विकासन्युज

ओली र पोखरेलले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि दुई जना नेताको उम्मेदवारी दर्ता भएको छ । वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । यससँगै एमालेको नेतृत्व चयन प्रक्रिया निर्णायक मोडमा पुगेको छ । अध्यक्ष ओलीले पार्टीलाई विगतमा नेतृत्व गरेको अनुभव, संगठन विस्तार र सरकार सञ्चालनका क्रममा लिएको भूमिकालाई आफ्नो मुख्य आधार बनाउँदै पुनः अध्यक्षमा दाबी गरेका छन् । उनले पार्टीलाई एकताबद्ध राख्दै आगामी दिनमा बलियो जनाधारसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ओली पक्ष अनुभवी र प्रभावशाली नेताहरूलाई समेट्दै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । यता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि पार्टीभित्रको आन्तरिक लोकतन्त्र, संस्थागत नेतृत्व र सामूहिक निर्णय प्रक्रियालाई बलियो बनाउने एजेन्डासहित उम्मेदवारी दिएका छन् । पोखरेल पक्षले संगठनमा सुधार, नीति कार्यक्रममा स्पष्टता र नेतृत्वमा पुस्तान्तरणको आवश्यकता औँल्याउँदै वैकल्पिक नेतृत्व प्रस्तुत गर्ने प्रयास गरेको बताएको छ । निर्वाचन आयोगका अनुसार अध्यक्ष पदमा दुई नेताले मनोनयन गरेका छन् । अध्यक्ष पदमा दुई शक्तिशाली नेताबीच प्रतिस्पर्धा हुनुले महाधिवेशनस्थलमा उत्साह र चासो बढेको छ । प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूमा दुवै पक्षले समर्थन जुटाउने प्रयास तीव्र बनाएका छन् । विशेषगरी पदाधिकारी र केन्द्रीय समिति चयनमा दुवै प्यानलको शक्ति सन्तुलन महत्त्वपूर्ण हुने देखिएको छ ।

कर्मचारीमाथि भएको आक्रमणले सुरक्षा र मनोबलमा असर पुर्यायो : एनआईसी एशिया बैंक कर्मचारी संघ

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारी कर्जा असुलीको क्रममा सार्वजनिक स्थलमा ऋणीबाट अमानवीय, अपमानजनक तथा गैरकानुनी व्यवहारको सिकार भएका घटनाप्रति एनआईसी एशिया बैंक कर्मचारी संघले गम्भीर आपत्ति जनाएको छ । कानुनी दायराभित्र कर्तव्य निर्वाह गरिरहेका बैंक कर्मचारीमाथि हुने हिंसा र सार्वजनिक अपमान सम्पूर्ण बैंकिङ प्रणाली, विधिको शासन र वित्तीय अनुशासनमाथिको प्रत्यक्ष आक्रमण भएको संघले जनाएको छ ।  ‘बैंकिङ सेवा कानुनद्वारा संरक्षित सार्वजनिक सेवा भएकाले कर्जा असुली कार्य बैंकिङ प्रणालीको अभिन्न अङ्ग हो । कानुनी प्रक्रिया अन्तर्गत हुने कर्जा असुली कार्यलाई डर, धम्की, दुर्व्यवहार वा हिंसाबाट अवरुद्ध गर्नु दण्डनीय अपराध हो,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  यस्ता घटनामा मौन रहनु वित्तीय अराजकतालाई प्रोत्साहन गर्नु सरह हुने संघले जनाएको छ । बैंकका कर्मचारीमाथि आक्रमण भएको घटनाले बैंक कर्मचारीहरूको सुरक्षा, मनोबल र कार्य वातावरणमा गम्भीर असर पुर्‍याउने र सर्वसाधारणको बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर बनाउने जोखिम बढेको संघको टिप्पणी छ । विगतमा पनि बैंकिङ सेवामा आबद्ध कर्मचारी लक्षित आक्रमण हुँदै आएको स्मरण गराउँदै, समयमै सम्बन्धित निकायको कडा हस्तक्षेप नभए बैंकिङ सेवा अवरुद्ध हुने अवस्था सिर्जना हुन सक्ने संघले चेतावनी दिएको छ । एनआईसी एशिया बैंक कर्मचारी संघले अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल तथा बैंक तथा वित्तीय संस्था परिसंघ लगायत सबै सरोकारवाला निकायलाई तत्काल प्रभावकारी हस्तक्षेप गर्न आग्रह गरेको छ । साथै संघले कर्मचारी सुरक्षाका लागि स्पष्ट सुरक्षा मापदण्ड, फिल्डमा खटिँदा प्रहरी समन्वय र जोखिमयुक्त कार्यमा संस्थागत संरक्षणको सुनिश्चितता गर्न माग गरेको छ । दोषी पहिचान गरी कानुनअनुसार कडा कारबाही गर्न, बैंक कर्मचारीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन शून्य सहनशीलताको नीति अपनाउन संघले आग्रह गरेको छ । संघका अध्यक्ष सुमन थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बैंकिङ सेवामाथि हुने कुनै पनि प्रकारको धम्की, दुर्व्यवहार वा हिंसा अस्वीकार्य छ। बैंक कर्मचारीहरू श्रमिक हुन् र उनीहरू कुनै अपराधी होइनन् । कानुनको शासन, संस्थागत मर्यादा र कर्मचारीको गरिमाको संरक्षण सबैको साझा दायित्व हो ।

कृषि विकास बैंकको १९औँ साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । बैंकको साधारण सभाले १३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकका सञ्चालक समिति अध्यक्ष डिमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभामा पारित प्रस्तावअनुसार लाभांश यथाशीघ्र सेयरधनीलाई उपलब्ध गराइने प्रतिबद्धता बैंकले जनाएको छ । सभामा बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पनि अनुमोदन गरिएको छ । सभामा बैंकले हाल देशभर २८५ वटा कार्यालयमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको जानकारी गराएको छ । बैंकले दुर्गमदेखि सुगम क्षेत्रसम्म आफ्नो बृहत कार्यसञ्जाल विस्तार गर्दै आएको र वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी गर्ने बैंकको रूपमा आफूलाई स्थापित गरेको दाबी गरेको छ । साधारण सभामा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तीरमण पराजुलीसहित ९ जना वक्ताले आफ्ना धारणा राखेका थिए भने केही सेयरधनीले लिखित मन्तव्यसमेत प्रस्तुत गरेका थिए । सेयरधनीहरूले उठाएका जिज्ञासाबारे अध्यक्ष पौडेलले स्पष्ट पार्दै प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको सभामा विभिन्न निकाय तथा संस्थाका प्रतिनिधि, बैंकका उच्च व्यवस्थापन, कर्मचारी र सञ्चालक समिति सदस्यहरू सेवन्तक पोखरेल, डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, संजीव पौडेल, विनोदकुमार गुरागाईं, रीता सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति रहेको थियो । साधारण सभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

सामान्य बढ्यो सेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । सोमबार सेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केही बेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो ।   सोमबार नेप्से ०.२५ प्रतिशतले बढेर परिसूचक १६०१.६१ बिन्दु पुगेको छ । सोमबार दिनभरमा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर कारोबार भएको छ ।  बजार बन्द हुँदा १५५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।  दिनभरमा ३२९ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार १२२ पटक सेयर किनबेच भएको छ । आज दुई वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । १३ समूह मध्ये होटेल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह घटेको छ भने बाँकी अरू समूह बढेको छ । आज सबैभन्दा बढी फाइनास समूह ०.९० प्रतिशतले बढेको छ भने सबैभन्दा बढी अन्य समूह ०.१७ प्रतिशतले घटेको छ ।   

एमाले महाधिवेशन : पोखरेल प्यानलमा बागमतीको दबदबा

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहका पदाधिकारी पदका लागि हालसम्म सार्वजनिक भएका नामहरूमा बागमती प्रदेशको प्रभाव देखिएको छ ।  स्वयं पोखरेल बागमती प्रदेशका प्रभावशाली नेता हुन् । जसका कारण उनको प्यानलमा यस प्रदेशका नेताहरूको वर्चस्व देखिनु स्वाभाविक मानिएको एक उम्मेदवारले जानकारी गराए । पोखरेल प्यानलअन्तर्गत उपाध्यक्ष पदका उम्मेदवार बिन्दा पाण्डे र अरुण नेपाल दुवै बागमती प्रदेशकै नेताहरू हुन् । पाण्डे नुवाकोटबाट प्रतिनिधित्व गर्छिन् भने नेपाल काभ्रेपलाञ्चोकका नेता हुन् ।  महासचिव पदका उम्मेदवार चितवनका सुरेन्द्र पाण्डे पनि यसै प्यानलमा छन् । संगठन र वैचारिक राजनीतिमा अनुभव भएका पाण्डेलाई पोखरेल समूहले महत्त्वपूर्ण जिम्मेवारीका लागि अघि सारेको छ । त्यस्तै, पत्रकारिताबाट एमालेको राजनीतिक नेतृत्वमा उदाएका गोकुल बाँस्कोटा सचिव पदका उम्मेदवार बनेका छन् । काभ्रेपलाञ्चोकका स्थायी बासिन्दा बाँस्कोटा पनि बागमती प्रदेशकै प्रतिनिधि हुन् । दोलखाकी रचना खड्का सचिव पदकी उम्मेदवारका रूपमा पोखरेल प्यानलमा समेटिएकी छन् । रोचक रूपमा, केपी शर्मा ओली नेतृत्वको समूह छोडेर पोखरेल प्यानलमा सचिव पदका उम्मेदवार बनेका कृष्णगोपाल श्रेष्ठ पनि काठमाडौंका स्थायी बासिन्दा हुन् । पदाधिकारी तहमा बागमती प्रदेशका नेताहरूको बाक्लो उपस्थितिले पार्टीभित्र क्षेत्रीय सन्तुलन र समावेशिताबारे बहस चर्किने देखिएको छ । आगामी निर्वाचन परिणामले यो बहसलाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ ।

मेटलाइफ नेपालले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौं । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । यो अवसरले देशभरका लाखौँ मानिसहरूको जीवन र भविष्यको संरक्षणप्रति कम्पनीको निरन्तर प्रतिबद्धता र दीर्घकालीन विकासलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ । विगत वर्षहरूमा मेटलाइफ नेपालले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपाली परिवारको साथ दिँदै आएको छ । आफ्नो यात्राको क्रममा कम्पनीले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहक पहुँच र सुविधा विस्तारमा उल्लेखनीय लगानी गरेको छ। यसै क्रममा मेटलाइफ नेपालले ‘३६० हेल्थ सेवा’ र ‘वान बाइ मेटलाइफ’ मोबाइल एपमार्फत स्वास्थ्य व्यवस्थापन सेवा सुरु गर्ने नेपालकै पहिलो बीमा कम्पनीको रूपमा आफूलाई स्थापित गरेको छ । वैश्विक अनुभव र स्थानीय आवश्यकताको गहिरो बुझाइलाई संयोजन गर्दै मेटलाइफ नेपालले नेपाली परिवारलाई प्रदान गर्दै आएको मार्गदर्शन र सहयोगलाई निरन्तर सुदृढ बनाइरहेको जनाएको छ । मेटलाइफ बंगलादेश, मलेसिया, नेपाल तथा भियतनामका प्रमुख (हेड) इलेना बुटारोभाले आगामी वर्षहरूलाई लिएर उत्साह व्यक्त गर्दै भनिन्, 'नेपालसँगै अघि बढ्दै हाम्रा ग्राहकहरूको भविष्यप्रति थप आत्मविश्वास निर्माण गर्ने हाम्रो उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ।' यस वर्ष ‘ग्रेट प्लेस टु वर्क’ मान्यता प्राप्त गर्न सफल भएकोमा मेटलाइफ नेपालले आफ्ना सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । साथै, स्वास्थ्य, वित्तीय साक्षरता, शिक्षा, वातावरणीय सचेतना र सामुदायिक उत्थानजस्ता सामाजिक तथा कल्याणकारी पहलहरूमा कर्मचारीहरूको निरन्तर समर्पणप्रति कम्पनीले प्रशंसा व्यक्त गरेको छ । मेटलाइफ नेपालले सुरक्षा जीवनका सबै आयाममा फैलिनुपर्ने अवधारणालाई आत्मसात् गर्दै अघि बढिरहेको जनाएको छ ।

चार महिनामा चालु खाता २७९ अर्ब र शोधनान्तर ३१८ अर्ब रुपैयाँ बचतमा

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ४ महिनामा देशको चालु खाता २७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १४७ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब १० करोड डलरले बचतमा रहेको चालु खाता चालु आर्थिक वर्षको समीक्षा अवधिमा १ अर्ब ९९ करोड डलरले बचतमा पुगेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ४७ करोड रुपैयाँ मात्र थियो । यसैगरी, समीक्षा अवधिमा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । यसैबीच, समीक्षा अवधिमा शोधनान्तर स्थिति ३१८ अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ५३ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोड डलरले बचतमा पुगेको छ ।  

महँगी घट्दो क्रममा, ४ महिनामा मुद्रास्फीति १.५३ प्रतिशतमा झर्‍यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले महँगी घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार कात्तिकसम्मको देशको आर्थिक स्थिति सार्वजनिक गर्दै २०८२ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.५३ प्रतिशत रहेको उल्लेख गरेको हो ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो औसत मुद्रास्फीति ४.५९ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क ५.२५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ। तर तरकारी उप–समूहको मूल्य सूचकाङ्क १४.४३ प्रतिशत, मरमसलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ। गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहको मूल्य सूचकाङ्क १५.१७ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले वृद्धि भएको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य सूचकाङ्क भने ०।२३ प्रतिशतले घटेको छ । क्षेत्रगत रूपमा समीक्षा महिनामा ग्रामीण क्षेत्रको उपभोक्ता मूल्य सूचकाङ्क ०.६६ प्रतिशतले र सहरी क्षेत्रको १.२६ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा १.८० प्रतिशत, मधेश प्रदेशमा १.७३ प्रतिशत, बागमती प्रदेशमा ०.८१ प्रतिशत, गण्डकी प्रदेशमा ०.३७ प्रतिशत, लुम्बिनी प्रदेशमा १.२७ प्रतिशत, कर्णाली प्रदेशमा १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.२६ प्रतिशत मुद्रास्फीति रहेको छ। भौगोलिक क्षेत्रका आधारमा काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१६ प्रतिशत, तराईमा १.२४ प्रतिशत, पहाडमा ०.८८ प्रतिशत र हिमाली क्षेत्रमा १.०६ प्रतिशत रहेको छ । यसैबीच, २०८२ कात्तिक महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तुको थोक मुद्रास्फीति १.९१ प्रतिशत, मध्यवर्ती वस्तुको ३.१४ प्रतिशत र पुँजीगत वस्तुको २.२६ प्रतिशत रहेको छ। निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ३.२४ प्रतिशतले बढेको छ । नेपाल र भारतको तुलना गर्दा २०८२ कात्तिक महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको छ भने सन् २०२५ नोभेम्बरमा भारतमा यस्तो मुद्रास्फीति ०.७१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।