विकासन्युज

उपत्यकाको नदी किनाराका बस्ती खाली गराउने कार्य जारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी राखेको छ । यसक्रममा शनिबार (आज) काठमाडौं महानगरपालिका वडा नं ११ थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको बस्ती खाली गरिएको छ । कामपा वडा नं ९ स्थित गैरीगाउँ-सिनामङ्गल र वडा नं ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ ।   काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा अवैध रुपमा निर्माण गरिएका बस्ती खाली गर्ने तयारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ सुकुम्वासी घरधुरी रहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौं महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले अवैधरुपमा निर्माण गरिएको संरचना हटाएर ती क्षेत्र खाली गरेको हो । सुरक्षाकर्मीको टोलीले नै ती ठाउँमा बसोबास गर्दै आएका नागरिकका सरसामन हटाउन र अन्यत्र लैजान सहयोग गरेका थिए । थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउनेक्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सम्पर्कमा आएका परिवारलाई दशरथ रङ्गशाला पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न स्थानमा बसोबासको प्रबन्ध मिलाइएको छ । हाललाई घरायसी सामान सुन्दरीघाटस्थित राधास्वामी सत्सङ व्यासमा सुरक्षितरुपमा राखिएको छ । अस्थायी स्थानमा राखिएका परिवार वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु हुनेछ । प्रमाणीकरणका क्रममा सुकुम्वासी प्रमाणित भएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नं १ स्थित ‘अपार्टमेन्ट’मा राखिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु हुनेछ ।

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौं । मौसम बदलीसँगै आज (शनिबार) देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ ।  प्राप्त विवरणमा सबैभन्दा बढी लमजुङमा ८७.४ मिलिमिटर (धेरै भारी नजिक) वर्षा भएको छ भने रोल्पामा ६५.२, प्यूठानमा ७४।६ र काभ्रेमा ६३.६ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ ।  यस्तै कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् विनु महर्जनले आजदेखि नै देशका धेरै क्षेत्रमा वर्ष हुने भएकाले तातो लहर कम हुने बताए ।  आजदेखि वर्षा बढेको र यो क्रम अझै केही बढ्ने विभागले जनाएको छ ।  हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।  विभागका अनुसार भोलि आइतबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ ।  यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको जनाइएको छ ।  यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना कायम रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ ।  

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काठमाडौं । दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडक खण्ड दिउँसो ३:३० बजेदेखि बन्द गराएको हो ।   वर्षाका कारण रोसी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ ।  वर्षाका कारण रोसी खोलामा पानीको बहाव बढ्दा राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउने गरेको थियो । गत सालको बाढी पहिरोले राजमार्गको रोसी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।  यसैबीच राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेश मार्ग धुलिखेलको काभ्रे भन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ । गत साल असोजको बाढी पहिरोले चौकीडाँडा-नेपालथोक सडक खण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

१ हजार सुकुम्वासीलाई आश्रय दिने काठमाडौंका होटलहरूको घोषणा

काठमाडौं । काठमाडौंका होटलहरूले थापाथली लगायत विभिन्न क्षेत्रबाट हटाइएका सुकुम्बासीहरूलाई आश्रय दिन तयार रहेको बताएका छन् । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी (शंकर)ले थापाथली लगायत विभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका सुकुम्बासी नागरिकहरूको सुरक्षित व्यवस्थापनमा सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताए । उनका अनुसार काठमाडौं उपत्यकाभित्र रहेका महासंघमा आबद्ध होटलहरूमार्फत आवश्यक समन्वय गरी करिब एक हजार जनासम्म नागरिकलाई अस्थायी रूपमा सुरक्षित आश्रयस्थल (बसोबास) उपलब्ध गराउन सकिने व्यवस्था मिलाउन महासंघ सक्षम छ। उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास उपलब्ध गराउने प्रतिबद्धता महासंघले जनाएको छ । यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन तथा सहकार्य गर्न महासंघ तत्पर रहेको अध्यक्ष भण्डारीले बताए । 

गैह्रीगाउँका सुकुम्बासीले तिर्थे महिनाको ५ हजार रुपैयाँ भाडा

काठमाडौं । सिनामंगलको गैह्रीगाउँ सुकुम्बासी बस्ती । जहाँ ३२ वर्षीया कौशिल्या नेपाली र उनका श्रीमान् दीपक नेपालीले वर्षौंदेखि संघर्षपूर्ण जीवन बिताइरहेका थिए । पुरानो झोला, बाटा राखिएको भाँडाकुँडा र ओछयान । थकित शरीर यही नै उनीहरूको संसार हो । आजदेखि भने यहीँ कोठा र बागमती पनि उनीहरूको लागि बिरानो बन्यो । सुकुम्बासी बस्तीबाट सदाको लागि उनीहरूको बास उठ्दैछ । बस्ने र खाने ठाउँ छैन । दोलखाबाट काठमाडौं आएका उनीहरू जीवनको खोजीमा थिए । तर शहरले उनीहरूलाई अवसरभन्दा बढी संघर्ष दियो । अहिले उनीहरू मागेर गुजारा चलाइरहेका थिए । भोलिदेखि कहाँ गएर माग्ने टुंगोसमेत छैन । किनभने उनीहरूको बस्ने ठेगान लाग्न सकेको छैन । श्रीमान् दीपकको आँखाले संसार देख्न छाडेको धेरै भइसक्यो । दृष्टि विहीन दीपकका लागि कामको अवसर बन्द भयो, अनि परिवारको जिम्मेवारी कौशिल्याको काँधमा थपियो। उनले मागेर परिवारको गुजारा चलाइरहेका थिए । ‘अब हामी कहाँ जाने ?’ कौशिल्याले बाहिर निकालेका सामानलाई देखाउँदै भनिन्, ‘काठमाडौंमा हामी आजदेखि बिरानो हुने भयौं ।’ उनीहरूको यो पीडा मात्र थिएन । घरधनीले वर्षौदेखि आश्वासन दिएर राखेका थिए । सदाको लागि यहीँ घरमा बस्न पाउनेछौ । ‘दोलखामा फर्किने ठाउँ छैन, जग्गा छैन, घर छैन। यहाँ पनि भाडा तिरेर बस्ने आधार हराउँदै गएको छ,’ उनले सुनाइन्, ‘अब कहाँ गएर बस्ने हो । हामीले कोठा पाइनौ ।’ उनीहरू बस्दै आएको कोठाको मासिक भाडा पाँच हजार रुपैयाँ थियो । घरधनी हेटौंडाका अर्जुन तामाङ हुन्। भाडा रकम उनीहरूले फाइनान्सको खातामार्फत पठाउने गरेका थिए । आम्दानी र दैनिक गुजाराकै समस्या भएपछि त्यो भाडा पनि तिर्न सकेका थिएनन् । आजदेखि भाडा तिर्ने दुःख पनि सदाको लागि सकिएको कौशिल्याले बताइन् । सरकारले हामीलाई बस्ने ठाउँबाट उठाएकाले उसैले व्यवस्था गरिदिने उनले सुनाइन् । नागरिकता नहुँदा उनीहरूको जीवन अझ जटिल बनेको छ। राज्यका सेवा–सुविधा, राहत, सामाजिक सुरक्षा सबै उनीहरूका लागि पहुँचभन्दा बाहिर छन्। कौशिल्या भन्छिन्, ‘हामी सुकुम्बासी हौँ कि हुकुम्बासी, कसैले हेरेको छैन। हाम्रो पीडा कसले बुझ्छरु अब त राज्यले हाम्रो पहिचान गर्ने बेला आएको छ।’ हामीलाई बालेन सरकारले राख्छ भन्ने सुनेको तर कोही पनि लिन आउला जस्तो नलागेको उनले गुनासो पोखिन् । सिनामंगलको यो बस्तीमा कौशिल्या र दीपकजस्ता धेरै परिवार थिए । सबैजना आजदेखि कोठा खोज्दै र सदाका लागि स्थायी बास खोज्न सहरमा छिरिसके । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिबार या आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि बिहीबार काठमाडौं महानगरपालिका, प्रमुख जिल्ला अधिकारी तथा सहरी विकास मन्त्रालयका केही उच्च कर्मचारीबीच विभिन्न चरणमा औपचारिक-अनौपचारिक कुराकानी भएका थिए । बिहीबार साँझ प्रहरीले काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमै पुगेर माइकिङ गरी शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिएको थियो ।

सुकुम्वासी बस्ती हटाउने क्रम जारी, हालसम्म ६८ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अनधिकृत बस्तीहरू खाली गराउने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा काठमाडौं महानगरपालिका-११ स्थित थापाथलीको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ को गैरीगाउँ र वडा नम्बर ३१ को शान्तिनगरमा बस्ती हटाउने क्रम जारी रहेको छ । यस्तै, कागेश्वरी मनोहरा नगरपालिका-८ को गोठाटार बुद्धचोक तथा वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू पनि खाली गर्ने तयारी गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् । बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले स्थानीयवासीलाई सामान उठाउन तथा ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन् । प्रभावित परिवारहरूले पनि सरकारको कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको जनाइएको छ । हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको छ । सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशालामा पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरिनेछ र त्यसपछि काठमाडौंका विभिन्न होटलहरूमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ । हालका लागि घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा सुरक्षित रूपमा राखिएको छ । अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान प्रक्रिया भोलिदेखि सुरु गरिनेछ । वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका-१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ । त्यसपछि उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम अघि बढाइने सरकारको तयारी छ ।

हवाइफायरिङ गरेर ३ जना लागुऔषध कारोबारी पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।      जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी रमेश विष्टले नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ स्थित शान्तिनगरचोक नजिक तीन राउण्ड हवाइफायरिङ गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकाहरूको साथबाट ३७० ग्राम ब्राउनसुगरसमेत प्रहरीले बारमद गरेको छ ।       पक्राउ गरेर नियन्त्रणमा लिएकामा नेपालगन्ज उपमहानगरपालिका २२ का ३५ वर्षीय नुरमोहम्मद किङ्गरिया, सोही स्थानका २८ वर्षीय दिनेश बासखोरी र २९ वर्षीय सरोश शाही रहेको प्रहरी निरीक्षक विष्टले उल्लेख गरे । उनले धेरै दिनको प्रयासपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको जानकारी दिँदै कार्यालय सुरु भएपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने बताए ।    'हामीले धेरै दिनदेखि पिछा गरिरहेका थियौँ र सुराक पनि परिचालन गरेका थियौँ, आज कारोबार गर्न लागेको समयमा पक्राउ गर्न सफल भयौँ', उनले भने । बाँकेमा दैनिकजसो प्रहरीले लागुऔषधमा संलग्न भएका व्यक्ति र कारोबारीलाई पक्राउ गर्दै आएको छ ।     

सुदूरपश्चिममा औलो सङ्क्रमण : निवारणको लक्ष्यप्राप्ति चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा औलोको ग्राफ पुनः बढ्न थालेको छ । निवारणको लक्ष्य नजिक पुगिसकेको अवस्थामा फेरि सङ्क्रमण बढ्दा स्वास्थ्य क्षेत्रमा गम्भीर चिन्ता र चुनौती थपेको छ । नेपालले सन् २०३० सम्म स्थानीय औलो (मलेरिया) शून्यमा झार्ने लक्ष्य लिएको भए पनि सुदूरपश्चिममा पछिल्लो अवस्थाअनुसार लक्ष्यप्राप्ति चुनौतीपूर्ण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशभर कुल तीन सय ८७ जनामा औलो पुष्टि भएको छ । तीमध्ये तीन सय ७३ आयातित र १४ स्थानीय (इन्डिजिनस) ‘केस’ रहेका छन् । यसले प्रदेशमा औलोको मुख्य स्रोत अझै बाह्य (आयातित) रहेको देखाउँछ, तर स्थानीयस्तरमै सङ्क्रमण देखिनु थप चिन्ताजनक पक्ष रहेको जानकारहरू बताउँछन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार हालै प्रदेशका विभिन्न स्थानीय तहमा १५ जना स्थानीय औलोका बिरामी फेला परेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–५ र परशुराम नगरपालिका–२, बैतडीको मेलौली नगरपालिका–२ र पञ्चेश्वर गाउँपालिका–२, कञ्चनपुरको बेलौरी नगरपालिका–२ तथा कैलालीको कैलारी गाउँपालिका–२ मा स्थानीय सङ्क्रमण देखिएको हो ।  जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी कैलालीमा दुई सय चार, कञ्चनपुरमा ५७, अछाममा ५१, डोटीमा ३१, बाजुरामा २२, डडेलधुरामा १२, बैतडीमा आठ र दार्चुलामा दुई जना औलोका बिरामी देखिएका छन् ।  'सीमावर्ती जिल्ला कैलाली र कञ्चनपुरमा औलो सङ्क्रमणाका बढी केस देखिनुले भारतसँगको खुला सीमा प्रमुख जोखिमका रूपमा देखिएको छ', अधिकृत जोशीले भने, 'विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्ड अनुसार कुनै देश वा क्षेत्रमा लगातार तीन वर्षसम्म स्थानीय औलो शून्य भए मात्र औलो निवारण प्रमाणपत्र प्राप्त हुन्छ । सो लक्ष्य नजिक पुगेको अवस्थामा सुदूरपश्चिममा देखिएको पुनः वृद्धिले समस्या पैदा गरेको छ ।' प्रजातिगत रूपमा औलो सङ्क्रमण अझ जटिल बन्दै गएको देखिन्छ । उपलब्ध विवरणअनुसार सुदूरपश्चिममा ‘प्लाज्मोडियम भाइभ्याक्स’का सबैभन्दा बढी तीन सय २८ बिरामी देखिएका छन् । सबैभन्दा खतरनाक र घातक मानिने ‘प्लाज्मोडियम फाल्सिपेरम’बाट प्रभावित बिरामी ५४ जना रहेका छन् ।  ‘प्लाज्मोडिम ओभल’बाट प्रभावित तीन जना बिरामी देखिएका छन् । 'यस परजीविबाट औलो सङ्क्रमित बिरामी विरलै भेटिने गरेका छन्', अधिकृत जोशीले भने, 'धेरैजसो अफ्रिकी मुलकमा पाइन्छन्, सुदूरपश्चिममा यसका केसहरु देखिनु यी बिरामी अफ्रिकी मुलकबाट आएका हुन सक्छन् ।' ‘प्लाज्मोडियम मिक्सड इन्फेक्सन’ भएका दुई जना बिरामी देखिएका छन् । एकभन्दा बढी औलोका परजीवीले एकै साथ आक्रमण गर्छन् भने त्यसलाई ‘मिक्स’ सङ्क्रमण भन्ने गरिन्छ ।  सुदूरपश्चिममा औलो पुनः बढ्नुका पछाडि बहुआयामिक कारणहरू छन् । 'आयातित औलोको समयमै पहिचान हुन नसक्नु, राज्यका सीमित स्रोतसाधनका कारण प्रभावकारी नियन्त्रण कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुनु र जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान हिमाली क्षेत्रसम्म विस्तार हुनु प्रमुख कारणका रुपमा रहेका छन्', अधिकृत जोशीले भने ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्र बमका अनुसार संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा अफ्रिकी मुलुक गएका सुरक्षाकर्मी तथा भारतका विभिन्न सहरमा मौसमी काम गरेर फर्किने श्रमिकमा आयातित औलो बढी देखिन्छ ।  आयातित औलोको समयमै पहिचान हुन नसक्नु, राज्यको सीमित स्रोतसाधनका कारण गहन तरिकाले औलो निवारण गतिविधि सञ्चालन हुन नसक्नु, जलवायु परिवर्तनका कारण लामखुट्टेको उपस्थिति तराइ, पहाड हुँदै हिमाली जिल्लासम्म पुग्नु र लामखुट्टे नियन्त्रणका लागि अत्याधुनिक साधन प्रयोग हुन नसक्नुले औलोको जोखिम बढ्दै गएको उनको भनाइ छ ।  'चुनौतीका बीच औलो नियन्त्रणका लागि पहल तीव्र पारेका छौँ । सुदूरपश्चिममा कीट विज्ञान प्रयोगशाला सञ्चालनमा रहेको छ, जहाँ लामखुट्टेको अध्ययन, कीट अनुसन्धानको कार्य निरन्तर रुपमा भइरहेको छ', उनले भने, 'कीटनाशकको प्रभावकारिता परीक्षण तथा अनुसन्धान कार्य भइरहेको छ, यसका साथै स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, निगरानी प्रणाली सुदृढीकरण, रणनीति कार्यान्वयन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।' स्वास्थ्य विज्ञहरूका अनुसार अबको प्राथमिकता आयातित केसहरूको कडाइका साथ निगरानी, सीमामा स्वास्थ्य जाँच सुदृढीकरण, स्थानीय तहमा सक्रिय खोजपड्ताल र जनचेतना विस्तार हुनुपर्छ । साथै, जलवायु परिवर्तनका असरलाई मध्यनजर गर्दै लामखुट्टे नियन्त्रणका आधुनिक प्रविधि प्रयोगमा ल्याउनु आवश्यक देखिन्छ । साथै नागरिक तहमा सचेतना अत्यन्त महत्त्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । झुलको नियमित प्रयोग, पानी जम्ने स्थान हटाउने, लामखुट्टेको टोकाइबाट बच्ने र ज्वरो आएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउने बानीले औलो नियन्त्रणमा ठूलो योगदान पु¥याउन सक्ने कञ्चनपुरको शुक्लाफाँटा स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्ट बताउँछन् । 'सुदूरपश्चिम प्रदेश औलो निवारण लक्ष्य नजिक पुगे पुनःजोखिमतर्फ उन्मुख देखिनुलाई चुनौतीका रुपमा लिनुपर्छ', उनी भन्छन्, 'समयमै प्रभावकारी कदम चाल्न सके औलोमुक्त नेपालको लक्ष्य हासिल गर्न सम्भव छ, तर ढिलाइ भएमा अहिलेको अवस्था ठूलो स्वास्थ्य सङ्कटमा रूपान्तरण हुन सक्छ ।' औलो मुख्यतया ‘एनोफिलिज’ जातका सङ्क्रमित लामुखुट्टेको टोकाइबाट सर्ने परजीवीका कारण हुने एक प्रकारको सरुवा रोग हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, नेपाल औलो निवारण उन्मुख अवस्थामा रहेको छ । विगत १० वर्षमा स्थानीय औलोका बिरामीको सङ्ख्यामा करिब ९० प्रतिशतले कमी आएको छ ।  हाल वार्षिक रुपमा स्थानीय औलोका बिरामीहरु ५० प्रतिशतभन्दा कममा सीमित भएका छन् । यद्यपि, यसलाई शून्यमा झार्न चुनौती छ । देशभरमा औलोका बिरामीको सङ्ख्या एक हजार १६४ रहेको छ, जसमा स्थानीय ३९ र आयातिति औलोबाट सङ्क्रमित एक हजार १२४ रहेका छन् । यसैबीच आज विश्व औलो दिवस २०२६ मनाइँदै छ । यसवर्षको औलो दिवसको नारा ‘औलो अन्त्य हाम्रो सङ्कल्पः सक्षम छौँ, छैन अब विकल्प’ भन्ने रहेको छ । रासस