सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
बाँके । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविखनको जोखिम बढ्दै गएको छ। सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिइ विवाह गर्न भारत जाने युवती मानव बेचविबखनको जोखिममा पर्ने सम्भावना बढेको हो । भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील शान्ति पुनःस्थापना केन्द्र नेपालगञ्जका प्रतिनिधिले बेचबिखनको जोखिममा रहेको आशङ्कामा चार दिनअघि रोकेर परामर्श गर्दा यस्तो वास्तविकता खुलेको हो। शान्ति पुनःस्थापना केन्द्र शाखा कार्यालय नेपालगञ्जकी संयोजक सम्झना चँदाराका अनुसार सामाजिक सञ्जालमा प्रेम सम्बन्ध गाँसिएकै आधारमा यी दुई युवती भारतीय व्यक्तिसँग विवाह गर्न राजी भई भागेर सिमला जाने क्रममा उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये दाङकी एक युवतीको उमेर १५ वर्षमात्र छ भने अर्घाखाँचीकी युवतीको उमेर २२ वर्ष रहेको उनले जानकारी दिए। संयोजक चँदाराले पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट कुराकानी भएकै भरमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न भन्दै त्यसतर्फ जाने युवतीको सङ्ख्या बढ्दै जानुले बेचबिखनको जोखिमलाई झन बढाएको बताए । ‘सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न राजी हुनु आफैँले जोखिम निम्त्याउने काम हो’, उनले भने। केन्द्रको पहलमा दाङकी युवतीलाई अभिभावकसँगको सम्पर्कपछि पारिवारिक पुनर्मिलन गराइएको छ भने अर्घाखाँचीकी युवतीलाई पनि अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ। नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले भारतीय नागरिकसँग नेपाली युवतीलाई विवाह गराउने कार्यमा कतिपय नेपाली महिलाले नै समन्वयकारी भूमिका खेल्ने गरेको पाइएको बताए । ‘भारतीय नागरिकसँग विवाह गरेकी महिलामार्फत नेपालका चिनेजानेका युवतीसँग सामाजिक सञ्जालमा जोडिने गरेको पाइएको छ’, पुरीले भने, ‘नेपाली युवती विवाहका लागि राजी भएर भारत पुगेमा समन्वय गर्ने नेपाली महिलाले आर्थिक लाभ पाउने भएकाले यो समस्या बढ्दै गएको हो ।’ आर्थिक लाभको लोभमा आफ्नै देशका चेलीलाई जोखिममा पार्ने प्रवृत्ति चिन्ताजनक रहेको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इञ्चार्ज एवं प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा घरबाट भागेर भारत पुग्ने महिला उच्च बेचबिखनको जोखिममा रहेकाले सबै यसतर्फ सचेत हुनुपर्ने बताए। उनले बेचबिखनविरुद्ध क्रियाशील सङ्घसंस्थाको समन्वयले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलनमा सहयोग पुगेको उल्लेख गरे। प्रहरी निरीक्षक मल्लका अनुसार दलालले विशेषगरी आर्थिक रूपमा कमजोर र पारिवारिक समस्यामा रहेका महिलालाई लक्षित गर्ने गरेका छन्। शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सामाजिक सञ्जालमा देखिने क्षणिक आकर्षण र प्रलोभनले निम्त्याएको यो जोखिमले सीमा नाकामा कडाइ र सचेतनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याए । आफूहरूले भारतीय सहरमा बेचिएका र अलपत्र अवस्थामा रहेका नेपाली महिलालाई त्यहाँका सरकारी र गैरसरकारी निकायसँगको सहकार्यमा उद्धार गर्दै आएको उनले बताए । नेपालगञ्जस्थित जमुनाह नाकामा शान्ति पुनःस्थापना गृहसँगै माइती नेपाल, साथी संस्थालगायत करिब एक दर्जन सङ्घसंस्थाले मानव बेचबिखनविरुद्ध क्रियाशील रहँदै आएका छन् । शान्ति पुनःस्थापना केन्द्रले मात्रै गत आवमा ३९९ जनाको उद्धार गरेको थियो। केन्द्रका जिल्ला कार्यक्रम संयोजक चँदाराले गत आवमा ३०३ जनालाई सिधैँ अभिभावकको जिम्मा लगाइएको जनाउँदै ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पुर्‍याइएको बताए। शान्ति पुनःस्थापना गृहले बाँकेको नरैनापुर, डुडुवा, जानकी, कोहलपुर र जमुनाह गरी पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ। रासस
सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पुस ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ६ करोड ८९ लाख ६७ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका बासिन्दाहरूलाई छुट्याइएको छ । साथै सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ६८ हजार ९६७ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई छुट्याएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले पुस २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण बिक्री नभएमा आवेदन दिने समय माघ ८ गतेसम्म लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस १४ गतेभित्र आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा पुस २३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले ज्योती विकास बैंक समुन्द्रटार, कृषि विकास बैंक खैरेनीटार, राष्ट्रिय वाणिज्य बैंक खैरेनीटार, ट्रेड टावर, थापाथली स्थित रजिस्टर्ड कार्यालय र दुप्चेश्वर गाउँ पालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कुलमानको निर्देशनपछि सिँचाइतर्फ १४.२३ अर्ब रुपैयाँका २२ वटा ठेक्का तोडिए
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रूग्ण बनाइएका सिँचाइ तर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषा अन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रूग्ण ठेक्का तोडिएको हो । भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । जनकपुरधाम कार्यालय अन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएपछि प्रक्रिया अगाडि बढाइएका थिए । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत चालू ठेक्का २१५ छन् । त्यसमध्ये ३३ ठेक्का समस्याग्रस्त छन् । समस्याग्रस्त मध्ये हालसम्म २२ वटा तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए । सिँचाइ तर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तोडिएको छ । आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृह लगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल-रमण जेभी, जनकपुर-९ धनुषासँगको ठेक्का सम्झौता तोडिएको हो । आयोजना निर्माणका लागि पटेल-रमण जेभीसँग १४ अर्ब ८ करोड रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो ।
प्रदीप ज्ञवालीको अपिल- ओली नेतृत्वको टिमलाई शानदार मत दिनुस्
काठमाडौं । नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । एमाले नेता प्रदीप ज्ञवालीले महाधिवेशन प्रतिनिधिहरूलाई अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सम्पूर्ण टिमलाई विजयी गराउन अपिल गरेका छन् । ज्ञवालीले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक जीवन मात्र होइन, समग्र राष्ट्रिय राजनीतिका लागि समेत यो महाधिवेशन दूरगामी महत्त्वको रहेको उल्लेख गरेका छन् । चुनौतीपूर्ण राजनीतिक परिवेशमा पार्टीलाई बलियो, एकताबद्ध र स्थिर दिशामा अघि बढाउन ओली नेतृत्वको टिम आवश्यक रहेको उनको भनाइ छ । ‘आजको मतदान एमालेको भावी दिशा तय गर्ने निर्णायक क्षण हो,’ ज्ञवालीले अपिलमा भनेका छन्, ‘यस ऐतिहासिक महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नुभएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी गराइदिनु हुन म सबै प्रतिनिधि कमरेडहरूमा हार्दिक अनुरोध गर्दछु ।’ यसैबीच, ज्ञवालीले यस पटक पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी दिएको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे । आफू सधैँ कार्यकर्ताको बीचमै रहेको र पार्टी तथा आन्दोलनका लागि निरन्तर योगदान गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
जर्मनीको अनलाइन बैंक एन-२६ माथि प्रतिबन्ध
काठमाडौं । जर्मनीका वित्तीय नियामकले सोमबार अनलाइन बैंक एन-२६ माथि प्रतिबन्ध लगाएकाे छ । यो ऋणदातालाई प्रभावित गर्न सक्ने पछिल्लो हलचल हो । ‘विशेष गरी जोखिम र गुनासो व्यवस्थापन र ऋण व्यवसायसम्बन्धी उक्त संस्थामा गम्भीर कमजोरीहरू थिए,’ वित्तीय संस्थालाई नियमन गर्ने अनुगमनकारी संस्था बाफिनले भनेको छ। बाफिनले गत वर्ष एन-२६ विशेष लेखापरीक्षण गरेको थियो । बाफिनले एन-२६ लाई समस्याहरू समाधान गर्न कदम चाल्न आदेश दिएको र बैंकको प्रगतिको अनुगमन गर्न ‘विशेष प्रतिनिधि’ नियुक्त गरिरहेको बताएको छ। ‘बैंकलाई नेदरल्यान्ड्समा नयाँ धितो ऋण सञ्चालन गर्नबाट पनि रोकिएको थियो र थप पुँजी राख्न आदेश दिइएको थियो,’ नियामक संस्था बाफिनले भनेको छ। एन-२६ ले एएफपीलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, ‘यो ‘सुपरिवेक्षण अधिकारीहरू र नियुक्त विशेष प्रतिनिधि’सँग निकट र रचनात्मक छलफलमा छ ।’ सन् २०१३ मा स्थापना भएको र २४ देशहरूमा सञ्चालन भएको बैंकले प्रशासन सञ्चालन संरचनामा समायोजनजस्ता उपायहरूको साथ योजना कार्यान्वयन गरिरहेको बताएको छ । यो अनलाइन बैंकको लागि पछिल्लो समस्या हो । बैंक सन् २०१८ देखि नियामकको मार्ग निर्देशमा रहेको छ । मिडिया अनुसन्धानले यसमा नक्कली परिचयपत्रले खाता खोल्न सम्भव भएको देखाएको थियो । त्यसपछि बैंकलाई सम्पत्ति शुद्धीकरण विरोधी कार्यमा समस्याको लागि ठूलो जरिवाना लगाइएको थियो । यी चिन्ताहरूले नियामकहरूलाई यसले स्वीकार गर्न सक्ने नयाँ ग्राहकहरूको सङ्ख्यामा नियन्त्रण गर्न बाध्य पारेको थियो, यद्यपि, यो गत वर्ष हटाइएको थियो। यस वर्षको सुरुमा कमजोरीहरूको बारेमा चिन्ता बढ्दै जाँदा एन-२६ ले आफ्नो शीर्ष नेतृत्वलाई फेरबदल गरेको थियो ।
डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घट्यो, पेट्रोलको मूल्य १६३ रुपैयाँ पुग्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर २ रुपैयाँ बढाइएको छ । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९.५० रुपैयाँ, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम भएको छ । त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६०.५० रुपैयाँ, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ । निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । इण्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ६.९३ रुपैयाँ घटेर तथा पेट्रोलमा १.९४ रुपैयाँ बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
कोर टिम भड्किएपछि ओलीको अंक गणितमा गडबड
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी केपी शर्मा ओलीलाई यसपटक आन्तरिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। लामो समयदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका ओलीले आफ्नो ‘कोर टिम’लाई एकढीक्का राख्न नसक्दा महाधिवेशनको निर्वाचन परिणाम प्रभावित हुन सक्ने विश्लेषण हुन थालेको छ । महाधिवेशनअघि ओली पक्ष बलियो र संगठित देखिए पनि उम्मेदवारी दर्ता र पदाधिकारीको बाँडफाँडको क्रममा असन्तुष्टि सतहमा आएको छ । आफू निकट मानिएका केही प्रभावशाली नेताहरूले अपेक्षित जिम्मेवारी नपाएको गुनासो गर्दै खुलेआम असन्तुष्टि जनाउन थालेका छन् भने कतिपय नेताहरू मौन बसेर दूरी बढाइरहेको संकेत देखिन्छ । यसले ओलीको आन्तरिक शक्ति सन्तुलनमा असर पुर्याएको छ । खासगरी ओलीको किचन क्याबिनेटका नेता प्रदीप ज्ञवालीको मौन असन्तुष्टि ओलीका लागी भारी पर्ने अनुमान एमालेबृत्तमा चलेको छ । यस्तै, कृष्णगोपाल श्रेष्ठको बहिर्गमन ओलीका लागि टाउको दुखाइ बनेको छ । उपत्यकाका स्थापित नेता श्रेष्ठले ओलीको साथ छोड्दा ईश्वर पोखरेल समूह उत्साहित भएको पाइन्छ । उपत्यकाकै अर्का नेता रघुजी पन्तले पनि ओलीको साथ छोडेका छन् । मधेशी मुलका स्थापित नेता लालबाबु पण्डित पनि ओलीको साथ छोड्ने नेतामा परेका छन् । ओलीले ‘अनुभव र निरन्तरता’लाई मुख्य आधार बनाउँदै नेतृत्वमा पुनः दाबी गरेपनि पार्टीभित्र पुस्तान्तरण, समावेशीता र शक्ति सन्तुलनको माग तीव्र हुँदै जाँदा पुरानै संरचनामा अडिग रहन खोज्दा समस्या देखिएको कतिपय नेताहरूको बुझाइ छ। विशेषगरी पदाधिकारी र केन्द्रीय सदस्य चयनमा क्षेत्रीय, गुटगत र व्यक्तिगत सन्तुलन मिलाउन नसक्दा ओली समूहभित्रै असन्तोष बढेको हो । महाधिवेशनस्थलमा देखिएको गतिविधिले ओली स्वयं पनि असहज अवस्थामा रहेको संकेत गर्छ । कोर टिमका केही नेताहरूलाई फकाउने, भेटघाट र छलफल बढाउने प्रयास भइरहे पनि सबै असन्तुष्टि तत्काल समाधान हुने अवस्था देखिँदैन । स्रोतका अनुसार ओली पक्षले अन्तिम समयमा समीकरण मिलाउन प्रयास गरिरहेको छ, तर यसले कति प्रभाव पार्छ भन्ने अनिश्चित छ। यसबीच अध्यक्ष पदमा अर्का प्रत्यासी ईश्वर पोखरेलले असन्तुष्ट समूहलाई आकर्षित गर्ने प्रयास गरिरहेको चर्चा छ। ओली समूहबाट अपेक्षित अवसर नपाएका नेताहरू वैकल्पिक नेतृत्वतर्फ झुक्न सक्ने सम्भावनाले निर्वाचनको गणित झन् जटिल बनेको छ। एमालेभित्र लामो समयदेखि एउटै केन्द्रमा केन्द्रित शक्ति संरचनाप्रति प्रश्न उठ्दै आएको सन्दर्भमा यो महाधिवेशन निर्णायक हुन सक्ने विश्लेषण पनि भइरहेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको बलियो पक्ष भनेको संगठित संरचना, कार्यकर्ता माझको पहिचान र विगतको नेतृत्व अनुभव हो । तर, यही अनुभवलाई निरन्तरताको मात्र आधार बनाउँदा नयाँ आकांक्षा र असन्तुष्टिलाई बेवास्ता गरिएको अनुभूति कार्यकर्तामा पर्न गएको उनीहरूको भनाइ छ । कोर टिमभित्रको असन्तुलनले तल्लो तहसम्म सन्देश जाने भएकाले यसले मत परिणाममा प्रभाव पार्न सक्ने आँकलन गरिएको छ । महाधिवेशन अन्तिम चरणमा प्रवेश गर्दा ओलीले कति सफलता पूर्वक असन्तुष्टलाई समेट्न र कोर टिमलाई पुनः सक्रिय बनाउन सक्छन् भन्ने कुरा निर्णायक हुनेछ । यदि आन्तरिक व्यवस्थापन कमजोर रहिरह्यो भने बलियो देखिएको गणित अन्तिम परिणाममा उल्टिन सक्ने सम्भावना पनि नकार्न सकिँदैन । एमालेको यो महाधिवेशन केवल नेतृत्व चयन मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन र भविष्यको दिशाबारे पनि निर्णायक मोड बन्ने देखिन्छ ।
एमालेमा विभिन्न पदका लागि आज मतदान हुँदै, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ । उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ । राम लक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिए । ‘हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ । तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ,’ उनले भने । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल २ हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।