सिंहको काँधमा पत्रकार महासंघ बझाङको जिम्मेवारी
काठमाडौं । नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्षको जिम्मेवारी पत्रकार ललितबहादुर सिंहले सम्हालेका छन् । महासंघ बझाङ शाखाको कार्यालयमा आयोजित कार्यक्रमबीच सिंहले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् । नेपाल पत्रकार महासंघ बझाङ शाखाका निवर्तमान अध्यक्ष डिबी. बिष्टको कार्यकाल समाप्त भएपछि नेतृत्व हस्तान्तरण गरिएको हो । यसअघि सम्पन्न महासंघको निर्वाचनमा बिष्ट र सिंहले समान मत प्राप्त गरेका कारण आपसी सहमतिअनुसार कार्यकाल आधाआधा बाँड्ने निर्णय भएको थियो । सोही सहमतिअनुसार अब सिंहले बाँकी कार्यकाल नेतृत्व गर्ने भएका छन्। नवनियुक्त अध्यक्ष सिंह लामो समयदेखि पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । सिंहले भने, ‘पत्रकारहरूको दुःख–सुखमा साथ दिँदै आएको छु, अब थप जिम्मेवारी पाएको छु, मेरो कार्यकालमा पत्रकारको हितमा रहेर काम गर्नेछु ।’ प्रेस स्वतन्त्रता, पत्रकार अधिकार तथा लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणमा सक्रिय सहभागिता जनाउँदै आएका उनले पत्रकारितामा नयाँ आयाम स्थापित गर्न निरन्तर प्रयास रहने बताएका छन् । जिल्लाका दुर्गम बस्तीमा समस्यामा परेका नागरिकलाई सहयोग पु¥याउनेदेखि विकास निर्माणका विषयमा राजनीतिक दल, जनप्रतिनिधि र सरकारी निकायबीच समन्वय गरी विकासको कार्यदिशा तय गर्नसमेत उनले भूमिका खेलेको स्थानीय सञ्चारकर्मीहरू बताउँछन् । पदभार ग्रहणपछि बोल्दै अध्यक्ष सिंहले पत्रकारहरूको हकहित, पेशागत सुरक्षा र संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पत्रकारिता क्षेत्रको विकासका लागि केवल भाषण र प्रतिबद्धताभन्दा पनि व्यवहारिक काम आवश्यक रहेको उल्लेख गर्दै आफूले परिणाममुखी कार्यशैली अपनाउने बताए । ‘पत्रकारहरूको अधिकार, पेशागत मर्यादा र संस्थागत सुदृढीकरणका लागि नियम र विधानभित्र रहेर काम गर्नेछु,’ सिंहले भने, ‘पत्रकारिताको विकासका लागि बोलेरभन्दा काम गरेर देखाउने मेरो प्रयास हुनेछ ।’ कार्यक्रममा सहभागी पत्रकारले सिंहको नेतृत्वमा नेपाल पत्रकार महासंघ बझाङ शाखा अझ सशक्त, सक्रिय र पत्रकारहरूको साझा संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि तथा प्रेस स्वतन्त्रताको पक्षमा महासंघले थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा पनि व्यक्त उनीहरुको छ ।
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी दलको माग
काठमाडौं । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन मंगलबार (आज) पुनः माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको प्रारम्भमै विपक्षी सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ संसदको अभिलेखबाट हटाउन माग गरेका हुन् । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री स्वयंले संसदमा स्पष्ट धारणा राख्नुपर्ने बताए । उनले नेपालको सीमामा भइरहेको भारतीय हस्तक्षेपबारे सरकार गम्भीर बन्न आवश्यक रहेको उल्लेख गरे । नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले पनि सीमासम्बन्धी विषयमा मन्त्रीमार्फत नभई प्रधानमन्त्रीले नै प्रत्यक्ष रूपमा संसदलाई स्पष्ट पार्नुपर्ने माग गरिन् । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै उक्त भनाइ संसदको रेकर्डबाट हटाउन माग गरिन् । यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने बताए । उनले सभामुखले उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउने विषयमा आवश्यक रुलिङ गर्ने विश्वास व्यक्त गरे । राप्रपाकी सांसद सरस्वती लामाले सीमा र राष्ट्रिय अखण्डताजस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै जिम्मेवारीपूर्ण पदमा रहेका व्यक्तिबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु उचित नभएको धारणा राखिन् । प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षबीच विवाद चर्किरहेका बेला विपक्षी दलहरूले संसदभित्र निरन्तर रूपमा उक्त भनाइ फिर्ता लिन तथा रेकर्डबाट हटाउन दबाब बढाइरहेका छन् ।
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
काठमाडौं । सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शैय्यासम्बन्धी सूचना दिने अनलाइन प्रणाली ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित भएका हुन् । पोर्टलमा अद्यावधिक गरिएको जानकारीअनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल २३ हजार ४५६ वटा शैय्या उपलब्ध छन् । सो सङ्ख्याको १० प्रतिशतअर्थात् दुई हजार ३५६ शैय्या पूर्णतः निःशुल्क उपलब्ध छन् । उपलब्ध कुल निःशुल्क शैय्यामध्ये हाल ३५४ शैय्यामा बिरामी छन् । यसरी तत्काल दुई हजार दुई शैय्या निःशुल्क उपलब्ध छन् । पोर्टलमा देशभर तत्काल उपलब्ध शैय्या सङ्ख्या, त्यसको १० प्रतिशतले हुन आउने निःशुल्क शैय्या, हाल प्रयोग भइरहेको निःशुल्क शैय्या र बाँकी रहेको निःशुल्क शैय्या सङ्ख्याको अद्यावधिक जानकारी हुन्छ । मन्त्रालयले पोर्टलमार्फत अस्पतालहरुमा उपलब्ध हुने अन्य सेवाहरूको अद्यावधिक जानकारी समेत उपलब्ध गराउने तयारी गरेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधान र कानूनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निःशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताइन् । उनले भनिन् 'यसो नगर्दा लक्षित बर्गले अस्पतालले चाहँदा पाउने नत्र निःशुल्क स्वस्थ्य सुविधा नपाउने अवस्था थियो, त्यसैले विपन्न वर्गका पक्षमा स्वास्थ्य पोर्टल सुरु गरेका हौँ ।' नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने व्यवस्था छ । साथै नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७० घ मा 'अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, वेवारिसे विरामीका लागि कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा उपलव्ध गराउनु पर्नेछ' भन्ने व्यवस्था छ । त्यसको कार्यन्वयनको लागि अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहूच योग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको जानकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दिए । उनले भने 'विगतमा कार्यविधि नहुँदा के के कुरा निःशुल्क हुने भन्नेमा अन्योल थियो । कार्यविधि बनेपछि सबै पक्षलाई सहज भएको छ ।' स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले १० अस्पतालमा लक्षित वर्गका लागि १० शैय्या अनिवार्य छुट्टयाइएको हुनुपर्ने, ती शैय्यामा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निःशुल्क दिनुपर्ने र निःशुल्क शैय्यासम्बन्धी सम्पूर्ण जानकारी निःशुल्क पोर्टल र अस्पतालको सूचना पाटीमा सबैले देख्नेगरी राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारले विपन्न वर्ष लक्षित पोर्टल लागू गरेपछि अस्पतालको अनुगमनका लागि छ वटा समिति गठन गरी देशका ११ वटा सङ्घीय अस्पतालमा खटाएको जनाएको छ । रासस
निर्वाचन समीक्षा र पुनर्गठनबारे एमाले नेताहरूले सुरु गरे कोशीमा सुझाव संकलन
काठमाडौं । नेकपा एमालेले पछिल्लो निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम सोमबार विराटनगरमा सुरु भएको छ । पार्टीले संगठनात्मक पुनर्संरचना, कार्यशैली सुधार तथा निर्वाचन परिणामको गम्भीर समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलका संयोजक थापासहित उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलसहितका शीर्ष नेताहरू विराटनगर पुगेका छन् । कार्यक्रममा सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मत कार्कीको समेत सहभागिता रहेको छ । सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिएको जानकारीअनुसार सुझाव संकलन कार्यक्रममा कोशी प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य, १४ वटै जिल्लाका पदाधिकारी, जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरू सहभागी भएका छन् । पछिल्लो निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेपछि एमालेभित्र संगठनात्मक कमजोरी, नेतृत्व शैली, कार्यकर्ता परिचालन र पार्टी संरचनामाथि व्यापक समीक्षा गर्ने माग उठ्दै आएको छ । पार्टी नेतृत्वले सुझाव संकलन अभियानलाई औपचारिकता मात्र नभई संगठन सुधारको आधार बनाउने दाबी गरेको छ। कार्यदलबाट प्राप्त सुझावका आधारमा एमालेको संगठनात्मक संरचना, कार्यपद्धति र नेतृत्व विकासका विषयमा आवश्यक सुधार तथा पुनर्गठन प्रक्रिया अघि बढाइने नेताहरूले बताएका छन् । महासचिव शंकर पोखरेललगायत नेताहरूले यसअघि पनि कार्यदलको प्रतिवेदन र तल्ला तहबाट प्राप्त सुझावकै आधारमा पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गरिने बताउँदै आएका छन् । उनीहरूका अनुसार आगामी महाधिवेशन र भावी निर्वाचनलाई लक्षित गर्दै एमालेलाई थप प्रभावकारी, गतिशील र जनमुखी बनाउने उद्देश्यका साथ सुझाव संकलन अभियान सञ्चालन गरिएको हो ।
राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ । अर्याललाई मंगलबार (आज) बिहान नियन्त्रणमा लिएको अख्तियार स्रोतले विकासन्युजलाई जानकारी दियो । ‘अर्यालसँग सोधपुछको काम भइरहेको छ,’ स्रोतले भन्यो, ‘अख्तियारले उनलाई नियन्त्रणमा लिएर शंकास्पद कागजात पनि लिएको छ । ’ अख्तियार स्रोतका अनुसार थप अरूलाई पनि नियन्त्रणमा लिएको छ । राहदानी प्रिन्टिङ प्रकरणमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
शिक्षा केन्द्रको नयाँ व्यवस्था : शिक्षक सरुवामा कडाइ, तीन बुँदे व्यवस्था लागू
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । नयाँ व्यवस्था लागू गरेसँगै केन्द्रले शिक्षक सरुवा प्रक्रियामा विशेष सावधानी अपनाउन तीन बुँदे निर्देशन जारी गरेको छ । केन्द्रले जारी गरेको निर्णयअनुसार स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएका पदहरूमा जिल्लान्तर तथा अन्तरस्थानीय तह सरुवा गरेर पदपूर्ति नगर्न भनिएको हो । केन्द्रले जारी गरेको निर्णयअनुसार दरबन्दी कटौतीमा परेर खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूमा समेत त्यस्ता शिक्षक पदमा सरुवा गर्न नपाइने व्यवस्था गरिएको छ । त्यस्तै, ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन दिएका सम्भावित उम्मेदवारहरूको हकमा बढुवाको नतिजा सार्वजनिक नभएसम्म सरुवा सहमति नदिन पनि केन्द्रले अनुरोध गरेको छ । केन्द्रले सरुवा व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र पदपूर्ति प्रक्रियालाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाएको छ । यस निर्णयले शिक्षक सेवा आयोगमार्फत हुने स्थायी पदपूर्ति प्रक्रिया प्रभावित नहोस् भन्ने उद्देश्य राखेको केन्द्रको भनाइ छ ।
एलन मस्कले ३ दिनमै कमाए ५०० अर्ब डलर
काठमाडौं । स्पेसएक्सको सूचीकरण (लिस्टिङ) सँगै विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थ रकेटको गतिमा बढिरहेको छ । सोमबार कम्पनीको सेयरमा करिब २० प्रतिशतको वृद्धि भयो । यसबाट मस्कको नेटवर्थमा १६४ अरब डलर बढ्यो । ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार मस्कको नेटवर्थ अब १.२७ ट्रिलियन डलर पुगिसकेको छ । पछिल्ला तीन कारोबार सत्रमा मात्रै उनको नेटवर्थ ५०० अरब डलरभन्दा बढीले बढेको छ । मस्क र दोस्रो स्थानमा रहेका ल्यारी पेजको नेटवर्थमा अब ९५० अरब डलरभन्दा बढीको अन्तर रहेको छ । स्पेसएक्सको सेयर गत शुक्रबार सेयर बजारमा सूचीकृत भएको थियो। यस कम्पनीमा एलन मस्कको करिब ४२ प्रतिशत हिस्सेदारी छ । मस्कका कम्पनीहरू विश्वका शीर्ष १० सबैभन्दा मूल्यवान् कम्पनीहरूको सूचीमा परेका छन् । स्पेसएक्स २.५१९ ट्रिलियन डलरका साथ यस सूचीको छैटौं र टेस्ला १.५४४ ट्रिलियन डलरका साथ दशौं स्थानमा छ । को–को छन् शीर्ष १० मा ? गूगलका सह–संस्थापक (को–फाउन्डर) ल्यारी पेज ३१४ अरब डलरको नेटवर्थका साथ विश्वका धनीहरूको सूचीमा दोस्रो स्थानमा छन् । उनका साझेदार सर्गेई ब्रिन २९२ अरब डलरका साथ तेस्रो, जेफ बेजोस (२६७ अरब डलर) चौथो, ल्यारी एलिसन (२४७ अरब डलर) पाँचौं, माइकल डेल (२१८ अरब डलर) छैटौं, मार्क जुकरबर्ग (२११ अरब डलर) सातौं, जेन्सेन हुवाङ (१७६ अरब डलर) आठौं, बर्नार्ड अर्नाल्ट (१७२ अरब डलर) नवौँ र जिम वाल्टन (१४८ अरब डलर) दसौं स्थानमा छन् । भारत तथा एसियाकै सबैभन्दा धनी व्यक्ति गौतम अडानी यस सूचीको १७औं स्थानमा छन् । सोमबार उनको नेटवर्थमा २१६ मिलियन डलरको वृद्धि भयो । यस वर्ष उनको नेटवर्थ ३१ अरब डलरले बढेको छ । त्यस्तै, भारतको सबैभन्दा मूल्यवान् कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी ८७ अरब डलरको नेटवर्थका साथ यस सूचीको २५औं स्थानमा छन् । यस वर्ष उनको नेटवर्थमा २०.७ अरब डलरको गिरावट आएको छ । विश्वकै पहिलो ‘ट्रिलियनियर’ मस्क : मिहिनेतको कमाइ कि नीतिगत होल ?