‘रास्वपालाई देशको एक नम्बर पार्टी बनाउँछु, भ्रष्टाचारीको एक-एक हिसाब गर्छु’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपालाई देशको ठूलो पार्टी बनाउने उद्घोष गरेका छन् । सोमबार जनकपुरमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै उनले २०७९ मा आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने धारणा राखे । ‘हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु,’ उनले कार्यक्रममा भने । यस्तै, उनले अब मधेशले पहिलो प्रधानमन्त्री पाउने पनि दाबी गरे । बालेन काठमाडौं महानगरको प्रमुख हुँदा एउटा राम्रो प्रमुख प्रशासकिय अधिकृत पनि सरकारले दिन नसकेको उल्लेख गर्दै अब रास्वपाले त्यो गलत अभ्यास तोड्ने जिकिर गरे । उनले आजसम्म भ्रष्टाचार गरेर देशलाई भ्रष्टको अखडा बनाएको नेताहरुको पनि एक–एक हिसाब हुने धारणा राखे ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ, कांग्रेसमा ५२ करोडको चलखेल भएको लगाएका थिए आरोप
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो । आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको हो । कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए । यही विषयमा प्रसाईंलाई अनुसन्धान गर्न भन्दै आयोगले पत्राचार गरेको हो । प्रसाईंमाथि निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिताअन्तर्गतको कसुरमा कारबाही हुनुपर्ने माग राखिएको छ ।
रविले मधेश पुगेर भने- देश बनाउने इच्छामा बालेन शाहप्रति म पूर्ण रूपमा विश्वस्त भएँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहसँग भएको भेट छोटो भए पनि गहिरो र अर्थपूर्ण रहेको बताएका छन् । जनकपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई जनाबीचको संवाद पाँच मिनेटमै टुंगिएको उल्लेख गरे । लामिछानेले त्यो भेट औपचारिक वार्ताभन्दा पनि आपसी सोच, दृष्टिकोण र उद्देश्य बुझ्ने प्रयासमा केन्द्रित रहेको बताए । ‘देशलाई पहिलो प्राथमिकतामा राख्दा लामो वार्ताको नाटक आवश्यक हुँदैन,’ उनले भने, ‘व्यक्तिगत स्वार्थ हाबी भयो भने मात्रै वार्ता लम्बिन्छ र अन्ततः बिग्रिन्छ ।’ उनका अनुसार आफूहरू देश र जनताको चाहनालाई साझा आधार बनाएर एक ठाउँमा आएका हुन् । बालेनसँगको भेटपछि उनले घरमा टाँसिएको आमाको तस्बिरतर्फ हेरेर आत्मसंवाद गरेको प्रसंग पनि सुनाए । ‘देश बनाउने इच्छामा बालेन शाहप्रति म पूर्ण रूपमा विश्वस्त भएँ,’ लामिछानेले भने, ‘त्यही विश्वासले हामीलाई एउटै दिशामा अघि बढाएको छ ।’
बालेनले मधेश पुगेर भने : भाषण होइन, काम गरेर देखाउँछु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले भाषण नभई काम गरेर देखाउने बताएका छन् । रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको उद्घोष कार्यक्रममा उनले आफूले भाषण भन्दा पनि काम गरेर देखाउने बताएका हुन् । बालेनले भने, ‘म काम गर्ने मान्छे हुँ, भाषण होइन । काम गरेको हेर्न चाहनुहुन्छ ?’ उनले आफूलाई काठमाडौंका जनताले काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित गरेपछि काम गरेर देखाएको धारणा राखे । ‘काठमाडौंबासीले मेरो काम देखिसकेका छन् । अब यहाँहरू पनि मेरो काम हेर्न चाहनुहुन्छ भने रास्वपामा मतदान गर्नुहोस्,’ उनले भने। यस्तै, उनले संघीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताए । उनले वीरगन्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गरे मात्र प्रदेश बलियो हुने उनले बताए । उनले देश र मधेसको विकासका लागि रास्वपालाई भोट दिनुपर्ने धारणा राखे । उनले मधेसको छोरो प्रधानमन्त्री बन्ने भएर मात्रै होइन, सही नेता र सही व्यक्ति निर्वाचित हुने भएकोले घण्टीमा भोट हाल्नुपर्ने बताएका हुन् । उनले उखु किसानले माइतीघरमा प्रदर्शन गर्दा आफू टुलुटुलु हेरेर बस्न बाध्य भएको तर अब देशको प्रधानमन्त्री भएर ती समस्या समाधान गर्न आफू लाग्ने दावीसमेत गरे ।
रास्वपाको समानुपातिक सूचीमा जेनजी आन्दोलनका घाइते बोहोरा
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका प्रकाश बोहोरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा परेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा रास्वपाको खस आर्यतर्फको चौथो सूचीमा बोहोराको नाम छ । जेनजी आन्दोलनको क्रममा उनको खुट्टामा गोली लागेको थियो । आन्दोलनको क्रममा रक्ताम्मे भएको जुत्ता उनै बोहोराको हो । बालेन्द्र शाह (बालेन)ले उनलाई समानुपातिक सूचीमा पारेका हुन् ।
रास्वपाले मधेशलाई राष्ट्रिय समुन्नतिको इन्जिन बनाउँछ : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले विकासको अवधारणा नै परिवर्तन गर्नुपर्ने बताएका छन् । मानव विकास सूचकांकमा पछाडि परेको मधेशलाई शिक्षा, स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने उनको भनाइ रहेको छ । वाग्लेले राष्ट्रिय समुन्नतिको इञ्जिनमा मधेश प्रदेशलाई ल्याउन आफूहरू लाग्ने बताए । उनले पार्टीले जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै रास्वपा अब मधेशको मसिहा बन्ने बताएका हुन् । उनले प्रदेश संरचना परिवर्तन गर्ने पनि बताएका छन् । उनले काठमाडौं सिंहदरबारको नक्कल गर्ने प्रदेश संरचना देशका लागि घाँडो हुँदै गएको दावी गरेका हुन् । नेपालको अर्थ राजनितिको पाटो माघ ५ बाट अग्रगमनतर्फ जाने वाग्लेको दावी छ ।
एनसेल र भाटभटेनीको नयाँ अफर : टी–२० विश्वकप मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन् । यस अफरअन्तर्गत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् । अफरअन्तर्गत कर सहित २९९ रुपैयाँ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुटको लागि कुपन प्राप्त गर्दछन् । यसरी प्राप्त हुने कुपन नेपालका आधिकारिक टी–२० क्रिकेट विश्वकप मर्चेन्डाइज खरिद गर्दा भाटभटेनीको अनलाइन स्टोरमा प्रयोग गर्न सकिन्छ । यसले क्रिकेट प्रेमीहरूलाई गर्वका साथ मर्चेन्डाइज प्रयोग गर्ने अवसर प्रदान गर्दै राष्ट्रिय क्रिकेट टोलीसँग भावनात्मक रूपमा अझ बढी जोड्ने अपेक्षा गरिएको छ । अफरअन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छन् । यो अफर एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरमार्फत उपलब्ध छ । यसले देशका हरेक कुनामा रहेका क्रिकेट प्रेमीलाई यस उत्सवमा सहभागी हुने अवसर प्रदान गरेको छ । एनसेल एपमार्फत सहभागी हुन ग्राहकले एप खोली टी–२० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गर्न वा अफर अन्तर्गतका कुनै पनि प्याक चयन गरी खरिद प्रक्रिया पूरा गर्न सक्छन् । खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनीको लिङ्क भएको एसएमएस प्राप्त गर्छन् । त्यसपछि भाटभटेनीको लिङ्कमा क्लिक गरी ग्राहकले आफूलाई मन पर्ने मर्चेन्डाइज छनोट गर्न सक्छन् र चेकआउटका क्रममा प्रोमो कोड प्रयोग गरी छुटको लाभ लिन सक्छन् । अर्डरको पुष्टि भएपछि छनोट गरिएको मर्चेन्डाइज ग्राहकले रोजेको स्थानमा डेलिभरी गरिन्छ । यो अफर चैत १७ गते सम्म वा भाटभटेनी अनलाइन स्टोरमा अफर अन्तर्गतको मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागू हुनेछ । ग्राहकहरूले अफरका लागि आफू योग्य रहने कुनै पनि प्याकको प्रत्येक खरिदमा एक मात्र प्रोमो कोड (कुपन) प्राप्त गर्छन् । प्रोमो कोड साथीभाइ वा परिवारका सदस्यहरूलाई दिन पनि सकिन्छ । यद्यपी यो नगदसँग साट्न वा अन्य अफरसँग जोडेर प्रयोग गर्न भने सकिने छैन ।
नेता अमरेशकुमार सिंह पनि रास्वपामा प्रवेश, यस्तो छ जनकपुरमा बृहत उद्घोष सभा (फोटो-फिचर)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार (आज) जनकपुरमा बृहत घोषणा सभा आयोजना गरिरहेको छ । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायतका नेताहरूको सहभागितामा बृहत उद्घोष सभा भएको हो । सो कार्यक्रममा मधेशका नेता अमरेशकुमार सिंह पनि रास्वपामा प्रवेश गरेका छन् । अहिले नेताहरूले धारणा राखिरहेका छन् ।