अवधिमा कम्पनीले पर्यटन प्रवद्र्धनलाई थप प्रभावकारी बनाउन होटल, रिसोर्ट तथा अन्य आयमूलक व्यवसाय सञ्चालन गर्ने योजनाअनुसार कार्य अघि बढाइरहेको जनाएको छ । प्रतिस्पर्धी पर्यटन व्यवसायको परिवेशमा कम्पनीले प्राकृतिक वातावरण तथा स्थानीय रमणीय स्थलहरूको समुचित उपयोग गर्दै न्यूनतम खर्चमा अधिकतम नाफा आर्जन गर्ने लक्ष्य लिएको छ । साथै, कम्पनीले कर्जाको साँवा र ब्याज तोकिएको समयमै भुक्तानी गर्दै आएको जानकारी दिएको छ । कम्पनीका अनुसार विसं २०८२ भदौ १२ गते कालिन्चोक इन्भेस्टमेन्ट कम्पनीमा रहेको आफ्नो स्वामित्व ५६.४८ प्रतिशतबाट घटेर ३८.३४ प्रतिशतमा झरेसँगै सो सहायक कम्पनीमाथिको नियन्त्रण समाप्त भएको छ । त्यसपछि उक्त लगानीलाई हालदेखि एशोसिएट कम्पनीको रूपमा लेखाङ्कन गरिएको जनाएको छ । यसैगरी, कम्पनीले अनावश्यक खर्च कटौती गर्दै आम्दानी वृद्धि हुने गरी बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्ने जनाएको छ । स्थानीय बासिन्दा तथा सेयरधनीहरूका लागि केबलकार टिकटमा विशेष सहुलियतको व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ । सोल्टी होटलको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा १२.९५ प्रतिशत बढेर ३४ करोड ७५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३० करोड ७७ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १३.५० प्रतिशत बढेर १ अर्ब ४५ करोड ९७ लाख १० हजार रुपैयाँ र कुल खर्च १४.७२ प्रतिशत बढेर १ अर्ब ४ करोड ११ लाख ४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड ६० लाख ५६ हजार रुपैयाँ कुल आम्दानी गरेर ९० करोड ७४ लाख ४१ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  चालु आवको ६ महिनामा कम्पनीको कर्मचारी खर्च ६.२९ प्रतिशत बढेर ३२ करोड १० लाख २८ हजार रुपैयाँ र प्रशासन खर्च ३१.३२ प्रतिशत बढेर १८ करोड ८६ लाख ५२ हजार रुपैयाँ रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ र सञ्चित नाफा २८.०७ प्रतिशत बढेर १ अर्ब ९१ करोड ६३ लाख २१ हजार रुपैयाँ पुगेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ३.४ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २८.७५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४६.४१ गुणा रहेको छ ।  कम्पनीको होटल तथा पर्यटन व्यवसाय गत वर्षको तुलनामा वृद्धि भएको छ । जेन–जेड आन्दोलन र अन्तर्राष्ट्रिय अस्थिरताका कारण केही समय पर्यटक आगमन घटे पनि चाडपर्व, बढ्दो हवाई उडान र प्रमुख पर्यटकीय गन्तव्यमा होटल अकुपेन्सी सुधारसँगै पर्यटन व्यवसाय पुनः सकारात्मक बनेको कम्पनीले जनाएको छ । आगामी त्रैमासिकमा अन्तर्राष्ट्रिय उडान नियमित रहनु र विश्व पर्यटन बजारमा देखिएको सुधारका कारण व्यवसाय अझ सुदृढ हुने अपेक्षा कम्पनीले गरेको छ । ओरियण्टल होटल्सको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २ करोड ७४ लाख ३१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख ४२ हजार रुपैयाँ खुद ऋणात्मक थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६.०४ प्रतिशत घटेर ४८ करोड ४६ लाख १५ हजार रुपैयाँ, अन्य आम्दानी ८१.५९ प्रतिशत बढेर ७१ लाख ६२ हजार रुपैयाँ र कुल नाफा ५.३८ प्रतिशत घटेर ४९ करोड १७ लाख ७७ हजार रुपैयाँ गरेको छ ।  चालु आवको ६ महिनामा कम्पनीको कर्मचारी खर्च ११.४४ प्रतिशत घटेर १६ करोड १६ लाख ७९ हजार रुपैयाँ, प्रशासन खर्च १०.९२ प्रतिशत बढेर ७ करोड ८१ लाख ५७ हजार रुपैयाँ र कुल खर्च ३.१४ प्रतिशत घटेर ४५ करोड ५२ लाख १ हजार रुपैयाँ गरेको छ । १ अर्ब १८ करोड ४४ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १.०८ प्रतिशत बढेर २ अर्ब ७० करोड ४६ लाख १३ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २.३२ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ३२८.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०३.९९ गुणा ऋणात्मक छ ।  दोस्रो त्रैमासमा कम्पनीको तरलता र मौज्दात अवस्था सन्तोषजनक रहे पनि होटलको पुरानो परिसर रिनोभेशनका कारण कारोबार प्रभावित भएको जनाएको छ । पुरानो परिसरका ६० कोठा तथा रेस्टुरेन्टहरू रिनोभेशनका लागि बन्द हुनु र पर्यटक आगमन घट्नु नोक्सानीको मुख्य कारण रहेको कम्पनीले जनाएको छ । यसैगरी जेन–जेड आन्दोलनका कारण पहिलो र दोस्रो त्रैमासिकमा पर्यटक आगमन घट्दा होटल तथा पर्यटन व्यवसायमा असर परेको कम्पनीले जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म रिनोभेशन सम्पन्न गरी आगामी वर्षदेखि अत्याधुनिक सुविधा सहित कोठा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । साथै, होटल परिसरभित्रका ३० वटा सर्भिस अपार्टमेन्ट पूर्ण रूपमा सञ्चालनमा आइसकेकाले आगामी दिनमा बिक्री र नाफा सुधार हुने अपेक्षा गरिएको छ । कम्पनीले खर्च नियन्त्रण, अकुपेन्सी वृद्धि र विविध बजार लक्षित रणनीति अपनाउँदै व्यवसाय विस्तार गर्ने जनाएको छ । सहवित्तियकरण कर्जा तथा चालू पूँजीको साँवा–ब्याज समयमै भुक्तानी हुँदै आएको पनि कम्पनीले स्पष्ट पारेको छ । तारागाउँ रिजेन्सी होटल्सको चालु आवको ६ महिनामा खुद नाफा ९ करोड ८ लाख ३० हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६७ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७५.२५ प्रतिशत घटेर १७ करोड १९ लाख ४२ हजार रुपैयाँ, अन्य आम्दानी २२.०६ प्रतिशत घटेर ६ करोड १२ लाख २१ हजार रुपैयाँ र कुल आम्दानी ६९.८५ प्रतिशत घटेर २३ करोड ३१ लाख ६४ हजार रुपैयाँ गरेको छ ।  चालु आवको ६ महिनामा कम्पनीको प्रशासनिक खर्च ४८.९७ प्रतिशत घटेर ६ करोड २८ लाख ६४ हजार रुपैयाँ गरेको छ ।  १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनकिो जगेडा कोष ११.३९ प्रतिशत घटेर ९८ करोड १९ लाख ८७ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ४.६३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १५०.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५२.३१ गुणा ऋणात्मक छ । जेनजी आन्दोलनका क्रममा तारागाउँ रिजेन्सी होटल्स अन्तर्गत सञ्चालनमा रहेको होटलमा ठूलो आर्थिक तथा भौतिक क्षति पुगेपछि सोही दिनदेखि होटल पूर्ण रूपमा बन्द रहेको छ । हाल होटलमा मर्मत–सम्भार तथा पुनर्निर्माणको कार्य तीव्र रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ । घटनाबाट भएको क्षतिको मूल्याङ्कन सम्बन्धित बीमा कम्पनीमार्फत भइरहेको भए पनि हालसम्म क्षतिपूर्ति सम्बन्धी कुनै अन्तिम व्यवस्था हुन नसकेको कम्पनीले जनाएको छ । होटल पूर्ण रूपमा मर्मत–सम्भार गरी पुनः सञ्चालनमा ल्याएपछि मात्र व्यवसायिक गतिविधि सम्भव हुने भएकाले चालु आवको दोस्रो त्रैमासमा तारागाउँ नेक्स्ट बाहेक अन्य कुनै पनि पर्यटकीय व्यवसायिक गतिविधि नभएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आन्दोलनले २५ वर्षदेखि नेपालको पर्यटन क्षेत्रमा योगदान दिँदै आएको होटललाई ठूलो क्षति पुर्याएको छ । होटललाई अन्तर्राष्ट्रिय स्तरको सेवा–सुविधासहित पूर्ण रूपमा मर्मत–सम्भार गरी छिट्टै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । आगामी त्रैमासिक अवधिसम्म पनि होटल सञ्चालनमा नआउने र मर्मत–सम्भारका लागि ठूलो लगानी आवश्यक पर्ने अवस्था रहेको कम्पनीले उल्लेख गरेको छ । होटल पुनः सञ्चालनपछि सेवा–सुविधाको स्तर उकास्ने, कर्पोरेट, सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू आकर्षित गर्ने, कर्मचारीलाई तालिम प्रदान गर्ने र खर्च नियन्त्रण गर्दै स्वदेशी तथा विदेशी पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्ने रणनीति अपनाइने कम्पनीले जनाएको छ । सिटि होटलले चालु आवको ६ महिनामा खुद नाफा १० करोड ९ लाख ३८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ४९ लाख ६८ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो । कम्पनीको सञ्चालन आम्दानी १.४३ प्रतिशत घटेर २३ करोड २३ लाख ९८ हजार रुपैयाँ, अन्य आम्दानी ४६.१४ प्रतिशत घटेर १ करोड १५ लाख २७ हजार रुपैयाँ र कुल आम्दानी ५.१५ प्रतिशत घटेर २४ करोड ३९ लाख २५ हजार रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च १० प्रतिशत बढेर ४ करोड ६५ लाख ५७ हजार रुपैयाँ, प्रशासन खर्च २७.३८ प्रतिशत बढेर ५ करोड ८३ लाख ५० हजार रुपैयाँ र कुल खर्च ८.८९ प्रतिशत बढेर १९ करोड २ लाख ३० हजार रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८० प्रतिशत बढेर ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटी ४ कराड ४१ लाख ७४ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.३५ रुपैयाँ ऋणात्मक छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ९८.५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४०.३० गुणा ऋणात्मक छ । देशका विभिन्न शहरमा भएका प्रदर्शनका कारण पछिल्लो समय होटल व्यवसायमा केही प्रतिकूल असर परेको कम्पनीले जनाएको छ । आम्दानी बढाउने लक्ष्यसहित होटलले ब्याङ्क्वेट र खानपान सुविधाको स्तरोन्नति, कर्पोरेट कार्यक्रम, निजी समारोह, दूतावास, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित इभेन्टहरू विस्तार गर्ने रणनीति अपनाएको छ । साथै, बैठक, सम्मेलन, विवाह तथा उच्चस्तरीय कर्पोरेट कार्यक्रम आकर्षित गर्न स्थानीय व्यवसाय र इभेन्ट आयोजकसँग सहकार्य गरिने कम्पनीको भनाइ छ । होटललाई ट्राभल एक्सपो, अन्तर्राष्ट्रिय वर्कसप र पर्यटकीय कार्यक्रमहरूको प्रमुख भेन्युका रूपमा विकास गर्दै, दीर्घकालीन रेट सम्झौता, हायात समूहभित्रको समन्वय र प्रभावकारी बजार रणनीतिमार्फत व्यवसाय विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । बन्दीपुर केबलकारको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ७४ लाख ९१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५९ लाख ८ हजार रुपैयाँ खुद ऋणात्मक थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३९.४८ प्रतिशत बढेर ९४ लाख ५७ हजार रुपैयाँ, अन्य आम्दानी ११२.२० प्रतिशत बढेर १ करोड ६६ लाख ५ हजार रुपैयाँ र कुल आम्दानी ७८.४३ प्रतिशत बढेर २ करोड ६० लाख ६२ हजार रुपैयाँ गरेको छ ।  चालु आवको पुसमा कम्पनीको कर्मचारी खर्च १३.६९ प्रतिशत बढेर ३९ करोड ६१ लाख रुपैयाँ, प्रशासनिक खर्च ०.९४ प्रतिशत घटेर २७ लाख २२ हजार रुपैयाँ र कुल खर्च ८.१४ प्रतिशत घटेर २ करोड ५० लाख ३८ हजार रुपैयाँ गरेको छ । २ अर्ब ८२ करोड ९९ लाख ९३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष २१ करोड ३० लाख ४३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.२६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९२.४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३ हजार १३५.२१ गुणा ऋणात्मक रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको आर्थिक गतिविधि सुधारोन्मुख रहेको जनाएको छ । जेनजी आन्दोलन र राजनीतिक अस्थिरताका कारण होटल सञ्चालनमा प्रारम्भमा ढिलाइ भए तापनि, हाल लेमन ट्री होटल्स लिमिटेडसँग होटल सञ्चालन तथा व्यवस्थापन सम्झौता भई, पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । राजनीतिक तथा आर्थिक अवस्था अनुकूल रहन सकेमा चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको आर्थिक स्थितिमा सकारात्मक सुधार आउने अपेक्षा कम्पनीको छ । कम्पनीले रणनीतिक रूपमा घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी बजारीकरण, स्थानीय समुदायसँग समन्वय, सम्पत्ति र दायित्वको व्यवस्थापन, र गुणस्तरीय सेवा प्रदान गर्दै दिगो आर्थिक वृद्धि हासिल गर्ने योजना अवलम्बन गरेको छ ।

१ करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ ।    आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर ढुवानी गर्न तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।  बाँकी १० जिल्लाको पनि मतपत्र छपाइ भएको छ भने प्याकिङ बाँकी रहेको उनले बताए । अब ११ लाख ९९ हजार मतपत्रमात्र छाप्न बाँकी रहेको छ ।   हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, चितवन र सिराहा गरी ६७ जिल्लाको मतपत्र छपाइ सम्पन्न गरी ढुवानीका लागि तयारी भएको हो ।  शनिबारसम्म ६६ जिल्लाको मतपत्र छपाइ सकी प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको थियो । आज थप एक जिल्लाको मतपत्र छपाइ सकी प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।  अब काठमाडौं उपत्यका वरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको जनाइएको छ । अब दुई दिनमा मतपत्र छपाइ सकेर प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिने जनाइएको छ । हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।   गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो । छपाइ भएको मतपत्र शुक्रबारदेखि आयोगले पठाउन सुरु गरेको थियो । पहिलो चरणमा कर्णालीमा मतपत्र पठाइएको थियो । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशका दुर्गम जिल्लामा पनि मतपत्र पठाइएको आयोगले जनाएको छ । सहरी क्षेत्र र सुगम जिल्लामा भने मतपत्र पठाउन बाँकी छ ।

रास्वपाको नौलो सुरुवात : मतदातासँग करार, ७ गते कर्णालीबाट वाचापत्र सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी अभियानमा नयाँ अभ्यासको सुरुवात गरेको छ । पार्टीले मतदातासँग करार गर्ने अवधारणा अघि सारेको हो । जसअन्तर्गत उम्मेदवार र मतदाताबीच स्पष्ट प्रतिवद्धता र जवाफदेहिताको सम्बन्ध स्थापित गर्ने दाबी रास्वपाले गरेको छ । पार्टीका सभापति रवि लामिछानेले आइतबार (आज) सामाजिक सञ्जालमार्फत उक्त करारपत्र सार्वजनिक गर्दै यसलाई परम्परागत घोषणापत्रभन्दा फरक अभ्यास भएको बताएका छन् ।  उनका अनुसार निर्वाचनमा जितेपछि गर्ने काम, समयसीमा, प्राथमिकता र सार्वजनिक प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रियासमेत करारपत्रमा उल्लेख गरिएको छ । रास्वपाले सार्वजनिक गरेको करारपत्रमा सुशासन, पारदर्शिता, सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार तथा नागरिक सहभागितालाई मुख्य प्राथमिकतामा राखिएको छ ।  करारअनुसार निर्वाचित प्रतिनिधिले निश्चित समय अन्तरालमा कार्यप्रगति सार्वजनिक गर्नुपर्ने, प्रतिबद्धता पूरा नभए स्पष्टीकरण दिनुपर्ने र आवश्यक परे जनतामाझ पुनः विश्वासको मत लिनेसम्मको नैतिक जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख छ । पार्टीका कोषाध्यक्ष लिमा अधिकारीका अनुसार यो अभ्यासले निर्वाचनपछि पाँच वर्षसम्म जनप्रतिनिधि सम्पर्कविहीन हुन्छन् भन्ने आलोचनालाई अन्त्य गर्ने विश्वास गरिएको छ । मतदाताले आफ्नो प्रतिनिधिसँग प्रत्यक्ष सरोकार राख्ने, वाचा कार्यान्वयन भए/भएको अनुगमन गर्ने र आवश्यक परे सार्वजनिक दबाब सिर्जना गर्ने आधार तयार हुने दाबी अधिकारीको छ । चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा रास्वपाले अघि सारेको यो मतदाता–प्रतिनिधि करार अवधारणाले अन्य दलहरूलाई पनि आफ्नो प्रतिबद्धता स्पष्ट पार्न दबाब दिने संकेत देखिएको छ ।  कोषाध्यक्ष अधिकारीका अनुसार करार पत्रमा समेटिएका विषय सहित रास्वपाले आफ्नो वाचापत्र फागुन ७ गते गर्नेछ ।  ‘फागुन ७ गते कर्णालीबाट वाचापत्र सार्वजनिक गरिने छ,’ अधिकारीले भनिन्, ‘जे बोल्छौं त्यही गर्छौं, जे गर्छौं त्यही लेख्छौं । सोही आधारमा तयार पारीएको वाचापत्र फागुन ७ गते सार्वजनिक गर्छौं ।

एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ । आन्ध्र प्रदेश सरकारले विशाखापट्टनमलाई केन्द्रमा राख्दै एआई पूर्वाधार, डाटा सेन्टर र उच्च क्षमतायुक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।      आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा लोकेशले एआई क्रान्ति अपरिहार्य भइसकेको बताउँदै राष्ट्रले यसलाई सक्रिय रूपमा अँगाल्ने नीति लिएको उल्लेख गरे । उनका अनुसार राज्यले ७६० परियोजनासहित करिब एक खर्ब ७५ अर्ब डलर बराबरको लगानी प्रतिबद्धता जुटाइसकेको छ । यसमा संयुक्त राज्य अमेरिका बाहिरकै सबैभन्दा ठूलो एआई पूर्वाधार हब निर्माणका लागि गुगलको १५ अर्ब डलर लगानीसमेत समावेश छ ।      त्यस्तै, रिलायन्स इन्डस्ट्रिज, क्यानाडाको ब्रुकफिल्ड र अमेरिकी कम्पनी डिजिटल रियल्टीको संयुक्त उद्यमले सोही सहरमा ११ अर्ब डलरको एआई डाटा सेन्टर विकास गरिरहेको छ । करिब २० लाख जनसङ्ख्या रहेको विशाखापट्टनमलाई अब सिङ्गापुरसँग जोडिने पनडुब्बी इन्टरनेट केबलको अवतरण विन्दुका रूपमा विकास गरिँदैछ । लोकेशका अनुसार १०० किलोमिटर अर्धव्यासभित्र फैलिने ‘डाटा सिटी’ अवधारणा केवल डाटा कनेक्टिभिटीमा सीमित नभई सर्भर उत्पादन, कूलिङ प्रणाली, सहायक उद्योग र पूर्ण प्रविधि आपूर्ति शृङ्खलासम्म विस्तार हुनेछ ।      उनले आन्ध्र प्रदेशले सन् २०२५ मा भारतको प्रत्यक्ष वैदेशिक लगानीको झण्डै २५ प्रतिशत आकर्षित गरेको दाबी गरे । प्रमुख लगानीकर्तालाई प्रतिस्पर्धात्मक दरमा जग्गा उपलब्ध गराउने नीति अवलम्बन गरिएको छ । मुख्यमन्त्री एन चन्द्रबाबु नायडूका पुत्रसमेत रहनुभएका ४३ वर्षीय स्ट्यानफोर्ड शिक्षित मन्त्री लोकेशले हैदराबादलाई ‘साइबराबाद’ बनाउने अनुभवबाट प्रेरित भएको बताउँछन् ।      प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्ने एआई इम्प्याक्ट शिखर सम्मेलनअघि सार्वजनिक गरिएको यस योजनाले भारतलाई विश्व एआई शक्तिको तेस्रो स्थानमा स्थापित गर्ने दाबीलाई बल दिएको छ । स्ट्यानफोर्ड युनिभर्सिटीको अध्ययनअनुसार पेटेन्ट, निजी लगानी लगायत ४० भन्दा बढी सूचकमा भारत दक्षिण कोरिया र जापानभन्दा माथि रहेको छ । एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्तासहितको बजारले बहुराष्ट्रिय प्रविधि कम्पनीहरूलाई आकर्षित गरिरहेको छ । माइक्रोसफ्टले हालै १७ अर्ब ५० करोड डलर लगानी घोषणा गर्दै यसलाई एसियामा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता भनेको थियो ।      यद्यपि आलोचकहरूले भारत अझै उच्चस्तरीय कम्प्युटिङ क्षमता र व्यावसायिक एआई कार्यान्वयनमा पछाडि रहेको तर्क गर्छन् । डाटा सेन्टरहरूले पर्याप्त रोजगारी सिर्जना गर्ने विषयमा पनि प्रश्न उठाइएको छ । तर लोकेशले प्रत्येक औद्योगिक क्रान्तिले विस्थापनभन्दा बढी अवसर सिर्जना गरेको उल्लेख गर्दै एआई अँगालेका देशले नै फाइदा लिने धारणा व्यक्त गरे ।      ऊर्जा र पानीको उच्च माग सम्बोधन गर्न राज्यले दीर्घकालीन योजना बनाएको बताइएको छ । बङ्गालको खाडीमा बग्ने अतिरिक्त मनसुनी पानी उपयोग गरी विशाल डाटा सेन्टर चिस्याउने अवधारणा अघि सारिएको छ । साथै, कोभवाडामा छ वटा १.२ गिगावाट क्षमताका आणविक ऊर्जा संयन्त्रका लागि केन्द्रीय सरकारबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ ।      छ गिगावाट डाटा सेन्टर क्षमताको लक्ष्यसहित आन्ध्र प्रदेशले तीव्र गति र ठूलो परिमाणमा कार्यान्वयन गर्ने दाबी गरेको छ । 'हामी यात्रामा छौँ र देशले कहिल्यै नदेखेको गतिमा परियोजना कार्यान्वयन गर्नेछौँ', लोकेशले भने । रासस

विश्वप्रकाश शर्माको दाबी– बदलिएको कांग्रेस बहुमतको नजिक

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दिशातर्फ अग्रसर रहेको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले देशव्यापी रूपमा कांग्रेसप्रति सकारात्मक जनलहर देखिएको जिकिर गरे । उनले पछिल्लो समय विभिन्न जिल्लाबाट नयाँ अनुहारहरू पार्टीमा आबद्ध भइरहेको उल्लेख गर्दै यसले कांग्रेसप्रतिको भरोसा बढ्दै गएको संकेत गरेको बताए ।  ‘अहिलेकै अवस्थाले कांग्रेस सबैभन्दा ठूलो दल बन्ने निश्चित देखिन्छ,’ उनले भने ।  यही गतिमा जनमत विस्तार हुँदै जाँदा आगामी एक हप्ताभित्रै कांग्रेस बहुमतको तहमा पुग्ने आधार तयार हुने शर्माको दाबी रहेको छ । शर्माले कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनमुखी कार्यक्रममार्फत आफूलाई बदलिएको शक्तिका रूपमा प्रस्तुत गरिरहेको दाबी गरेका छन् ।  उनले विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने प्रयास तीव्र बनाइएको बताए । उनका अनुसार आसन्न निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा नभई देशको स्थायित्व, सुशासन र आर्थिक पुनरुत्थानको दिशामा जनमत प्राप्त गर्ने अवसर हो । जनताले अब स्थिर सरकार र परिणाममुखी नेतृत्व खोजिरहेका छन् । उनले भने, ‘कांग्रेस त्यही अपेक्षाको केन्द्रमा छ ।’ उपसभापति शर्माले पार्टीका नेता–कार्यकर्तालाई घरदैलो अभियान, मतदाता संवाद र नीतिगत बहसलाई तीव्र बनाउन निर्देशन दिँदै संगठनात्मक एकता कायम राख्न आग्रह गरे ।  उनले लोकतान्त्रिक मूल्यमान्यताको रक्षा, अवसरको समान वितरण र सुशासनलाई कांग्रेसको मुख्य एजेन्डा बनाइने पनि स्पष्ट पारे ।

मुग्लिन–मलेखु सडक : एघार किलोमिटर कालोपत्र पूरा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो ।  नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत  हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन् ।  धादिङको बाँदरेमा कालोपत्र जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखिएको छ । उक्त खण्डका छ वटा पुलमध्ये हुग्दी र चरौदीमा जमिनमाथिको काम भइरहेको छ । निर्माण सामग्री अभाव नहोस् भन्नेमा आफूहरू रहेको उनले बताए ।  धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भएपनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने आशङ्का उनले व्यक्त गरे । विश्व बैंकको ऋण सहयोग चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा ३८ किलोमिटर लामो यो सडकखण्ड स्तरोन्नति थालिएको हो ।   

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिनको समयसीमा तोकियो, आचारसंहिताको पूर्ण पालना गर्न आग्रह

काठमाडौं । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो ।  आयोगका अनुसार २०८२ फाल्गुन ३ गते राती १२ बजेपछि अर्थात् फाल्गुन ४ गतेदेखि शुरु हुने यो प्रचार अवधि फाल्गुन १८ गते राति १२ बजेसम्म कायम रहने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।   उनका अनुसार आयोगले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।  सञ्चारकर्मीहरूसँगको भेटघाटमा आयोगले आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लंघन नगर्न सबै सरोकारवालाहरूलाई सचेत गराएको छ । 

उनेपाको घोषणापत्र : ५ वर्षमा ८ हजार किमि कालोपत्रे, १३ स्मार्ट सिटी र ५ लाख हेक्टर सिँचाइ

काठमाडौं । उज्यालो नेपाल पार्टी नेपालले आगामी ५ वर्षलाई लक्षित गर्दै पूर्वाधार विकास योजना सार्वजनिक गरेको छ ।  पार्टीको घोषणापत्रअनुसार  प्रविधियुक्त पूर्वाधार, द्रुत यातायात सञ्जाल, स्मार्ट सिटी, रेल–जलमार्ग र ठूला सिँचाइ आयोजनालाई प्राथमिकतामा राख्दै समृद्धि र रोजगारीलाई केन्द्रमा राखेको जनाएको छ । पार्टीले सुरुङमार्ग, मेट्रो र केवलकारजस्ता आधुनिक प्रविधिको सम्भाव्यता अध्ययन गरी पीपीपी (सार्वजनिक–निजी साझेदारी) मोडेलमा निर्माण अघि बढाउने घोषणा गरेको छ । यसले सहरी यातायातमा गुणात्मक सुधार ल्याउने दाबी गरिएको छ ।  यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल को सञ्चालन विस्तार गरी नयाँ एयरलाइन्स आकर्षित गर्ने तथा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल को लगानी मोडालिटी टुंग्याई निर्माणलाई तीव्रता दिने योजना छ । आगामी पाँच वर्षभित्र ८ हजार किमि कालोपत्रे, ४ हजार किमि ग्राभेल र ३ हजार किमि नयाँ ट्र्याक खोल्ने लक्ष्य सार्वजनिक गरिएको छ । काठमाडौं–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, कर्णाली कोरिडोर लगायत राष्ट्रिय राजमार्गको स्तरोन्नति तथा विस्तार गरिनेछ। ग्रामीण सडक कालोपत्रेलाई समेत प्राथमिकता दिइएको छ । राष्ट्रिय योजना आयोगको स्मार्ट सिटी फ्रेमवर्कअनुसार भिजन २०४० सम्म लुम्बिनी, निजगढ, भरतपुरसहित १३ सहरलाई पूर्ण स्मार्ट सिटी बनाउने अध्ययन अघि बढाइनेछ । इन्टरनेट अफ थिंग्स, एआई–आधारित ट्राफिक व्यवस्थापन, रियल–टाइम डाटा मोनिटरिङ र जलवायु अनुकूल क्षेत्रीय योजना लागू गरी नागरिक–केन्द्रित शासन सुदृढ गर्ने लक्ष्य छ । छोटो दूरी यात्राका लागि रक्सौल–काठमाडौं–केरूङ रेलमार्ग तथा पूर्व–पश्चिम रेलमार्गको विस्तृत अध्ययन पूरा गरी लगानी मोडालिटी तयार गरिनेछ । कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा जलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरी उपयुक्त स्थानमा जलयातायात सुरु गर्ने तथा आवश्यक नीति–कानुन निर्माण गर्ने घोषणा गरिएको छ । सुनकोसी–मरिन डाइभर्सन आयोजना, भेरी–बबई डाइभर्सन आयोजना, रानी–जमरा–कुलहडिया सिंचाई आयोजना, सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना लगायत राष्ट्रिय गौरवका आयोजनालाई सम्पन्न गरी पाँच वर्षभित्र ३ लाख हेक्टर सतह सिँचाइ सुविधा पुर्‍याइनेछ । तराई–मधेशका पकेट क्षेत्रमा स्यालो तथा डिप ट्युबवेलमार्फत ३ लाख हेक्टर भूमिगत सिँचाइ, हिमाल–पहाडमा विद्युत प्रयोग गरी २ लाख हेक्टर लिफ्ट सिँचाइ विस्तार गर्ने लक्ष्य छ । साथै राप्ती–कपिलवस्तु (नौमुरे), कालिगण्डकी–तिनाउ, सुनकोसी–तावा (कमला) र तमोर–चिसाङ डाइभर्सनको विस्तृत अध्ययन पूरा गरी निर्माण सुरु गरिने बताइएको छ । सुरक्षित र सहज यातायात सुनिश्चित गर्न प्रमुख तथा शहरी सडकमा द्रुत मर्मत सम्भारका लागि सबै प्रदेशमा रोड एम्बुलेन्स व्यवस्था गरिनेछ ।