प्रधानमन्त्री बालेनले अर्थमन्त्री वाग्लेको पहिलो विदेश भ्रमण रोके
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो विदेश भ्रमण अन्तिम समयमा रोकिएको छ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले अमेरिकाको वासिङ्टन डीसीमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को स्प्रिङ बैठकमा मन्त्रीस्तरीय सहभागिताको प्रस्ताव अस्वीकृत गरेको हो । उच्च स्रोतका अनुसार अर्थमन्त्री वाग्लेको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने प्रस्ताव पछिल्लो मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । अर्थमन्त्री वाग्लेसँग छलफल गरेर उनको सहमतिपछि उक्त प्रस्ताव मुख्यसचिव सुमन अर्यालले मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेका थिए । उनले देशको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन मन्त्रीस्तरीय उपस्थिति आवश्यक हुने धारणा समेत बैठकमा राखेका थिए । तर, प्रधानमन्त्री बालेनले उक्त प्रस्तावमाथि विस्तृत छलफल नगरी विदेश भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकार गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार बैठकमा भ्रमणसम्बन्धी विषय उठ्नासाथ प्रधानमन्त्रीले असहमति जनाउँदै प्रस्ताव अघि बढ्न नदिएका हुन् । चैत्र २२ गते सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वाग्लेको सहभागिता अनुमोदन नगरी अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव धनीराम शर्मालाई आईएमएफको स्प्रिङ बैठकमा पठाउने निर्णय गरेको बताएको छ । शर्माले अप्रिल १३ देखि १८ सम्म अमेरिकाको वासिंगटनमा हुने उक्त बैठकमा नेपालको प्रतिनिधित्व गर्ने छन् । शर्माले पनि उक्त बैठकमा नेपालको प्रतिनिधित्व आफूले गर्ने जानकारी दिए । उनले भने, ‘सरकारको निर्णय अनुसार उक्त बैठकमा नेपालको प्रतिनिधित्व मैले गर्दैछु ।’ यस निर्णयसँगै सरकारको अन्तर्राष्ट्रिय आर्थिक कूटनीतिमा मन्त्रीस्तरको प्रत्यक्ष सहभागिता नहुने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार प्रतिनिधिमण्डलले नियमित प्राविधिक सहभागिता भने जनाउनेछ । तर, उच्चस्तरीय राजनीतिक संवादको अवसर भने गुमाउनेछ ।
मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा बसेको बैठक अहिले सिंहदरबारमा जारी छ। सरकारका समसामयिक विषय, नीतिगत निर्णय तथा प्रशासनिक एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
बयानका लागि सम्पत्ति शुद्धीकरण विभाग पुगे सुलभ अग्रवाल
काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल बयान दिन सम्पत्ति शुद्धीकरण विभागको कार्यालय पुगेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले अग्रवाललाई बयानका लागि बोलाइएको जानकारी दिए । ‘बयानका लागि बोलाएका थियौं । उहाँ यहाँ आउनुभएको छ,’ ठाकुरले भने, ‘हामीले प्रहरीजस्तो पक्राउ गर्ने भन्ने हुन्न । बयान भइरहेको छ । कतिपयलाई बयान लिएर फिर्ता पनि पठाएका छौं ।’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेको छ ।
अनलाइन सट्टेबाजीका ७ हजार वेबसाइट र एपमाथि प्रतिबन्ध
काठमाडौं । सरकारले अनलाइन सट्टेबाजीविरुद्ध कडा कदम चाल्दै ७ हजारभन्दा बढी एप र वेबसाइटहरू बन्द गराएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरी त्यस्ता अवैध प्लेटफर्म र युआरएल (यूआरएल) हरू ब्लक गर्न लगाएको हो । यो कारबाही मन्त्रिपरिषद्को गत चैत १३ गतेको निर्णय र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाको चैत १५ गतेको निर्देशनका आधारमा अघि बढाइएको हो । मन्त्री तिमिल्सिनाले अवैध साइटहरू २४ घण्टाभित्र बन्द गर्ने नीति अनुरूप तत्काल कदम चाल्न निर्देशन दिएका थिए । पछिल्लो एक सातामा मात्र अनलाइन सट्टेबाजीसँग सम्बन्धित ५० भन्दा बढी गुनासाहरू प्राप्त भएको र ती सबैलाई प्राधिकरणले सम्बोधन गरिसकेको जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार नेपालमा सट्टेबाजी गर्नु वा गराउनु गैरकानुनी मानिन्छ । सट्टेबाजी गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । यसका साथै विज्ञापन ऐन, २०६६ ले पनि सट्टेबाजीसम्बन्धी कुनै पनि प्रकारको प्रचारप्रसार वा विज्ञापन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
नक्सालमा साढे ८१ करोडमा कुमारी बैंकको ११ तले हेड अफिस, ९० प्रतिशत सम्पन्न
काठमाडौं । कुमारी बैंकको नक्सालस्थित काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । बैंकका चिफ इन्भेष्टमेन्ट एण्ड मार्केटिङ अफिसर चन्दन कुमार कार्कीका अनुसार भवनको संरचनागत (स्ट्रक्चर) काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ भने हाल इन्टेरियर निर्माण कार्य भइरहेको छ । उनका अनुसार भवन निर्माणका लागि स्ट्रक्चर र इन्टेरियर कार्य अलग-अलग सम्झौतामार्फत अघि बढाइएको छ र दुवै कार्य निर्धारित समयमै भइरहेको छ । बैंकले आगामी १२ देखि १४ महिनाभित्र नयाँ भवनमा सर्ने लक्ष्य राखेको उनको भनाइ छ । सम्झौता अनुसार भवन निर्माणको कुल लागत ८१ करोड ५० लाख ५६ हजार रुपैयाँ रहेको छ । उक्त भवन करिब १ लाख वर्गफिट (६४ आना) क्षेत्रफलको जग्गामा निर्माण भइरहेको हो, जहाँ यसअघि पनि बैंकको कार्यालय सञ्चालनमा थियो । निर्माण सम्पन्न भएपछि सो भवनमा कुमारी बैंकको केन्द्रीय कार्यालयसहित विभिन्न शाखा कार्यालय र विभागहरू सञ्चालनमा आउनेछन् । साथै, बैंकले डिजिटाइजेशनमा जोड दिँदै सहायक कम्पनीहरूलाई पनि सोही भवनमा राख्ने योजना अघि सारेको छ । भवन ११ तले हुने जानकारी दिँदै कार्कीले वातावरणीय प्रभाव मूल्यांकन तथा अन्य आवश्यक स्वीकृतिहरू लिएर निर्माण कार्य गरिएको बताए । कंक्रिट, स्टील र ग्लास प्रयोग गरी निर्माण गरिए पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी काम गरिएको उनको भनाइ छ । हाल इन्टेरियरतर्फ करिब १० प्रतिशत प्रगति भएको छ भने तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न भई भवन पूर्ण रूपमा सञ्चालनमा आउने बैंकले जनाएको छ ।
सगरमाथामा ‘डायमक्स’ दुरुपयोगको समाचारप्रति एनएमएको आपत्ति, निष्पक्ष छानबिनको माग
काठमाडौं । नेपाल पर्वतारोही संघ (एनएमए) ले सगरमाथा आरोहणका क्रममा ‘डायमक्स’ नामक औषधीको दुरूपयोग गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्थामा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । औषधीको दुरुपयोग गर्दै पर्वतारोहीलाई समस्यामा पार्ने भन्दै प्रकाशित समाचारप्रति संघले आपत्ति जनाएको हो । एनएमएका अनुसार नेपाल दशकौंदेखि विश्वकै अग्रणी पर्वतारोहण गन्तव्यका रूपमा स्थापित रहँदै आएको छ र यस्ता अपुष्ट तथा नकारात्मक खबरले देशको अन्तर्राष्ट्रिय छवि प्रभावित पार्न सक्ने जोखिम बढेको छ । संघले विशेषगरी वसन्तकालीन आरोहण सिजन सुरु भइसकेको अवस्थामा यस्ता समाचारले पर्यटन उद्योगमा निर्भर हजारौं व्यवसायी, गाइड र श्रमिकको जीविकामा असर पार्न सक्ने जनाएको छ । ‘पर्वतारोहण हाम्रो उद्योग मात्र होइन, राष्ट्रिय गौरव, पहिचान र साहसको प्रतीक हो,’ विज्ञप्तिमा उल्लेख छ । नेपालका पर्वतारोहण कम्पनी र जनशक्ति निकै व्यवसायिक र इमान्दार रहेको भन्दै अफवाह नफैलाउन संघले आग्रह गरेको छ । उक्त विवरणबारे निष्पक्ष छानबिन गर्न संघले सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । ‘नेपालको पर्वतारोहण इतिहास निकै समृद्ध र सौम्य छ । पर्वतारोहण एक उद्यम मात्रै नभएर गर्वको प्रतीक हो । यस्ता कपोकल्पित सामाग्रीले नेपालको पर्वतारोहण क्षेत्रको इज्जत धुमिल गराउनुका साथै धेरैको रोजीरोटी गुम्छ,’ संघको विज्ञप्तिमा भनिएको छ । त्यस्तै, बीमा दाबी, हेलिकोप्टर उद्धार लगायत सेवामा पारदर्शिता र कडाइ आवश्यक रहेको औंल्याउँदै संघले नियमन प्रणाली सुदृढ गर्न सरकारलाई आग्रह गरेको छ ।
‘बजाज न्यू इयरको क्यूआर’ सार्वजनिक, १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । ‘अब क्युआर गरी क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत पुरस्कार जिताउने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले बजाजका आधिकारिक शोरुमहरू लगायत विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सन्जाल र अन्य जहाँसुकै राखिएको भएपनि क्यूआर कोड स्क्यान गरी गेम खेल्न सक्नेछन्। हरेक दिन सहभागीहरूमध्ये भाग्यशाली एक जना विजेताले स्मार्ट वाच जित्न सक्नेछन् । साथै बजाज खरिदकर्ताले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि पाउनेछन् । कम्पनीका अनुसार हालसम्म क्यूआर कोड मुख्यतः भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकहरूले सोही माध्यमबाट नगद जित्ने नयाँ र उत्साहजनक अनुभव लिन सक्ने कम्पनीले जनाएकाे छ । बजाजको यो क्युआर योजना देशभर रहेका बजाजका सबै आधिकारिक शोरुमहरूमा लागू हुनेछ । ग्राहकहरूले सो स्थानमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यस योजनामा सहभागी भई विभिन्न उपहारहरू जित्न सक्नेछन् । नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकहरूलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने कम्पनीको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ ।
सभामुखमा अर्याल निर्विरोध निर्वाचित, आजै शपथ
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन् । आइतबार (आज) बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । गत शुक्रबार सभामुख पदमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । सभामुख अर्यालको शपथग्रहण आजै हुँदैछ । आज दिउँसो साढे २ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन् । शपथ ग्रहणपश्चात अर्याल कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् । त्यसपश्चात अर्यालले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नेछन् ।