नयाँ वर्ष नजिकिँदै गर्दा चितवन र पोखराका होटलमा अकुपेन्सी बढ्यो, विदेशी पर्यटक आन्दोलनको मारमा
काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ साल सुरु हुन अब केही दिनमात्रै बाँकी छ । नयाँ सालमा काठमाडौं उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न पर्यटकीय स्थलहरूमा पर्यटकको चहलपल हुने गरेको छ । नयाँ साल लाग्न अझै केही दिन बाँकी भएकाले पर्यटकीय स्थलमा नयाँ वर्षको चहलपल सुरु भइनसकेको व्यवसायीहरू बताउँछन् । तथापि अहिले पर्यटकीय सिजन भएको हुँदा पर्यटकीय स्थलमा पर्यटकको राम्रै चहलपहल छ । ती क्षेत्रहरूमा नयाँ वर्षको चहलपहल सुरु भइसकेको छ । होटहलरूमा प्रि–बुकिङ सुरु भएको व्यवसायीहरूको भनाइ छ । नयाँ वर्षमा उपत्यकाको कुरा गर्दा एकदिन अघिदेखि चहलपहल सुरु हुन्छ । विशेषगरी ठमेल क्षेत्र र वसन्तपुरमा पर्यटकको बढी चहलपहल हुने गर्छ । उपत्यका आसपासका क्षेत्रहरू नगरकोट, धुलिखेलमा पनि नयाँ वर्षमा पर्यटकको चहलपहल बढी हुन्छ । पर्यटकीय क्षेत्र चितवन, लुम्बिनी, बन्दिपुर, सुकुटेमा पनि उस्तैउस्तै हुन्छ । पर्यटकीय स्थल पोखरामा पर्यटकको चहलपहल राम्रै रहेको त्यस क्षेत्रका व्यवसायीहरूको भनाइ छ । अहिले पोखरासम्म पुग्ने बाटोको सुविधामा पनि विगतको तुलनामा सुधार भएको हुँदा यस पटक पर्यटकको आगमनमा राम्रै वृद्धि भएको उनीहरू बताउँछन् । पोखरा अरू बेला पनि घुम्नको लागि पर्यटकको रोजाइ बन्दै आएको छ । नयाँ वर्षलक्षित घुम्न आउने पर्यटकहरू बढेसँगै होटलहरूको अकुपेन्सीमा पनि राम्रो सुधार भएको होटल व्यवसायीहरू बताउँछन् । अहिले त्यहाँको होटलको अकुपेन्सी ७० देखि ८० प्रतिशतसम्म रहेको छ । होटल संघ पोखराअन्र्तगतका होटलहरुले पर्यटकलाई आकर्षित गर्नलाई होटल बुकिङमा अहिले २० प्रतिशत छुटको व्यवस्था गरेको संघका निर्वतमान अध्यक्ष विकल तुलाचनले बताए । नेपाल पर्यटन बोर्डको सहकार्यमा संघले ‘जाऊँ है पोखरा’ अभियानसहित विभिन्न प्याकेजहरू ल्याएको छ । संघले ‘घुमघाम पोखरा’, ‘शैक्षिक भ्रमण पोखरा’ र ‘मधुमास पोखरा’जस्ता प्याकेजहरू पनि घोषणा गरेको निर्वतमान अध्यक्ष तुलाचनले बताए । नयाँ वर्षलाई लक्षित गरेर होटल संघ पोखराले आगामी चैत ३० गतेदेखि वैशाख १ गतेसम्म फेवा महोत्सव गर्दैछ । निवर्तमान अध्यक्ष तुलाचनका अनुसार नेपाली नयाँ वर्षलाई उल्लासमय बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले सांस्कृतिक झाँकीसहित महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा नेपाली खानाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने उनले बताए । यसबाहेक अन्य साना होटल तथा रेष्टुरेन्टहरुले पनि पर्यटकलाई आकर्षित गर्ने हिसाबले विभिन्न अफर सार्वजनिक गर्ने तयारीमा रहेको संघले जनाएको छ । चितवनको सौराहामा पर्यटकको चहलपहल बढ्दो छ । घुम्नका लागि आन्तरिक तथा विदेशी पाहुनाको संख्या बढ्दै होटलको अकुपेन्सीमा राम्रो सुधार भएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरीले बताए । अध्यक्ष गंगा गिरी अहिले होटलको अकुपेन्सी ७० देखि ८० प्रतिशतमा पुगेको बताउँछन् । अध्यक्ष गिरीका अनुसार अहिले होटलहरुमा प्रिबुकिङ सुरु भइसकेको छ । सौराहामा विशेषगरी विदेशीहरु ट्रेकिङको समयमा बढ्ने हुँदा त्यो बेला होटलको अकुपेन्सी पनि बढ्ने उनले बताए । विदेशीहरू ट्रेकिङको लागि आउने समयमा यहाँको होटलमा अकुपेन्सी बढ्न मद्दत पुग्ने उनको भनाइ छ । अहिले बुटवलको बाटोमा सुधार भएको कारण पर्यटकको संख्या बढ्न थालेको अध्यक्ष गिरी बताउँछन् । साथै रक्सोल क्षेत्रबाट आउने भारतीय पर्यटकको संख्यामा उल्लेखीय वृद्धि भएको उनको भनाइ छ । उनका अनुसार चाइनिज र आन्तरिक पर्यटकको आगमन राम्रो भएकोले अहिले चितवनका धेरै होटलहरु भरिभराउ रहेको छ । होटल संघ सौराहाले नयाँ वर्षलाइ लक्षित गरेर रुम रेटमा विशेष छुट दिएको छ । अहिले संघअन्तर्गतका होटलहरुले न्यूनतम ५५ सय पर्ने रुमलाई ४५ सयमा दिन थालेको छ । होटलहरूले यति प्रतिशत छुट भनेर घोषणा नगरेपनि केही न केही छुट होटलहरुले दिएको अध्यक्ष गिरीले बताए । सौरहामा नयाँ वर्ष लक्षित गरेर दुई÷तीनवटा कार्यक्रम हुँदैछन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) ले नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्दैछन् । रेवानले ३१ र १ गते सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिरहेको छ । अध्यक्ष गिरीले भने, ‘हामीले सांस्कृतिक थारुको झाँकी प्रर्दशन गर्दैछौं । चितवन थारु बस्ती र संस्कृतिको बाहुल्यता रहेको हुनाले त्यसकै प्रमोसनको लागि थारु खानालाई अगाडि सार्ने जमर्को गरेका छौं ।’ बर्दियामा छैन चहलपहल नयाँ वर्ष सुरु हुनैलाग्दा पर्यटकीय स्थल बर्दियामा भने कुनै चहलपहल नभएको क्षेत्रीय होटल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीले बताए । तथापि त्यहाँका होटल व्यवसायीहरूले नयाँ वर्षलक्षित कार्यक्रम, प्याकेज ल्याउने तयारी भने गरिरहेका छन् । अध्यक्ष चौधरीका अनुसार काठमाडौं, चितवन, पोखराजस्ता ठाउँबाट पर्यटक आउनको लागि गाडीको यात्रा निकै कठिनाइ भएकोले नयाँ वर्षलाई भनेर बाह्य पर्यटक निकै नै कम आउने गरेका छन् । त्यसमाथि अहिले देशका विभिन्न क्षेत्रमा भइरहेको आन्दोलनले विश्वमा राम्रो सन्देश प्रवाह हुन नसक्दा विदेशी पर्यटकको संख्यामा कमी आएको उनले बताए । गाडीबाट २५÷२६ घण्टा यात्रा गर्नुपर्ने, हवाइबाट यात्रा गर्न प्लेन टिकट महँगो हुँदा नयाँ वर्षमा टाढाबाट पर्यटक आउन नखोज्ने भएकाले बर्दियामा कुनै चहलपहल बढ्न नसकेको उनको भनाइ छ । अहिलेको अवस्थामाा होटल व्यवसायीहरू पनि नयाँ वर्ष आयो भनेर खासै उत्साहित नभएको उनले सुनाए । बर्दियाले यो वर्ष ‘भिजिट बर्दिया’ घोषणा गरेको छ । यसले पनि पर्यटक संख्या वृद्धिमा प्रभाव पार्न नसकेको अध्यक्ष चौधरीको बुझाइ छ । त्यस्तै, उनले खर्च गर्ने युवाहरू बाहिर हुँदा, टाढाको यात्रा गरेर पर्यटक आउन नखोज्ने, स्थानीय आफ्नै काममा व्यस्त हुँदा अहिलेको अवस्थामा चहलपहल बढ्न नसकेको सुनाए । अध्यक्ष चौधरीले भने, ‘अहिले तुलनात्मक रूपमा बर्दियामा पर्यटक घटेको छ । किनकि बाटोघाटो सजिलो छैन । कनेक्टिभिटीमा सुधार हुन सकेको छैन । लगानीकर्ताहरू उत्साहित हुनुपर्ने अवस्था अहिले छैन ।’ भारतीय पर्यटक भित्रिने सीमा नाकामा बस्ने नेपाली कर्मचारीले अनावश्यक दुःख दिने, अनुचित पैसा माग्ने गरेको गुनासो आउने गरेको हुँदा पर्यटकको संख्या झन् घट्न पुगेको उनको भनाइ छ । पर्यटकीय क्षेत्र भैरहवामा पनि पर्यटकको खासै चहलपहल नभएको क्षेत्रीय सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठले बताए । उनका अनुसार होटल बुकिङ पनि खासै छैन । उनले होटल बुकिङ खुलेपनि नयाँ वर्षको एक/दुई दिन अगाडि मात्रै बुकिङ बढ्ने सुनाए । अहिलेको अवस्थामा होटलको अकुपाइड २५ देखि ३० प्रतिशतको हाराहारीमा रहेको उनले बताए । अहिले पर्यटकीय सिजन हुँदा पहिलेभन्दा होटलको अकुपेन्सी बढे पनि सन्तोषजनक नभएको गुनासो उनको छ । नयाँ वर्षमा होटलको अकुपेन्सी ६० प्रतिशत बढ्न सक्ने अनुमान उनले गरे । अध्यक्ष श्रेष्ठका अनुसार नयाँ वर्षमा होटलहरूले होटल बुकिङमा २० प्रतिशतसम्म छुट दिने गरेका छन् । अहिले चहलपहल नभए पनि नयाँ वर्षको एकदिन अघिदेखि भने बुकिङ बढ्नेमा उनी ढुक्क छन् । नयाँ वर्षको अवसरमा होटल तथा रेस्टुरेन्ट संघले स्ट्रीट फुड फेस्टिभलको आयोजना गर्दैछ ।
सगरमाथाको चुचुरोमा ८ हजार बढीले पाइला टेके, कुन हिमालमा कति ?
काठमाडौं । पछिल्लो पाँच आर्थिक वर्षमा आरोही तथा सहयोगी समूह गरी २ हजारभन्दा बढी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एण्ड फिगर-२०२४’ का अनुसार सन् २०१९ देखि सन् २०२३ सम्ममा २ हजार ४२० जना सगरमाथा चढ्न सफल भएका हुन् । सन् २०१९ मा २८० आरोही र ३६४ सहयोगी गरी ६४४ जनाले सगरमाथा चढेका छन् । सन् २०२० मा एक जनाले पनि सगरमाथा चढेका छैनन् । त्यस्तै सन् २०२१ मा आरोही तथा सहयोगी समूह गरी कुल ४५९ जनाले सगरमाथा आरोहण गरेका छन् । जसमा १८३ आरोही र २७६ सहयोगी छन् । सन् २०२२ मा आरोही तथा सहयोगी शेर्पा समूह गरी ६ सय ५८ जना सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेका छन् । यसमा २४० आरोही तथा ४१८ सहयोगी छन् । सन् २०२३ मा २६८ जना आरोही र ३९१ सहयोगी समूह गरी कुल ६५९ जनाले सगरमाथा चढेको तथ्यांक छ । सगरमाथामा पहिलोपटक सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्ड नागरिक एडमण्ड हिलारीले पाइला राखेका थिए । पाँच आवमा सगरमाथा चढ्ने आरोही र सहयोगीको विवरण : ८ हजारभन्दा बढीले टेके सगरमाथा, ६ सयभन्दा बढी महिला सगरमाथा आरोहणको इतिहासमा हालसम्म ८ हजार २८५ स्वदेशी तथा विदेशी आरोहीले सफलतापूर्वक सगरमाथा चढेका छन् । विभागको तथ्यांक अनुसार सन् २०१० अघि २ हजार ७ सय सात जनाले सगरमाथामा पाइला राखेका छन् भने सन् २०१० देखि सन् २०२३ सम्ममा ५ हजार ५७८ जनाले सगरमाथाको चुचुरोमा पाइला राखेका छन् । हालसम्म सगरमाथा आरोहण गर्ने महिलामात्र ६ सय ४१ जना पुगेका छन् । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाएकी थिइन् । नेपालबाट भने पासाङल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन् । ८ हजारभन्दा माथिका कुन हिमालमा कति आरोही ? सगरमाथापछि सबैभन्दा बढी मनास्लु हिमालमा आरोहीले पाइला टेकेका छन् । उक्त हिमालमा सन् २०२३ सम्ममा ३ हजार २३ जना आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् । त्यसपछि लोत्से हिमालमा १ हजार १२४ जनाले सफलतापूर्वक हिमाल आरोहण गरेका छन् । विश्वको दोस्रो अग्लो शिखर हो कञ्चनजङ्घा । यो हिमाल ८ हजार ८५६ मिटर अग्लो छ । कञ्चनजङ्घामा सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । विश्वकै तेस्रो अग्लो शिखर भनेर सूचीकृत भएपनि कञ्चनजङ्घा क्षेत्रमा अपेक्षित रूपमा पर्यटकको संख्या बढाउन सकेको छैन । यो हिमालमा चढ्ने आरोहीको संख्या पनि अरू हिमालको तुलनामा न्यून छ । पर्यटन विभागको सन् २०२३ सम्मको तथ्यांकअनुसार ५८५ जनाले कञ्चनजङ्घा हिमाल चढेका छन् । मकालुमा ७४४, धौलागिरि हिमालमा ६८६, अन्नपूर्णमा ४८८, यालुङमा ५३ र चोयुमा १४ जना आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् ।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको कमी, प्रचारप्रसार र कनेक्टिभिटीको आवश्यकता
काठमाडौं । कञ्चनजङ्घा नेपालकै सबैभन्दा रमणीय र जैविक विविधताले भरिपूर्ण गन्तव्यमध्ये एक भए पनि पर्यटकहरूको संख्या अपेक्षित रूपमा बढाउन सकिएको छैन । कञ्चनजङ्घा क्षेत्रमा वार्षिक एक हजार पर्यटक पनि पुग्न समस्या छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा पाँच आर्थिक वर्षमा २ हजार ४४६ विदेशी पर्यटक पुगेको देखिन्छ । जबकि पाँच आवमा विश्वको अग्लो सगरमाथा क्षेत्रमा एक लाख ६६ हजार ८३६ विदेशी पर्यटक भित्रिएका छन् । सुरुवातदेखि २०२३ सम्म हालसम्म ५८५ जनाले आरोहीले कञ्चनजङ्घा हिमाल चढेका छन् भने सुरुवातदेखि २०२३ सम्म ८ हजार ८५ जना आरोहीले सगरमाथा चढेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा २०२१ मा सबैभन्दा कम विदेशी पर्यटक पुगेको देखिन्छ । उक्त वर्ष विश्वभर नै छाएको कोभिड-१९ ले गर्दा विदेशी पर्यटकको संख्या घट्न पुगेको हो । त्यस्तै, सन् २०२२ मा अघिल्लो वर्षभन्दा पर्यटकको संख्यामा केही सुधार देखिएपनि सोचेअनुसारको पर्यटक भित्रिएको देखिँदैन । सन् २०२३ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पुग्ने पर्यटकको संख्यामा केही सुधार छ । पछिल्लो आर्थिक वर्षमा कञ्चनजङ्घामा विगतका वर्षको तुलनामा पर्यटकको संख्या केही सुधार देखिएपनि साेंचेअनुसार बढ्न नसकेको यस क्षेत्रका सरोकारवालाहरू बताउँछन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको हालसम्म ८४९ पर्यटक कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पुगेका छन् । जसमा विदेशी पर्यटकमात्रै ८४६ जना छन् । आव २०८०/८१ मा कुल एक हजार ८५ पर्यटक कञ्चनजङ्घा पुगेका छन् । जसमा विदेशी मात्रै १ हजार १७ जना छन् । त्यस्तै, ३९ जना आन्तरिक पर्यटक पुगेका छन् । आव २०७९/७९ मा ७१३ जना कञ्चनजङ्घा संरक्षण क्षेत्र पुगेका छन् । जसमध्ये विदेशीमात्रै ६६१ जना छन् । कम प्रचार-प्रसार र कनेक्टिभिटीको समस्या कञ्चनजंघामा पर्यटकको संख्या बढाउन नसक्नुको मुख्य कारण त्यस क्षेत्रको प्रचारप्रसार गर्न नसकेको कारण औंल्याउँछन् नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्साल । ‘कञ्चनजङ्घाको बारेमा जति प्रचारप्रसार हुनपर्ने हो त्यो हुन सकेको छैन,’ उनले भने, ‘प्रचारप्रसार पर्याप्त गर्न नसक्दा पर्यटकीय सम्भावना बोकेको कञ्चनजङ्घा ओझेलमा परेको छ ।’ विश्वको अग्लो सगरमाथा हिमाल आफै प्रख्यात छ, त्यसैले उक्त हिमालको प्रचारप्रसार गर्न आवश्यक छैन । धेरैले विश्वकै अग्लो हिमाल चढेर नाम कमाउन चाहन्छन्, त्यसैले अन्य हिमालहरूको तुलनामा सगरमाथामा धेरै पर्यटक पुग्ने गरेका छन् । त्यसबाहेक सगरमाथाको दाँजोमा कञ्चनजङ्घा बढी महँगो र चढ्न समेत गाह्रो हुँदा आरोहीको रोजाइमा कञ्चनजङ्घाभन्दा सगरमाथा नै बढी रोजाइमा पर्ने गरेको महासचिव लम्साल बताउँछन् । उनी कम मूल्यमा सुरक्षित देश भ्रमण गर्न पर्यटक पुग्ने भएकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्ने औंल्याउँछन् । त्यस्तै, कञ्चनजङ्घाको अर्को समस्या हो कनेक्टिभिटी । हवाई, यातायात, सञ्चारजस्ता क्षेत्रमा यो क्षेत्रमा अझै पूर्ण रूपमा कनेक्टिभिटी बढ्न सकेको छैन । कञ्चनजङ्घा क्षेत्र पुग्नको लागि नियमित उडान हुँदैन । उडान भइहाले पनि सिधै त्यहाँ पुग्न सम्भव छैन । काठमाडौंबाट ताप्लेजुङसम्मको नियमित फ्लाइट हुन नसक्दा त्यहाँ पुग्ने पर्यटकले कि त विराटनगर कि भरतपुरको रुट हुँदै यात्रा गर्नुपर्ने हुँदा झन्झट छ । त्यस्तै महँगो टिकट । अहिले लुक्लासम्म पुग्न २ सय डलरसम्म पर्ने महासचिव लम्साल सुनाउँछन् । विश्वमा नेपालको हवाई उडान सुरक्षित छैन भन्ने सन्देश प्रवाह भइरहँदा पर्यटकको लागि सडक यातायात हुन सक्ने भएपनि नेपालमा यातायातको सुविधा पनि राम्रो छैन । यात्रुहरू पनि सडक यात्रा गर्न डराउने कारण पर्यटकीय रूपमा उत्कृष्ट ठाउँमा पर्यटक बढाउन समस्या रहेको महासचिव लम्सालको भनाइ छ । ‘नेपालमा पर्यटक आएन भनेर मात्रै के गर्ने, पर्यटकको संख्या बढाउन राज्यले पनि हवाई र बाटोलाई फोकस गर्नुपर्छ । नियमित उडान नहुँदा पर्यटकले दुःख पाइरहेका छन्, हामीले कम्तीमा काठमाडौंदेखि सुर्खेतसम्मको बाटो राम्रो बनाइदिनुपर्यो भनेर सुझाव दिइरहेका हुन्छौं, तर कार्यान्वयनको पाटोमा सरकार निकै फितलो छ ।’ कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले नियमित गर्ने कामहरू गरिरहेको छ । बाटोघाटोमा झोलुङ्गे पुल राख्नेदेखि, बाटो क्रसिङहरू राख्ने काम गरिरहेको छ । समृद्ध पहाडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव न्यौपानेले कञ्चनजङ्घा क्षेत्रको पूर्वाधार, खानेपानी, सञ्चारजस्ता क्षेत्रको विकासको लागि सरकारसँग नियमित पहल गर्दै आएको बताए । उनका अनुसार समृद्ध पहाडले विभिन्न क्याम्पिएन क्षेत्रहरूमा खानेपानीको परियोजना अघि बढाएको छ । उनका अनुसार राम्जेल (४ हजार ८०० मिटर) माथि पनि खानेपानीको प्रोजेक्ट गरिरहेको छ । त्यस्तै, विभिन्न होटलमा फोहर पानी स्यानिटेसनको लागि प्रभावकारी तरिका सिकाउँदै आएको उनले बताए । त्यस्तै, मोबाइल नेटवर्कका लागि नेपाल टेलिकमलाई अनुरोध गरिसकेको र इन्टरनेटको समस्या विस्तारै समाधान हुँदै जाने सीईओ न्यौपानेको भनाइ छ । ‘नेपाल टेलिकमसँग कनेक्टिभिटीका लागि मोबाइल नेटवर्क बनाउन आग्रह गरेका छौं । अहिले हुल्सासम्म थ्रीजी नेटवर्क पुगेको छ । त्यस्तै, वर्ल्डलिंकलाई पनि उक्त क्षेत्रमा ब्रोडब्यान्ड सर्भिस, फाइबर कहाँसम्म लिएर जान सकिन्छ भनेर सहकार्य गरिरहेका छौं,’ उनले भने । सीईओ न्यौपानेका अनुसार दुई हप्ताअघि कञ्चनजङ्घा क्षेत्रभित्रका स्थानीय १० जना युवालाई वर्ल्डलिंकले काठमाडौंमा प्राविधिक तालिम दिएर पठाइएको थियो । उनीहरू लाई इन्टरनेट जोड्ने बेलामा प्रयोग गर्न सकिने उनले सुनाए । सीईओ न्यौपानेका अनुसार यति कार्यक्रम मात्रै कञ्चनजङ्घा क्षेत्रको लागि पर्याप्त नभएको हुँदा केन्द्रीय सरकार, पर्यटन बोर्डले नयाँ कार्यक्रम ल्याउन पहल गरिरहेको छ । पर्यटन बोर्डले एकपटक आयोजना गरिने कार्यक्रममा बजेट नछुट्याए पनि रणनीति हिसाबले वार्षिक बजेटमा कञ्चनजङ्घाको लागि केही न केही कार्यक्रम छुट्याउनुपर्ने बताउँछन् । उनले भने, ‘वार्षिक बजेटमा पर्यटन बोर्डले बजेट नै छुट्याएर कार्यक्रम गर्नुभयो भने प्रभावकारी हुन सक्छ । उदाहरणको लागि त्यहाँको बाटो, पुल पुनः निर्माण गर्न, होटलको क्षमता वृद्धि तालिममा फोकस कार्यक्रम ल्याउनुपर्छ । यस्ता कार्यक्रम ल्याउनुहुन्छ कि भन्ने हाम्रो अपेक्षा छ ।’ ७० औैं वार्षिक उत्सव मनाउने तयारीमा कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण भएको ७० औं वर्ष पुगेको उपलक्ष्यमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले तीन दिने विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रमको मुख्य आयोजकमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र सहआयोजकमा समृद्ध पहाड, नेपाल पर्वतारोहण संघलगायत विभिन्न संघसंस्था छन् । वार्षिक उत्सव मनाउनुको मुख्य उद्देश्य कञ्चनजङ्घा आरोहणका विविध आयामहरूको नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार गरी अन्तर्राष्ट्रिय पर्वतारोहीहरूका लागि सुरक्षित, दिगो, र उत्तरदायी र आकर्षक बनाउने रहेको आयोजकले जनाएको छ । कार्यक्रम आयोजकका अनुसार अप्रिल २४ मा काठमाडौंमा अर्को विशेष कार्यक्रमको आयोजना हुने छ । यस कार्यक्रमले स्थानीय समुदाय, विभिन्न संघसंस्था र विभिन्न सरोकारवाला निकायलाई एकसाथ जोडिन मद्दत पुग्ने आयोजकले जनाएको छ । पर्वतीय पर्यटनको प्रवर्द्धन, हिमालको संरक्षण, ऐतिहासिक उपलब्धिको कदर, स्थानीय समुदायको समृद्धि, र दिगो पर्वतारोहण प्रचार-प्रसार एवं रणनीति विकासजस्ता उद्देश्य यो कार्यक्रमको रहेका छन् । त्यस्तै, यस उत्सवले कञ्चनजङ्घा क्षेत्रको अलौकिक सुन्दरता, जैविक विविधता एवं पर्वतीय पर्यटनको सम्भावनालाई विश्व समुदाय समक्ष पुर्याउन मद्दत पुग्ने छ । हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, जलवायु परिवर्तनले कञ्चनजङ्घा हिमाल र आसपासका क्षेत्रहरूमा पारेका असरबारे सचेतना जगाउने, शेर्पा, लिम्बू, राई लगायतका स्थानीय समुदायहरूको पर्वतीय पर्यटनमा योगदानलाई सम्मान गरी स्थानीय परम्परा एवं सांस्कृतिक महत्वलाई प्रचार-प्रसार गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका थिए । यो हिमाल ८ हजार ८५६ मिटर अग्लो छ ।
नियमविपरीत धमाधम सञ्चालन हुँदैछन् क्यासिनो, नवीकरण नगरेरै बिजनेस
काठमाडौं । जुवा खेलाउन दर्ता भएका जुवा घर (क्यासिनो) ले नवीकरण दस्तुर नतिरीकनै सञ्चालन गर्ने गरेको खुलेको छ । पर्यटन विभागका अनुसार रक इन्टरनेशनलसहित एक दर्जनभन्दा बढी क्यासिनोले नवीकरण नगरिकनै क्यासिनो सञ्चालन गरिरहेका छन् । नवीकरण दस्तुर नतिर्ने क्यासिनोमा रक इन्टरनेशनल, ह्यापी आवर, भेन्यु क्रियसन, स्माइल क्यासिनो, सिएमजीलगायत छन् । विभागका अनुसार एक वर्षअघि (असार मसान्तसम्म) मा नवीकरण गरेकोले मात्रै क्यासिनो सञ्चालन गर्न पाउने प्रावधान छ । तर रकम नतिर्ने अधिकांश क्यासिनो अदालतको आदेशमा सञ्चालन भइरहेको विभागका सूचना अधिकारी लीलाधर अवस्थीले बताए । ऐनअनुसार ठूला क्यासिनोले इजाजत दस्तुर २ करोड ५० लाख रुपैयाँ, नवीकरण दस्तुर १ करोड २५ लाख रुपैयाँ र रोयल्टी पाँच करोड रुपैयाँसम्म तिर्नुपर्छ । त्यस्तै, साना क्यासिनोले इजाजत दस्तुर एक १ करोड रुपैयाँ, नवीकरण दस्तुर ५० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । पर्यटन विभागका अनुसार काठमाडौंको लाजिम्पाटमा सञ्चालित रक इन्टरनेशनलले विगत ११ वर्ष (२०७० साल) देखि नवीकरण दस्तुर नतिरिकनै निर्वाध रूपमा क्यासिनो सञ्चालन गरिरहेको छ । रक इन्टरनेशनलले चार ठाउँमा क्यासिनो सञ्चालन गरिरहेको पाइएको छ । रक इन्टरनेशनको मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा छ । त्यसैले गर्दा पनि उक्त क्यासिनोले निर्वाध रूपमा नवीकरण दस्तुर नतिरिकनै क्यासिनो सञ्चालन गरिरहेको हो । क्यासिनोले विभागमा नवीकरण नगरेपनि सरकारी खातामा भने रोयल्टी जम्मा गर्ने गरेको पाइएको सूचना अधिकारी अवस्थी बताउँछन् । रक इन्टरनेशनलले चालु आवमा ३ करोड १६ लाख रकम सरकारी खातामा जम्मा गरेको छ । काठमाडौंमै सञ्चालित ह्याप्पी आवरले पनि २०७१ सालदेखि बिना नवीकरण चार ठाउँमा क्यासिनो सञ्चालन गर्दै आएको छ । उक्त क्यासिनो पनि अदालतको अन्तरिम आदेशअनुसार नवीकरण नगरिकनै विगत ११ वर्षदेखि सञ्चालन हुँदै आएको छ । विभागमा नवीकरण हुन नआए पनि ह्यापी आवरले चालु आवमा २ करोड ४० लाख रुपैयाँ सरकारी खातामा रकम जम्मा गरेको पाइएको छ । त्यस्तै, सेन्ट्रल मिडिया प्रालिले २०७८ पछि नवीकरण नगरिकनै क्यासिनो सञ्चालन गर्दै आएको विभागले जनाएको छ । विराटनगरस्थित होटल रत्नले सञ्चालित रत्न सर्भिसेसले यो वर्षमा नवीकरण गर्न बाँकी छ । त्यसैगरी, नेपालगञ्ज होटल स्टारलाइटबाट सञ्चालित भेन्यु क्रियसनले पनि यो आवमा नवीकरण नगरी क्यासिनो सञ्चालन गरिरहेको छ । त्यस्तै, विरगञ्जमा सञ्चालित स्माइल मिनी क्यासिनोले पनि नवीकरण नगरी क्यासिनो सञ्चालन गरिरहेको छ । कुन क्यासिनोले कति तिरे रोयल्टी ? क्यासिनो सञ्चालन गरेबापत क्यासिनो सञ्चालकहरूले पहिलो किस्ता बापत पुस मसान्तसम्ममा तिर्नुपर्ने कुल रोयल्टीको ४० प्रतिशत रकम बुझाइ सक्नुपर्छ । त्यस्तै, चैत्र मसान्तसम्ममा ३० प्रतिशत र असार मसान्तसम्ममा सबै रकम चुक्ता गर्नुपर्ने हुन्छ । कसैले पहिलो किस्ता बुझाउँदा पुरै रकम बुझाउन सकिने व्यवस्था रहेको विभागले जनाएको छ । चालु आव २०८१/८२ को पुस मसान्तसम्ममा सञ्चालनमा रहेका डेढ दर्जन क्यासिनोले सरकारलाई ३३ करोड रूपैयाँभन्दा बढी रोयल्टी बुझाएका छन् । पर्यटन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको पुससम्ममा क्यासिनोबाट सरकारले ३२ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो क्यासिनो कम्पनीहरूले पुस मसान्तसम्ममा बुझाएको रोयल्टी रकम हो । पर्यटन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार काठमाडाैंस्थित द मल्ल होटलमा सञ्चालनमा रहेको बेल्लिज नेपाल प्रालिले २ करोड रुपैयाँँ रोयल्टी सरकारलाई बुझाएको छ । एभरेष्ट हस्पिटालिटीद्वारा सञ्चालनमा रहेको डेल्टीन नेपाल प्रालि २ करोड रुपैयाँ रोयल्टी तिरेको छ । सोल्टी होटलले सञ्चालन गरेको माजोङ इन्टरनेशनल, होलट अलुुप्ट परिसरमा सञ्चालनमा रहेको बाल्डो डायनेस्टी, होटल मेचि क्राउनमा सञ्चालित भेगस रिक्रिएसन, होटल टाइगर वान परिसरमा सञ्चालनमा रहेको रोयल टाइगर क्रिएसन, तारागाउँ रिजेन्सी होटल परिसरमा सञ्चालित प्राइड इन्टरटेन्टमेन्टले २ करोड रुपैयाँको रोयल्टी दस्तुर बुझाएका छन् । यस बाहेक सोल्टी शिव विक्रम होटल तथा रिसोर्टमा सञ्चालित इम्पेरियल इन्टरटेन्टमेन्टले चालु आवको लागि १ करोड २५ लाख नवीकरण दस्तुर बुझाएका छन् । निर्भाना लक्जरी इन्टरनेशनलले नवीकरण दस्तुर बापत ५० लाख रुपैयाँ र रोयल्टी बापत १ करोड ५० लाख रुपैयाँ बुझाएको छ । पुस मसान्तसम्म बुझाएको रोयल्टी नियमविपरीत क्यासिनो सञ्चालन धेरै होटलमा विभागको नियमविपरीत क्यासिनो सञ्चालन हुँदै आएको छ । क्यासिनो नियमावली २०७० अनुसार कम्तीमा पाँच तारे होटल वा सो स्तरको डिलक्स रिसोर्टको सञ्चालकले आफ्नो परिसरमा क्यासिनो सञ्चालन गर्न पाउने सकिने व्यवस्था छ । तर आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्रै खेलाइने खेलको हकमा कम्तीमा चार तारे होटलमा सञ्चालन गर्न पाउने नियममा उल्लेख छ । तर, तारे होटल बाहेकमा पनि क्यासिनो सञ्चालन हुँदै आएको छ । क्यासिनो नियमावली २०७० को परिच्छेद ३ को १८ अनुसार नेपाली नागरिकलाई क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाइने उल्लेख छ । तर, क्यासिनोभित्र नेपाली नागरिकले पनि प्रवेश गर्ने खेल्ने गरेको पाइएको छ । क्यासिनो सञ्चालनसँग सम्बन्धित कर्मचारी, सुरक्षा निकायका कर्मचारी, मन्त्रालय, राजश्व अनुसन्धान विभाग, उद्योग विभाग वा कम्पनी रजिस्ट्र्रारको कार्यालयले अनुगमन, अनुसन्धानको लागि खटाइएको हकमा भने यो नियम लागू हुँदैन ।