पुरानालाई निकास देऊ, नयाँ पुँजी भित्र्याऊ
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सरकार र राष्ट्र बैंकलाई सहयोग गर्ने उद्देश्यसहित समग्र बैंकिङ तथा अर्थशास्त्रीय क्षेत्रमा अनुसन्धानमा आधारित कामलाई प्राथमिकता दिँदै आएको छ । विभिन्न समयमा देखिने आर्थिक तथा बैंकिङ अवस्थाको वास्तविक विश्लेषणदेखि सरकारलाई आवश्यक मार्गदर्शन गर्नेसम्मका विषयमा हामी सुधारात्मक ढंगले काम गरिरहेका छौं । अब संस्थागत रूपमा मुद्दा उठाउनेमा मात्र सीमित नभई समाधान र सुधारका क्षेत्रमा थप योगदान गर्ने दिशामा सिबिफिन अघि बढ्न चाहन्छ । बैंकिङ क्षेत्र विगतको तुलनामा केही अप्ठ्यारो अवस्थामा पुगेको देखिन्छ । तर, यो अवस्था अन्तिम होइन र बैंकिङ क्षेत्र उठ्नै नसक्ने गरी थलिएको पनि होइन । अर्थतन्त्रले साथ पायो र आवश्यक समय उपलब्ध भयो भने बैंकिङ क्षेत्र फेरि तंग्रिएर बलियो रूपमा अघि बढ्न सक्छ । नेपालको अर्थतन्त्रमा कुनै संरचनागत वा क्षेत्रगत रूपमा क्षति भएको अवस्था छैन । समयमा आवश्यक स्थायित्व प्राप्त गर्न नसक्नु, उत्पादनशील क्षेत्रमा पर्याप्त रूपमा जान नसक्नु, श्रम पलायनलगायत विभिन्न कारणले अहिलेका केही समस्या देखिएका हुन् । त्यसैले अहिले देखिएका समस्यालाई आधार बनाएर बैंकिङ क्षेत्र नै संकटमा परिसक्यो वा अब सुधार हुन सक्दैन भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन । सार्वजनिक रूपमा बनिरहेको यस्तो भाष्यलाई तथ्य र वास्तविकताका आधारमा चिर्न आवश्यक छ । बैंकिङ क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण आधार हो । बैंकिङ क्षेत्र कमजोर हुँदा त्यसको प्रत्यक्ष प्रभाव समग्र अर्थतन्त्रमा पर्छ । त्यसैले बैंकिङ क्षेत्र कमजोर भइसकेको होइन, सही बाटो समात्न सक्यौं भने यसलाई पुनः बलियो बनाउन सकिन्छ भन्ने विश्वास सरोकारवाला सबैमा स्थापित गर्नुपर्छ । एक अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा नेपालका समस्याबारे छलफल हुँदा नेपालमा अवसर के छ भनेर प्रश्न गरिएको थियो । मैले नेपालमा अवसर नभएको एउटा क्षेत्र देखाइदिनुस्, त्यसपछि मात्र कुरा गरौं भनेको थिएँ । वास्तवमा नेपालमा अवसर नभएको क्षेत्र भेट्न कठिन छ । समस्या अवसरको अभावमा होइन, उपलब्ध अवसरलाई सही समयमा सही ढंगले बुझ्न र उपयोग गर्न नसक्नुमा छ । आज हामीसँग केही गरौं भन्ने सोचसहितको सरकार छ र सबै पक्ष सुधारका लागि अघि बढ्न तयार छन् भने सही बाटो समातेर अर्थतन्त्रलाई पुनर्जीवित गर्न सकिन्छ । नेपालसँग अवसरको कमी छैन । सरकारले पनि दीर्घकालीन रूपमा सही दिशामा अघि बढ्नुपर्छ । विगतमा हामीले आयातमा आधारित अर्थतन्त्र निर्माण गर्यौं । त्यसको दीर्घकालीन प्रभाव अहिले देखिन थालेको छ । अब त्यसलाई परिवर्तन गर्ने दिशामा काम गर्नुपर्ने समय आएको छ । कुनै कुनै देशमा कुनै क्षेत्र नराम्रोसँग थलिएका कारण अर्थतन्त्र फसेको अवस्था छ । हाम्रोमा त्यस्तो केही पनि छैन । हाम्रो अर्थतन्त्रमा अवसर छ, हाम्रो अर्थतन्त्र पुनर्जीवित हुन सक्छ र बैंकिङ क्षेत्र राम्रो क्षेत्र हो । तर, अहिलेको तथ्यांक र आँकडा हेर्नुभयो भने बैंकिङ क्षेत्र अप्ठ्यारोमा छ भन्ने देखिन्छ । त्यो जरो आएको जस्तो हो । त्यसलाई हामी पुनर्उत्थानका गर्न सक्छौं, सुधार गर्न सक्छौं । यस्तो भन्दै जाँदा हामी कहिलेकाहीँ हतोत्साहित पनि भइहाल्छौं । अहिले प्रदर्शकहरुले अथवा सेयरधनीहरूले उचित प्रतिफल पाएका छैनन् । तर, सार्वजनिक रुपमा लगानीकर्ताले अर्बौं कमाए, बैंकले हामीलाई लुट्यो, दुःख दियो भन्ने गरिन्छ । तर, प्रदर्शकहरुले हामीले कमाउन सकेनौं, अरु क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो भन्छन् । राष्ट्र बैंकबाट अनुमति नदिएसम्म बाहिरिन पनि दिँदैन र प्रतिफल पनि नपाउने गुनासो प्रवर्द्धकहरुको छ । अन्य क्षेत्रको अवसर पनि लगानीकर्ताले २५-३० वर्षसम्म नपाउने अवस्था छ । नयाँ पुँजी, नयाँ सोच र नयाँ दृष्टिकोण आउनुपर्छ । पुराना प्रवर्द्धकलाई निस्किने बाटो दिनुपर्छ भन्ने हाम्रो माग रहेको छ । यसले अर्थतन्त्र चलायमान हुन्छ, पुँजीको प्रवाह हुन्छ । हामीले रोकेर बस्नु हुँदैन । ऐनमा पनि स्पष्टता चाहिएको छ । कुनै सानोतिनो त्रुटिका कारण राष्ट्र बैंकले सचेत गराएको अवस्थामा पनि अयोग्य हुने हो भने त्यो डरको माहोलमा काम गर्न अलिकति अप्ठ्यारो हुन्छ । त्यसमा सुधार गर्नुपर्छ । साथै कर सुधारका विषयलाई पनि समेट्नुपर्छ । अनि कर्जा नोक्सानी व्यवस्थामा पनि सुधार गर्न जरुरी छ । अहिलेको अर्थतन्त्रको अवस्थामा ५ प्रतिशतभन्दा बढी प्रोभिजनिङ गर्याे भने कर लाग्ने गरेको छ । यदि बैंकको आफ्नै अक्षमताका कारण नभई समग्र अर्थतन्त्रमा परेको प्रभावका कारण यस्तो अवस्था आएको हो भने ५ प्रतिशतभन्दा माथिको कर हटाउनुपर्छ भन्ने हाम्रो माग हो । पुस मसान्तसम्म सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने भनिएको छ । तर, त्यस्को विषयमा हालसम्म डेभलपमेन्ट अथवा छलफल सुरु भएको छैन । अब त्यो विषयमा छलफल गर्ने समय भइसकेको छ । त्यसले बैंकहरुको अहिले देखिएको अवस्थालाई सम्बोधन गर्न सक्छ । सम्पत्ति व्यवस्थापन गर्न पाउने वातावरण भयो भने अझ राम्रो परिणाम आउन सक्छ । भोटेकोशीमा अप्रत्याशित रूपमा आएको बाढीबाट बैंकहरुलाई पनि घाटा भएको छ । त्यसमा परेका ऋणीहरुलाई परेको असर र व्यक्तिगत रूपमा उनीहरुको सुरक्षाको विषयलाई पनि हेर्नुपर्छ । ऋणीहरुको भुक्तानी क्षमता र सम्पत्तिको मूल्यांकन गरेर राष्ट्र बैंक र बैंक मिलेर उचित व्यवस्था गर्नुपर्छ । बैंक सेयरधनीको होइन, निक्षेपकर्ताको हुन्छ भन्ने एउटा अध्ययन चलिरहेको छ । बैंकले निक्षेपकर्तालाई पैसा फिर्ता गर्नैपर्छ । निक्षेपकर्तालाई बैंकले कुनै एउटा शाखा ध्वस्त भयो, अब तपाईँको निक्षेप पनि गयो, निक्षेप पाउन सकिदैँन भन्न मिल्दैन । तर, बैंकको ऋणीलाई केही अप्ठ्यारो परेको छ भने त्यो बैंकको नोक्सानी हो । बैंकसँग धेरै सम्पत्ति छ, जुन सरकारको अधिकारमा पर्ने सम्पत्ति पनि हुन सक्छन् । त्यस्ता सम्पत्तिमा आधारित कर्जा खराब भएको अवस्थामा बैंकले लिलामी गर्यो भने त्यसको अवस्था के हुने भन्ने विषय पनि महत्त्वपूर्ण छ । यसैसँग सम्बन्धित एउटा घटना आएको छ । यसमा पनि सायद सकारात्मक रूपमा समाधान होला भन्ने आशा गरेका छौं । यसले पनि हामीलाई कहिलेकाहीँ हतोत्साहित बनाउँछ । तर, हामी बैंकरहरु हतोत्साहित हुने अवस्थामा छैनौं । जलविद्युत् र जलवायु जोखिमसम्बन्धी विषयमा पनि ध्यान दिनुपर्छ । जति पनि वातावरणसम्बन्धी कोषहरु छन्, उहाँहरुसँग पनि हाम्रो छलफल चलिरहन्छ । परियोजनाहरू ठूलठूला हुन थालेका छन् । त्यसमा वातावरणीय र सामाजिक पक्ष हेर्नुपर्छ भन्ने विषयमा हामीले छलफल गरिरहँदा बाढी आयो । बाढीपछि नेपालमा कसैले पनि फण्ड ल्याउँदैन भन्ने लागेको थियो । हाम्रो विकासमै धक्का लाग्ने हो कि भन्ने चिन्ता थियो । तर, सरप्राइज रूपमा उनीहरुबाट आएको सन्देश के थियो भने विकास रोक्ने होइन, सही तरिकाले काम गर्नुपर्छ । हिजोसम्म हाम्रो आवश्यकता कम थियो, अब बरु हामी अझ प्रतिबद्ध छौं । हामी नेपालमा अझ प्रतिबद्ध भएर छौं, भाग्ने होइनौं भन्ने सन्देश उनीहरुबाट आएको छ । यहाँ एउटा सन्देश के छ भने जलविद्युत् अथवा कुनै पनि विकास निर्माणको कामलाई यदि हामीले ध्यान पुर्याएर गर्छौं भने प्रविधि छ, त्यसको वैज्ञानिक आधार छ र समयमा गर्नुपर्ने कामहरु गरियो भने हामी गर्न सक्छौं । त्यसैले बैंकहरुको भविष्यका लागि हुने वृद्धिमा पनि यसको कुनै समस्या आउँछ अथवा हामी कमजोर हुनुपर्ने अवस्था छैन । वातावरणमैत्री ऊर्जाका लागि राम्ररी काम गर्नुपर्छ । त्यसमा बैंकहरुले थप जनशक्ति र प्रविधि ल्याएर काम गर्यो भने अझ राम्रो परिणाम निकाल्न सकिन्छ । अहिलेका सेयरधनीहरु २०-३० वर्षदेखि बसिरहेका छन् । उनीहरुलाई अर्को क्षेत्रमा जानुपर्ने हुन सक्छ, अरु कामका लागि पनि पैसा चाहिन सक्छ । उनीहरुलाई पनि बाहिरिने अवसर दिनु भनेको एउटा प्रक्रिया राखेको हो । तर, हामीले एउटा कुरा के पनि हेर्नुपर्छ भने हामी एकातिर एक खर्ब डलरको अर्थतन्त्र बनाउने कुरा गर्दैछौं । एक खर्ब डलरको अर्थतन्त्र बनाउने हो भने भोलि बैंकको पनि आकार ठूलो हुनैपर्छ । बैंकले सहयोग नगरेसम्म अर्थतन्त्र बढ्दैन । त्यो अर्थतन्त्रमा इक्विटी आउनैपर्छ, पुँजीको आवश्यकता हुन्छ । पुँजी तब आउँछ, जब प्रतिफलमा आकर्षण हुन्छ । अहिलेको अवस्थामा हामीले वृद्धि खोज्ने, अर्कोतर्फ सेयरधनीले अन्य अवसरमा राम्रो प्रतिफल पाउँछ भने बैंकिङ क्षेत्रमा त्यो पैसा आउन अप्ठ्यारो हुन्छ र त्यसले हाम्रो भोलिको वृद्धिलाई पनि नियन्त्रण गर्छ । यसलाई मध्यनजर गरेर अहिले नै सुधार गर्दै लग्यौँ भने सही समयमा सही पुँजी बैंकिङ क्षेत्रमा प्रवेश गर्छ । नभए समूहको अपेक्षा एकातिर हुने, लगानीकर्ता अर्कोतिर दौडिन खोज्ने र बैंकिङ क्षेत्रले सहयोग नगरेसम्म अर्थतन्त्र अगाडि बढ्न नसक्ने अवस्था आउन सक्छ । त्यसकारण सन्तुलनको हिसाबले जानुपर्ने हुन्छ । सेयरधनीले कमायो, तिमीलाई के फरक पर्यो भन्ने हिसाबले मात्रै हुँदैन । यो सेयरधनीले मागेको कुरा मात्र होइन, अर्थतन्त्रले मागेको विषय हो । (बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का महासचिव र एनएमबि बैंकका अध्यक्ष हुन् ।)